काठमाडौं- नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकार लोकतान्त्रिक मूल्य–मान्यताबाट विचलित हुँदै फासिवादतर्फ उन्मुख भएको आरोप लगाएका छन्।
शुक्रबार च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा पार्टीको वेबसाइट तथा मोबाइल एपको नवीन संस्करण सार्वजनिक कार्यक्रममा बोल्दै ओलीले शान्तिपूर्ण प्रदर्शनमाथि दमन, सञ्चारमाध्यममाथि अवरोध र विपक्षीमाथि दबाब बढेको दाबी गरे।
उनले एमालेको पार्टी कार्यालय र नेताहरूका घरमा जेन-जीका नाममा आगजनी भएको स्मरण गर्दै त्यस्ता घटनामा संलग्न व्यक्तिहरूको कडा आलोचना गरे।
आगलागीका कारण पार्टीको पुस्तकालयसहित महत्त्वपूर्ण दस्तावेज नष्ट भएको भन्दै त्यसको पुनः संकलनमा सहयोग गर्न उनले आग्रह गरे। उनले कार्यालय जलाउनेहरूलाई दिमाग नभएका मानिसहरू भनेर टिप्पणी गरे । उनले सरकारकै योजनामा सञ्चारमाध्यम र अन्य व्यवसायिक घरानामा गाडी तेर्स्याउने काम भएको बताए ।
‘आफ्नो कार्यालय र घरअगाडि ल्याएर गाडी तेर्स्याएको कसले सहन्छ ? तर सहनुपरेको छ। फासिजम् भनेको यही हो । नाजीजम् यही हो । यो भन्दा अगाडि बढेर राष्ट्रिय स्वयम् सेवा दल बनेकै थियो’, उनले भने, ‘अब सादा पोशाकमा मान्छे पठाएर आक्रमण गराउने तयारी सरकार गर्दैछ।’
ओलीले कीर्तपुरस्थित सुकुम्वासीको होल्डिङ सेन्टर अवलोकनका क्रममा जेन-जी युवक माजिद अन्सारीमाथि कुटपिट र यातना दिइएको भन्दै सरकारको कडा आलोचना गरे।
त्यसको विरोधमा विराटनगरमा बसेको शान्तिपूर्ण धर्नामाथि पनि प्रहरी खटाएर बल प्रयोग गरिएको दाबी उनले गरे। ओली शान्तिपूर्ण प्रदर्शन गर्नसमेत नदिइनु लोकतान्त्रिक अभ्यासविपरीत भएको बताए।
सरकारले सञ्चारमाध्यम र विपक्षी दलका कार्यालयअगाडि सवारीसाधन तेर्स्याएर अवरोध सिर्जना गरेको आरोप लगाउँदै उनले यस्ता गतिविधिले जनताको सहिष्णुतामाथि आघात पुगेको टिप्पणी गरे। उनले सरकार विस्तारै फासीवाद र
ओलीले सादा पोशाकमा मानिस परिचालन गरेर आक्रमण गराउने तयारी भइरहेको आरोप पनि लगाए। देशमा त्रास र असुरक्षाको वातावरण सिर्जना भएको दाबी गर्दै उनले सरकारले समाजलाई विभाजित गर्ने, कानुन मिच्ने र कानुनी शासन कमजोर बनाउने काम गरिरहेको आरोप लगाए।
उनले वालेन्द्र शाह नेतृत्वको सरकार असफल हुँदा देशमा समस्या बढेको पनि बताए । ‘आज देश निस्सासिएको छ। ऐठनको अवस्था छ । कतिखेर कसलाई के हुन्छ ? भन्न सकिने अवस्था छैन । यस्तो पनि हुन्छ सरकार, यस्तो पनि हुन्छ राज्य, यस्तो पनि हुन्छ समाज ?’, उनले भने, ‘समाज भाँड्ने, बिथोल्ने र कानुन मिच्ने कामको नेतृत्व सरकारले गरिरहेको छ। सरकारले कानुनी राज स्थापना गर्ने हो । तर सरकार आतंक मच्चाउनेतिर लागेको छ।’
उनले सुकुम्बासीहरू अझै पनि समस्यामा रहेको उल्लेख गर्दै सरकारले उनीहरूका समस्या समाधान गर्न नसकेको र बरू उदण्ड शैलीमा अघि बढिरहेको टिप्पणी गरे। अहिले पनि सुकुम्वासीहरू आफ्नै आँसु पिएर बस्न बाध्य भएको उल्लेख गरे।












प्रतिक्रिया