चन्द्रपुर- रौतहट भएर बग्ने वाग्मती र लालबकैया (बकैया) नदीका दुवै किनारमा निर्माण गरिएका बाँध जीर्ण बन्दै गएपछि जिल्लाका दर्जनौँ बस्ती बाढीको उच्च जोखिममा परेका छन्। कमजोर बाँधका कारण बर्सेनि नदीमा आएको बाढी बस्तीमा पस्ने, धनजन तथा बालीनालीमा ठूलो क्षति पुग्ने क्रम दोहोरिँदै आएको स्थानीयवासीले बताएका छन्।
केही दिनअघि परेको अविरल वर्षापछि बकैया नदीको बाँध फुटेर राजपुर नगरपालिका–४ मा बाढी पस्दा जनजीवन प्रभावित भएको थियो। स्थानीय प्रकाश श्रेष्ठका अनुसार बकैया नदीको बाँध फुटेमा कटहरिया, देवाही गोनाही, मौलापुर, ईशनाथ, राजपुर र गौर नगरपालिकासहित आधा दर्जनभन्दा बढी स्थानीय तह प्रत्यक्ष प्रभावित हुनेछन्।
बाँध नजिक बसोबास गर्ने नागरिक सबैभन्दा बढी जोखिममा पर्ने भन्दै श्रेष्ठले नदी नियन्त्रणका लागि दीर्घकालीन र बलियो संरचना निर्माण नगरेसम्म प्रत्येक वर्ष बाढीले धनजनको क्षति दोहोरिने बताए।
यस्तै, वाग्मती नदीको जीर्ण बाँधका कारण दुर्गाभगवती गाउँपालिका, गढीमाई, माधवनारायण, राजदेवी र गौर नगरपालिकाका नदी तटीय बस्तीहरू पनि बर्सेनि डुबानमा पर्ने गरेका छन्। दुर्गाभगवती गाउँपालिकाका अध्यक्ष शम्भु सिंहका अनुसार गत वर्षको बाढीले मात्रै करोडौँ रुपैयाँ बराबरको धानबाली नष्ट भएको थियो। उनले बाँधको प्रभावकारी संरक्षण र सुदृढीकरण नगर्दा स्थानीयले निरन्तर सास्ती खेप्नुपरेको बताए।
यसैबीच, वर्षासँगै वाग्मती र लालबकैया नदीमा जलस्तर बढ्न थालेपछि रौतहटका प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसाल नेतृत्वको सुरक्षा निकायको टोलीले बिहीबार नदी नियन्त्रण बाँध तथा निर्माणाधीन संरचनाको स्थलगत निरीक्षण गरेको छ।
निरीक्षणका क्रममा राजदेवी नगरपालिका–३ स्थित वाग्मती नदीको बाँधमा वर्षा र नदी कटानका कारण सामान्य क्षति पुगेको पाइएको प्रमुख जिल्ला अधिकारी भुसालले जानकारी दिए। उनले सम्बन्धित निकायलाई क्षतिग्रस्त भागको तत्काल मर्मत तथा आवश्यक संरक्षणका काम अघि बढाउन निर्देशन दिएका छन्।
टोलीले परोहा नगरपालिका–३ तेजापाकडस्थित लालबकैया नदीमा निर्माणाधीन स्पर (कटान नियन्त्रण संरचना) को समेत निरीक्षण गरेको थियो। निरीक्षणका क्रममा निर्माणको प्रगति, बाँधको अवस्था र सम्भावित जोखिमबारे प्राविधिक तथा सरोकारवालासँग छलफल गरिएको थियो।
प्रमुख जिल्ला अधिकारी भुसालले वर्षायाममा बाढी र नदी कटानबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि संवेदनशील क्षेत्रको नियमित अनुगमन, आवश्यक मर्मत तथा पूर्वतयारीलाई तीव्र बनाइएको बताए। उनले नदी तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सतर्क रहन र कुनै पनि विपद्सम्बन्धी सूचना तत्काल सम्बन्धित निकायलाई जानकारी गराउन आग्रह गरे।
निरीक्षण टोलीमा नारायण दल गणका गणपति विश्वास विष्ट, जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक सीताराम रिजाल, सशस्त्र प्रहरी उपरीक्षक रामहरि अधिकारी तथा राष्ट्रिय अनुसन्धान विभागका उपनिर्देशक कुमार बुढाथोकी सहभागी थिए।












प्रतिक्रिया