नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेल संस्थापन इतर पक्ष शेरबहादुर देउवाको भेलाले कांग्रेस एकताको लागि स्पष्ट खाका ल्याउनुपर्ने बताउँछन् ।
उनी अर्को पार्टी बन्ने सम्भावना नरहेकाले अब अदालतले गरेको फैसला मान्न आग्रह गर्छन् ।
विधि र प्रक्रियाबाट विशेष महाधिवेशन भएका कारण पुनरावेदनको मुद्दाले कांग्रेसलाई एक बनाएर लैजाने उनको विश्वास छ । देउवा नेपाल आउने विषयमा औपचारिक जानकारी मूल कांग्रेसलाई नभएको उल्लेख गर्दै पौडेल देउवा कसैको पक्ष या विपक्षमा नलागीबीचमा बसेर सबैका कुरा सुन्दै अभिभावक भएर पार्टी मिलाउन लाग्नुपर्ने सुझाव दिन्छन् ।
देउवा चुनदेवीमा सभापति भएर बसेको विषय केटाकेटीपन भएको महामन्त्री पौडेलको ठम्याई छ । विधिको शासन सबैले मान्नुपर्ने उल्लेख गर्दै यसलाई नमानेको खण्डमा गलत संस्कार हाबी हुने उनको विश्लेषण छ।
विशेष महाधिवेशनबाट आएको सभापति गगन थापा र पूर्व सभापति शेरबहादुर देउवाबीच चाँडै भेट हुने उल्लेख गर्दै देउवाको नेतृत्वमा १५ औँ महाधिवेशनमा जान नसकिने पौडेलेको स्पष्टोक्ति छ । उनी देउवालाई तटस्थ बसेर अभिभावक हुँदै समस्या सुल्झाउन सुझाव दिन्छन् । प्रस्तुत छ महामन्त्री पौडेलसँग खबरहबले गरेको छोटो कुराकानी :
कांग्रेस एकता हुने सम्भावना टरेको हो ?
अर्को पार्टी बन्ने सम्भावना टर्यो अब। पार्टीभित्रै झगडा गरेर बस्ने, सबै बस्ने अवस्था भयो। अर्को पार्टी बन्ने त सम्भावना रहेन नि अब ।
उहाँहरूले अर्को पार्टी खोल्नुभयो भने के हुन्छ ?
अब केस अदालतमा छ। अदालतले गरेको फैसला जसले पनि मान्नुपर्ने भयो । अर्को पार्टी दर्ता गर्न कोही पनि जानुहुन्न । छरिएका कांग्रेसहरू एकजुट भएर अगाडि बढ्नुहुन्छ ।

अदालतले १४ औँ महाधिवेशनलाई नै वैधानिकता दियो भने नि ?
त्यस्तो सम्भावना हुन्छ र भन्या ? ५४ प्रतिशत महाधिवेशन प्रतिनिधि आएर गरेको महाधिवेशन जोक हुन्छ र ? हामी अदालतको निर्णय मान्छौँ । पार्टीभित्र आपसी बेमेल भयो भन्ने कुराको सन्दर्भमा अदालतले टुङ्ग्याएपछि हामीबीच बेमेलको स्थिति अन्त्य हुन्छ ।
अदालतको निर्णय नआउन्जेलसम्म इतरपक्षले गरेको राष्ट्रिय भेला अरु गतिविधिलाई वास्ता नगर्ने तपाईँहरूको रणनीति हो ?
उहाँहरूको भेलालाई वास्ता गरेर के गर्ने ? आधिकारिक कांग्रेस हामी भएकोले उहाँहरूको भेलामा गएर बोल्न मिलेन । हामीले तपाईँहरूको बटम लाइन के हो ? तपाईँ, हामीले पेश गरेको पहिलाको ७ बुँदामा के के फेर्नुपर्ने हो ? के के थप्नुपर्ने हो ? त्यो राष्ट्रिय भेलाबाट पास गरेर आउनुहोस् भनेका छौँ । त्यसपछि संवाद गर्न, कुराकानी गरेर मिलाउन तयार छौँ भनेका छौँ ।
उहाँहरूको भेलालाई कसरी बेवास्ता गर्नु र ? तर के भेलाबाट कांग्रेस एकजुट बनाउने निष्कर्ष आउँछ, आउँदैन त्यो हेर्नुपर्छ ।
राष्ट्रिय भेलापछि उहाँहरूले पार्टी एकताको खाका ल्याउनुहुन्छ भन्नेमा ढुक्क हुनुहुन्छ ?
उहाँहरू के गर्नुहुन्छ ? त्यो उहाँहरूको विषय भयो । हामी महाधिवेशनमा अगाडि बढिसक्यौँ । मिल्न तयार भएर राष्ट्रिय भेलाबाट एउटा खाका ल्याउनुभयो भने त्यसलाई हामीले अध्ययन अनुसन्धान गरेर मिलन बिन्दु पत्ता लगाउँछौँ ।
पहिला वार्ता गर्न नमिलेको कुरा मिलाउन विषय चाहियो नि । अहिले हामी जिम्मेवारीमा रहेको कारण उहाँहरूले स्विकार्नु पनि पर्यो। असन्तुष्टिका विषयहरू के के हुन् ? विधिपद्धति कसले मान्ने नमान्ने भन्ने कुरा पनि होला । विधि प्रक्रिया मिलेन भनेर उहाँहरूले भन्नुभएको विषय के हो ?

१५औँ महाधिवेशन निष्पक्ष स्वतन्त्र हुँदैन भनेर आशंका गर्नुभएको कहाँ कहाँ हो ? अथवा अरू कुरा के के हो ? त्यो कुरा भयो भने नै हामीले समझदारी गर्न सक्छौँ । उहाँहरू त अहिले भेलामा व्यस्त हुनुहुन्छ ।
व्यस्त भएको कारणले संवाद गर्ने परिस्थिति पनि नबनेको होला । भेला सकिसकेपछि भेला गर्ने साथीहरूसँग परामर्श गरेर निर्णयहरू आउँछन् भन्ने हाम्रो अपेक्षा छ ।
उसो भए शेरबहादुर देउवा नेपाल आएपछि संवाद छलफल रोकिएको हो ?
हो, त्यसपछि संवाद छलफल भएको छैन । हाम्रो पूर्व सभापति नेपाल आउनुभयो । उहाँलाई हामी स्वागत गर्न चाहन्छौँ । हाम्रो आग्रह के हो भने उहाँ यता र उताको भएर होइन तटस्थ कांग्रेसको अभिभावक भएर सबैलाई मिलाउने प्रयत्नमा जानुपर्छ ।
मिलाउने वातावरण बनाउन उहाँले पहल गरिदिनुभयो भने राम्रो हुन्छ । त्यो हाम्रो अपेक्षा हो उहाँहरूसँग ।
देउवा आउँदा किन स्वागत गर्न नजानुभएको ?
हामीहरूलाई आधिकारिक जानकारी दिइएको थिएन । औपचारिक जानकारी नभएपछि हामी कसरी जाने ? हामी पार्टीकै काममा व्यस्त थियौँ। हामी अब भेट्छौँ ।
चुनदेवीमा छुट्टै पार्टी कार्यालय खडा गरेर देउवा सभापति बनेको विषयले तपाईहरुलाई कुनै असर गरेको छैन ?
यो विषय हाँस उठ्दो छ। कांग्रेस पार्टी भनेको विधिको शासन र नीति विधान मान्ने पार्टी हो । जतिसुकै झगडा भएपनि विधिको शासन र नीतिमा कांग्रेस एकजुट हुने गरेको थियो । तर यो पन केटाकेटी जस्तो भयो ।
अदालत र निर्वाचन आयोगले दिएको विधिको शासन पालना नगर्नु भनेको तपाईँहरू आफै विश्लेषण गर्नुहोस् । विधिको शासन रहन्छ कि रहँदैन यसो गरेपछि त्यो उहाँहरूले नै ख्याल गर्नुहोस् । यसमा म केही भन्न चाहन्न उहाँहरूलाई नै छोडिदिन्छु ।
उहाँहरूले दस्तावेज लगायत भाषणमा १४औँ महाधिवेशनको नेतृत्व शेरबहादुर देउवा रहेको खण्डमा मात्र पन्ध्रौँ महाधिवेशन जाने भनेर सर्त राख्नुभएको छ । के यो सम्भव छ ?
तपाईँहरूले १५ औँ महाधिवेशन देउजाको नेतृत्वमा जानुपर्छ भन्ने विषयमा विधिको शासनलाई हेर्नुहुन्छ कि यो अनावश्यक मागलाई हेर्नुहुन्छ : सानो केटाकेटी र विवेकले बोल्ने मान्छेले पनि यो अवस्था देख्दैन भने हामीले कसरी देख्छौँ ? हामी त अझ नीति, विधान र सिद्धान्त मान्ने मान्छे । उहाँहरूको यो अडान कायम राखेर वार्ता भयो भने त मिल्ने कुरै आउँदैन नि ।

हामी युवा पुस्ताको चाहना र अग्रजहरूको अनुभव लिएर कांग्रेसलाई एकजुट र परिवर्तनकारी शक्ति बनाउन चाहन्छौँ । अर्को कुरा तपाईँहरूलाई थाहा छ कि छैन यो माग देउवाको होइन । उहाँलाई उल्क्याउने अरु व्यक्तिको हो । देउवा कांग्रेस विभाजनको पक्षमा हुनुहुन्छ जस्तो मलाई लाग्दैन । तर उहाँलाई सल्लाह दिने व्यक्तिहरूको कमजोरी हो ।
देउवा नेपाल आएर सभापतिकै हैसियतमा छुट्टै पार्टी कार्यालय खोलेर बस्ने मनस्थितिमा हुनुहुन्थ्यो भनेजस्तो मलाई लाग्दैन । उहाँलाई अरु कसैबाट उल्क्याउने काम भइरहेको छ ।
कांग्रेसको एकता नचाहने, कांग्रेसलाई जहिले विवाद बनाइराख्ने र नेतृत्व नस्विकार्ने व्यक्तिहरूले देउवालाई गलत सन्देश दिइरहेका छन् । देउवाले आफ्नो नेतृत्वमा १५ औँ महाधिवेशन होस् भन्न चाहनुभएको पनि होइन ।
आदरणीय शेरबहादुर देउवा दाइलाई हाम्रो आग्रह के हो भने बीचमा बसिदिनुहोस् । कसका कुरा सही, कसका कुरा गलत छुट्याइदिनुहोस् । आग्रह र पूर्वाग्रही कुरा नसुन्दिनुहोस् । सर्वोच्च अदालत र निर्वाचन आयोगले गरेको निर्णयलाई मानिदिनुहोस् । कुरा मिलाइदिनुस् भन्ने हाम्रो आग्रह हो ।
दुवै पक्षले आआफ्ना अडान नछोडेपछि मिलनबिन्दु पत्ता लागेको देखिँदैन। खास मिलनबिन्दु भेटिने चुरो के हो ?
पहिला समस्या के हो त्यो पहिचान गरेपछि मिलनबिन्दु हुन्छ । उहाँहरूको समस्या नै के हो भन्ने आधिकारिक ढंगमा आइसकेको छैन । घरि एउटा कुरा गर्नुहुन्छ, घरि अर्को कुरा । समस्या स्वाभाविक र सैद्धान्तिक ढङ्गबाट आउनुपर्यो । कानुन विधान र नीतिले दिने कुरा आउनुपर्यो। आएपछि हाम्रो पनि त १५औँ महाधिवेशन गर्ने जिम्मेवारी हो, त्यो महाधिवेशनतिर लाग्छौँ ।
पन्ध्रौँ महाधिवेशन मात्रै गरेर हुँदैन । सबैलाई समेट्ने किसिमको महाधिवेशन हुनुपर्छ। त्यसको लागि निष्पक्षता कायम हुनुपर्छ । सबैको विश्वास आर्जन हुने स्थिति हुनुपर्छ। त्यसको लागि के के गर्नुपर्छ ? हामी तयार छौँ । उहाँहरूको खास समस्या के हो र मिलन कसरी गर्ने भन्ने विषय लिएर आउनुपर्यो ।
हामी त कांग्रेस एक बनाउन तयार नै छौँ नि । तर नीति, नेतृत्व त उहाँहरूले स्विकार्नु पर्यो नि । अनावश्यक माग लिएर अगाडि बढ्नु जायज हुँदैन। यसले विधिको शासनलाई धज्जी उडाउँछ । र कांग्रेसमा व्यक्तिवादी चरित्र हाबी गराउँछ ।

नेतृत्व स्वीकारेको खण्डमा सबै कुरा मिल्छ ?
नेतृत्व स्वीकार भनेर हामीले माग्ने कुरै भएन नि । उहाँहरूले विधिबाट आएको नेतृत्वलाई त नस्विकार्ने भन्ने पनि कुरा रहन्छ र ? विधिले निर्धारण गरेको कुरा मान्नु त सबैको दायित्व होइन र ?
उसो भए विशेष महाधिवेशनको नेतृत्व र पूर्व सभापति शेरबहादुर देउवाबीच भेटवार्ताको कार्यक्रम छ कि छैन ?
हामी सभापतिलाई भेट्न चाहन्छौँ । त्यो कोशिस पनि भइरहेको छ । उहाँहरूको भेला सकेपछि भेट्छौँ पनि । त्यो भेट्ने वातावरण पनि उहाँहरूले सिर्जना गरिदिनुपर्छ ।
भेटमा तपाईँको नेतृत्वमा १५ महाधिवेशनमा जान सकिँदैन भनेर स्पष्ट कुरा राख्नुहुन्छ ?
राख्छौ नि किन नराख्ने र ? विधि र प्रक्रियाबाट आएको नेतृत्वलाई स्वीकार गरेर पन्ध्रौँ महाधिवेशनमा जाऊँ, तपाईँ अभिभावक बन्दिनुहोस् भन्ने त हाम्रो बटमलाईन नै छ नि। तर हामीलाई स्विकार्नुस् ,हामीलाई स्विकार्नुस् भन्नुपर्ने अवस्था नरहला नि ।
त्यसकारण आजको दिनमा पनि म के चाहन्छु भने कांग्रेस एक ढिक्का बनाएर लाने इच्छा हो भने पूर्व सभापति देउवा अभिभावक बन्नुहोस् । यताउताको लैलैमा नलाग्नुस् । बीचमा बसेर समस्या सुल्झाउनतर्फ लाग्नुपर्छ, बल्झाउन होइन ।












प्रतिक्रिया