देउवा दाइले अब पार्टीको पद खोज्ने होइन, सर्वोच्च नेता हुनुपर्छ : मीन विश्वकर्मा « Khabarhub

अन्तर्वार्ता

देउवा दाइले अब पार्टीको पद खोज्ने होइन, सर्वोच्च नेता हुनुपर्छ : मीन विश्वकर्मा

शेरबहादुर दाइलाई पद होइन, सम्मान चाहिएको हो



काठमाडौं– अन्तिम समयमा शेरबहादुर देउवाको साथ छोडेर सभापति गगन थापा नेतृत्वको नेपाली कांग्रेसमा मिसिएका नेता मीन विश्वकर्मा आफूहरू सल्लाहमै आएको बताउँछन्। उनी देउवाले पार्टी मिलाउँदै गर, पछि आउँछु भनेको दाबी उनले गरेका छन्। ‘तिमीहरू गएर मानसम्मान मिलाउँदै गर म बिस्तारै आउँला भनेर शेरबहादुर दाइले भन्नुभयो’, विश्वकर्माले भने, ‘भदौ १६ गतेसम्म दाइलाई पार्टीमा ल्याउँछौं।’ उनी देउवालाई पद नभएर सम्मानपूर्वक बहिर्गमन चाहिएको बताउँछन्।

उनी देउवालाई पद नभएर मानसम्मान चाहिएकाले सभापति गगनले आयोग र अदालतबाट मुद्दा जितेर मात्रै नपुगेर देउवाको मन जित्नुपर्ने सुझाव दिन्छन्। गनगले देउवालाई भेटेर सर्तहरू पूरा गर्ने तयारी गरिरहेको जानकारी उनी दिन्छन् । विश्वकर्मा कांग्रेस एक बनाउने अभियानमा देउवालाई अरू तत्वले झुलाएको जानकारी दिन्छन् । कांग्रेसको महाधिवेशन नरोकिने उनको भनाइ छ। शनिबारदेखि हुने वडा अधिवेशन पनि नरोकिने विश्वकर्माको प्रष्टीकरण छ। उनी भन्छ्न, ‘खुद्रे कुराको काम सकियो । अब मान-सम्मानको कुरा मात्रै छ ।’

देउवाको साथ छोडेर गगनकहाँ पुगेका विश्वकर्मासँग पछिल्लो कांग्रेसको विकासक्रमका विषयमा कुराकानी गरेका छौँ।

पूर्वसभापति शेरबहादुर देउवाको साथ छोडेर तपाईंहरू मात्रै कांग्रेसतिर आउनुभयो नि?

हामीले उहाँलाई जाऊँ भनेको, तर उहाँले त्यहाँ बस्ने ठाउँ के छ कसो छ, केटाहरूले मानसम्मान गर्छन्, गर्दैनन् ? भेटघाट नभएको धेरै भएको कुरा गर्नुभयो। मेरोअपमान पो हुन्छ कि भन्नु भयो। तिमीहरू गएर मेसो मिलाउँदै गर भन्नुभएको छ। म आउँछु भन्नुभएको छ। अब उहाँलाई १६ गतेसम्म ल्याउँछौं।

कांग्रेस सभापति गगन थापा र पूर्व सभापति देउवाको भेटघाटको तयारी हुँदैछ रे हो ?

अब यत्रो दिन भेट भएन खाली हात के भेट्ने ? उहाँले जे माग गर्नुभएको छ । त्यो निर्णय गरिसकेपछि भेट्छु भन्ने गगनजीको कुरा हो। हामीले त उहाँलाई सुझाव दिइराखेका छौं। आठ बुँदेमध्येमा तीन चार बुँदा पास भइसक्यो, अरु पनि पास हुने चरणमा छ। क्रियाशीलको टुङ्ग्यो, केन्द्रीय समिति टुंगियो । अब विभिन्न समितिमा गर्छौँ भनेको कुरा उहाँहरूले त्यो गरिसक्नुहुन्छ। दाइ तपाईं नहुँदा नेताहरूले राखेको सबै काम मैले गरेँ ।

हजुरलाई चाहिने होइन, अब यो सम्मान चाहिँ मैले हजुरका लागि नै राखेको हो। हजुर महाधिवेशनमा प्रमुख अतिथि भएर आइदिनुपर्‍यो । पार्टीको सर्वोच्च नेताका रूपमा उद्घाटन सत्रमा प्रमुख अतिथि भएर सुखद बहिर्गमनका लागि तयार हुन भनेका छौँ। त्यसपछि तपाईं पार्टीको सर्वोच्च नेताको रुपमा सधैं रहनुहुन्छ भनेपछि दाइले मान्नुहुन्छ भन्ने हामीलाई विश्वास छ । किनभने त्यहाँ भन्दा उता उहाँको लिने पनि छैन, दिने पनि छैन । चाहिने पनि छैन । त्यसैले गर्दा अहिले दाइलाई चाहिएको सबैभन्दा ठूलो सम्मान हो। यति लामो समय पार्टीमा योगदान र त्याग गर्नुभएको छ। त्यो कुरामा अहिले गगनजी लागिरहनुभएको छ, भोलि पर्सितिरै भेटिहाल्नु हुन्छ।

तपाईंहरू यता आएपछि थाहा भयो होला के गर्दा चाहिँ पार्टी एक हुने रहेछ ?

खुद्रा कुराको सबै काम सकियो । अब मान-सम्मानको कुरा मात्रै छ। नेताहरूलाई दिने मानसम्मान प्रमुख कुरो हो। उहाँले केन्द्रीय समितिका पदाधिकारी सबैलाई यताको केन्द्रीय समितिमा समेटिहाल्नुभयो । अब मात्रै कागजमा लेखेर हुन्छ माइनेट गरेर हुन्छ । यहाँ भेटेर हुन्छ, यी सबै कुराको मानसम्मान पुर्‍याउनुपर्छ। हामी पाँच-छ गतेभित्र कसलाई कस्तो ठाउँमा सेटल गर्नुपर्ने हो, त्यो गर्छौं भन्ने कुरामा गगनजी हुनुहुन्छ।

भोलिबाट सुरु हुने वडा तहको महाधिवेशन रोकिँदैन ?

भोलिको यसो छ वडा तहमा रोकौँ भन्दा अदालतमा मुद्दा छ, मुद्दामा त्यही विषय उद्धृत गरेको रहेछ। १६, १७, १८ र १९ को महाधिवेशन सार्न नमिल्ने भएपछि अहिले किन सार्ने भन्ने पक्षमा हामी पुगेका हौँ। पूर्ण र शेखर दाइले सारेर छलफल गरौँ भन्नुभएको हो। भइहाल्छ होला। वडामा त मिल्छ, तल्लो तहमा मिलाएर जान्छौँ। ७ गतेदेखि क्षेत्रीय महाधिवेशन छ, त्यसमा चाहिँ हामी एक भएरै जान्छौँ। वडामा पनि एक भएर जाने हिसाबमै कुराकानी भइरहेको छ।

उसो भए पार्टी फुट्दैन दाइ ?

पार्टी नफुटाउन हामी यता लागेको हो तर फुटाउने मनसाय भएकाहरूको मन त हामीलाई थाहा हुँदैन। कोही कोहीलाई त हुन्छ नि जतिसुकै गरे पनि म त्यहाँ सभापति हुने होइन, महामन्त्री हुने होइन पदमा आउने होइन बरू यता त आउँछु भन्ने मनसाय पनि हुन सक्छ। कसै-कसैलाई त अर्को पार्टी बनाउने रहर पनि हुनसक्छ । तर त्यो रहर पूरा नगरौँ भनेर नै हामी लागिरहेका छौँ । यदि झगडा गरिसकेपछि के जानु हो, त्यहाँ मिल्न तिनीहरूअगाडि किन सानो हुनु भन्ने मनसाय बोकेका व्यक्ति पनि पार्टीमा हुन सक्नुहोला । त्यस्तो मनसाय हुनेसँग केही लाग्दैन। नेपाली कांग्रेसबाहेक अरुतिर जाँदिन, कांग्रेसबाहेक अरूको भविष्य छैन भन्ने मनसाय रह्यो भने पार्टी मिल्छ। जे पाउनु पाएँ अब बाँकी जीवन कांग्रेसमै बस्छु भन्नेहरूका लागि पार्टी फुट्दैन।

तपाईं त हिजो मात्रै गगन थापामा आउनुभएको नत्र उतै हुनुहुन्थ्यो। खास कसले पार्टी मिल्न दिएको छैन ?

हो, म उताको भान्से नै थिएँ तर दुवै पक्षमा दृश्य अदृश्य शक्तिहरू छन् पार्टी मिल्न नदिन । उक्साउनेहरू छन्, उक्साउने देशै तत्त्व मात्रै छन् कि विदेशी तत्त्व पनि छन् भन्ने कुरा खोजीको विषय छ। उक्सिनेहरूले उक्साएका छन्। पक्कै पनि उक्साएको चाहिँ हो। कसले मिल्न दिएन भनेर ठ्याक्कै नामै तोक्ने अवस्था त छैन, तर कोरोना भाइरस कुन देशबाट आयो भनेर कन्फ्युजन भएजस्तै कसले पार्टी मिल्न दिएन भन्ने कुराको कन्फ्युजन छ । कांग्रेस बिरामी छ यो विधान पार्ने स्वदेशी मात्रै तत्व हो भनेर विश्लेषण गर्ने अवस्था छैन। नत्र यत्रो आठ नौ महिनासम्म त झगडा गरी नबस्नुपर्ने हो मिल्नुपर्ने हो। भन्न सकिँदैन देखिँदैन। षड्यन्त्र भनेकै नदेखिने चिज हो भन्छन् नि त्यस्तै छ।

त्यसोभए शेरबहादुर देउवा र गगन थापा पार्टी विभाजनको पक्षमा हुनुहुन्न अरू नेताहरूका कारण यस्तो भयो हो ?

शेरबहादुर दाइ विभाजन गर्न चाहने भए जतिबेला आयोगले गगनजीलाई अधिकार दिन्थ्यो त्यतिबेलै अर्को पार्टी बनाएर चुनाव लडौं भन्नुहुन्थ्यो। यहाँ हुँदा पनि पार्टी फुटाउनु हुँदैन पार्टी फुटाउनु हुँदैन बरु गगनले जति सिट माग्छ उति सिट दिउँ भन्नुभएको थियो। विदेशमा बसेका बेला पनि हे पार्टी फुटाउने काम चाहिँ नगर अरु काम गर्दै गर भन्नुभएको थियो। शेरबहादुर दाई पार्टी फुटाएर बनाउने पक्षमा हुनुहुन्न नै जस्तो मलाई आजका दिनसम्म संगत गरेको अनुभवले लाग्छ। म पनि चुप लागेरै बसेको थिए तर मेरा सबै साथीभाइ जिल्लाका क्षेत्रका वडाका पढेका सबैजना पार्टी एक बनाउँ भनेर यता आएपछि हामी पनि जुटेका हौ।

तपाईंहरूलाई त आरोप छ नि देउवालाई उचालेर अन्तिम अवस्थामा हिँड्नुभयो ?

देउवालाई त अहिले हाम्रो साथ चाहिँदैन किनभने उहाँ सभापति हुने होइन, सभापतिको उम्मेदवार पनि होइन। कार्यकारी भूमिका पनि लिनुभएको छैन, शशांक कोइरालालाई दिनुभएको छ। अदालतबाट मुद्दा जित्नुहोस् भन्ने कामना हो। र, १५औं महाधिवेशनमा उहाँको सम्मानजनक बहिर्गमन होस् भन्ने हाम्रो चाहना हो। त्यसका लागि त हामी सधैँ साथ दिन्छौं। उहाँको सम्मानजनक बहिर्गमनमा हाम्रो सधैं सम्मान र माया रहन्छ।

अन्तिममा गगन र देउवालाई एकामुष्ट तपाईंको सुझाव के छ ?

देउवा दाइले पद खोज्नु हुँदैन, सम्मान खोज्नुपर्छ। गगनजीले निर्वाचन आयोग र अदालतबाट मुद्दा जितेर हुँदैन, अब देउवाको मन जित्नुपर्छ। यति भयो भने पार्टी एक हुन्छ। अरु साथीहरूले कुरा लाउने काम पनि गर्नु हुँदैन।

प्रकाशित मिति : २ आश्विन २०८३, शुक्रबार  ४ : ०० बजे

इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा चर्कियो विभाजन

वाशिङ्टन- इरानमाथि अमेरिका र इजरायलको सैन्य कारबाही सुरु भएको सात महिनापछि

मेचीनगरमा जापानिज इन्सेफ्लाइटिसविरुद्धको खोप आइपुग्यो

झापा– जापानिज इन्सेफ्लाइटिसबाट जिल्लामा सबैभन्दा सङ्क्रमित क्षेत्र मानिएको मेचीनगर नगरपालिकामा

जेन-जी उमेरका सांसदलाई प्रधानमन्त्रीले भने- स्वदेशमै रोजगारी सिर्जना गर्न लाग्नू

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले नवीन सोचका साथ आफ्नै पुस्ताका लागि

अस्ट्रेलियाका तीन प्रमुख विमानस्थलमा अध्यागमन प्रणाली अवरुद्ध

सिड्नी- अस्ट्रेलियाका तीन व्यस्त विमानस्थलमा शुक्रबार अध्यागमन प्रणाली अवरुद्ध हुँदा अन्तर्राष्ट्रिय

बेलायतबाट आधारभूत सैन्य तालिम लिएका गौरव शमशेर राजदूत बनेर त्यहीँ जाँदै

काठमाडौं- सरकारले पूर्वप्रधानसेनापति गौरवशमशेर राणालाई बेलायतका लागि नेपाली राजदूतमा सिफारिस