संसदीय समितिमा यातायातको चर्चा : चालक अभावदेखि भारतीय गाडीले पूर्वाधार बिगारेकोसम्म « Khabarhub

संसदीय समितिमा यातायातको चर्चा : चालक अभावदेखि भारतीय गाडीले पूर्वाधार बिगारेकोसम्म

गुनासो सुन्न आएनन् आफ्नै अभिव्यक्तिले विवादमा तानिएका मन्त्री



काठमाडौँ- प्रतिनिधि सभाका १० विषयगत समितिमध्ये मंगलबार पूर्वाधार विकास समितिको बैठक बस्यो । समितिका सभापति आशिष गजुरेलले यातायात तथा ढुवानी क्षेत्रको समस्यामा छलफल गर्न बिहान ९ बजे डाकेको बैठक झण्डै २० मिनेट ढिला सुरु भयो । तालुकदार पूर्वाधार विकास मन्त्रालयका मन्त्री सुनिल लम्साल भने बैठकमा उपस्थित भएनन् । बैठकको सुरुवातमा उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सुरेशप्रसाद काफ्लेले सार्वजनिक सवारी र ढुवानी व्यवस्थापनका लागि तत्काल सुधार गर्नुपर्ने विषय प्रस्तुत गरे । यसका लागि उनले ट्राफिक व्यवस्थापनमा थप कडाइ गर्नुपर्ने प्रस्ताव राखे ।

ट्राफिक नियम उल्लङ्घन कम गर्न अहिलेको ५ सय र १ हजार जरिवाना ज्यादै न्यून भयो, कसैलाई डर नै हुने भएन,’ उनले भने, ‘नियम उल्लङ्घन गर्नेलाई ५ हजार देखि ५० हजार रुपैयाँसम्म जरिवाना गर्ने कानुनी व्यवस्था आवश्यक छ ।’ उनका अनुसार नेपालमा करिब ६५ लाख सवारी साधन दर्ता भएको तथ्याङ्क छ । यसको व्यवस्थापनार्थ देशभर जम्मा २५ देखि २६ सय जना ट्राफिक प्रहरी परिचालन हुनुपर्ने बाध्यता छ । काठमाडौं उपत्यकामा भने दैनिक २० लाख सवारी गुड्ने गरेका छन् । यस्तै, उनले परम्परागत ट्राफिक व्यवस्थापन प्रणालीलाई प्रविधिमा रुपान्तरण गर्न सरकारलाई सुझाव दिए । ‘ट्राफिक लाइटहरू एक आपसमा सिङ्क्रोनाइज छैनन्, यसले जाम व्यवस्थापनमा कठिनाइ भएको छ । प्रविधिमा लगानी नगर्ने हो भने केही समयपछि एम्बुलेन्स समेत समयमा अस्पताल पुग्न नसक्ने अवस्था आउँछ,’ उनले भने ।

एआई-जेनेरेटेड इन्टिग्रेटेड ट्राफिक लाइट प्रणाली लागू गर्न करिब १५ देखि २० अर्ब रुपैयाँ लगानी लाग्ने उनको अनुमान छ । दुर्घटनाको वास्तविक प्रमाण जुटाउन सार्वजनिक तथा निजी सवारीमा ड्यासबोर्ड क्यामेरा अनिवार्य गर्नुपर्ने सुझाव दिए । ‘सीमा क्षेत्रमा डिजिटल इन्टिग्रेटेड चेकपोष्ट, सरकारी तवरबाटै सवारी तौलने धर्मकाँटा व्यवस्था, पुराना र म्याद सकिएका गाडीलाई सडकबाट हटाउन तत्काल स्क्र्याप पोलिसी ल्याउनुपर्छ,’ उनले भने । उनले ट्राफिक व्यवस्थापनमा पूर्वाधार निर्माण र प्रविधिमा लगानी बढाउन सरकार र सरोकारवाला निकायसँग आग्रह पनि गरे ।

विद्यालयको पाठ्यक्रममा पनि ट्राफिक नियम समावेश गर्नुपर्ने भन्दै उनले ट्राफिक निगरानीका लागि ड्रोन र रोबोटको प्रयोग बढाउन सरकारले लगानी बढाउनुपर्ने उल्लेख गरे । त्यस्तै, हरेक दिन औसत २ हजारदेखि ३५ सय भारतीय सवारी साधन नेपाल भित्रिने गरेकामा भारवहन क्षमताको उचित अनुगमन नभएको भन्दै उनले सरकारको ध्यानाकर्षण समेत गराए । प्रहरी वरिष्ठ उपरीक्षक काफ्लेपछि सभापतिले राष्ट्रिय यातायात व्यवसायी महासंघका अध्यक्ष पुण्यप्रसाद सिटौला सरोजलाई बोल्न दुई मिनेटको समय दिए । केबल दुई मिनेट दिएकामा सांसद सुनील केसी र नीता घतानीले भने विरोध जनाए ।

यो सरकारले रिजल्ट दिनेगरी काम गर्ने भने पनि नागरिक र देश विकासको प्रमुख आधार मानिने यातायात क्षेत्रको समस्याका लागि २ मिनेटले नपुग्ने उनीहरुले बताए । उनीहरुले पर्याप्त समय दिएर छलफल हुनेगरी बैठक बोलाउनुपर्ने उल्लेख गरे । सांसद घतानीले अघिल्लो बैठकमा दिइएका सुझाव मन्त्रीसम्म पुगे नपुगेबारे समेत समितिका सभापतिलाई प्रश्न गरिन् । त्यसमा सभापति गजुरेलले सडक सुरक्षा विधययक र सुरक्षा परिषद् गठन गर्ने बारे मन्त्रालयलाई प्रस्ताव पठाएको जानकारी गराए ।

‘यातायत क्षेत्र वर्षौदेखि गिजोलिएको छ । एक-दुई वटा बैठकमै समाधान आउँदैन । यो सुरुवात हो, यसलाई पटक–पटक छलफल गरेर समाधानको निष्कर्ष दिनेछौँ,’ उनले भने । सार्वजनिक यातायत व्यवस्थापन गर्न आफूले ताकेता गर्ने उनको भनाइ छ । ‘गुन्द्रुकजसरी कोचिएर यात्रुले यात्रा गर्नुपरेको छ । कुन सवारी कति बजे कहाँ आइपुग्छ भन्ने सूचना छैन । २१ रुपैँया भाडादर तोकिएकोमा २५ तिनुपर्ने अवस्था छ । डिजिटल पेको व्यवस्था छैन,’ उनले थपे, ‘सडकमा अपाङ्गता भएका, अशक्त जोकोही हिँड्दा पनि ठूलो सवारीले हान्छ की भनेर डराउनुपर्ने अवस्था छ । काठमाडौंमा २० प्रतिशत खुला क्षेत्र हुनुपर्नेमा १ प्रतिशत जमिन खाली छैनन् । यी सबै विषयलाई क्रमवद्ध रुपमा छलफलमा लैजाने छौँ ।’

यसपछि बोल्ने पालो आयो नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष सरोज सिटौलाको । सिटौलाले बैठकमा बोलाएको र बोल्न समय दिएकामा सभापति गजुरेललाई धन्यवाद दिए । ‘म यो क्षेत्रमा लागेको ३५ वर्ष भयो । आजसम्म सरकारले यसरी कुरा राख्ने ठाउँ दिएको थिएन, आज पायौँ । २ मिनेट समयका लागि पनि धन्य छौँ,’ उनले भने । सुरुवातमा उनले यातायात क्षेत्रलाई सरकारले मन्त्रालयको बोर्डबाट समेत झिकेर विभेद गरेको भन्दै दुःखेसो पोखे । ‘भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको बोर्डबाट अहिले यातायात शब्द नै झिकिएको छ । सरकारले राम्रै सोचेर गरेको होला । हामीले लगेर हाल्न मिलेन,’ उनले व्यङ्ग्य गरे ।

सार्वजनिक यातायातको यात्रा किन असहज भयो भन्ने विययमा सरकारले चासो नदेखाएको भन्दै उनले समितिको ध्यानाकर्षण गराए । ‘मलाई कुनै पार्टीसँग नजोड्नु होला । त्यही गर्दा सबै बिग्रेको छ । हामी सरकारको स्पिरिटमा हिँड्न चाहन्छौँ । तर, कानुन कुनै कोठा र दुलोमा बन्नु भएन । कानुन कहाँ बन्छ, के कसरी बन्छ हामीलाई पनि थाहा हुनु पर्‍यो । एकै पटक यस्तो कानुन बनेछ भन्ने अवस्थाका अन्त्य हुनपर्छ,’ उनले भने ।

सरकारको नीति उचित र पारदर्शी भए यातयात क्षेत्र सुधार हुने उनले विश्वास व्यक्त गरे । सिटौलाले भने, ‘यातायात क्षेत्रमा व्यवसायीले डेढ करोडसम्म लगानी गरेर युरोपियन स्तरका लक्जरी सवारी ल्याएका छन् । तर राज्यले राजमार्गमा चालकका लागि एउटा सामान्य रेस्ट स्टेसन समेत बनाइदिएको छैन ।’ उनले मालवाहक सवारीसाधनको हकमा नीतिगत अस्पष्टता भएकोमा सुधारका लागि सुझाव दिए ।

‘भारतीय गाडीले काँकडभिट्टा, सुनौली वा रक्सौलबाट ७२ घण्टाको पुर्जी काटेपछि नेपालभर जहाँ पनि जान पाउने तर हाम्रो नेपाली गाडी चाहिँ भारत जानुपर्दा १–२ लाख डिपोजिट जुटाएर दूतावास धाउनुपर्ने छ । यसबारे नीति बनाइदिनुपर्‍यो,’ उनले आग्रह गरे । यस्तै, कानुनले तोकेभन्दा बढी भारसहित भारत, चीनबाट नेपालतर्फ आउने मालवाहक सवारीले सडक पूर्वाधारमा क्षति पुर्‍याएको भन्दै यसबारे पनि सरकारको ध्यानाकर्षण गराए । ती सवारीका कारण नेपाली व्यवसायीले करोडौँ लगानीमा खरिद गरेका गाडी ग्यारेजमा थन्क्याउनु परेको उनको भनाइ छ ।

‘भारतबाट ५० टनसम्म भार बोकेर आउने गाडीहरूले नेपालका पुल र सडक भत्काइरहेका छन् । त्यस्ता गाडी सीमाका सुख्खा बन्दरगाहमै रोक्नपर्छ ।’ उनले भने । त्यसो गरेमा नेपालतर्फका गाडीले पनि काम पाउने उनको भनाइ छ । उनले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) मा पनि सरकारले त्रृटिपूर्ण नीति लिएको आरोप लगाए । यसै कारण देशमा चालकको चरम अभाव रहेको उनले बताए । ‘१५ वर्षदेखि ५/७ वर्ष सहचालकको काम गर्दै गर्दा ठूलो गाडी चलाउन सिकेको हुन्छ । त्यसलाई सानो चलाउन आउँदैन । सानो र ठूलो गाडी चलाउने तरिका पनि धैरै फरक हुन्छ । तर, हेभी गाडी चलाउनसक्ने क्षमता भएको व्यक्तिले पनि सुरुमा लाइट गाडीकै लाइसेन्स लिनुपर्ने, जुन गाडी सिकेको छ, त्यही गाडीको ट्रायल दिन किन नपाउने ?,’ उनले प्रश्न गरे ।

वर्षौँ लगाएर चलाउन सिकेको हेभी गाडीको लाइसेन्स लिन सानो गाडीको लिएको मितिले ७ वर्ष कुर्नुपर्ने अव्यावहारिक नीतिले यातायात क्षेत्रमा चालकको खडेरी रहेको उनले बताए । यस्तै, उनले शहरको यातायात क्षेत्र सुधार गर्न १०० सिट क्षमताभन्दा कमका गाडीलाई अनुमति नदिन उनले सरकरालाई सुझाव दिए । ‘कहिलेकाहीँ त सरकरले ठेलालाई पनि मान्छे बोक्ने अनुमति दिने हो की जस्तो लाग्छ । १५ सिटेलाई अनुमति दिएर शहरको मुख्य सडक अस्तव्यस्त बनाउने सरकार नै होइन ?’ उनले प्रश्न गरे । यातायात क्षेत्र इन्जिनियरले मात्रै सुधार गर्न नसक्ने उनको भनाइ छ ।

बैठकमा ढुवानी व्यवसायी महासंघ नेपालका केन्द्रीय उपाध्यक्ष अरुण कुमार श्रेष्ठले यातायात सुधारका लागि ‘एकीकृत ट्रान्सपोर्ट नीति’ को आवश्यकता औँल्याए । उनका अनुसार नेपालको कुल गार्हस्थ उत्पादनमा ढुवानी क्षेत्रको करिब ८ प्रतिशतसम्म योगदान छ । यस क्षेत्रलाई थप चलायमान बनाउन नीति, पूर्वाधार र प्रविधिको त्रिकोणात्मक समन्वय आवश्यक रहेको उनले धारणा राखे । हाम्रा राजमार्गमा ४० देखि ५० किलोमिटरको दूरीमा ‘रिफ्रेसमेन्ट सेन्टररोड मेन्टेनेन्स’ टोली हुनुपर्छ । ढुवानीमा पारदर्शीता ल्याउन स्क्यानिङ तथा जाँच प्रणाली र सडकको भारवहन क्षमताअनुसार मात्र सवारी सञ्चालन गर्न कडाइ गरिनुपर्छ,’ उनले भने ।

ट्रक व्यवसायी संघका अध्यक्ष राजेन्द्रविक्रम बानियाँले भने ओभरलोडकै कारण पूर्वाधार जीर्ण बनेको उल्लेख गरे । उनले बुटवल–नारायणगढ खण्डका पुल ओभरलोडकै कारण क्षतिग्रस्त बनेको बताए । ‘हाम्रा पूर्वाधार बचाउन कानुनले तोकेभन्दा बढी लोड बोक्नेलाई नियन्त्रण गर्नुपर्छ । ओभरलोड बोक्नेमा भारतीय गाडी बढी छन्,’ उनले भने । यसको सुधारका लागि ट्राफिक नियमको कडाइका साथ पालना गराउनु आवश्यक रहेको उनको बुझाइ छ ।

यातायात क्षेत्रका छाता संगठनका कुरा सुन्दै गर्दा बैठक स्वभाविक रुपमा नै चलेको थियो । तर जब सभापति गजुरेलले सांसदहरुलाई समय दिए, नेपाली कांग्रेसकी सांसद बासना थापाले मन्त्रीलाई बैठकमा डाक्न आग्रह गरिन् । सांसद थापालाई टालटुले जवाफ दिँदै सभापति गजुरेलले सांसद धनेन्द्र कार्कीलाई कुरा राख्न समय दिए । सांसद गजुरेलले सडक दुर्घटना र पूर्वाधारका क्षेत्रमा भइरहेका गम्भीर समस्यामा सरकराले विशेष ध्यान दिनुपर्ने बताए । ‘समितिले दलगत स्वार्थभन्दा माथि उठेर मन्त्रालयसँग सहजीकरण गरी समाधान निकाल्नुपर्छ । यो निकै गम्भीर विषय हो,’ उनले भने । यसैबीचमा सांसद थापाले पुनः सभापतिलाई आफू बोल्ने पालो आउँदासम्म मन्त्रीलाई बैठकमा ल्याउन अनुरोध गरिन् । ‘उहाँलाई सुनाउनै पर्ने कर्णालीदेखिको समस्या छ जसरी हुन्छ उहाँ मैले बोल्ने बेलासम्म यहाँ हुनुपर्छ,’ उनले स्पष्ट माग राखिन् ।

सभापतिले मन्त्री आउने भन्दै उनलाई चुप लगाए । यसपछि उनले सांसदभरत बहादुर स्वारलाई बोल्न पालो दिए । उनले निर्माण र यातायात क्षेत्रका समस्यालाई राष्ट्रिय समस्याका रूपमा लिनुपर्ने बताए । ‘राज्यको मुख्य मेरुदण्डका रूपमा रहेको यातायात व्यवसायीको मनोबल बढाउन तत्काल ठोस कदम चाल्नुपर्छ । त्यसका लागि समितिले यहाँको छलफललाई यहीँ सीमित नराखी मन्त्रालयमार्फत कार्यान्वयन गराउनुपर्छ,’ उनले भने ।

समितिको बैठक झण्डै साढे नौ बजेदेखि सुरु भएको थियो भने ११ बजेदेखि प्रतिनिधिसभाको बैठक थियो । त्यसैले सांसदहरु समितिको बैठक छोट्याएर सदनमा उपस्थित हुनुपर्ने हतारोमा थिए । समय सीमितताका कारण यसैपनि पर्याप्त छलफल गर्न नपाइएकोमा सांसदहरु रुष्ट थिए । त्यसैमाथि मन्त्री लम्साल पनि बैठकमा उपस्थित थिएनन् ।

‘खुट्टा भाँच्ने अभिव्यक्तिको जवाफ दिनुपर्छ भनेर मन्त्रीज्यू नआउनुभएको हो ? मन्त्रीबिना समितिको बैठक नराख्ने भनेको होइन, खोइ त मन्त्री ?’ बैठकको अन्तिममा सांसद थापाले प्रश्न गरिन् । यसअघि पूर्वाधार विकासमन्त्री लम्सालले नौबिसे–मलेखु सडकखण्ड अनुगमन गर्ने क्रममा ठेकेदारको ‘खुट्टा भाँच्ने’ भन्दै विवादास्पद अभिव्यक्ति दिएका थिए ।

यस्तै, अर्का सांसद स्वाँर पनि ‘समितिमा मन्त्री नआएपछि हामीले हाम्रो कुरा कसलाई सुनाउने ?’ भन्दै कड्किए । उनीहरुलाई शान्त पार्दै सभापति गजुरेलले भने, ‘उहाँलाई फोन गर्दा धुलिखेलको कार्यक्रममा जानुभएको रहेछ । बाटोमै हुनुहुन्छ भन्ने कुरा भयो । उहाँलाई शुक्रबार नै खबर गरेको हुँ,’ मन्त्री संसदप्रति गम्भीर हुनुपर्नेमा आफ्नो पनि समर्थन रहेको भन्दै उनले सांसदहरुलाई थामथुम पारे ।

प्रकाशित मिति : २ असार २०८३, मंगलबार  ८ : ०८ बजे

म्याग्दीको पन्थोक र जुग्जामा राष्ट्रिय प्रसारण लाइनको विद्युत् विस्तार

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–५ देवीस्थानका पन्थोक र जुग्जामा राष्ट्रिय प्रसारण

अमेरिकाद्वारा बाढीपीडितका लागि ३६ लाख डलरभन्दा बढी अतिरिक्त सहायता घोषणा

वाशिङ्टन डिसी– अमेरिकी सरकारले नेपालका बाढीपीडितका लागि ३६ लाख अमेरिकी

काभ्रेमा ‘हाटबजार’को लहर, किसानलाई बजारीकरणमा सहजता

काभ्रे– करिब अढाई वर्षअघि बनेपा नगरपालिकाले पहिलोपटक शुक्रबारे हाटबजार सुरु

बाढीको जोखिम घटेसँगै नारायणगढ-पोखरा र काठमाडौँ सडक खुल्यो

काठमाडौँ – रसुवामा बाढी-पहिरोको जोखिम घटेसँगै नारायणगढ-मुग्लिन तथा मुग्लिन-पोखरा/काठमाडौँ सडक

भोटेकोशीमा पानी घट्यो : रसुवा, नुवाकोट र धादिङमा बाढीको खतरा टर्‍यो

काठमाडाैँ – उत्तरी रसुवाको भोटेकोशी नदीमा बाढीको बहाव बढेको खबरपछि