पहिले चलेर असफल भएको थियो रात्रिकालीन बस सेवा « Khabarhub

पहिले चलेर असफल भएको थियो रात्रिकालीन बस सेवा

असफल द्रुत, हप अन हप अफ र निलो बस



काठमाडौँ–  उपत्यकाका ४ नगरपालिकाको  संयुक्त प्रयासमा बुधबारदेखि रात्रिकालीन बस सेवा सुरु भएको छ । काठमाडौँ, ललितपुर महानगरपालिका र बुढानीलकण्ठ, चन्द्रागिरि नगरपालिकाको सहकार्यमा यो सेवा सुरु भएको हो । राति ८ बजेबाट सुरु हुने यो सेवा ११ बजेसम्म मात्रै उपलब्ध हुनेछ । सिसिटिभी, वाइफाइ, सुरक्षाकर्मीसहितको अत्याधुनिक सुविधासहित साझाका ४ विद्युतीय बस २ फरक रुटमा चल्ने यी बस छन् । 

विशेष गरी मुख्य व्यापारिक केन्द्र र सर्वसाधारणको अत्यधिक चाप हुने अस्पताल क्षेत्रलाई समेटेर उक्त रुट तय गरिएको छ । जुन काठमाडौँको पूर्वपश्चिम र दक्षिण रुटमार्फत ४ पालिकाको भूगोललाई समेटिएको छ । 

पहिले पनि सुरुवात गरिएको थियो रात्रिकालीन बस सेवा 

चार पालिकाले बुधबारबाट थालेको रात्रिकालीन बस सेवा उपत्यकावासीका र लागि पहिलो भने होइन । तत्कालीन मेयर विद्यासुन्दर शाक्यको कार्यकालमा काठमाडौँ महानगरपालिकाले रात्रिकालीन बस सेवा शुरू गरेको थियो । तर केही समयपछि नै बन्द भएको थियो । महानगरले ८ बजेपछि सञ्चालन हुने रात्रिबसलाई सुविधा दिने जनाए पनि व्यवसायीले चासो नदेखाएपछि चलेको थिएन । 

यस्तै, २६ असार २०७६ बाट साझा यातायात आफैले न्युरोड गेटलाई केन्द्र बनाएर तीन वटा रुटमा रात्रिकालीन बस सेवा सुरु गरेको थियो । आर्थिक जटिलता र यात्रु अभावमा छोटो समयमै उक्त सेवा बन्द भयो । 

संघीय सरकारको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले भने ‘रात्रिकालीन सम्पदा यात्रा’ योजना अघि सार्‍यो । जहाँ काठमाडौँ, भक्तपुर, पाटन र कीर्तिपुरका कला, संस्कृति र सम्पदालाई केन्द्रमा राख्दै स्थानीय उत्पादनलाई समेत बढावा दिने बताइयो । २०७९ साल भदौ १५ गते तत्कालीन मन्त्री जीवनराम श्रेष्ठले उद्घाटन गरे । तर यी सबै प्रयास पूर्वयोजनाबिनै सुरु गर्दा समन्वय र आर्थिक अभावमा वर्षदिन पनि टिक्न सकेनन् । 

द्रुत बस सेवा 

रात्रिकालीन बस सेवा जस्तै काठमाडौँको सार्वजनिक यातायातलाई चुस्त बनाउन सरकारले २०८०, असोज ३ अर्थात् संविधान दिवसको अवसरमा तामझामका साथ द्रुत बस सेवा सुरु गरेको थियो । तत्कालीन भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले करोडौँ रकम खर्चेर सुरु गरेको उक्त योजना महिना दिन पनि टिकेन । 

पूर्वतयारी बिना नै मन्त्रीले गर्ने यस्ता महत्वकांक्षी योजनाले राज्यको ढुकुटीबाट द्रुत बसको रुटका लागि सडकमा रङ लगाउन, ट्राफिक संकेत राख्न र सडकको सामान्य सुधारमा मात्र साढे दुई करोड रुपैयाँ खर्च भयो । तर उपलब्धि शून्य भयो । सडक ६ लेनको नबन्दासम्म द्रुत बस सेवा सुचारु गर्न नसकिने जानकारको सुझाव अटेरी गर्दै मन्त्री ज्वालाले उक्त निर्णय गरेका थिए । 

रत्नपार्कबाट सूर्यविनायकसम्म १८.५ किलोमिटर खण्डका लागि यो योजना अघि सारिएको थियो । अत्यधिक ट्राफिक जाम हुने समय बिहान ९ देखि ११ र साँझ ४ देखि ६ बजेसम्म २५ बस सञ्चालनमा ल्याइयो । सडकमा रातो रङ लगाएका १९ ठाउँमा मात्रै बस रोकेर यात्रु चढाउने र ओराल्ने व्यवस्था गरिएको थियो । 

‘हप अन हप अफ’ 

पर्यटकलाई काठमाडौँ उपत्यकामा रहेका सम्पदा क्षेत्रसँग जोड्ने लक्ष्यसहित सरकारले जेठ ९, २०८० देखि ‘हप अन हप अफ’ हेरिटेज टुर बस सेवा सुरु गर्‍यो । आन्तरिक तथा बाह्य पर्यटक दुबैका लागि यो सेवा पर्यटन मन्त्रालयले सुरु गरेको हो । जसका लागि तत्कालीन समयमा साझाका ४० विद्युतीय बसमध्ये मध्ये दुई बस सम्पदा घुम्ती सेवाको रूपमा सञ्चालन गरिएको थियो । सो सेवा प्रयोग गर्दा ‘हप अन हप अफ’ अर्थात्, एकपटक ५ सय शुल्क तिरेर बिहान ८ बजेदेखि साँझ ६ बजेसम्म प्रयोग गर्न सकिन्थ्यो । 

पर्यटन मन्त्रालय, पर्यटन विकास बोर्ड र साझा यातायातको सहकार्यमा थालिएको यो सेवामा यात्रु आफ्नो रुचिअनुसार सम्पदा क्षेत्रको भ्रमण गरी पुनः अर्को स्थान जान सक्थे । तोकिएको रुटमा घुमिरहने ‘हप अन हप अफ’ को टिकट देखाएपछि जुनै बस आए पनि अर्को स्थान जान सक्ने सुविधा थियो । तर पूर्वतयारीबिना नै सुरु गरिएको यो सेवामा साझाका बस केही दिन त यात्रु बिना नै घुमिरहे । तर स्रोत सुनिश्चितता नभएपछि २ महिनामै सेवा बन्द गरियो । 

यी बस पुलचोकबाट कुपन्डोल, थापाथली, शहीदगेट, सुनधारा, जमल, दरबारमार्ग, कमलपोखरी, नक्साल भगवतीबहाल, मैतीदेवी, गौशाला, गुह्येश्वरी चल्थे। त्यहाँबाट तारागाउँ, बौद्ध, चाबहिल महाराजगन्ज स्वयम्भू, छाउनी, कालीमाटी, बल्खु, एकान्तकुना र जावलाखेलसम्म पुग्थे । जसकारण यतिबेला ती रुटमा ती बस रोकिने ‘हप अन हप अफ’ लेखिएको साइनबोर्ड स्टेसन अझैपनि देख्न सकिन्छ ।  

पर्यटनमन्त्री सुदन किरातीले दुई महिनाको मात्रै खर्च जोहो गरेर सुरु गराएका थिए । सो अवधि समाप्त भएपछि साझाले सेवा दिन बन्द गरेको हो । यसरी स्रोत यकिन नगरी मन्त्रीको हठका कारण यो योजना पनि स्टन्टबाजीमै सिमित हुन गयो । 

कसरी गरिएको थियो हप अन, हप अफ बस सेवाको परिकल्पना ?

नेपाल पर्यटन बोर्डले सन् २०१८, १९ देखि नै पर्यटकका लागि हप अन, हप अफ बस सञ्चालनको विषयमा पहल थालेको थियो । 

जसका लागि पूर्वकार्यकारी प्रमुख दीपकराज जोशीको कार्यकालमा सञ्चालनको सम्भाव्यता अध्ययन भएको थियो । उक्त अध्ययनले अत्याधीक पर्यटक, ट्राफिक फ्रि र फराकिलो सडक भएमा मात्रै  यस्तो सेवा सञ्चालन हुन नसक्ने निष्कर्ष निकालेको थियो । तर मन्त्री गुरुङले उक्त अध्ययनलाई वेवास्ता गर्दै यो सेवा शुरू गरे । परिणामस्वरप दीर्घकालीन हुन सकेन । 

सटल बस सेवा

तत्कालीन पर्यटनमन्त्री प्रेम आलेले त्रिभुवन विमानस्थल क्षेत्रमा निःशुल्क एयरपोर्ट सटल बस सेवा शुरू गराएका थिए । पर्यटन बोर्डद्वारा गत जेठदेखि परिचालित यो सेवा भने अहिले पनि सञ्चालनमा रहेको एयरपोर्ट स्रोतले जानकारी दिएको छ । ‘अहिले पनि आन्तरिक तथा बाह्य दुबैतर्फ यो सेवा दिइरहेका छौँ,’ उक्त स्रोतले भन्यो । नेपाल बन्द वा अन्य कारणले यात्रु विमानस्थलमा अलपत्र पर्दा गन्तव्यसम्म पुर्‍याउन यो सेवा सुरु भएको हो । 

यस्तै, तीन वर्षअघि घोषणा गरिएको सटल बस सेवा अन्ततः पोखरा महानगरपालिकाले पनि नयाँ वर्षसँगै कार्यान्वयनमा ल्याएको छ । आर्थिक वर्ष २०७०/०८० मा घोषणा गरेको सेवा २०८३ वैशाख १ गतेदेखि सुरु भएको छ । उक्त सेवा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलदेखि अमरसिंह चोकसम्म सञ्चालन हुनेछ । असारसम्म निःशुल्क रहने उक्त सेवा त्यसपछि न्यूनतम शुल्कमा निरन्तरता दिइनेछ । बिहान ६ बजेदेखि राति १० बजेसम्म दैनिक दुई बस सञ्चालन गरिने महानगरले जनाएको छ । 

निलो बस 

राष्ट्रिय स्वतन्त्र पार्टी, रास्वपाका सभापति रवि लामिछानेले निर्वाचित भएपछि महिलाका लागि चितवनमा १७ साउन २०८० देखि निशुल्क ब्लु बस सेवा सुरु गरेका थिए । २१ फाल्गुनको निर्वाचनबाट बहुमत पाएर सरकारमा पुगेको रास्वपा नेतृत्वको सरकारले यतिबेला सय बुँदे कार्यसूचीमा तीन महिनाभित्र उक्त सेवा सातै प्रदेशमा विस्तार गर्ने बताएको छ । तथापि चितवनमा सञ्चालित यो सेवा हाल प्राविधिक र कानुनी जटिलता देखाउँदै स्थगित गरिएको छ । 

नयाँ वर्षदेखि सुरु भएको रात्रिकालीन बस सेवा निरन्तर सुचारु गर्न के छ तयारी ? 

विगतको प्रयासलाई पालिकासँगको सहकार्यमा पुनः सुचारु गरिएकाले अब चाहिँ यसले निरन्तरता पाउने साझा यातायातका सीइओ भुपेन्द्र अर्यालले बताए ।  

‘सरोकारवाला निकायको पर्याप्त सपोर्ट नहुँदा विगतमा हामी प्रयास सफल हुन सकेनौँ । अहिले हामीलाई ४ पालिकाको सहयोग छ, यसलाई निरन्तरता दिने गरी योजना बनाएका छौँ,’ उनले भने । 

अर्यालका अनुसार अहिले साझाको आफ्नै कोषबाट पाइलटिङ प्रोजेक्टका रुपमा यो सेवा थालिएको हो । 

‘रातिमा सेवा दिन कर्मचारीका लागि ६ देखि ७ हजार रुपैयाँ बढी खर्च लाग्छ यसको लागि अर्को वर्षदेखि पालिकाले बजेट व्यवस्थापन गर्नुपर्छ र घाटा पूर्ति गर्न उहाँहरू तयार पनि हुनुहुन्छ,’ उनले थपे, यसका लागि आवश्यक पूर्वाधार चार्जिङ स्टेसन, पार्किङका लगायतका लागि पनि उहाँहरू सकारात्मक हुनुहुन्छ ।

प्रकाशित मिति : ३ बैशाख २०८३, बिहीबार  ९ : ४४ बजे

लेखा समिति सभापतिका लागि तीन प्रतिपक्षीबीच संवाद, श्रमसंस्कृतिलाई दिने पक्षमा रास्वपा

काठमाडौं- संघीय संसद्को प्रतिनिधि सभाअन्तर्गतका समितिहरूमा सभापति पदका लागि उम्मेदवारीबारे

सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा प्रतिपक्ष दलको बैठक जारी

काठमाडौं– सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा प्रतिपक्ष दलको बैठक सुरु

लागूऔषधसहित विभिन्न स्थानबाट १३ जना पक्राउ

काठमाडौं– नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागूऔषधसहित

इनड्राइभको नयाँ वर्ष २०८३ को अवसरमा ‘राइड मोर, विन मोर’ क्याम्पेन

काठमाडौं– इनड्राइभले नयाँ वर्ष २०८३ को अवसरमा ‘राइड मोर, विन मोर!’ क्याम्पेन

बाँकेमा व्यावसायिक बसन्ते मकैखेती

राँझा– नगदे बालीको रुपमा बिक्री हुन थालेपछि बाँकेका किसान बसन्ते मकैखेतीतर्फ