टर्कीको एक विद्यालयमा अन्धाधुन्ध गोली चल्दा नौ जनाको मृत्यु  « Khabarhub

टर्कीको एक विद्यालयमा अन्धाधुन्ध गोली चल्दा नौ जनाको मृत्यु 


३ बैशाख २०८३, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कडा बन्दुक नियन्त्रणका लागि परिचित टर्की एकै साता भएका दुई विद्यालय गोलीकाण्डपछि स्तब्ध बनेको छ । पछिल्लो घटनामा दक्षिणी कहरामानमारस प्रान्तस्थित एक विद्यालयमा १४ वर्षीय विद्यार्थीले अन्धाधुन्ध गोली चलाउँदा नौ जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन् । घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको अधिकारीहरूले जनाएका छन् ।

गृहमन्त्री मुस्तफा सिफ्ट्कीका अनुसार घाइतेमध्ये छ जनाको सघन उपचार कक्षमा उपचार भइरहेको छ भने तीन जनाको अवस्था गम्भीर छ । आक्रमणकारी आठौँ कक्षामा अध्ययनरत १४ वर्षीय किशोर रहेको पुष्टि गरिएको छ । प्रारम्भिक अनुसन्धानअनुसार उनले आफ्नै बुबाको बन्दुक झोलामा लुकाएर विद्यालय ल्याएका थिए ।

कहरामानमारसका गभर्नर मुकेरेम उनलुरका अनुसार ती विद्यार्थीले दुई वटा कक्षाकोठामा प्रवेश गरेर जथाभावी गोली चलाएका थिए । ‘उनले अनियमित रूपमा गोली हाने, जसका कारण धेरै विद्यार्थी र शिक्षकहरू घाइते तथा मृतक भए,’ उनले बताए ।

घटनापछि सार्वजनिक भएको भिडियोमा विद्यार्थीहरू ज्यान जोगाउन विद्यालय भवनको पहिलो तलाबाट हाम फाल्दै भागेको देखिन्छ । करिब डेढ मिनेट लामो भिडियोमा कम्तीमा १५ राउन्ड गोली चलेको आवाज सुनिन्छ भने अन्य विद्यार्थीहरू आँगन हुँदै भागिरहेको दृश्यले घटनाको भयावहता झल्काउँछ ।

गभर्नर उनलुरका अनुसार आक्रमणकारी एक पूर्वप्रहरी अधिकारीका छोरा थिए र उनीसँग पाँचवटा बन्दुक तथा सातवटा म्यागजिन रहेको थियो । घटनाक्रमकै बीच उनको मृत्यु भएको पुष्टि गरिएको छ । ‘उनले आफैँलाई गोली हानेका हुन् वा अराजक अवस्थामै मृत्यु भयो भन्ने अझै स्पष्ट छैन,’ उनले भने ।

प्रहरीले घटनापछि आक्रमणकारीका बुबा उगुर मर्सिन्ली र आमालाई नियन्त्रणमा लिएको जनाएको छ । किशोरको सामाजिक सञ्जाल गतिविधि जाँच गर्दा उनले सन् २०१४ मा क्यालिफोर्नियामा सामूहिक हत्या गरेका इलियट रोडगरलाई सन्दर्भ गरेको खुलेको छ ।

घटनास्थलबाट आएका दृश्यहरू अत्यन्त हृदयविदारक छन् । स्थानीय सञ्चारमाध्यमहरूले सार्वजनिक गरेको फुटेजमा शवहरू बोकेका झोला र आत्तिएका अभिभावकहरू विद्यालयतर्फ दौडिरहेको देखिन्छ । घटनापछि गृह, शिक्षा र न्यायमन्त्रीहरू घटनास्थल पुगेका छन् र विस्तृत अनुसन्धान सुरु गरिएको जनाइएको छ ।

पीडित परिवारहरूको पीडा झन् मार्मिक बनेको छ । एक अभिभावक ओमर एर्दागले भने, ‘मेरो बच्चाले मलाई भन्यो—मेरो साथीलाई चोट लागेको छ । भित्र धेरै रगत थियो । भगवानलाई धन्यवाद, मैले मेरो बच्चालाई सुरक्षित निकाल्न सकेँ ।’ उनले भविष्यमा आफ्ना सन्तानलाई पुनः त्यही विद्यालय पठाउन सकिने कि नसकिने चिन्ता व्यक्त गरे ।

स्थानीय बासिन्दा जुलेहा बोस्काले बालबालिकामा बढ्दो हिंसात्मक प्रवृत्तिबारे प्रश्न उठाउँदै सम्भावित कारणबारे गम्भीर अध्ययन आवश्यक रहेको बताइन् ।

घटनाको विरोधमा राजधानी अन्कारामा शिक्षक युनियनहरूले प्रदर्शन गर्दै विद्यालय सुरक्षामा कडाइ गर्न माग गरेका छन् । ‘हामी हाम्रा विद्यालयहरूलाई हिंसाको थलो बन्न दिन्नौँ,’ भन्ने नारासहित प्रदर्शन गरिएको थियो ।

राष्ट्रपति रेसेप तैयप एर्दोगनले घटनाप्रति दुःख व्यक्त गर्दै पूर्ण अनुसन्धान गरिने बताएका छन् । उनले सामाजिक सञ्जालमार्फत घटनालाई राजनीतिकरण नगर्न आग्रह गरेका छन् ।

यो घटना हुनु एक दिनअघि मात्र सान्लिउर्फा प्रान्तमा अर्को विद्यालयमा गोलीकाण्ड भएको थियो, जहाँ एक पूर्व विद्यार्थीले १६ जनालाई घाइते बनाएका थिए । तीमध्ये १० जना विद्यार्थी थिए । आक्रमणकारीले पछि आत्महत्या गरेका थिए ।

लगातार यस्ता घटनाले टर्कीको विद्यालय सुरक्षा प्रणालीमाथि गम्भीर प्रश्न उठाएको छ । प्रमुख विपक्षी दलका नेता ओजगुर ओजेलले यसलाई गम्भीर सुरक्षा सङ्कटको रूपमा व्याख्या गर्दै विद्यालयमा कडा निगरानी, सुरक्षाकर्मी वृद्धि, क्यामेरा प्रणाली सुदृढीकरण र आपतकालीन योजना अनिवार्य बनाउनुपर्ने बताएका छन् ।

प्रकाशित मिति : ३ बैशाख २०८३, बिहीबार  १२ : ५३ बजे

विरोधपछि गैरआवसीय ३६ चिकित्सकको लाइसेन्स खारेज निर्णय स्थगित

काठमाडौं– नेपाल मेडिकल काउन्सिलले गैरआवसीय ३६ जना चिकित्सकको लाइसेन्स खारेज

वर्षा नहुँदा बिपी राजमार्गको पूर्वाधार निर्माणमा सहजता

काभ्रेपलाञ्चोक– पटकपटकको बाढीपहिरोले क्षतिग्रस्त बिपी राजमार्गको पुनः निर्माणमा हाल केही

मौसमी रोगबाट बच्न टोलटोलमा स्वास्थ्य सरोकार समिति

टीकापुर– टीकापुर नगरपालिका–८ मा मौसमी रोगबाट बच्न टोलटोलमा स्वास्थ्य सरोकार

विकल्प नदिई उठिबास नलगाउन माग गर्दै मोरङका भूमिहीन सुकुम्वासीको प्रदर्शन

काठमाडौं- विकल्प नदिई उठिबास नलगाउन माग गर्दै मोरङका भूमिहीन सुकुम्वासीहरूले

विद्या भण्डारीलाई एमालेले दियो पार्टी सदस्यता

काठमाडौं- नेकपा एमालेले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टी सदस्यता दिएको छ।