काभ्रे-१ मा शिक्षा र पूर्वाधारमा कायाकल्प गर्ने  गुणराजको संकल्प « Khabarhub

काभ्रे-१ मा शिक्षा र पूर्वाधारमा कायाकल्प गर्ने  गुणराजको संकल्प



काठमाडौं– यसपटकको संसद्‍मा पुराना दलका थुप्रै नेताहरूको अनुहार देख्न पाइने छैन । जेन-जी आन्दोलनपछि दलहरूमा आएको पुस्तान्तरण सन्देशले पुराना दलहरूले पनि नवयुवालाई मौका दिएका छन् । 

प्रज्ञा, चैतन्य र सिर्जना दृष्टिले अब्बल नवयुवालाई दलहरूले उम्मेदवार बनाएका छन् । यसपटकको चुनावमा पिएचडी स्कलर, चिकित्सक, इन्जिनियर, पाइलट, पूर्वप्रशासक, प्रहरीका उच्च अधिकारीदेखि विदेशका खातीप्राप्त शैक्षिक थलोबाट दीक्षितहरू मैदानमा देखिएका छन् ।  

 काभ्रे–१ का कांग्रेस उम्मेदवार गुणराज मोक्तान त्यस्तै उम्दा प्रत्याशी हुन् । उनी शैक्षिक प्रशासन (एजुकेशन गभनेन्स) मा विद्यावारिधि गर्दैछन् । चुनावी मैदानमा जानु अघिसम्म भक्तपुरको सानोठिमी क्याम्पसमा पढाउँदै आएका उनी सामुदायिक विद्यालय व्यवस्थापन समितिका महासंघ अध्यक्ष हुन् । मोक्तानका चुनावी एजेण्डा बारेमा खबरहबले गरेको कुराकानीको सम्पादित अंश :

शैक्षिक क्षेत्रबाटै समाजलाई योगदान दिने सम्भावना रहँदा रहँदै राजनीतिमै किन आउनुभयो ? 

स्कुल शिक्षाको गुणस्तरका लागि काम गरेँ । यसैक्षेत्रमा काम गर्दै जाँदा राजनीति सबै नीतिहरूको राज गर्ने नीति रहेछ । सबैलाई नेतृत्व गर्ने रहेछ । वकालत गर्ने ठाउँबाट नीति बनाउने ठाउँ हेर्दा सबै चिज त्यहीँ छ जस्तो लाग्छ । 

शिक्षा ऐन छिट्टै चाहिन्छ । ऐन बालबालिका र अभिभावकमैत्री चाहिन्छ । दुई तीन वर्ष यसैका लागि संघर्ष गर्‍यौँ । सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघको तर्फबाट कुरा उठायौ । तर नीतिगत तह नागरिकको भन्दा स्वार्थ समूहको घेरामा हुने रहेछ । नागरिकको माग बेवास्ता हुने रहेछ । 

पीँधमा रहेका जनताको कुरा नीति निर्माण गर्ने ठाउँसम्म पुग्ने नै रहेनछ । लामो समय शिक्षा प्रणाली सुधारमा काम गर्दै गर्दा नीतिगत तहमा नपुगी नहुने लागेर राजनीतिमा लागेँ । 

शिक्षा ऐन शिक्षक साथीहरूको स्वार्थसँग जोडिएर आएन । संस्थागत विद्यालय सञ्चालन गरेका स्वार्थ समूहसँग जोडिएको छ । तर विद्यालयमा व्यवस्थापन समितिले राम्रो प्रयास गर्दै गर्दा पनि सुनुवाइ नहुने । बालबालिकाको कुरा त्यहाँ पुग्नै नसक्ने । अभिभावकको कुरा पुग्नै नसक्ने हुँदो रहेछ । 

त्यसकारण पनि संसद्मा पुग्नै पर्छ भन्ने लाग्यो । नीति बनाउने ठाउँमा पुगेर सरकारलाई विश्वस्त गर्नुपर्नेछ । संसद्मा म पुग्नु भनेको बालबालिकाको कुरा पुग्नु हो । गाउँका अभिभावकका दुख पुग्नु हो । सामुदायिक विद्यालय र शिक्षक पुग्नु हो । भुइँतहको नागरिक पुग्नु हो । 

शिक्षा क्षेत्र मात्रै सुधार्ने एजेन्डा लिएर चुनाव जितिन्छ ? जनताले स्वास्थ्य, रोजगार, कृषि प्रवद्र्धन र बाटोघाटो लगायतका विकासको एजेन्डाको बारेमा सोधे के भन्नुहुन्छ ?  

दुई वटा काम प्राथमिकतामा राखेर हिँडेको छु । एक शैक्षिक क्षेत्रको सुधार गर्ने र अर्को भौतिक विकास गर्ने । आम नागरिकको समस्या के हो ? भन्ने बारेमा मतदाताको सही प्रतिनिधित्व गर्नुपर्छ । 

मेरो क्षेत्रमा बाह्रै महिना गाडी गुड्ने सडक छैन । दुई गाउँपालिका त काभ्रेको कर्णाली भनेर चिनिन्छ । यति विकट ठाउँ पनि छ । कतै टेलिफोनको समेत पहुँच छैन । खानेपानीको समस्या छ । विकास निर्माणको समस्या संसद्मा उठाउँछु । 

विकास र बजेट गाउँ पुगेको छ । तर गाउँले शहर पसेका छन् । तिनलाई गाउँमै कसरी रोक्ने चुनौती छ । यो हुनुको पछाडी कमजोर शैक्षिक प्रणाली हो । शिक्षाले नै मानिसलाई योग्य र क्षमतावान् बनाउने हो । रोजगारी दिलाउन सक्ने शिक्षा छैन । सीपसँग जोड्ने शिक्षा छैन ? आर्थिक उपार्जनसँग जोड्ने शिक्षा छैन ।  

त्यसो हुन नसक्दा श्रमिकको रुपमा विद्यार्थी बिदेसिनु परेको छ । गाउँमा चलेको स्कुलप्रति अभिभावकको विश्वास कति छ ? भन्ने अर्को प्रश्न छ । छोराछोरी पढाउन गाउँ छोडेका छन् । गाउँमा स्कुल छ, बाटो छ, बिजुली छ । तर स्कुलमा राम्रो पढाई हुन्छ भन्ने विश्वास छैन । शहर पसेका छन् । गाउँ खाली हुने प्रमुख कारण गुणस्तरीय शिक्षाको अभाव हो । 

गाउँले शहर पालेको हुन्छ भन्छन् । तर गाउँ पुग्नुभयो भने त्यसको ठीक उल्टो छ । शहरले गाउँ पालिरहेको छ । एउटा बिहे भयो भने सबै कुरा शहरबाट लिएर जानुपर्छ । यसरी गाउँ गरिब भइरहेको छ । गाउँमा खर्च बढेको छ । आम्दानी बढेको छैन । गाउँलेहरू आम्दानीको खोजीमा भौँतारिरहेका छन् । 

सुशासन विना विकास हुन सक्दैन । गाउँमा कोही बिरामी भए, नेता गुहार्नुपर्छ अस्पतालमा वेड पाउनको लागि । दुर्घटना भए नेता गुहार्नुपर्छ । आधारभूत कुराहरूको लागि पनि नेता गुहार्नुपर्ने अवस्था छ । तर यो चिन्ता एक नेता वा सांसदले गरेर मात्रै पनि पुग्दैन । राष्ट्रिस्तरबाटै यसको समाधान खोजिनुपर्छ ।

यो चरम दलीयकरणले जेन–जी आन्दोलनको विजारोपण भएको हो । दलभन्दा पर रहेका नागरिकले विद्रोह गर्न बाध्य भए  । 

जेन–जी आन्दोलनपछि वैकल्पिक दलले देशको नेतृत्व लिने तयारीका साथ जुटेको छ । पुराना दलले चुनाव जित्ने माहौल कठिन देखिन्छ नि ? 

हालसम्म पाँचवटा गाउँपालिकामा घरदैलोमा पुगिसकेँ । अझै तीन नगरपालिका जान बाँकी छ । त्यहाँ जाँदै गर्दा गाउँलेहरूले मेरो उम्मेदवारी स्वीकार गरेको पाएको छु । विभिन्न दलहरूबाट १८ जनाको उम्मेदवारी छ । गाउँलेहरूको साथ र समर्थन हेर्दा जीतको नजिक छु । त्यसले आत्मविश्वास जगाएको छ । 

हामी हुर्किँदै गर्दा कांग्रेसको छोरो भनेर नेविसंघमा प्रवेश गराइहाल्ने । एमालेको छोरो हो भनेर अखिल बनाइहाल्ने अभ्यास थियो । अहिले नेविसंघ र अखिल जस्ता नवयुवालाई प्रतिनिधित्व गरेर पार्टी र सरकारसँग जोड्ने संरचना प्यारालाइज्ड छ । त्यसकारण युवाहरू नयाँ अर्थात् वैकल्पिक दल रोजिरहेका छन् । युवाहरूलाई सामाजिक सञ्जालले शासन गरिरहेको छ । स्वतन्त्र भएर सञ्जालले शासन गरिरहेको युवालाई मेरो नजिक अर्थात् मेरो मुद्दाको नजिक ल्याउने कोसिस गरिरहेको छु । 

अन्य दलको नीति सिद्धान्त नेताले लेख्ने दस्ताबेज हुन्छ । तर कांग्रेसको नीति र सिद्धान्त ‘सार्वजनिक भ्वाइस’ ले बन्छ । जेन–जी आन्दोलनमा उठेका माग र मुद्दाअनुसार कांग्रेसले आफूलाई लैजान्छ । यो कुरा युवालाई थाहा दिन जरुरी छ । युवाहरूको वास्तविक प्रतिनिधित्व गर्न सक्छु । जनता तथा युवाहरूले नयाँपन खोजिरहेका छन् । यसबेला सबैभन्दा नयाँ कांग्रेस हो ।

नेपाली कांग्रेस कसरी नयाँ पार्टी हो ? 

माघ १ देखि नयाँ कमिटी, नयाँ संकल्प, नयाँ दस्ताबेज, नयाँ दृष्टिकोणसहित कांग्रेस अगाडी बढेको छ । निर्वाचनमा उम्मेदवार बनाउँदै गर्दा करिब सयको हाराहारीमा युवा उम्मेदवार उठाएको छ । प्रश्न उठेका र कुनै मुद्दा मामिला भएको उम्मेदवार उठाइएको छैन । 

गठबन्धनको संस्कृति भत्काएको छ । गठबन्धन गरेर मतदाताको अधिकार कुण्ठित गर्ने काम रोकिएको छ । सधैँ चुनाव हुने, सरकार नयाँ बन्ने र प्रधानमन्त्री उही पुरानै नेता हुने परम्परा तोडिदिएको छ । अन्य दलले प्रधानमन्त्री तोकेका नेता जे आयो त्यही गरौँला भन्ने छन् । तर कांग्रेसले तीन दशक राजनीतिको अभ्यास गरेको अनुभवी, कौशल र कूटनीतिक नेता गगन थापालाई मानेको छ । 

कांग्रेसप्रतिको अपनत्व बढेको छ । नयाँ आशा र संकल्पसहित कांग्रेस आएको छ । २००७ सालदेखि अहिलेसम्म कांग्रेसको नेतृत्व विना आएको छैन । २०६४ सालमा कांग्रेस बाहेक अन्य दल ठूला भए । ती दलको नेतृत्वमा ६ वर्ष संविधानसभा चल्यो । तर संविधान बनेन । २०७० मा जब कांग्रेस आयो, २ वर्षमा संविधान बन्यो । 

त्यसकारण जेन–जी आन्दोलन खेर जान नदिनको लागि पनि कांग्रेसको सरकार बन्नुपर्छ । आन्दोलनमा ६ दर्जन बढी मानिसको मृत्यु भयो । उनीहरूका लागि न्यायको लागि काम गर्न सक्ने कांग्रेस मात्रै हो । अन्यले दलले केही गर्न सक्दैनन् ।

वैकल्पिक दलले ‘सेलिब्रेटी’ उम्मेदवार उठाएको छ । कांग्रेसले कहिले नाम नसुनेको व्यक्ति उम्मेदवार उठाएर चुनाव जित्छ ?  

नागरिकहरूमा दल र देशप्रतिको निष्ठा नै धर्मराएको अवस्था थियो । कर्मचारी, प्रहरी, शिक्षक लगायत सरकारको तलब खाने भन्ने बित्तिकै जनताको नजर फेरिएको थियो । कांग्रेसको पहिलो प्रतिबद्धता नै दल र देशप्रतिको धर्मराएको विश्वास उठाउने हो । नयाँ भन्नेहरू टेस्टेट भइसके । 

रास्वपाले ०७९ मा राम्रै सिट प्राप्त गरेको थियो । के गर्‍यो ? के भयो ? भनेर जनताले मूल्याङकन गरिसके । लोकतन्त्रको विकल्प छैन । लोकतन्त्रको रक्षा कांग्रेसले गर्छ । निर्वाचन प्रणालीलाई पनि परिवर्तन गर्नुपर्ने देखिन्छ । पार्टीको लगानीमा निर्वाचन लड्दै छु । सबै जिम्मेवारी पार्टीले लिएको छ । 

कुनै व्यापारीको लगानी छैन, व्यक्तिगत ठूलो धनराशी ऋण लिएको छैन । नत्र टिकट लिन पैसा तिर्नुपर्ने, चुनाव लड्न व्यक्तिगत वा लगानीकर्ता खोज्नुपर्ने थियो । जसको लगानी पर्छ, पद उसको हुन्छ । आम मतदाता र पार्टीको पद आफ्नो बनाउने अभियानमा छु । 

प्रकाशित मिति : ५ फाल्गुन २०८२, मंगलबार  ५ : ३९ बजे

नेकपा बहुमतका महासचिव बाँस्तोला पक्राउ

काठमाडौं– नेकपा बहुमतका महासचिव धर्मेन्द्र बाँस्तोलालाई प्रहरीले पक्राउ गरेको छ।

हारजितको अनुमान र मत सर्वेक्षणप्रति निर्वाचन आयोगको ध्यानाकर्षण

काठमाडौं– निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले हारजितको अनुमान

रूस‑यूक्रेन युद्ध : जेनेभामा शान्ति वार्ता सुरु, गतिरोध कायमै

एजेन्सी– रूस र यूक्रेनबीचको युद्ध नजिकिँदै चार वर्षपछि फेरि अमेरिकाको

प्रसाईँलाई रिहा गर्न राप्रपाले गरायो सरकारको ध्यानाकर्षण

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीले राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक