झापा ५ का लागि ओलीले सार्वजनिक गरे ४२ बुँदे प्रतिबद्धता पत्र « Khabarhub

झापा ५ का लागि ओलीले सार्वजनिक गरे ४२ बुँदे प्रतिबद्धता पत्र


५ फाल्गुन २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 4 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

दमक–आसन्न प्रतिनिधि सभाको निर्वाचनलाई लक्षित गरि नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको उम्मेदवारी रहेको झापा क्षेत्र नं. ५ लाई केन्द्रित ४२ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक गरिएको छ।

प्रतिबद्धता पत्रमा मुख्य चार क्षेत्र छनौट गरिएको छ। जसमा सुशासनको क्षेत्र, भ्रष्टाचार नियन्त्रण, राष्ट्र, राष्ट्रियताको सवाल र पूर्वाधार लगायतका क्षेत्रको विषय समेटिएको छ।

राजनीतिक दृष्टिकोण

झापा क्षेत्र नं. ५ का उम्मेदवार रहनु भएका एमाले अध्यक्ष ओलीको प्रतिबद्धता पत्रमा केही राजनीतिक विषयहरूमा प्रष्ट पारिएको छ।

जसमा भनिएको छ, ‘एमाले नेपाली कम्युनिस्ट आन्दोलनको मूलधार हो। २००६ साल वैशाख १० गते स्थापना भई यसले ७६ वसन्त पार गरेको छ। स्थापनादेखि हालसम्म यस पार्टीले अनेकौँ हन्डर ठक्कर खाँदै महत्वपूर्ण उपलब्धि हासिल गरेको छ। नेपालको कम्युनिस्ट आन्दोलनमा देखापर्ने दक्षिणपन्थी अवसरवाद र उग्रवामपन्थी भड्कावलाई परास्त गर्दै अगाडि बढाउँदै छौं। एमालेले नेपालमा पहिलोपटक कम्युनिस्ट सरकार गठन गरी २०५१/२०५२ सालमा लोकप्रिय कामको थालनी गरेको कुरा सबैमा जगजाहेर छ। आज मुलुक त्यही जगलाई टेकेर अगाडि बढिरहेको छ।’

स्पष्ट कार्यदिशाको अभाव रहेका पार्टीहरू जनताबाट अलोकप्रिय बन्दै एक्लिदै, खण्डित हुँदै गइरहेको उल्लेख गर्दै प्रतिबद्धता पत्रमा एमाले अनेक बाधा, अड्चनचिर्दै अगाडि बढिरहेको भनिएको छ।

‘२०७४ सालको आमनिर्वाचनपछि एमालेले सरकार गठन गन्यो। त्यसको नेतृत्व गर्ने अवसर केपी शर्मा ओलीले पाउनुभयो। कतिपय आन्तरिक कारण र वाह्य शक्तिको षड्यन्त्र र दबाबका कारण त्यो सरकार २०७८ सालमा विघटन भयो र नेकपा (एमाले) समेत खण्डित भई नेपाली कम्युनिस्ट आन्दोलनमा ठूलै क्षति पुग्यो। नेपाली जनतामा एकहदको निराशासमेत पैदा भयो। त्यसबाट दक्षिणपन्थी शक्तिहरूले शिर उठाउने मौका पाए,’ प्रतिबद्धता पत्रमा भनिएको छ।

‘२०७४ देखि ०७८ सम्म करिब साढे तीन वर्षमा डेढ वर्षजति कोभिडले जनजीवन अस्तव्यस्त बनाइदियो। बाँकी दुई वर्षमा मुलुकले पूर्वाधार विकासमा फड्को मारेको जगजाहेर छ। २०७४ सालको निर्वाचनबाट कुनै पार्टीको बहुमत नआएपछि सरकार अस्थिर बन्दै गयो। सत्ता टिकाउन दलहरूबीच अस्वस्थ गतिविधि हुन थाले। यस्तो बेलामा एमाले मुकदर्शक भएर बस्न हुँदैनथ्यो, त्यसकारण स्थिर सरकार दिन दुई ठूला दलहरूबीच सत्ता साझेदारी गरिएको थियो।’

स्टन्टबाजी र पपुलिस्ट चरित्र

एमाले अध्यक्ष ओलीको प्रतिबद्धता पत्रमा राजनैतिक दलहरूमा देखिएको दोहोरो चरित्रका कारण केही स्टन्टबाजी र पपुलिस्टहरूले परिस्थितिको फाइदा लिन थालेको पनि जनाइएको छ।

स्टन्टबाजी र पपुलिस्टको कुनै दर्शन, नीति, कार्यक्रम नभई केवल चर्का देखावटी नारा मात्र हुने उल्लेख गर्दै चर्का नाराले सर्वसाधारणमा केही भ्रम पार्ने गरेको जनाइएको छ।

त्यसैगरी सामाजिक सञ्जाल र विद्युतीय सञ्चारले गलत र तथ्यहीन कुरा प्रशारण गर्दा केही मानिसका दिमागमा भ्रम पार्न सफल भएको भन्दै कृत्रिम बुद्धिमत्ता (एआई) को नियमनमा कानुन अभावमा व्यापक दुरूपयोग भएको र त्यस्ता कुरा अनियन्त्रित हुँदा कतिपयलाई भ्रमित बनाएको भनिएको छ।

‘सुखी नेपाली समृद्ध नेपाल’को कार्यक्रम

एमालेले ‘सुखी नेपाली समृद्ध नेपाल’को नारा अगाडि सारेको उल्लेख गर्दै यो नारा मात्र नभई कार्यक्रम पनि रहेको स्पष्ट पारिएको छ।

यो नाराको विकल्प नरहेको ठहर गर्दै नेकपा (एमाले) जनता र कार्यकर्तामा आधारित पार्टी रहेको र विगतमा भएका राम्रा कामको संरक्षण र अधुरा कामको जिम्मेवारी प्रति पनि प्रतिबद्धता जनाइएको छ।

प्रतिबद्धताका मुख्य क्षेत्र

फागुन २१ गते हुने निर्वाचनमा एमालेले अध्यक्ष केपी शर्मा ओलीलाई झापा क्षेत्र नं. ५ को उम्मेदवारको रूपमा अगाडि सारेकाले विजयी गराउन अनुरोध गर्दै निर्वाचनपछि निर्धारण गरिएका क्षेत्रमा काम गर्ने प्रतिबद्धता जनाइएको छ।

प्रतिबद्धता पत्रमा भनिएको छ, ‘सुशासन लोकतन्त्रको सुन्दरता हो। देशमा राजनैतिक अस्थिरताले पर्याप्त सुशासन कायम नभएको कुरा सबैमा जगजाहेर छ। सुशासन कायम गर्ने हाम्रो प्रतिबद्धता र कार्यक्रम रहने छ।’

भ्रष्टाचार नियन्त्रणबारे भनिएको छ, ‘देशमा भएको भ्रष्टाचार र कुशासनको अन्त्य गर्नु अपरिहार्य भएको छ। भ्रष्टाचार नियन्त्रण नाराले मात्र सम्भव छैन। त्यसका लागि कार्यक्रमको आवश्यकता पर्छ।’

विगतमा एमाले सरकारमा हुँदा भ्रष्ट्राचार नियन्त्रणको काम सुरु गरी केही उपलब्धिसमेत प्राप्त भएको उल्लेख गर्दै भ्रष्ट्राचार नियन्त्रणमा शुन्य सहनशीलता अपनाइने उल्लेख गरिएको छ।

राष्ट्र, राष्ट्रियताको सवालमा, नेपाल भूपरिवेष्ठित मुलुक भएको र यस्ता देशका समस्या विशेष खालका हुने उल्लेख गर्दै भूपरिवेष्ठित मुलुकलाई भू–जडित बनाउन छिमेकी देशहरूसँग व्यापार तथा पारवहन सन्धिहरूमार्फत् कूटनीतिक काम अगाडि बढाइने जनाइएको छ। विगतका प्राप्त उपलब्धिलाई संरक्षण गर्ने पनि एमालेको प्रतिबद्धता छ।

पूर्वाधारलगायतका क्षेत्रमा प्रष्ट पार्दै एमालेले भौतिक पूर्वाधार क्षेत्रको विकासले आर्थिक विकासको ढोका खोल्ने कुरा सबैमा विदितै रहेको उल्लेख गर्दै यस क्षेत्रमा पर्याप्त काम भएको जानकारी दिएको छ। तर कतिपय काम अधुरा रहेको उल्लेख गर्दै यस क्षेत्रलाई प्रभाव पार्ने काम गर्ने प्रतिबद्धता जनाइएको छ।

४२ एजेन्डा र प्रतिबद्धता

नेकपा एमाले क्षेत्र नं. ५ को ४२ प्रतिबद्धतामा आ.व. ०८२/०८३ मा विनियोजित भई हाल रोकिएका र अधुरा रहेका सबै विकास निर्माणका काम पूरा गर्न सशक्त पहल गरिने, भूमिहीन, दलित, सुकुम्बासी तथा अव्यवस्थित बसोबासी जनतालाई जग्गाधनी प्रमाण–पूर्जा उपलब्ध गराउने कार्य तीव्रता दिइने, जनता आवास र विपन्न आवास निर्माणका कार्यक्रम निरन्तरता दिइने, आदिवासी, जनजाति, दलित, सन्थाल, मुस्लिमलगायतका पछाडि पारिएका सबै समुदायका नागरिकको जीवनस्तर उकास्ने किसिमका कार्यक्रम ल्याइने उल्लेख छ।

स्वास्थ्य बीमा सेवा थप वृद्धि गर्दै व्यवस्थित गर्ने, स्तरोन्नति भइसकेका सबै ग्राभेल सडक कालोपत्रे गर्ने, अधुरो रहेका सामुदायिक भवन निर्माण कार्य सम्पन्न गर्ने, आवश्यक स्थानहरूमा अन्न–फलफूल भण्डारणका लागि शीतभण्डार निर्माण गर्ने, प्रत्येक पालिकामा सुविधा सम्पन्न खेलमैदान निर्माण र क्रमशः वडा स्तरसम्म खेलमैदान विस्तार गर्ने प्रतिबद्धता जनाइएको छ।

सबै सामुदायिक क्याम्पस र विद्यालयहरूलाई भौतिक र शैक्षिक रूपमा सक्षम बनाउने, कृषिमा सिँचाइको सुविधालाई भूमिगत र सतही सिँचाइबाट व्यवस्थापन गर्ने, कृषिलाई आधुनिकीकरण गर्दै बान्त्रिकीकरणतर्फ उन्मुख गराई बजारीकरण गर्ने, जैविक मल कारखाना स्थापना गर्ने, समग्र कृषि क्षेत्रको विकास गरी खाद्यन्नमा आत्मनिर्भर बनाउने, अव्यवस्थित बजार व्यवस्थापन गर्ने उल्लेख छ।

दमक र गौरादह बजार आधुनिकीकरण, गौरीगञ्ज बजारमा स्मार्ट सिटी कार्यक्रम कार्यान्वयन, रतुवा, मावा, कमल खोलाको तटबन्धन कार्य सम्पन्न, दमक चिसापानी–रवि सडक पुनः ठेक्का लगाई निर्माण, दमक–उर्लाबारी मावा खोलामा पक्की पुल निर्माण, बिजिनेस टावर सञ्चालनमा ल्याउने र आसपासको जग्गा ल्यान्डपुलिङ गर्ने प्रतिबद्धता जनाइएको छ।

विज्ञान पार्क, इन्द्रेणी ताल, पशुपति सिमसार क्षेत्र, लानेको बाँध विकास गरी पर्यटकीय क्षेत्र बनाउने, नेपाल–चीन मैत्री औद्योगिक पार्क निर्माण, मदन भण्डारी रङ्गशाला निर्माण, आदिवासी रङ्गशाला निर्माण, दमक–गौरादह–कमल नगर अस्पताल स्तरवृद्धि, सडक स्तरोन्नति, माई नदी पुल अधुरो काम पूरा गर्ने, विराट बुद्धपार्क निर्माण, खानेपानी योजना सम्पन्न गर्ने कुरा प्रतिबद्धता पत्रमा छ।

त्यसैगरि प्रत्येक घरपरिवारलाई स्वच्छ खानेपानी प्रबन्ध गर्ने, दमक सभाहल सञ्चालनमा ल्याउने, प्रादेशिक आयुर्वेदिक अस्पताल स्तरवृद्धि गर्ने, साधु होली नमुना सिमसार र बाल्मीकि आश्रम सांस्कृतिक पर्यटकीय स्थल विकास, स्तुवामाई वृक्षारोपण आयोजना अन्तर्गत फलफूल खेती, सिजुवा–रतुवा पक्की पुल निर्माण, चप्रामारी–कुनामारी पक्की पुल निर्माण, आदिवासी सङ्ग्रहालय निर्माण, पोखरीलाई पर्यटकीय क्षेत्र विकास, नमुना खेती विस्तार, गौरीगञ्ज चौनी सिमसार–मोजोलोम–धोद्रामाटी क्षेत्र पर्यटकीय विकास, धर्म–जाति–सम्प्रदायसँग सम्बन्धित प्रतिष्ठान संरक्षण र प्रवद्र्धन कार्य पनि प्रतिबद्धता पत्रमा समेटिएको छ।

प्रकाशित मिति : ५ फाल्गुन २०८२, मंगलबार  ४ : २९ बजे

रूस‑यूक्रेन युद्ध : जेनेभामा शान्ति वार्ता सुरु, गतिरोध कायमै

एजेन्सी– रूस र यूक्रेनबीचको युद्ध नजिकिँदै चार वर्षपछि फेरि अमेरिकाको

प्रसाईँलाई रिहा गर्न राप्रपाले गरायो सरकारको ध्यानाकर्षण

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीले राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक

प्रतिनिधिसभा सदस्य निर्वाचन : ९० हजार मतपेटिकाको व्यवस्था

काठमाडौं– यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

स्कटल्यान्डविरुद्ध नेपालले टस जित्यो, जोरालाई मौका

काठमाडौं– आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले

टी–२० विश्वकपबाट बाहिरियो अष्ट्रेलिया

काठमाडौं– अष्ट्रेलिया आईसीसी टी–२० विश्वकपबाट बाहिरिएको छ। जिम्बाब्वे र आयरल्यान्ड