सरकारको निःशुल्क स्वास्थ्य पोर्टल मार्फत २२ सय बढीले पाए निःशुल्क उपचार सेवा « Khabarhub

सरकारको निःशुल्क स्वास्थ्य पोर्टल मार्फत २२ सय बढीले पाए निःशुल्क उपचार सेवा


३२ असार २०८३, बिहिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सरकारले विपन्न, असहाय तथा बेवारिसे बिरामीलाई लक्षित गर्दै सञ्चालनमा ल्याएको निःशुल्क स्वास्थ्य पोर्टल मार्फत ९० दिनको अवधिमा २ हजार २ सय भन्दा बढी नागरिकले निःशुल्क उपचार सेवा प्राप्त गरेका छन् ।

पोर्टलमार्फत अस्पतालमा उपलब्ध निःशुल्क शय्या र रगतको मौज्दातबारे वास्तविक समय (रियल–टाइम) मा जानकारी लिन सकिने व्यवस्था गरिएको छ ।

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका अनुसार पोर्टलमा आबद्ध हुने अस्पतालको संख्या निरन्तर बढिरहेको छ । पछिल्लो सातामात्र १३ अस्पताल थपिएसँगै हाल प्रणालीमा आबद्ध अस्पतालको संख्या २ सय ३८ पुगेको मन्त्रालयका प्रवक्ता डा. समिरकुमार अधिकारीले जानकारी दिए ।

पोर्टलमा आबद्ध प्रत्येक अस्पतालले आफ्नो कुल शय्या संख्या र त्यसको १० प्रतिशत बराबर अनिवार्य रूपमा छुट्याउनुपर्ने निःशुल्क शय्याको विवरण नियमित रूपमा अद्यावधिक गर्दै आएका छन् । साथै ती शय्यामध्ये कति प्रयोगमा छन् र कति खाली छन् भन्ने जानकारी पनि पोर्टलमा उपलब्ध गराइन्छ ।

यस प्रणालीमार्फत विपन्न बिरामी वा उनका आफन्तले घरमै बसेर मोबाइल वा कम्प्युटरबाट देशभरका अस्पतालमा उपलब्ध निःशुल्क शय्याको अवस्था हेर्न सक्नेछन् । पोर्टलमा विभिन्न रक्तसञ्चार केन्द्रमा उपलब्ध रगतको मौज्दातसमेत अद्यावधिक हुने भएकाले आवश्यक रगतको जानकारी पनि सहजै प्राप्त गर्न सकिन्छ ।

सरकारले संविधानले प्रत्याभूत गरेको निःशुल्क स्वास्थ्य उपचारको हक कार्यान्वयन गर्न तथा स्वास्थ्य संस्था सञ्चालन मापदण्ड, २०७७ को प्रभावकारी कार्यान्वयनका लागि सूचना प्रविधिमा आधारित यो प्रणाली विकास गरेको हो । उक्त मापदण्डको दफा ७० (घ) अनुसार अस्पतालहरूले कुल शय्याको कम्तीमा १० प्रतिशत विपन्न, असहाय तथा बेवारिसे बिरामीका लागि निःशुल्क उपचारका निम्ति अनिवार्य रूपमा छुट्याउनुपर्ने व्यवस्था छ ।

प्रवक्ता डा. अधिकारीका अनुसार प्रणाली कार्यान्वयनसँगै संविधानले सुनिश्चित गरेको निःशुल्क स्वास्थ्य उपचारको अधिकार उपयोग गर्ने नागरिकको संख्या क्रमशः बढ्दै गएको छ । मन्त्रालयले निःशुल्क स्वास्थ्य पोर्टलअन्तर्गत रक्त सूचना पोर्टल समेत सञ्चालनमा ल्याएको छ । यसबाट नागरिकले देशभरका रक्तसञ्चार केन्द्रमा उपलब्ध विभिन्न रक्त समूहको मौज्दातसमेत सहज रूपमा हेर्न सक्ने व्यवस्था गरिएको छ ।

प्रवक्ता डा.अधिकारीका अनुसार पोर्टल सञ्चालनमा आएयता हालसम्म १ हजार ७६० भन्दा बढी नागरिकले निःशुल्क शय्याको सुविधा प्राप्त गरिसकेका छन् । देशका प्रमुख अस्पतालहरूमध्ये बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा सबैभन्दा धेरै निःशुल्क शय्या उपलब्ध छन् । त्यहाँ रहेका कुल २५१ निःशुल्क शय्यामध्ये सोमबार अपराह्नसम्म सबै शय्या खाली रहेका थिए । यस्तै, निःशुल्क शय्याको सबैभन्दा बढी उपयोग भने वीर अस्पतालमा भएको छ, जहाँ उपलब्ध ९६ निःशुल्क शय्यामध्ये १९ बिरामी उपचाररत रहेका छन् ।

डा. अधिकारीका अनुसार निःशुल्क शय्याको सुविधा सम्बन्धी जानकारी अझै सबै नागरिकसम्म पुग्न नसकेकाले सेवा उपयोग गर्नेको संख्या अपेक्षाकृत कम देखिएको हो । जनचेतना विस्तारसँगै यसको उपयोग अझ बढ्दै जाने उहाँको विश्वास छ ।

यसैबीच, मन्त्रालयले ‘निःशुल्क उपचार पोर्टल (सञ्चालन तथा व्यवस्थापन) कार्यविधि, २०८३’ स्वीकृत गरी मन्त्रालयको वेबसाइटमा सार्वजनिक गरेको छ । कार्यविधिअनुसार १० प्रतिशत निःशुल्क शय्यामा भर्ना भएका बिरामीलाई अस्पतालमा उपलब्ध सबै स्वास्थ्य सेवा पूर्णतः निःशुल्क उपलब्ध गराउनुपर्ने व्यवस्था गरिएको छ ।

मन्त्रालयले पोर्टललाई थप प्रभावकारी बनाउँदै लक्षित वर्गसम्म निःशुल्क उपचार सेवा सुनिश्चित गर्न आवश्यक सुधार तथा व्यवस्थापनका कार्यहरू निरन्तर अघि बढाइने जनाएको छ ।

प्रकाशित मिति : ३२ असार २०८३, बिहिबार  ११ : ३४ बजे

यो वर्ष नवरात्रको नवौँ दिनमा पनि किन महाअष्टमीकै कर्म दोहोर्‍याउनुपर्ने ?

काठमाडौँ – नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको नवरात्रमा

सिन्धुली सुमो दुर्घटनाका मृतक, बेपत्ता र घाइतेको पहिचान खुल्यो

खोटाङ – काठमाडौँबाट खोटाङ आउँदै गरेको को १ ज २९७६

सोमबार भगवान शिवको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल कात्तिक २ गते सोमबार सन् २०२६

आज २०८३ साल कात्तिक २ गते सोमबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक २ गते सोमबार सन् २०२६

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा