तनहुँ- तनहुँको म्याग्दे गाउँपालिकाले पूर्वाधार निर्माणसँगै कृषि र पशुपालन क्षेत्रलाई प्राथमिकतामा राखेर विभिन्न कार्यक्रम सञ्चालन गरेको छ। स्थानीयको आवश्यकता र उत्पादनसँग जोडिएका योजनालाई प्राथमिकता दिँदै सडक, पुल, खानेपानी, सिँचाइ तथा कृषि र पशुपालनका क्षेत्रमा काम अघि बढाइएको हो।
गाउँपालिकाले एक वर्षको अवधिमा २.७५ किलोमिटर नयाँ सडकको ट्रयाक खोलेको छ भने ४.९५ किलोमिटर सडक ग्राभेल र १४० मिटर सडक कालोपत्र गरेको छ। ग्रामीण बस्तीलाई सडक सञ्जालमा जोड्दै यातायात सहज बनाउन नयाँ ट्र्याक खोल्ने तथा पुराना सडकको स्तरोन्नति गर्ने कामलाई निरन्तरता दिइएको गाउँपालिका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले बताए।
सडक पूर्वाधारसँगै खोलानाला तथा नदीका कारण आवतजावतमा हुने समस्या समाधान गर्न छवटा मोटरेबल पुल निर्माण गरिएको छ। पुल निर्माणपछि स्थानीयको आवतजावत तथा कृषि उपज ओसारपसारमा सहजता आएको अध्यक्ष श्रेष्ठले बताए।
खानेपानीको पहुँच विस्तार गर्ने उद्देश्यले ८२ घरमा धारा जडान गरिएको छ। त्यस्तै, स्वास्थ्य र सरसफाइलाई प्राथमिकता दिँदै १७ वटा शौचालय निर्माण गरिएको गाउँपालिकाले जनाएको छ। आधारभूत सरसफाइको पहुँच विस्तार गरी स्वच्छ र स्वस्थ बस्ती निर्माणमा जोड दिइएको छ।
कृषियोग्य जमिनमा सिँचाइ सुविधा विस्तार गर्न ३२२ मिटर सिँचाइ कुलो निर्माण गरिएको छ। त्यस्तै, पानीको बहाव नियन्त्रण तथा सिँचाइ व्यवस्थापनका लागि तीनवटा बाँध निर्माण गरिएको छ। सार्वजनिक स्थानमा विश्राम तथा सामाजिक भेटघाटका लागि पाँचवटा चौतारा पनि निर्माण गरिएको गाउँपालिकाले जनाएको छ।
कृषिमा उत्पादन र बजारीकरणमा जोड
गाउँपालिकाले स्थानीय अर्थतन्त्रको प्रमुख आधारका रूपमा रहेको कृषिलाई उत्पादनमुखी र व्यावसायिक बनाउने कार्यक्रमलाई प्राथमिकता दिएको छ। कृषकलाई उत्पादनमा प्रोत्साहन गर्न बीउबिजन वितरण गर्नुका साथै कृषि यान्त्रिकीकरणमा सहयोग गरिएको अध्यक्ष श्रेष्ठले बताए।
कृषकलाई हाते ट्र्याक्टर, कुटानी–पिसानीका उपकरण तथा विभिन्न कृषि औजार वितरण गरिएको छ। परम्परागत श्रममा आधारित कृषि प्रणालीलाई क्रमशः यान्त्रिकीकरणतर्फ लैजाने उद्देश्यले कृषि उपकरणमा सहयोग गरिएको गाउँपालिकाले जनाएको छ।
कृषि उपजलाई बजारसम्म पुर्याउन सहज बनाउने उद्देश्यले गाउँपालिकाले कृषि एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको छ। यस सेवामार्फत कृषकले उत्पादन गरेका तरकारी तथा अन्य कृषि उपज बजारसम्म पुर्याउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।
कृषि उपज उत्पादनपछि तत्काल बजार नपाउँदा हुने क्षति न्यूनीकरण गर्न गाउँपालिकाले चिस्यान केन्द्रसमेत सञ्चालनमा ल्याएको छ। चिस्यान केन्द्रले विशेषगरी आलु, तरकारीलगायत छिट्टै बिग्रने कृषि उपजलाई केही समय सुरक्षित राख्न सहयोग पुग्ने अध्यक्ष श्रेष्ठले बताए।
पशुपालनबाट आम्दानी बढाउने लक्ष्य
गाउँपालिकाले पशुपालनलाई कृषकको आम्दानीसँग जोड्दै विभिन्न प्रोत्साहनमूलक कार्यक्रम सञ्चालन गरेको छ। कृषकले उत्पादन गरेको दूधमा प्रतिलिटर १० रुपैयाँ अनुदान उपलब्ध गराउँदै आएको गाउँपालिकाले पशु सुत्केरी भएपछि आवश्यक पोषण व्यवस्थापनका लागि सुत्केरी पशु पोषण अनुदानको व्यवस्थासमेत गरेको छ।
अध्यक्ष श्रेष्ठले सडक तथा अन्य भौतिक पूर्वाधार निर्माणसँगै कृषि र पशुपालनलाई उत्पादन तथा रोजगारीसँग जोडेर अघि बढाइएको बताए। केवल भौतिक संरचना निर्माणले मात्रै स्थानीयको आर्थिक अवस्था सुधार नहुने भएकाले उत्पादन वृद्धि, कृषि उपजको बजारीकरण र पशुपालनलाई व्यावसायिक बनाउने कार्यक्रमलाई समेत प्राथमिकता दिइएको उनको भनाइ छ।














प्रतिक्रिया