दोलखा– जिल्लाको जिरी नगरपालिकामा पछिल्ला केहिदिन यता मौसमी रुघाखोकी (इन्फ्लुएन्जा) भाइरसको संक्रमण फैलिएको भन्दै नगर क्षेत्रका सामुदायिक तथा संस्थागत विद्यालय चार दिन बन्द हुने भएका छन् ।
नगरपालिकाले भदौ २ गते जारी गरेको सूचनाअनुसार भदौ ३ देखि ६ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको हो । यस अवधिमा सञ्चालन हुने परीक्षा तथा अन्य गतिविधिसमेत स्थगित गरिएको छ ।
विद्यालयका नियमित गतिविधि भदौ ७ गतेदेखि सञ्चालन गर्न नगरपालिकाकी प्रमुख प्रशासकीय अधिकृत राजकुमारी खत्रीले जारी गरेको सूचनामा भनिएको छ ।
पछिल्ला केहिदिन यता उक्त संक्रमणका बिरामी बालबालिका बढेपछि विद्यालय बन्द गर्ने निर्माण भएको हो ।
जिरी अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरुमा इन्फ्लुएन्जासँग मिल्दोजुल्दो लक्षण देखिएपछि सोमबार बिरामीको नमूना (स्याम्पल) काठमाडौं लगेर परीक्षण गर्दा इन्फ्लुएन्जा भाईरस पुष्टी भएको स्वास्थ्य शाखा प्रमुख केशव दाहालले बताए ।
६ जना स्वास्थ्यकर्मीको नमूना परीक्षणका लागि पठाईएकोमा ५ जनामा संक्रमण पुष्टी भएको हो ।
भाईरससँग लक्षण मिल्दोजुल्दा रहेका बिरामी तथा बालबालिका गरि १८ जनाको जिरी अस्पतालमा उपचार भईरहेको जिरी नगरपालिकाले जनाएको छ ।
संक्रमण पुष्टी भएसँगै नगरपालिकाले थप संक्रमण फैलिन नदिन विद्यालय बन्द गरेको जनाएको छ ।
इन्फ्लुएन्जा भएका व्यक्तिले बोल्दा, खोक्दा, हाच्छिउँ गर्दा निस्किएका छिटा नजिकको व्यक्तिको नाक वा मुखमा परेमा भाइरस सर्न सक्छ । ती छिटा सासबाट फोक्सोमा पनि जान सक्छन् ।
भाइरस भएको कुनै सतह छोएर आफ्नो मुख वा नाक हुँदा पनि फ्लू लाग्न सक्ने स्वास्थ्य चिकित्सकहरुको भनाइ रहेको छ ।
यसको लक्षण ज्वरो आउनु, टाउको दुख्नु, खोकी लाग्नु र घाँटी दुख्नु, नाक बन्द हुनु वा सिँगान बग्नु, जिउ र मांसपेशी दुख्नु, थकान महसुस हुनु हो । सुवाश बस्नेत/दोलखा












प्रतिक्रिया