कोइराला किल्ला भत्काउने रुबिना भन्छिन्– ‘निर्वाचित विषय विज्ञ सांसदलाई मन्त्री बनाउनुपर्छ’ « Khabarhub

कोइराला किल्ला भत्काउने रुबिना भन्छिन्– ‘निर्वाचित विषय विज्ञ सांसदलाई मन्त्री बनाउनुपर्छ’

'हेभिवेट र लाईटवेट बहस निरर्थक'



काठमाडौं- २२ वर्षदेखि उज्वल थापाको ‘नेपाल खुल्ला छ’ अभियानमा जोडिएकी रुबिना विवेकशील साझाको उत्पादन हुन् । मोरङ-६ मा नेपाली कांग्रेसको विरासत भत्काएकी उनी प्रतिनिधि सभामा राष्ट्रिय स्वतन्त्र पार्टीकी नयाँ अनुहार हुन् ।

निर्वाचनमा कोइराला परिवारको विकरासत बोकेका डाक्टर शेखर कोइरालालाई पराजित गरेकी उनी अबको बालेन सरकारको मन्त्रिमण्डलमा समावेश नहुने बताउँछिन् । देशको मुख्य व्यापारिक केन्द्र विराटनगर ४ मा जन्मिएकी आचार्यले एमबीएसम्मको अध्ययन गरेकी छन् ।

एक दशकदेखि वैकल्पिक राजनीतिक साक्षी रहेकी उनी समीक्षा बास्कोटा नेतृत्वको विवेकशील साझा राष्ट्रिय स्वतन्त्र पार्टीमा समाहित हुँदा पार्टीमा आइन् । तत्कालीन विवेकशील साझाकी केन्द्रीय सदस्य रहेकी उनीलाई मोरङ-६ बाट सुरुमा टिकट दिन पार्टीले आनाकानी गरेको थियो तर पछि सहज रुपमा टिकट पाइन् ।

‘टेवा’ भन्ने संस्थामा आबद्ध भएर सामाजिक अभियान र महिला सशक्तिकरणमा काम गरिरहेकी रुबिना अहिले नीति नियम बनाउने ठाउँमा छिन् । चितवन घर भएका प्रदीप उप्रेतीसँग उनले विवाह गरेकी छिन् । उनका श्रीमान् पनि राजनीतिमै छन् । उप्रेती चितवनबाट हरि ढकाललाई जिताउने क्याम्पेनमा थिए ।

आफूलाई राजनीतिक रूपमा सफल बनाउन र यहाँसम्म ल्याउन श्रीमान् प्रदीपको ठूलो हात र जिम्मेवारी रहेको बताउँदै रुबिना उनलाई धन्यवाद दिन्छिन् । श्रीमान श्रीमती एउटै कित्तामा भएको कारण आफूलाई राजनीतिक यात्रा सहज भइरहेको उनको अनुभव छ ।

‘मलाई त शतप्रतिशत सहज थियो । दाहिने हात बनेर मेरो श्रीमान् र परिवारले साथ दिनुभयो ।’ रुबिना भन्छिन्, ‘मेरो श्रीमान् लामो समयदेखि वैकल्पिक राजनीति अभियानमा होमिनुभएको र परिवारको साथले म यहाँसम्म आउन सफल भएँ । परिवारको सबै जिम्मेवारी श्रीमानले पूरा गर्दिनुभयो । मलाई स्वतन्त्र रुपमा राजनीति गर्न छोडिदिनुभयो ।’

रुबिना अहिले मन्त्री बन्ने होडमा छैनन् उनी सांसद पद नै कुशलतापूर्वक निर्वाह गर्ने बताउँछिन् । ‘संसद भनेको एउटा सबैभन्दा जिम्मेवारीपूर्ण र जनतासँग जोडिने प्लेटफर्म भएको कारणले गर्दा म यसैलाई कुशलतापूर्वक निभाउने प्रयत्नमा छु ।’ आचार्य भन्छिन्, ‘मलाई काम गरेर देखाउन मन लागेको छ । त्यसैले सांसद पदलाई नै कुशलतापूर्वक निर्वाह गर्छु ।’

उनी जनताले घरघरमा पुगेर उनीहरूका गुनासा सुन्ने सांसद खोजेको बताउँछिन् । यस्तै सांसद बन्नका लागि आफूले जनताको घर घरमा पुगेर गुनासा सुन्ने र नीति निर्माणमा काम गर्ने वचन दिएको उल्लेख गर्छिन् ।

‘अहिले जनताले समस्या सुन्न आँगन टेक्दिने नेता चाहनुभएको छ । उहाँहरुका हरेक समस्यालाई सुनिदियोस् र नीति नियम बनाओस् भन्ने आवश्यकता महसुस गर्नुभएको छ ।’ उनी भन्छिन्, ‘यो जिम्मेवारी नै मेरो लागि ठूलो छ र म यसलाई कुशलतापूर्वक निर्वाह गर्छु । सांसद भवनमा मात्रै देखिने नेता जनताले खोज्नुभएको छैन ।’

गैरसांसद व्यक्तिलाई मन्त्रिपरिषदमा समेट्ने विषयमा रुबिनाको फरक मत छ । उनी सांसदहरू मध्येबाटै सम्बन्धित विषय विज्ञलाई मन्त्री बनाउन सुझाव दिन्छिन् । आश्वासन र भ्रमको राजनीति गरेकै कारण पुराना दललाई यसपटक जनताले नचुनेको बताउँदै राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरूले जनतासँग गरेका वाचा पूरा गर्ने प्रयत्न नगरे जनताले फेरि देखाइदिने उनको भनाइ छ । अबको मन्त्रिमण्डलमा ५ देखि ७ जनासम्म महिला मन्त्रीहरू समावेश हुनेमा उनी ढुक्क छिन् ।

निर्वाचनको अनुभव, निर्वाचित भइसके पछाडिको काम कर्तव्य, महिला सहभागिता र आगामी मन्त्रिपरिषदमा कस्तो हुनुपर्छ ? लगायतको सेरोफेरोमा रहेर खबर हबले रुबिनासँग कुराकानी गरेको छ। प्रस्तुत छ अन्तर्वार्ताको सम्पादित अंश-

मोरङ-६ मा कांग्रेसको विरासत भत्काइदिनुभएको छ कस्तो लागेको छ ?

मैले भत्काएको भन्दा पनि जनताले मलाई विश्वास गर्नुभएको छ । विगत लामो समयदेखि जनताले अन्यत्र विश्वास गर्नुभयो । तर, उहाँहरुको त्यो विश्वास जहिले पनि अविश्वासमा परिणत भयो । आश्वासन र भ्रमको मात्रै राजनीति देखिरहनुभएका जनताले यसपटक मलाई चुन्नुभएको हो । विरासतभन्दा पनि एकल वर्चश्व मात्रै कायम हुनुपर्छ भन्ने मानसिकतालाई जनताले ढालिदिए । विरासतको राजनीति विश्व इतिहासमै कम हुँदै गएको छ ।

सबै जात लिङ्ग धर्म र समुदायले आफ्नो देशमा स्थान पाउनुपर्छ भन्ने कुराहरू छन् । जनताले विगतमा जितेका नेताहरूको सबै कुरा मूल्याङ्कन गरिराख्नु भएको हुन्छ भन्ने कुराको पुष्टि भएको छ । मतान्तरकै पनि कुरा गर्दा युवा भर्सेस पहिलाको पुस्ता हुँदा युवाले धेरै मतान्तरले जित्नुभएको देखिन्छ । लोकतन्त्रमा सबैभन्दा निर्णायक शक्ति जनता हो । नेता त जनताको सेवक हुनुपर्छ ।

यो पनि पढ्नुहोस् :

अब म जनताको सेवक भएँ । हाम्रो काँधमा के जिम्मेवारी आइरहेको छ भने अब गफ मात्रै गर्ने र आफूले गरेका वाचा पूरा गर्ने नेताको काम छैन । त्यसैले आफूले गरेका वाचाहरू पूरा गर्नका लागि हामीले दिनरात खटेर काम गर्नुपर्नेछ । नत्र फेरि हामी अर्को निर्वाचनमा जनतामाझ परीक्षण भइहाल्छौँ ।

योभन्दा अगाडि यहाँको उम्मेदवारी हुँदै गर्दा समुदायमा धेरै नचिनेको अनुहार हुनुहुन्थ्यो । जित्छु जस्तो लागेको थियो ?

मैले विवेकशील अभियानदेखि नै राजनीति यात्रा सुरु गरेको हो । २२ वर्षको उमेरमा नै विवेकशील अभियानमा जोडिएको थिएँ । म अझै पनि उज्ज्वल थापा दाइलाई सम्झन्छु । उहाँले नि मलाई अभियानमा जोडाउनुभएको हो । नेपाल खुल्ला छ भन्ने प्लेकार्ड बोकेर मैले सडक आन्दोलन गरेको हिजो अस्ति जस्तो लाग्छ ।

२०७४ सालमा नै राजनीति अभियान सुरु गरेकाले म मोरङ-६ को समुदायसँग पनि जोडिएकी थिएँ । टेवा भन्ने संस्थामा आबद्ध भएर महिलाको क्षेत्रमा लामो समयदेखि काम गर्दै आएको छु । महिलालाई सामाजिक राजनीतिक आर्थिक रूपमा सक्षम बनाउनुपर्छ भनेर म समुदायमा निरन्तर हिँडेको कारण मलाई सहज थियो ।

सुरुमा के कसो होला भन्ने थियो तर उम्मेदवारी दर्ता गरेपछि म कन्फिडेन्सका साथ म र मेरो टिम लागेर निर्वाचन जित्न सफल भइयो । राजनीति, सामाजिक चेत र अनुभूति पहिलादेखि नै भएको व्यक्ति हो है भनेर समुदायलाई मेरो बारेमा ज्ञान थियो । हामीले २०८४ मा महिला पहिला हुनुपर्छ भन्ने अभियान चलाई नै राखेका थियौँ । डर भन्ने थिएन ।

मैदानमा उत्रेपछि जसरी पनि जिम्मेवारी पूरा गर्छु भन्ने हिम्मत थियो । हेभीवेट लाइटवेटभन्दा पनि समाजले के चाहिरहेको छ, त्यो कुरा मैले ठ्याक्कै बुझेको थिएँ । धेरै वर्ष अगाडि राष्ट्रिय स्वतन्त्र पार्टीले एउटा परिवर्तनको बिगुल फुकिसकेका कारण पनि मलाई सहज भयो ।

त्यसो भए राजनीति र समाजसेवा उस्तै रहेछ हो ? तपाईं त लामो समय राजनीति गरेको अनुभवी व्यक्तिसँग निर्वाचन लड्नुभयो ?

मैदानमा उत्रिसकेको थिएँ । राजनीतिक यात्रा तय गरिसकेको थिएँ । घरदैलो गर्दा जनअपेक्षा के छ भन्ने बुझिन्थ्यो । १०० जनामा १० जनाले मुख खुम्च्याउनु भयो भने ९० जनाले मलाई निरन्तर ऊर्जा दिनुभयो । मूल्याङ्कन गर्दा मेरो विजय सुनिश्चित जस्तै नै थियो ।

म कतैकतै थाक्न लाग्दा मेरो टिमले मलाई उठाउँथ्यो । टिम कतै थाक्न लाग्दा म उहाँहरुलाई उठाउँथे । हामीले घरदैलो मात्रै गरेनौँ, रिसर्च पनि गरेका थियौँ । त्यसमा मेरो विजय सुनिश्चित थियो । मलाई टिमले निकै ठूलो भरोसा र साथ दिएको छ । सामूहिकताको लिडरशिपबाटै हामी अगाडि बढेका हौँ । डगमगाउने अवस्था कहिले पनि आएन ।

फरक कुरामा मोडेँ । निर्वाचित भइसकेपछि यहाँहरु सरकारमा जाने प्रक्रियामा हुनुहुन्छ, अबको मन्त्रिमण्डलमा महिला सहभागिता कस्तो होला ?

अबको मन्त्रिमण्डलमा महिला सहभागिता व्यापक देखिन्छ । प्रत्यक्षबाट १३ जना अनुहार राष्ट्रिय स्वतन्त्र पार्टीबाटै महिलाले जित्नुभएको छ । समानुपातिकमा ४७ हुँदा महिला सहभागिता पार्टीमा व्यापक छ । यो सहभागिता सरकारसम्म पनि पुग्छ । महिला सांसदहरूबाट नीति निर्माण हुने अवसरले इतिहास रचिनेछ । महिला सशक्तिकरण र रूपान्तरणका लागि यो सरकारले ठूलो भूमिका निर्वाह गर्न सक्छ ।

यो पनि पढ्नुहोस् :

तपाईंहरूले नेतृत्वलाई महिलाको तर्फबाट यति र यो-यो मन्त्री हुनुपर्छ है भनेर सुझाव दिनुभएको छ ?

मन्त्रालयमा महिला सांसदहरू समेट्ने कुरा यो सरकारले गर्छ । सक्षम महिलाहरू प्रत्यक्ष र समानुपातिक दुवैबाट आउनुभएको कारण हामीले यसबारे अवगत गराएका पनि छौँ । यसकारण पार्टीलाई अवगत गराउनुपर्ने जरुरी पनि छैन । सक्षम नेतृत्वले अवसर पाउनुपर्छ भन्ने हाम्रो पार्टीको धारणा छ र त्यही अनुसार लागेको पनि छ । महिलाले पनि समग्र एलजीबीटीक्यूआई कम्युनिटीले पनि यसमा अवसर पाउँछ । पिछडिएको क्षेत्र, आदिवासी जनजाति, दलित लगायतलाई समेटेर नै मन्त्रिपरिषद् बन्छ भन्ने हामीलाई जानकारी छ ।

अबको मन्त्रिमण्डल कस्तो होस् भन्ने चाहना छ ?

हरेक मन्त्रालयमा सम्बन्धित विषय विज्ञलाई अवसर दिनुपर्छ भन्ने कुरा छ । विषय विज्ञताका आधारमा र विषय विज्ञबाटै मन्त्रालयहरूलाई लिड गरियो भने राम्रो काम गर्न सकिन्छ । म आदरणीय नेता र साथीहरूलाई के भन्न चाहन्छु भने आफ्नो क्षमता कुनमा छ त्यसैमा मात्रै फोकस हौँ ।

अबको मन्त्रिमण्डलमा कति जना महिला सहभागी हुनुहोला ?

ठ्याक्क म हिसाब भन्न सक्दिनँ तर मन्त्रिमण्डल गठन भएकोमा आधा नै नपुगे पनि ५,७ जना महिला अनिवार्य हुनुहुन्छ भन्ने लागेको छ । मन्त्रालयमा महिलाको संख्या यति नै भनेर संविधानमा उल्लेख नभएकाले त्यस अनुसार हुनुपर्छ हामी भन्दैनौँ । तर पार्टीले महिलाहरुलाई अवसर दिन्छ ।

यहाँ निर्वाचित हुनुभएको छ, के गर्न पाए हुन्थ्यो भन्ने हुटहुटी छ ?

मैले पाएको सांसदको जिम्मेवारी नै जिम्मेवारपूर्ण तरिकाले निर्वाह गर्छु । सांसदको भूमिका चानचुने कुरा होइन । म यसैलाई १ सय प्रतिशत दिएर अगाडि बढाउँछु । सांसद पदबाटै धेरै काम गर्न सकिन्छ । मन्त्रालय नै खोज्नुपर्छ जस्तो मलाई लाग्दैन । पहिला म सांसद भएको भूमिका राम्रोसँग निभाउन सकौँ, त्यसपछाडि अरु कुरा सोचौँला ।

खासमा जनतासँग भिजेर काम गर्न सकियो भने सांसद पदको जिम्मेवारी सबैभन्दा ठूलो कुरा हो । अहिले जनताले घरदैलो आँगन टेक्दिने नेता चाहनुभएको छ । उहाँहरुका हरेक समस्याहरूलाई सुनिदियोस् र नीति नियम बनाओस् भन्ने आवश्यकता महसुस गर्नुभएको कारण यो जिम्मेवारी नै मेरो लागि ठूलो छ । म यसलाई कुशलतापूर्वक निर्वाह गर्छु ।

संसद भवनमा मात्रै देखिने नेता र क्षेत्रीय समस्याहरू नसुन्ने नेताको अब काम छैन । मैले त्यही अनुसार जनताको घरघरमा पुग्ने खाका बनाइरहेको छु । त्यही अनुसार काम गर्छु ।

यो काम गर्न पाए हुन्थ्यो अथवा यो मन्त्रालय लिन पाए हुन्थ्यो भन्ने लाग्दैन ?

होइन मैले क्षेत्रीय घोषणापत्र पनि बनाएको छु । त्यस अनुसार काम गर्छु । मेरो क्षेत्रमा बाढी डुबान, भूमिहीन लगायतका थुप्रै समस्याहरू छन् । त्यसलाई मैले कसरी समाधान गर्छु भनेर खाका बनाइरहेको छु । मेरो अहिले कुनै मन्त्रालयमा जाने इच्छा छैन ।

सांसदको जिम्मेवारी नै मेरो लागि सबैभन्दा ठूलो कुरा हो । जनताको विश्वास पाएको छु । यो विश्वासलाई डगमगाउन नदिने गरी काम गर्छु । मेरो जिम्मेवारीलाई एकदम संकल्पका साथ पूरा गर्न प्रयत्न गर्नेछु ।

यहाँहरूको पार्टीमा सांसद भएका व्यक्तिहरूलाई मात्रै मन्त्री बनाउने कि गैर सांसदलाई पनि बनाउने भन्ने बहस चलेको रहेछ । यसमा तपाईंको धारणा के छ ?

विज्ञलाई बनाउँदा छ महिना पछाडि संवैधानिक रूपले उहाँहरुलाई अगाडि बढाउन सकिँदैन । यी विषय हामीले भोलि संविधान संशोधन गरेर मात्रै अभ्यास गर्दा राम्रो हुन्छ कि ? कानुनी प्रक्रियामा अल्झन नहुनेगरी निर्वाचित सांसदहरूबाटै सम्बन्धित विषय विज्ञलाई मन्त्री बनाउन म अनुरोध गर्छु ।

हामीले जनताबाट ठूलो साथ पाएका छौँ । उहाँहरूको साथलाई डगमगाउन नदिन र छोटो समयमै उपलब्धिमूलक काम गर्नका लागि पनि सोच्नुपर्ने आवश्यकता छ ।

प्रकाशित मिति : ३ चैत्र २०८२, मंगलबार  ५ : ११ बजे

मिसाइल खस्दा पनि काम गर्न बाध्य छन् खाडीका विदेशी कामदार

काठमाडौं- लामो समयदेखि रोजगारीको प्रमुख गन्तव्य मानिँदै आएका खाडी मुलुकहरू

लामिछानेको रिट ’हेर्दाहेर्दै’मा बिहीबार सुनुवाइ हुने

काठमाडौं– सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि

भयावह मूल्यवृद्धि रोक्न पेट्रोलियम पदार्थको मूल्यमा सहुलियत दिन कांग्रेस महामन्त्री पौडेलको आग्रह 

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले मध्यपूर्वमा देखिएको द्वन्द्वको असर

‘गण्डकी प्रदेशस्तरीय गाउँ पर्यटन मार्ट २०८३’ बन्दीपुरमा हुने

गण्डकी– तनहुँको बन्दीपुरमा गण्डकी प्रदेशस्तरीय गाउँ पर्यटन मार्ट २०८३ आयोजना

हत्या गरेको अभियोगमा एकजना पक्राउ

बाँके– बैजनाथ गाउँपालिका-५ छमनिया बस्ने ५१ वर्षीया भगवनी थारूको हत्या गरेको अभियोगमा