काठमाडौँ – नेकपा (एमाले) ले चाडपर्व नजिकिँदै गर्दा दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धि नियन्त्रण गर्न सरकार असफल भएको आरोप लगाएको छ।
एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज आचार्यले बुधबार जारी गरेको प्रेस नोटमा जनतालाई राहत दिनुको सट्टा सरकार आफ्नो असफलता र कमजोरी ढाकछोप गर्न विषयान्तरको राजनीतिमा लागेको दाबी गरिएको छ।
दैनिक उपभोग्य वस्तुको आपूर्ति, व्यवस्थापन र कालोबजारी नियन्त्रणमा सरकार चुकेको उल्लेख गर्दै आचार्यले भनेका छन्, “नेपालीका सांस्कृतिक चाडपर्व नजिकिँदै गर्दा जनताको ढाड सेक्ने गरी मूल्यवृद्धि भइरहेको छ।”
ग्यासको सहज आपूर्ति गर्न नसकेर सरकारले नागरिकलाई सास्ती दिएको आरोप लगाउँदै उनले एमालेविरुद्ध दुष्प्रचारसमेत भइरहेको बताएका छन्। ललितपुरका एक व्यवसायीलाई एमाले केन्द्रीय सदस्यको ‘कृत्रिम परिचय’ दिई ग्यास लुकाएको आरोप लगाएर पार्टीलाई बदनाम गर्ने प्रयास गरिएको उनको भनाइ छ।
सरकार संरक्षित राजनीतिक दलका कार्यकर्ताले सामाजिक सञ्जालको दुरुपयोग गर्दै भ्रम फैलाउने, साइबर बुलिङ गर्ने तथा सामाजिक सद्भाव भड्काउने गतिविधि गरेको आरोपसमेत एमालेले लगाएको छ।
सरकारको असफलता र जनताको समस्याबाट ध्यान मोड्न यस्ता गतिविधि भइरहेको दाबी गर्दै एमालेले त्यसको भर्त्सना गरेको छ। भ्रम र दुष्प्रचारको राजनीति लामो समय नचल्ने भन्दै सामाजिक सञ्जालमा फैलाइएका भ्रामक सामग्री र त्यसमा संलग्न व्यक्तिको विवरण प्रमाणसहित सार्वजनिक गर्दै जाने चेतावनीसमेत दिइएको छ।












प्रतिक्रिया