सत्तारुढ सांसद पारसमणिको आक्रोश : काम गर्न नसक्ने मन्त्रीहरूले मार्ग प्रशस्त गर ! « Khabarhub

सत्तारुढ सांसद पारसमणिको आक्रोश : काम गर्न नसक्ने मन्त्रीहरूले मार्ग प्रशस्त गर !



काठमाडौं- पारसमणि गोलाल संसदीय निर्वाचनमा उदयपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद हुन् । सत्तापक्षकै सांसद भएपनि उनी प्रतिनिधि सभामा सरकारलाई निरन्तर घचघच्याइरहने जनप्रतिनिधि मानिन्छन् । प्रतिनिधिसभाको बैठकमा उनले भौतिक पूर्वाधारमन्त्री सुनिल लम्साल सामान्य बिरामी हुँदा हेलिकप्टर चढेर उपचारका लागि काठमाडौँ आएको विषयमा कडा प्रश्न सोधे ।

उनले सरकारका नराम्रा काममा लम्पसार परेर साथ नदिने उल्लेख गरे । सरकार स्टन्टबाज शैलीमा लाग्नु नहुने उनको भनाइ छ । उनी सदनमा प्रश्न उठाएको भरमा सरकारको विरोध गर्‍यो भनेर बुझ्नु गलत भएको टिप्पणी गर्छन् । उनी भन्छन्, ‘भ्रमणको बाहानामा १८–२० लाख खर्च गर्नु हुँदैन। एउटा गाउँमा सर्पको उपचार नपाएर मान्छे छटपटाएर मरेको छ। तर मन्त्रीहरु हेलिकप्टरमा अनुगमनका नाममा, अनेकथरी नाममा कुदिरहनु भएको छ । जनता तड्पेर मरिराखेको अवस्थामा सरकारमा रहेका व्यक्तिहरू मोजमस्तीमा लाग्नु हुँदैन भन्ने हाम्रो कुरा हो । सरकारका केही कामहरू गरिबमुखी भएनन् ।’

उनी वर्तमान सरकार जनतामुखी नभएकोमा असन्तुष्ट छन् । हिजोका सरकार पनि जनमुखी नभएकाले विद्रोह भएको उनको धारणा छ । पछिल्लो विकसित राजनीतिक घटनाक्रम, सरकारको कार्यशैली, जनअपेक्षा लगायत विषयमा केन्द्रित रहेर खबरहबले उदयपुर क्षेत्र नम्बर १ बाट निर्वाचित रास्वपाका सांसद पारसमणि गेलालसँग कुराकानी गरेको छ । प्रस्तुत छ कुराकानीको सम्पादित अंश-

सरकारप्रति सत्तापक्षकै सांसदहरू सन्तुष्ट हुनुहुन्न है ?

हामी जनप्रतिनिधि हौँ, त्यसैले जनताका आवाज उठाउँछौँ । जनताको चाहना अनुसार सरकार चल्नुपर्छ भन्ने मान्यता राख्छौँ । हामीलाई संसद के हो, सदन के हो, सांसद के हो ? सबै थाहा छ । सरकार के हो भन्ने कुरो पनि बुझेका छौँ । हामीले जनताको पक्षबाट खेल्नुपर्ने भूमिका खेलेको हो । हामीले सरकारको विरोध गरेको होइन । सरकारले राम्रो काम गर्नुपर्छ भनेर घचघच्याइरहेका छौँ । सरकारले नराम्रा काम गरे लम्पसार परेर समर्थन गर्नु हुँदैन भन्ने मान्यता राखेको हो ।

सुरुमा त तपाईँहरू पार्टी र सरकारका गतिविधिमा विपक्षीले आलोचना गर्दा एकस्वर लागेर बचाउमा उत्रनुहुन्थ्यो । यस्तो परिवर्तन कसरी आयो ?

त्यसो होइन । हामी पहिलाजस्तो लम्पसारवादी होइन, लोकतान्त्रिक अभ्यासमा छौँ । सदन जनताको आवाज बोल्ने थलो हो । जनता के भन्छन् ? जनताले के अपेक्षा राखेका छन् ? जनताको दुःख के छ ? यो प्रश्न उठाउने ठाउँ हो । त्यसकारण सदनमा प्रश्न उठाएकै भरमा सरकारविरोधी रहेछ भनेर बुझ्नु हुँदैन । सरकारले राम्रो काम गर्नुपर्छ भनेर घचघच्याएको हो ।

तपाईंहरु सरकारका कुन कुन कुरामा असन्तुष्ट हो ?

प्रधानमन्त्रीको नियतमा खोट छ जस्तो मलाई लाग्दैन । तर उहाँ राम्रो हुँदै गर्दा सबै मन्त्रीहरूको कार्यशैली सबै राम्रो छ भन्ने पक्षमा हामी छैनौँ । मन्त्रीहरूले कार्यशैली परिवर्तन गर्नुपर्छ । स्टन्टबाजी कार्यशैलीमा लाग्नु हुँदैन । मन्त्रीहरूले हरेक भूगोलको समस्या बुझ्नका लागि सांसदहरूलाई सोधे भइगो नि । कहाँ के समस्या छ, बुझे भयो । समस्याको समाधान गर्न कसरी काम गर्ने भन्ने सल्लाह गरे भयो ।

सांसदलाई सहज तरिकाले सोध्ने हो भने उहाँहरुले बताइदिनुहुन्छ । त्यसकारण मैले मन्त्रीहरूलाई सन्देश दिन खोजेको हो । मन्त्रीहरूले कार्यशैली परिवर्तन गर्नुपर्छ । भ्रमणको बाहानामा १८– २० लाख खर्च गर्ने प्रवृत्ति राम्रो होइन । गाउँमा सर्पदंशको उपचार नपाएर मान्छे छटपटाएर मरेका छन् । तर मन्त्रीहरु अनुगमन र अनेक बहानामा हेलिकप्टरमा कुदिरहनु भएको छ । जनता तड्पेर मर्ने अवस्थामा सरकारमा रहेका व्यक्तिहरू मोजमस्तीमा लाग्नु हुँदैन भन्ने हाम्रो कुरा हो ।

गाउँमा एउटा राम्रो डाक्टर छैन । यी पैसाहरू त्यहाँ खर्च गरे भयो नि । सरकारका केही कामहरू गरिबमुखी भएनन् । न्यून वर्गमुखी भएनन्, जनमुखी भएनन् भन्ने हाम्रो स्पष्ट आवाज हो । त्यो हुनुपर्छ भनेर हामी जहिले घचघच्याइरहन्छौँ ।

हिजो पनि त्यही नभएका कारणले गर्दा विद्रोह भएको हो । सरकारले गरिबी बुझ्नुपर्‍यो, गरिबीतिर धकेल्ने र उसलाई हटाउने काममा लाग्नुभएन । गरिबी बुझ्ने नेता नै मन्त्री बन्नुपर्‍यो भन्ने हाम्रो धारणा हो । सुकिलामुकिलालाई अझै सुकिलो बनाउँदै लाने गरिबलाई दिनहुँ तड्पाइरहने सरकार त हामीले कल्पना गरेको होइन नि !

भोलि तपाईँहरूलाई यो प्रश्न उठाएको विषयमा पार्टी र सरकारमा भएका मानिसहरुले कारबाही गरे भने के गर्नुहुन्छ ?

हामीलाई पार्टी सभापतिले लोकतान्त्रिक व्यवस्थामा प्रश्न उठाउन पाइँदैन भनेर आजसम्म भन्नुभएको छैन । सरकारमा रहेका आदरणीय प्रधानमन्त्री वालेन्द्र शाहज्यूले पनि तपाईँहरूले प्रश्न उठाउन पाउनु हुँदैन भन्नुभएको छैन । यो लोकतान्त्रिक व्यवस्था हो, लोकतान्त्रिक व्यवस्थामा आफूले देखेका र चित्त नबुझेका विषयहरुमा प्रश्न गर्न र सरकारलाई घचघच्याउन पाइन्छ ।

आदरणीय नेताहरूलाई पनि यो कुरा र अभ्यासबारे थाहा छ, त्यसकारण उहाँहरु यो दिशामा जानुहुन्न । र, हामीले यस्तो कुरा राख्दा उहाँहरुले पनि गर्व गर्नुपर्छ । लोकतान्त्रिक व्यवस्थामा जनताको कुरा स्पष्ट रुपमा राख्नु भनेको न्यायका खातिर हो ।

हामीले सरकारले चाहेको सल्लाह मागेको खण्डमा सल्लाह पनि दिन्छौँ र ट्रयाकभन्दा बाहिर गएर काम गर्न खोज्यो भने रचनात्मक आलोचना पनि गर्छौँ । तर हाम्रो कुरा के हो भने सरकार गलत तरिकाले हिँड्नु हुँदैन । यो मनोरञ्जन गर्ने समय होइन । यो युगान्तकारी परिवर्तनका लागि योगदान दिने समय हो ।

हामीले गरेको गल्तीले सारा युवाको भविष्य सकिन्छ भन्ने कुरालाई मध्यनजर गर्दै हामीले सजग गराइरहनु पर्छ । त्यसकारण हामी सरकारलाई खबरदारी गर्छौँ, प्रश्न गर्छौँ । सही कार्यशैली र दिशातिर जानुपर्छ भन्छौँ । अनावश्यक पैसा खर्च गरेर हिँड्नु हुँदैन, जनताको चुलोसम्म सरकारले खर्च गर्ने पैसा सेवा गर्न पाउनुपर्छ । यो हाम्रो स्पष्ट भिजन र धारणा हो ।

अहिले पार्टी सभापति र प्रधानमन्त्री बीचको दूरी बढेको छ रे ! त्यसकारण तपाईंहरुजस्ता सांसदहरु सरकारको विपक्षमा हुनुहुन्छ रे हो ?

यो हिजोका दिनमा हालीमुहाली गरेर राज्यकोषको पैसा दुरुपयोग गरेर र देशलाई लुट्दै ऐस आराम गरेर हिँडेका मान्छेहरुले आरोप लगाउने विषय हो । सम्माननीय प्रधानमन्त्री र पार्टी सभापति रवि लामिछानेबीच सम्बन्धमा कुनै खटपट छैन । होला, कहिलेकाहीँ काम गर्दै जाँदा यसरी अगाडि बढौँ भनेर एक जनाले भन्नुहोला, अर्कोले यसरी होइन, बरु यसरी गरौँ भन्नुहोला । त्यो भनेको दूरी बढेको होइन । सल्लाह र छलफल भएको हो । सम्बन्धमा एक इन्च पनि तलमाथि भएको छैन । हामीलाई त्यो किसिमको महसुस पनि छैन ।

कुनै पनि सांसदलाई सरकारको विरोधमा बोल है भनेर कसैले कान फुकेको प्रमाण कसैले ल्याउँछ भने म त्यसलाई पुरस्कार दिन्छु । त्यसकारण हामी जनताको सेवक हौँ । जनताको आवाज बोलिरहन्छौँ । सत्तापक्षमा भएका सांसदले जनताको आवाज बोल्नु हुँदैन भनेर कहाँ लेखेको छ र ?

अहिले त प्रधानमन्त्री हटाएर पार्टी सभापतिलाई प्रधानमन्त्री बनाउने भन्ने किसिमका कुरा पनि भित्रभित्रै चलिरहेको भन्ने सुनिन्छ ? के सत्य हो ?

यो कुरा प्रमाणित गरेर कसैले देखाउँछ भने त्यसलाई हामी पुरस्कार दिन्छौँ । हामीलाई कहिले पनि यस्तो फिल गराइएको छैन । ‘तिमी पार्टी सभापतिको पक्षमा छौ, त्यसैले बचाउ गर है’ भन्ने किसिमको कुरा कसैले गरेको छैन । हामी प्रधानमन्त्रीको पक्षमा छौँ, प्रधानमन्त्रीको बचाउ गर है भन्ने कुरा पनि गरेको छैन ।

उहाँहरुबीचको सम्बन्ध एकदमै राम्रो छ । तर सम्बन्ध बिगार्नका लागि बाहिर खेलबाड भने निरन्तर भइरहेकै देखिन्छ । पार्टी सभापति यति उदार भएर प्रधानमन्त्रीलाई सहयोग गरिरहनुभएको छ कि यो कुनै पार्टीमा यसअगाडि यसखाले अभ्यास नै थिएन ।

उसो भए पाँचै वर्ष वालेन्द्र प्रधानमन्त्री बन्नुहुन्छ ?

स्वयं सभापतिज्यूले भनिसक्नुभयो– यो पाँच वर्ष मात्र होइन, अर्को पाँच वर्ष पनि म देश राम्रो हुन्छ भने त्याग्न तयार छु भनेर । उहाँले यति भनिसक्दा पनि अरु के प्रमाण चाहियो र ? अर्को पाँच वर्षलाई पनि उहाँले घोषणा गरिसक्नुभयो । तर यो पाँच वर्षको बहसमा तपाईंहरु अल्मलिरहनुभएको छ ।

यहाँले अघि भनेजस्तै जनतामा एकदमै छटपटी देखिन्छ। जनताको छटपटी कम गर्न र निराशा चिर्न पाँच वर्षसम्म सरकारले कसरी काम गर्नुपर्ला ?

पहिलो सरकारले मिहिन तरिकाले जनताका समस्या सुन्नुपर्छ । जनप्रतिनिधि मार्फत त्यो समस्या समाधान गर्नलाई पहल गर्नुपर्छ । भिडियो प्रचारबाजी र स्टन्टबाजीमा लाग्नु हुँदैन । दोस्रो- डाटाबेसमा ग्यास आपूर्ति हिजोको भन्दा धेरै देखिन्छ । तर बजारमा ग्यास छैन । त्यसोभए त्यो गाँस कहाँ छ ? कहाँ गइरहेको छ ? भन्ने कुरा मिहिन ढंगले विश्लेषण गर्नुपर्छ । ग्यास कसरी गायब भइरहेको छ त्यो हेर्ने काम सरकारको हो ।

तेस्रो- मैले के भनेको हो भने सरकारमा रहेका मन्त्रीले काम गर्न सकेनन् भने त्यसलाई असक्षम भन्न मिल्दैन । व्यक्ति आफैँमा असक्षम हुँदैन । तर सम्बन्धित क्षेत्रमा दक्षता छैन भने राजीनामा दिएर मार्ग प्रशस्त पनि गर्नुपर्छ । म एमबीबीएस डाक्टर पढ्न सक्दिना । अब म असक्षम होइन नि । म सक्दिन भनेपछि मेरो क्षमताले दिँदैन । काम गर्न सकिनँ भन्नु असक्षम होइन ।

मैले मास्टर डिग्री गरेको छु । एमबीबीएस डाक्टर पढ्न सक्दिनँ भन्दा म असक्षम हुन्न । त्यस्तै, मन्त्रालयमा पुगेपछि काम गर्न सकिँदैन भने खुरुक्कन मार्ग प्रशस्त गरेर अरुलाई मौका दिने हो । मैले मेरो काम गर्न सकिन भने अर्को अब्बल मान्छे होला, उसले गर्छ ।

कर्मचारी संयन्त्रलाई फकाएरफुल्याएर काम गराउन सकिँदैन । उनीहरूलाई ट्रयाकमा ल्याउन सकिँदैन भने असक्षम हुँदैन । राजीनामा दिएर योग्य व्यक्तिलाई पठाउने हो । मार्ग प्रशस्त गर्नुपर्‍यो । अरु अब्बल मान्छे जान्छन् । यो जनताले चाहेको कुरा हो । जनताको आवाज उठाउने नै भनेर हामीले चुनावमा भोट मागेको हो ।

चौथो- पहिला आफूले राम्रो काम गरेर देखाउने हो । स्थानीय तह र प्रदेशमा नेतृत्व आफ्नो नभएका कारण काम गर्न सकिएन भन्ने किसिमले प्रचारबाजी र अनावश्यक हल्ला गर्ने होइन । आफूले पाएको जिम्मेवारी सफलतापूर्वक निर्वाह गराउन सक्यो भने मात्रै अरु कुरा मिल्दै जान्छ । आफ्नो जिम्मेवारी नै पूरा गर्न नसक्ने अनि दोष अरुलाई दिने बाटोमा लाग्नु हुँदैन ।

पाचौँ- ३०–३५ वर्षमा केही पनि भएन, बिगारे, सके भन्नेतर्फ पनि हामी जानु हुँदैन । उपलब्धिहरुलाई रक्षा गर्दै बाँकी राम्रो काम गरेर अगाडि बढ्ने हो । कसले कुन क्षेत्रमा हुँदा कति भ्रष्टाचार गरेको छ, देशलाई कति लुटेको छ ? त्यसलाई कारबाही गर्ने हो । सबैलाई एउटै डालोमा लगाएर हेर्ने काम त्याग्नुपर्छ ।

छैटौँ- सरकारलाई रचनात्मक सुझाव दिने र घचघच्याउने व्यक्तिलाई प्रतिशोधको भावनाले हेर्ने होइन । गलत तरिकाले ट्रिट गरिराखेको छ भने त्यसलाई त्यही अनुसार कारबाही गर्ने हो । नत्र रचनात्मक सुझाव दिने र सकारात्मक आलोचना गर्नेमाथि जाइलाग्नु हुँदैन । कसको काम के हो, त्यसलाई आफ्नो काम गर्न दिनुपर्छ । मैले पक्ष विपक्ष दुवैको कुरा गरेको हो ।

सातौँ- समन्वय र साझेदारीमार्फत अगाडि बढ्ने कोसिस गर्नुपर्छ । विरोधीहरू मात्रै भए भने तिनीहरुलाई वास्ता गर्नु हुँदैन । समन्वय गर्ने व्यक्तिसँग मिल्दा कुराहरुमा र राष्ट्रिय हितको पक्षमा साझेदारी समेत गर्नुपर्छ । साझेदारीको विषयमा अहिलेको सरकार नरम देखिन्छ ।

मन्त्रीहरूले राजीनामा दिनुपर्ने अवस्था आएको हो ?

जनताले के भन्छन् हामीले त्यही कुरा उठाइदिने हो । केही मन्त्रीहरूमा पहिलाको धङधङी अझै बाँकी रहेको देखिन्छ । मन्त्रीहरूमा धङधङी रहने र काम गर्न नसकेको हो भने मार्ग प्रशस्त गर्नुपर्छ । मार्ग प्रशस्त गर्दा अयोग्य भन्ने हुँदैन ।

तपाईंको विश्लेषणमा अहिलेसम्म को को मन्त्री सफल, को को असफल हो ?

यसमा मेरो व्यक्तिगत विश्लेषण केही छैन । जनता र तपाईंहरू मिडियाले विश्लेषण गर्नुभएकै होला । मैले सबैलाई एउटै सन्देश दिन्छु- आफूले काम गर्न सकिएन र परिणाम दिन सकिएन भने ओगटेर बस्ने होइन । हामीलाई असफल हुने छुट छैन । तपाईहरुले मार्ग प्रशस्त गर्नुस्, योग्य व्यक्ति जान्छन् । दायाँबायाँ कुरै छैन ।

प्रधानमन्त्रीको कार्यशैलीलाई कसरी हेरिरहनुभएको छ ?

प्रधानमन्त्रीको नियतमा खोट छैन । सबैसँग चिया खानुपर्छ, सबैसँग कुम जुधाएर हिँड्नुपर्छ भन्ने छैन । तर नीति कानुन र नियमको पालना सबैले गर्नुपर्छ । प्रधानमन्त्री होस् या अरु, त्यो प्रोटोकलको प्रश्न रहेन ।

प्रधानमन्त्री सदन नआएको विषयलाई कसरी हेर्नुभएको छ ?

सदन दैनिक आउनुपर्छ भन्ने छैन । सदन आएर प्रधानमन्त्रीको लुगा, चस्मा, जुत्ताको विषयमा प्रशंसा गरेर काम छैन । तर नियम नीति र कानुनले के भन्छ त्यो भने सबैले पालना गर्नुपर्छ । उहाँले नियम नीति र कानुन पालना गर्दै पनि आउनु भइरहेको छ । अब पनि अझ व्यापक ढंगले गर्नुहुन्छ भन्ने लागेको छ ।

म प्रधानमन्त्रीको जस्तै क्यारेक्टर मनपराउने मान्छे हो । तर नीति नियम सबैले मान्नुपर्छ भन्ने मेरो मान्यता हो । सदनमा जवाफ दिनुपर्ने ठाउँमा उहाँले दिनुपर्छ। १० गते आउँछु भन्नुभएको छ । ५ गते प्रश्नहरू पठाइसक्ने पर्ने भन्नुभएको छ । त्यो सबैले गर्नुहोला । प्रधानमन्त्रीका धेरै काम छन्, देशको अवस्था धेरै सुधार गर्नुपर्नेछ । उहाँलाई असफल हुने छुट छैन । तर सदनप्रति पनि उहाँ उत्तरदायी र जवाफदेही बन्नुपर्छ ।

यहाँहरू सदन गएको चार महिना बितिसकेको छ । यो चार महिनामा हाम्रा यी गल्ती कमजोरी भए, हामी यसले यसलाई सुधार्नुपर्छ भन्ने लागेको केही छ ?

सुधार्न कहाँ जरुरी छ भने मन्त्रीज्यूहरूले संघीय मन्त्रीको कार्यक्षेत्रमा पर्ने तत्‌तत् निकायहरूमा आफ्नो कार्यक्षेत्रमा पर्ने उदाहरणीय काम गरेर देखाउनुपर्‍यो । संघीय मन्त्रीले प्रदेश र स्थानीय तहले गरेका कामको विरोध गर्नुभएन ।।

पहिला आफ्नो कार्यक्षेत्रभित्रको काम राम्रोसँग गरेर देखाउने त्यसपछाि मात्रै अरुकोमा आँखा लगाउनु उचित हुन्छ । आफ्नो उत्कृष्ट काम गर्नुभएको छ भने जनताले महसुस गरिरहनु भएको हुन्छ । त्यसकारण मन्त्रीज्यूहरू पनि गलत वेमा हिँड्नुभएको छ कि ? स्थानीयले साथ दिएन अथवा प्रदेशले साथ दिएन भन्नु आवश्यक छैन ।

आफ्नो कार्यक्षेत्रभित्र भएको संघीय सरकारको कार्यक्षेत्रभित्र भएको जुनजुन निकाय छन्, ती निकायहरूमा उत्कृष्ट काम गरेर जनताले ‘वाउ’ भन्ने अवस्थाको सिर्जना गर्नुपर्छ । त्यसो भएपछि त स्वाभाविक रुपमा जनताले, प्रदेशले काम गरे नगरेको भनेर महसुस गरिहाल्नुहुन्छ नि । यहाँनेर मन्त्रीज्यूहरू सुध्रन आवश्यक छ । मन्त्रीज्यूहरूले पनि गर्न केही आवश्यक होला ।

चाहँदा चाहँदै पनि कहिलेकाहीँ उहाँहरूसँग त्यो लेभलको क्षमता नहुन पनि सक्छ । त्यो अवस्था भयो भने मन्त्रीज्यूहरूले नलजाइकन नधकाइकन मार्ग प्रशस्त गर्दा उचित हुन्छ । सरकारले आफ्नै क्षेत्रको काम राम्रोसँग गर्ने हो । अरुकोमा खोट लगाएर हिँड्ने बेला भएको छैन ।

सांसदहरूको कार्यशैलीप्रति तपाईंको प्रतिक्रिया के छ ?

सांसदहरूको कार्यशैली भन्दा पनि बोल्ने शैली कहिलेकाहीँ ठिक लाग्दैन । संसदले विधेयक ल्याएर कानुन बनाउने अभ्यास नेपालमा छैन । त्यो संसद स्वयंले विधेयक ल्याएर कानुन बनाउने अभ्यास गर्नुपर्छ भनेर हामीले भनिरहेका छौँ । हाम्रो महामन्त्रीज्यूले पनि सदनमा कुरा राख्नुभएको छ ।

सदनमा कहिलेकाहीँ जनताको पीडा आकर्षित ढङ्गले उठेको हुन्छ । जनताको पीडा बोल्ने बित्तिकै त्यो सांसद खतम, त्यो सांसदले कामै गरेन भन्ने तरिकाले पनि हेर्नु हुँदैन । भाषाको मर्यादाभित्र सबै जना सांसद बस्नुपर्छ । यो कुराका लागि पार्टीले निरन्तर रुपमा रुलिङ पनि गरिराखेको छ ।

प्रकाशित मिति : २ भाद्र २०८३, मंगलबार  ७ : ०० बजे

सिंहदरबारमा सर्वदलीय बैठक : कांग्रेस सभापति गगन थापा उपस्थित हुँदा एमालेले पठायो पद्‍मा अर्याल

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा

भोटेकोशी बाढी : विवरण सङ्कलन गर्न  समिति गठन

रसुवा– भोटेकोशी  बाढीबाट भएको धनजनको क्षतिको विवरण सङ्कलन गर्न जिल्लामा २५

एक्लेखेतमा बाढी पस्दा १३ घर प्रभावित

दमौली– अविरल वर्षाका कारण शुक्लागण्डकी नगरपालिका–२ एक्लेखेतमा ताकुडाँडाको खोल्सीको बाढीले

वाणिज्य बैंकहरूमा मुद्दतीतर्फको औसत ब्याजदरमा थप गिरावट

काठमाडौं– चालु आर्थिक वर्षको भदौ महिनाको तुलनामा वाणिज्य बैंकहरूमा असोज

एकैदिन तोलामा एक हजार ७०० रुपैयाँले बढ्यो सुनको मूल्य

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।  सुनको