भोजपुर– पौवादुङमा गाउँपालिका–६ ठूलोदुम्मामा पिखुवा–भेडाबारी सिँचाइ कुलो निर्माणले स्थानीय किसानलाई राहत पुगेको छ ।
वर्षौँदेखि सिँचाइ अभावका कारण अकासे पानीमा मात्र निर्भर रहँदै आएका किसान अहिले नियमित पानीको पहुँचसँगै उत्साहित बनेका हुन् ।
सिँचाइ अभावका कारण खेतीयोग्य जमिन बाँझै रहने, उत्पादन घट्ने र वर्षायामबाहेक अन्य समयमा खेती गर्न कठिन हुने अवस्था यहाँ लामो समयदेखि रहिआएको थियो । तर हालै निर्माण कुलोले उक्त समस्या समाधानतर्फ महत्त्वपूर्ण कदम अघि बढाएको स्थानीय देवकुमार राईले बताए ।
उनले भने, ‘पहिले पानीको अभावले बाली सुक्ने समस्याल कतिपय खेत बाँझै राख्नुपर्ने बाध्यतो थियो अब भने सिँचाइको पहुँचपछि खेती विस्तार गर्न सकिने आशा जागेको छ ।’
उनका अनुसार आयोजना पूर्ण रूपमा सञ्चालनमा आएपछि करिब ५०० रोपनीभन्दा बढी खेतीयोग्य जमिन सिँचाइ सुविधामा जोडिनेछ । यसले विशेषगरी धान, मकै तथा तरकारी उत्पादनमा वृद्धि ल्याउने उनको भनाइ छ ।
आर्थिक वर्ष २०७८/७९ बाट निर्माण सुरु गरिएको उक्त सिँचाइ आयोजना हाल करिब डेढ किलोमिटर लम्बाइ निर्माण सम्पन्न भएको छ ।
हालसम्म विभिन्न आर्थिक वर्षमा गरी करिब ५५ लाख रुपैयाँ खर्च भइसकेको सिँचाइ कार्यालयका प्रमुख राजु भट्टराईले बताए ।
‘किसानलाई सहज सिँचाइ सुविधा विस्तार गर्ने उद्देश्यले यो आयोजना अघि बढाइएको हो’, उनले भने, ‘हाल केही भागमा पानी सञ्चालनमा आइसकेको छ । बाँकी संरचना सम्पन्न भएपछि पूर्ण रूपमा लाभ लिन सकिन्छ ।’
गाउँपालिकाका उपाध्यक्ष ज्योत्सना राईले कुलो निर्माणपछि विशेषगरी भेडाबारी र छेङराङ क्षेत्रका किसानलाई प्रत्यक्ष लाभ पुग्ने बताइन् ।
पछिल्लो समय गाउँपालिकाले कृषि उत्पादन वृद्धि र किसानको जीवनस्तर सुधारलाई प्राथमिकतामा राख्दै यस्ता पूर्वाधार विकासमा जोड दिँदै आएको छ ।
‘तल्लो क्षेत्रका किसानलाई लक्षित गरेर यो सिँचाइ कुलो निर्माण गरिएको हो’, उनले भनिन्, ‘स्थानीय सरकारको पहल तथा प्रदेश सरकारको बजेटमा यो आयोजना अघि बढाउन सफल भएका छौँ ।’
स्थानीय किसानका अनुसार सिँचाइ अभावका कारण धेरै जमिन वर्षौँदेखि उपयोगविहीन अवस्थामा थियो । तर कुलो निर्माणसँगै ती जमिन पुनः उत्पादनशील बन्न थालेका छन् ।
वडा नं ६ का वडाध्यक्ष दक्षकुमार राईका अनुसार सिँचाइ सुविधा विस्तारसँगै किसानलाई अब वर्षभरि खेती गर्न सक्ने वातावरण बनेको र पहिलेको तुलनामा किसानमा आत्मविश्वास बढेको बताए ।
गाउँपालिका अध्यक्ष किरण राईले कृषि क्षेत्रलाई स्थानीय अर्थतन्त्रको मेरुदण्डका रूपमा लिँदै सिँचाइ, कृषि सडक, बीउ वितरण तथा प्रविधि विस्तारलाई प्राथमिकतामा राखिएको बताए ।
‘कृषि उत्पादन वृद्धि गर्न सिँचाइ आधारभूत आवश्यकता हो’, अध्यक्षले भने, ‘आगामी दिनमा थप क्षेत्र समेट्नेगरी कुलो विस्तार, मर्मत तथा नयाँ आयोजना पनि अघि बढाइनेछ ।’
गाउँपालिकाले यस्ता सिँचाइ पूर्वाधार विकासले कृषिमा आधारित अर्थतन्त्रलाई सुदृढ बनाउन सहयोग पुग्ने विश्वास लिएको छ । रासस












प्रतिक्रिया