नयाँदिल्ली– भारतको उत्तरपूर्वी राज्य मणिपुरमा पछिल्लो तीन सातादेखि जारी जातीय द्वन्द्वका क्रममा भएको पछिल्लो झडपमा दुई महिलाको मृत्यु भएको प्रहरीले बुधबार जनाएको छ । यससँगै पछिल्ला आक्रमणमा नागरिक हताहत हुनेको सङ्ख्या १० पुगेको जनाइएको छ ।
मणिपुरमा सन् २०२३ देखि मुख्यतः हिन्दू बहुल मैतेई र इसाई बहुल कुकी समुदायबीच जातीय हिंसा हुँदै आएको छ । पछिल्लो समय हिंसा नागा समुदायका समूहसम्म समेत फैलिएको जनाइएको छ ।
भूमि र राजनीतिक प्रभावमाथिको प्रतिस्पर्धात्मक दाबीका कारण सुरु भएको द्वन्द्वमा हालसम्म २५० भन्दा बढी मानिसको मृत्यु भइसकेको छ ।
राज्यको राजधानी इम्फालबाट करिब १५० किलोमिटर पश्चिममा रहेको तामेङलोङ जिल्लामा घरनजिकै भएको आक्रमणमा दुई महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
मंगलबार दिउँसो दुई महिलाको हत्या भएपछि तामेङलोङमा बन्द जारी रहेको जिल्ला प्रहरी प्रमुख लानमियो लुइखामले बताए। उनका अनुसार उक्त आक्रमण मुख्यतः इसाई नागा र कुकी समुदायबीच हालै भएको झडपसँग सम्बन्धित रहेको देखिएको छ ।
‘हामीले अनुसन्धान र आवश्यक कानुनी प्रक्रिया अघि बढाइरहेका छौँ । साथै यस क्षेत्रमा शान्ति कायम गर्नमा ध्यान केन्द्रित गरेका छौँ,’ लुइखामले भने।
यसअघि युद्धग्रस्त म्यान्मासँग सीमा जोडिएको मणिपुरमा तीन छुट्टाछुट्टै घटनामा आठ जनाको मृत्यु भएको केही दिनपछि पछिल्लो घटना भएको हो ।
मणिपुरमा सामान्य अवस्था पुनःस्थापना गर्न भारत सरकारले विभिन्न प्रयास गर्दै आए पनि हिंसा पूर्ण रूपमा नियन्त्रणमा आउन नसकेको जनाइएको छ ।












प्रतिक्रिया