७२ वर्षमा पनि कृषिमा सक्रिय छन् जिरीका लाक्पा « Khabarhub

७२ वर्षमा पनि कृषिमा सक्रिय छन् जिरीका लाक्पा


२ असार २०८३, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

दोलखा– जिरी नगरपालिका–१ पुम्पाका ७२ वर्षीय लाक्पा शेर्पा उमेरले बुढेसकाल लागे पनि अझै कृषि कर्ममै व्यस्त छन् । करिब एक दशकदेखि उनी गाउँकै अगुवा कृषकका रूपमा परिचित छन् । जीवनको अधिकांश समय खेतीपातीमै बिताएका शेर्पाले अहिले पनि खेतबारीमै पसिना बगाएर उदाहरणीय किसानको परिचय बनाएका छन् ।

करिब २० रोपनी जमिनमा उनले किवी, आलु र पशुपालनलाई मुख्य आम्दानीको स्रोत बनाएका छन् । परम्परागत खेतीभन्दा फरक सोच अपनाउँदै उनले व्यावसायिक कृषि प्रणालीलाई अङ्गालेका छन् । उनको यो प्रयासले गाउँमा अन्य किसानलाई पनि व्यावसायिक खेतीतर्फ आकर्षित गरेको देखिन्छ ।

शेर्पाले सुरुमा आफ्नै लगानीमा किवी खेती सुरु गरेका थिए । बिस्तारै अनुभव बढ्दै जाँदा उनले किवीलाई मुख्य बाली बनाउँदै यसको बीचमा आलु खेती पनि गर्न थाले । एउटै बारीमा दुईवटा उत्पादन लिने उनको यो मिश्रित खेती प्रणाली अहिले सफल अभ्यासका रूपमा स्थापित भएको छ ।

गत वर्ष मात्रै उनले किवी बिक्रीबाट करिब २ लाख रुपैयाँ आम्दानी गरेका थिए । त्यस्तै, किवी बगैँचाको छाहारीमा लगाएको आलु खेतीबाट थप ५० हजार रुपैयाँभन्दा बढी आम्दानी भएको थियो । यसरी एउटै जमिनबाट दुई सिजनमा आम्दानी लिन सक्ने उनको अभ्यासले स्थानीय स्तरमा कृषि सम्भावनालाई नयाँ दृष्टिकोण दिएको छ ।

हाल आलु खन्ने सिजन सुरु भएसँगै शेर्पा दम्पती खेतबारीमै व्यस्त देखिन्छन् । बिहानदेखि साँझसम्म उनीहरू आफ्नै बारीमा काम गर्दै देखिन्छन् भने किवीको उत्पादन सिजन भने कात्तिकदेखि सुरु हुने शेर्पा सुनाउँछन् ।

जिरी नगर प्रमुख मित्र जिरेलले शनिबार शेर्पाको किवी बगानमा पुगेर अनुगमन गरेका थिए । उनले नगरले गरेको अनुदान लगानीको सही सदुपयोग भएको भन्दै प्रशंसा गरेका छन् ।

नगरपालिकाले बिउ बिजन, टनेल, थाङ्रा, कृषि औजार तथा प्राविधिक सहयोगमार्फत किसानलाई प्रोत्साहन गर्दै आएको छ । यसले स्थानीय कृषकलाई आधुनिक कृषि प्रणाली अपनाउन सहयोग पुगेको नगर प्रमुख जिरेलले बताए ।

गत वर्ष सक्रिय कृषकका रूपमा सम्मानित भएका लाक्पा शेर्पाले नगरपालिकाबाट प्राप्त सम्मान र सहयोगले आफूलाई अझै सक्रिय बनाएको बताएका छन् । उमेर ढल्किए पनि काम गर्ने जोशमा कुनै कमी नआएको उनको भनाइ छ ।

पुम्पाका किवी कृषकका रूपमा उनले गाउँमा मात्र होइन, जिरी नगरपालिकामै उदाहरणीय पहिचान बनाएका छन् । उनको मेहनत, लगनशीलता र कृषि प्रतिको समर्पणले अन्य किसानलाई पनि व्यावसायिक खेतीतर्फ प्रेरित गरिरहेको छ ।

आफैँ बीउ उत्पादनमा सफल शेर्पा

कृषक शेर्पाले आलुको प्रथम पुस्ताको बीउ उत्पादनसम्बन्धी परीक्षण सफल भएको बताएका छन् । उनका अनुसार उन्नत टीपीएस–२ (त्एक्–२) जातको आलुको दाना बीउ प्रयोग गरी पहिलो पुस्ताको आलु बीउ उत्पादन गरिएको हो । 

उनले आलुबाली विकास केन्द्र, निगाले, सिन्धुपाल्चोकबाट २९ हजार रुपैयाँमा २० ग्राम दाना बीउ खरिद गरी परीक्षण थालेका थिए ।

‘पहिलो पटक परीक्षणका रूपमा लगाइएको टीपीएस–२ जातको दाना बीउबाट पहिलो पुस्ताको आलु बीउ उत्पादन सफल भएको छ,’ शेर्पाले भने । उनका अनुसार यस प्रविधिबाट उत्पादन भएको बीउ गुणस्तरीय हुने भएकाले आगामी वर्षमा उत्पादन विस्तार गर्ने योजना रहेको छ। सुवाश बस्नेत/दोलखा

प्रकाशित मिति : २ असार २०८३, मंगलबार  ४ : ४९ बजे

म्याग्दीको पन्थोक र जुग्जामा राष्ट्रिय प्रसारण लाइनको विद्युत् विस्तार

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–५ देवीस्थानका पन्थोक र जुग्जामा राष्ट्रिय प्रसारण

अमेरिकाद्वारा बाढीपीडितका लागि ३६ लाख डलरभन्दा बढी अतिरिक्त सहायता घोषणा

वाशिङ्टन डिसी– अमेरिकी सरकारले नेपालका बाढीपीडितका लागि ३६ लाख अमेरिकी

काभ्रेमा ‘हाटबजार’को लहर, किसानलाई बजारीकरणमा सहजता

काभ्रे– करिब अढाई वर्षअघि बनेपा नगरपालिकाले पहिलोपटक शुक्रबारे हाटबजार सुरु

बाढीको जोखिम घटेसँगै नारायणगढ-पोखरा र काठमाडौँ सडक खुल्यो

काठमाडौँ – रसुवामा बाढी-पहिरोको जोखिम घटेसँगै नारायणगढ-मुग्लिन तथा मुग्लिन-पोखरा/काठमाडौँ सडक

भोटेकोशीमा पानी घट्यो : रसुवा, नुवाकोट र धादिङमा बाढीको खतरा टर्‍यो

काठमाडाैँ – उत्तरी रसुवाको भोटेकोशी नदीमा बाढीको बहाव बढेको खबरपछि