रसुवागढी नाकाबाट ६ हजार ५०० बढी विद्युतीय सवारी आयात, १५ अर्बभन्दा बढी राजश्व सङ्कलन  « Khabarhub

रसुवागढी नाकाबाट ६ हजार ५०० बढी विद्युतीय सवारी आयात, १५ अर्बभन्दा बढी राजश्व सङ्कलन 


३२ असार २०८३, बिहीबार  

पढ्न लाग्ने समय : 3 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

रसुवा– उत्तरी छिमेकी मुलुक चीनसँगको प्रमुख व्यापारिक नाका रसुवागढी (टिमुरे) भन्सारबाट आर्थिक वर्ष २०८२/८३ मा विद्युतीय सवारी साधन (ईभी) को आयात उल्लेख्य रूपमा बढेको छ । 

नेपाली बजारमा विद्युतीय सवारीको माग निरन्तर वृद्धि भएसँगै यस नाकाबाट हुने आयात र त्यसबापत सङ्कलन हुने राजश्वमा समेत उल्लेखनीय वृद्धि भएको रसुवा भन्सार कार्यालयले जनाएको छ ।

भन्सार कार्यालयका अनुसार आर्थिक वर्ष २०८२/८३ मा रसुवागढी नाकाबाट करिब ६ हजार ५०० भन्दा बढी साना तथा ठूला विद्युतीय सवारी साधन नेपाल भित्रिएका छन् । 

आयात भएका सवारीमा विद्युतीय कार, जीप, भ्यान तथा मिनीबस प्रमुख रहेका छन्। चीनका विभिन्न सहरबाट केरुङ हुँदै यी सवारी नेपाल ल्याइएको हो ।

विद्युतीय सवारीको आयात बढेसँगै रसुवा भन्सार कार्यालयको राजश्व सङ्कलनमा पनि ऐतिहासिक वृद्धि भएको छ । 

चालु आर्थिक वर्षमा विद्युतीय सवारी साधनको जाँचपास तथा भन्सार महसुलबापत मात्रै १५ अर्ब रुपैयाँभन्दा बढी राजश्व सङ्कलन भएको कार्यालयले जनाएको छ । कुल राजश्व सङ्कलनमध्ये ६० प्रतिशतभन्दा बढी हिस्सा विद्युतीय सवारीबाट प्राप्त भएको बताइएको छ ।

सरकारले आर्थिक वर्ष २०८२/८३ को बजेटमार्फत विद्युतीय सवारीमा लाग्ने करका दरमा केही परिमार्जन गरे पनि चिनियाँ ब्रान्डका ईभीप्रतिको आकर्षणका कारण आयातमा कुनै उल्लेख्य कमी आएन ।

इन्धनबाट चल्ने सवारीको तुलनामा सञ्चालन खर्च कम हुने, वातावरणमैत्री हुने तथा आधुनिक प्रविधियुक्त भएकाले उपभोक्ताहरू ईभीतर्फ आकर्षित भएका हुन् । 

काठमाडौँसँग छोटो दूरीमा रहेको रसुवागढी नाका चीनबाट सवारी आयात गर्ने व्यवसायीहरूको प्रमुख प्रवेशद्वारका रूपमा स्थापित हुँदै गएको छ ।

भन्सार अधिकारीहरूका अनुसार पछिल्लो समय रसुवागढी नाका विद्युतीय सवारी आयातको मुख्य केन्द्रका रूपमा विकास भइरहेको छ । दैनिक रूपमा भन्सार यार्डमा आउने अधिकांश मालवाहक सवारीमा विद्युतीय गाडी नै रहने गरेका छन् । 

चिनियाँ पक्षतर्फको सडक पूर्वाधार सुधार हुनु, जाँचपास प्रणाली प्रविधिमैत्री बन्दै जानु तथा भन्सार प्रक्रियामा सहजता आउनुले आयात वृद्धि भएको उनीहरूको भनाइ छ ।

यद्यपि, आर्थिक वर्ष २०८२/८३ विद्युतीय सवारी आयातसँगै प्रशासनिक विवादका कारण पनि चर्चामा रह्यो। बजेट घोषणाअघि केही व्यापारी र भन्सार कर्मचारीको मिलेमतोमा नाकामा आइपुग्न बाँकी करिब २०० विद्युतीय सवारीको नियमविपरीत पूर्व-जाँचपास गराउन खोजिएको कैफियत फेला परेको थियो । 

घटनापछि अर्थ मन्त्रालय र भन्सार विभागको निर्देशनमा तत्कालीन प्रमुख भन्सार अधिकृतसहित १३ जना कर्मचारीलाई निलम्बन गरी विभागीय कारबाही अघि बढाइएको थियो ।

 त्यसपछि नयाँ नेतृत्वमार्फत जाँचपास प्रक्रियालाई थप पारदर्शी, व्यवस्थित र प्रभावकारी बनाइएको भन्सार कार्यालयले जनाएको छ।

यसैबीच, टिमुरेमा निर्माणाधीन एकीकृत जाँचचौकी (आईसीपी) र सुख्खा बन्दरगाहको निर्माण अन्तिम चरणमा पुगेकाले आगामी आर्थिक वर्ष २०८३/८४ देखि सवारी व्यवस्थापन, भन्सार जाँचपास र व्यापारिक गतिविधि अझ प्रभावकारी हुने अपेक्षा गरिएको छ । 

भन्सार प्रशासनले रसुवागढी नाकाको व्यापारिक महत्त्व आगामी वर्षहरूमा अझ विस्तार हुने विश्वास व्यक्त गरेको छ ।

प्रकाशित मिति : ३२ असार २०८३, बिहीबार  १२ : २० बजे

हङकङबाट नेपालतर्फ लागे शेरबहादुर देउवा, पाँच महिनापछि स्वदेश फर्किँदै

काठमाडौं – पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा लामो

किशोर श्रेष्ठ पक्राउ परेपछि उपसभामुखको विवादास्पद पोस्ट : ‘पत्रकारको भेषमा राक्षस हाे’

काठमाडाैं – पत्रकार किशोर श्रेष्ठ पक्राउ परेपछि प्रतिनिधिसभाकी उपसभामुख रूबी

शिक्षामन्त्री पोखरेलद्वारा न्यूरोविकाससम्बन्धी अवस्था र बाल मानसिक स्वास्थ्य सेवाबारे छलफल

काठमाडाैं – सरकारका प्रवक्ता तथा शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले

युवा वर्गको चाहनाअनुसारको काम गरेर देखाउनुपर्ने छ : सभापति लामिछाने

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले मुलुकले

पत्रकार किशोर श्रेष्ठ पक्राउ

काठमाडौं – पत्रकार किशोर श्रेष्ठ बुधबार राति पक्राउ परेका छन्