काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली गृह प्रदेश कोशी पुगेर अन्य नेतमाथि खनिएका । गत भदौको जेन-जी आन्दोल र फागुन २१ को चुनावमा दुई धक्का व्यहोरेर पनि अध्यक्ष पदबाट बिदा नमानेका उनी आफूलाई भएको घेराबन्दीले आत्तिएका छन्।
उनले आफूमाथिको दबाबबाट आत्तिएको प्रष्ट संकेत चुनावपछि पहिलो पटक कोशी पुगेर आक्रमक अभिव्यक्तिबाट गरेका छन्। ओलीले शनिबार इलाम पुगेर पार्टी पुनर्गठन र नेतृत्व परिवर्तनका आवाज उठाउनेलाई ‘आवारा’को संज्ञा दिए। नेपाली शब्दकोश अनुसार आवाराको अर्थ गृहस्थीको ठेगाना नभएको, बिना काम यताउता घुम्ने व्यक्ति भन्ने हुन्छ।
उनले पार्टीभित्र वैचारिक बहस र पुनर्गठनको आवाज उठाउने नेतालाई ‘आवारा’को संज्ञा दिँदै आफू नै सर्वेसर्वा भएको जिकिर गरे । उनको यो आपत्तिजनक अभिव्यक्तिले पार्टी सचिवालयका बहुसंख्यक पदाधिकारी र केन्द्रीय कमिटीका अधिकांश नेताहरू असन्तुष्ट छन्। अध्यक्षले अराजनीतिक अभिव्यक्ति दिनुभन्दा सचिवालय र केन्द्रीय कमिटी बैठक बोलाउनुपर्ने पक्षमा केन्द्रीय सदस्य नरेश रोकाया छन्।
‘पार्टीको जिम्मेवार तहको नेतृत्वले जथाभावी बोलेर हिँड्नुभन्दा पार्टीको सचिवालय र केन्द्रीय कमिटीको बैठक बोलाउनु उपयुक्त हुन्छ। त्यहीँबाट आवश्यक छलफल र बहस गरौँला,’ रोकायाले भने, ‘अरूलाई जथाभावी नबोल भन्ने अनि आफूचाहिँ पार्टी हितको कुरालाई अस्वीकार गर्दै अरुलाई गाली गर्ने ? यो कस्तो संस्कार नेतृत्वले भित्र्याउँदै हुनुहुन्छ ?’
अर्कातिर आइतबार नै काठमाडौंमा आयोजित एक कार्यक्रममा एमाले महासचिव शंकर पोखरेलले ओलीतिर लक्षित गर्दै कम्युनिस्ट नेतृत्वकै सरकार हुँदा देश दुर्घटनामा परेको बताए । पोखरेलले नेपालमा कम्युनिस्ट आन्दोलनबाट हालसम्म ६ जना प्रधानमन्त्री र २१ जना मुख्यमन्त्री बनेको उल्लेख गर्दै यति ठूलो राजनीतिक प्रभाव भएको आन्दोलन कमजोर बन्नुको कारण खोजिनुपर्ने बताए।
‘कम्युनिस्ट पार्टीको नेतृत्वमा सरकार हुँदा नै सत्ताबाट अपदस्थ हुनुपर्ने र जनताबाट समेत बहिष्कृत हुनुपर्ने अवस्था आउनु सामान्य विषय होइन,’ उनले भने।
उनले वामपन्थी आन्दोलनको वर्तमान अवस्था सुधार्न विगतका कमजोरी पहिचान गरी त्यसबाट पाठ सिक्नुपर्नेमा जोड दिए। विशेषगरी जनमत किन वामपन्थी शक्तिबाट टाढिँदै गयो भन्ने विषयमा गम्भीर आत्मसमीक्षा आवश्यक रहेको उनले बताए।
यता एमाले नेता सुहाङ नेम्बाङ पनि पार्टीभित्रको बहसलाई बैडठकमै छलफलमा लैजानुपर्ने मत राख्छन्। उपाध्यक्षद्वय पृथ्वी सुब्बा गुरुङ र रघुजी पन्तले पनि पार्टी सचिवालय र केन्द्रीय कमिटीको बैठकमा सबै एजेन्डामा छलफल हुनुपर्ने बताएका छन् । उनले ओलीलाई बैठकको तयारीमा लाग्न सुझाव दिएका छन्।
इलामबाट ओलीले नेतृत्व परिवर्तनको आवाज उठाउनेहरूलाई पार्टीबाट आफैँ निस्किन समेत आग्रह गरे। उता आइतबार झापा पुगेर पार्टी पुनर्गठन होइन, पुनर्जागरण हुनुपर्ने धारणा उनैले राखेका छन्। ओली आफ्नै बोलीमा पनि पछिल्लो समय अडिन छाडेका छन् ।
शनिबार इलाममा ओलीले भनेका थिए, ‘अहिले पार्टीमा अलिकति अनुशासनहीनता देखापरेको छ। पार्टी कार्यालयको क्यान्टिनमा बसेर कोही हल्ला गरेका छन्। अध्यक्षलाई हटाउने ? कसले हटाउने ? के मजाक हो यो ? यस्तो अराजकता हुन्छ ? कोही हस्ताक्षर गर्दै हिँड्या छ।’
उनले थपे, ‘पार्टीको विरोध गरेर हिँड्ने, सामाजिक सञ्जालमा जे पायो त्यही लेख्ने कुरा हुँदैन। पार्टीमा बस्ने हो भने अनुशासनमा बस्नुपर्छ। अर्को पार्टीमा जाने हो भने त्यहीँको अनुशासन के–के छ, त्यही गरे हुन्छ। चुप लागेर घरमा बस्ने भए बसे हुन्छ। तर पार्टीमा काम गर्ने हो भने अनुशासन चाहिन्छ।’

झापामा अर्कै कुरा
झापा पुगेर पनि ओलीले पार्टीमा पुनर्गठन होइन, पुनर्जागरणको आवश्यकता रहेको औँल्याएका छन्। झापा पुगेर ‘मिसन पार्टी जागरण अभियान’को उद्घाटन गर्दै ओलीले भने, ‘आज पुनर्गठन होइन, पुनर्जागरणको अवस्थामा छौँ। नेतृत्व फेर्ने प्रक्रियालाई मात्रै पुनर्गठन भनिँदैन। अहिले पार्टी पुनर्गठन, जो भनिएको छ, वास्तवमा पुनर्गठन होइन।’
ओलीले आफू नेतृत्वबाट नहट्ने अडान कायम राख्दै कुनै संगठनको नेतृत्व परिवर्तनको आवश्यकता रहेको संकेत गरेका छन्। उनले कुनै जनवर्गीय संगठनको नेतृत्व परिवर्तन हुन सक्ने संकेत गरेका हुन्।
‘जनसंगठनको होला, सिंगै पार्टीको पुनर्गठन होइन। कुनै कमिटीको होला। त्यस्तो व्यापक रूपमा भइरहन्छ। अधिवेशनहरू गरिरहन्छौँ, पुनर्गठन हुँदैन,’ उनले भने।
‘पर्याप्त खान पाएकाहरूले गुनासो गरेका छन्,’ ओलीले भने, ‘केही नपाएकाले यसपटक पनि भोट हाले। केही पाएकाले यसपटक पनि भोट हालेनन्।’
प्रतिवेदन र बैठक छलेर जथाभावी बोल्दै
इतिहासकै लज्जास्पद हार बेहोरेपछि एमालेले पार्टी शुद्धीकरण, सुदृढीकरण, रूपान्तरण तथा पुनर्गठनका लागि सुझाव संकलन गर्न कार्यदल गठन गरेको थियो। गत जेठ १० गते सम्पन्न एमाले सचिवालयको आठौँ बैठकले उपाध्यक्ष रामबहादुर थापा बादलको संयोजकत्वमा १५ सदस्यीय कार्यदल गठन गरेको थियो। सो समितिको सदस्य सचिवमा महासचिव शंकर पोखरेल थिए।
कार्यदलले सातै प्रदेश, जनवर्गीय संगठनलगायत विभिन्न क्षेत्रमा पुगेर सुझाव संकलन गर्दै प्रतिवेदन तयार पारेको छ। तयार पारिएको प्रतिवेदन एक साताअघि संयोजक रामबहादुर थापा ‘बादल’ले अध्यक्ष केपी शर्मा ओलीलाई बुझाएका छन्।
ओलीलाई प्रतिवेदन बुझाएपछि त्यसलाई कार्यान्वयन नगर्न विभिन्न बहानाबाजी गरिएको नेताहरूको आरोप छ। प्रतिवेदनमा एमाले यथास्थितिमा चल्न नसक्ने भन्दै पार्टी पुनर्गठन र नेतृत्व परिवर्तनको विषय उठाइएकाले ओलीले प्रतिवेदन कार्यान्वयनमा ढिलाइ गरेको नेताहरू बताउँछन्।
पछिल्लो समय कार्यदलको बैठक बसेर प्रतिवेदन सार्वजनिक गर्नुपर्ने र कार्यान्वयनमा लैजानुपर्ने मतमा नेताहरूले महासचिव पोखरेल र कार्यदल संयोजक बादललाई दबाब दिइरहेका छन्।
गत सोमबारदेखि एमालेका विभिन्न तह र तप्कामा रहेका नेताहरूले महासचिव पोखरेललाई भेटेर कार्यदलको बैठक तत्काल राख्न र प्रतिवेदन सार्वजनिक गर्न दबाब दिइरहेका छन्। छुट्टाछुट्टै समूहमा पुगेका नेताहरूले यस्तो दबाब दिएका हुन्।
गत बुधबार महासचिव पोखरेललाई भेटेर चाँडो बैठक राख्दै प्रतिवेदन सार्वजनिक गर्न दबाब दिन एमालेका चर्चित नेताहरू कर्ण थापा, नरेश रोकाया, आनन्द पोख्रेल, राजेन्द्र गौतम, ठाकुर गैरे र झपट रावल पुगेका थिए। उनीहरूले चाँडो पार्टीका बैठकहरू राखेर प्रतिवेदन सार्वजनिक गर्न दबाब दिए।
त्यस क्रममा महासचिव पोखरेलले प्रतिवेदन ओलीसमक्ष पुगिसकेको बताएका थिए। नेताहरूले केन्द्रीय कमिटी बैठक आठ महिनादेखि बस्न नसकेको र प्रतिवेदन नआएसम्म बैठक बस्न नसक्ने अवस्था रहेको भन्दै चाँडो प्रतिवेदनलाई प्रक्रियामा लैजानुपर्ने बताएका थिए। उनीहरूले सोमबार पनि पोखरेललाई भेटेका थिए।
केन्द्रीय कमिटीको बैठक तत्काल बोलाउनुपर्ने माग राख्दै अन्य नेताहरू पनि च्यासल पुगेको बताइन्छ। केन्द्रीय कमिटी बैठक बोलाउन मागपत्र दर्ता गराउनेमा गजेन्द्र थपलिया, रोशन बस्नेत, रमेश पौडेल, शर्मिला कार्की, डा. सुरेन्द्र मानन्धर, बुद्धि परियार र नबिना लामालगायत नेताहरू उपस्थित थिए।
ओलीले न सचिवालय बैठक राखेका छन्, न केन्द्रीय कमिटी बैठक नै। प्रतिवेदन छलेर गृह प्रदेशमा ‘जागरण अभियान’का नाममा दौडिएको भन्दै नेताहरू असन्तुष्ट छन्। नेताहरूले सातै प्रदेशमा पुगेर तयार पारेको प्रतिवेदनलाई पूर्ण रूप दिएर सार्वजनिक नगरी ओली अभियानमा निस्किएको भन्दै धेरै नेताहरूले असन्तुष्टि जनाएका छन्।
प्रदेशगत रूपमा प्राप्त सुझाव कार्यान्वयन नगरी अर्को अभियान चलाएर पार्टीभित्र उत्साह जगाउन नसकिने नेताहरूको टिप्पणी छ।
‘सचिवालय बैठक बसौँ भनेर महासचिव र उपाध्यक्षहरूले दबाब दिइरहँदा अध्यक्षज्यू कहाँ–कता पुगिरहनुभएको छ। एउटा काम नसकी अर्को काम सुरु गर्दा कुनै पनि उत्साह जगाउन सकिँदैन,’ पार्टीका एक सचिवालय नेताले भने, ‘पछिल्ला अध्यक्षज्यूका अभिव्यक्तिहरू अराजनीतिक र पार्टी आफ्नो पेवा जस्तो भएको देखिन्छ। यी विषयमा केन्द्रीय सदस्य र सचिवालय नेताहरूले ध्यान दिनु नै भएको होला।’

निरन्तर दबाब
एमालेको बैठक छल्न पार्टी नेतृत्वले चलाखी अपनाइरहेकाले नेताहरूले निरन्तर दबाब दिने बताएका छन्। गत सोमबार भेटेका नेताहरूलाई महासचिव पोखरेलले प्रतिवेदन टोली संयोजक ‘बादल’सँग सल्लाह गरेर बैठकबारे जानकारी दिने बताएका थिए।
फेरि बुधबार पनि तिनै नेताहरू महासचिव पोखरेललाई भेट्न च्यासल पुगे। उक्त टोलीले अब विष्णु पौडेल, पृथ्वी सुब्बा गुरुङ, रामबहादुर थापा ‘बादल’लगायत नेताहरूलाई भेट्ने तयारी गरेको छ।
‘पहिला कार्यदललाई भेटेर कार्यदलको बैठक मागिएको हो। कार्यदलको बैठक बसेर प्रतिवेदन सार्वजनिक गर्नेबित्तिकै केन्द्रीय कमिटी बैठक बोलाउनुपर्छ भन्ने हाम्रो माग हो। अध्यक्षलाई भेट्नुको औचित्य छैन,’ पोखरेललाई भेटेका एक नेताले भने, ‘कार्यदलको बैठक बसेर प्रतिवेदनलाई अन्तिम रूप दिने, त्यसपछि सचिवालय बैठक बसेर केन्द्रीय कमिटी बैठक डाक्न दबाब सिर्जना गरिरहेका छौँ। हामी महासचिव र उपाध्यक्षहरूको सम्पर्कमा छौँ। अरू पनि थुप्रै नेताहरूले भेट्नुभएको छ।’












प्रतिक्रिया