काठमाडौं- वालेन्द्र शाह नेतृत्वको सरकारले विभिन्न १३ देशका लागि राजदूत नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको छ।
अघिल्लो सरकारले नियुक्त गरेका राजदूत हटाएको ६ महिनापछि सरकारले नयाँ कूटनीतिज्ञ पठाउन सिफारिसको निर्णय लिएको हो।
शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले बेलायत, जर्मनी, भारत, अमेरिका र चीनसहित १३ देशका लागि राजदूत नियुक्त गर्न सिफारिसको निर्णय गरेको हो।
लामो समयसम्म अमेरिका, भारत, चीन, बेलायत र अस्ट्रेलियासहित १८ वटा देशमा राजदूत पद रिक्त रहँदा सरकारको कूटनीतिक प्राथमिकतामाथि प्रश्न उठेको थियो । प्रधानमन्त्री आफैं अमेरिका जान लाग्दा त्यहाँस्थित राजदूत नियुक्त नगरिएपछि विरोध भएको थियो।
सरकारले राजदूत नियुक्तिका लागि खुला आवेदन आह्वान गरेको थियो । लामो समयसम्म आवेदन दिएका उम्मेदवारको संख्या, सर्टलिस्टमा परेका नाम वा छनोट प्रक्रियाबारे गुपचुप राखिएको थियो । जसका कारण नियुक्ति प्रक्रियाको पारदर्शितामाथि प्रश्न उठेको थियो ।
कूटनीतिक रूपमा महत्वपूर्ण मुलुकमा पूर्णकालीन राजदूत नहुँदा द्विपक्षीय सम्बन्ध, लगानी प्रवर्द्धन, व्यापार विस्तार तथा नेपाली नागरिकसँग सम्बन्धित सेवा प्रवाहसमेत प्रभावित भएको थियो ।
राजदूत नियुक्ति प्रशासनिक प्रक्रिया मात्र नभई नेपालको अन्तर्राष्ट्रिय सम्बन्ध, आर्थिक कूटनीति, वैदेशिक लगानी, पर्यटन प्रवर्द्धन तथा विदेशमा रहेका नेपालीको हितसँग प्रत्यक्ष जोडिएको विषय हो । यस्तो अवस्थामा सरकारले ६ महिना गुजारेर नयाँ राजदूत सिफारिस गरेको हो।
सिफारिस राजदूत
१. डा. निश्चलनाथ पाण्डे- भारतका लागि प्रस्तावित राजदूत
२. डा. कल्याणराज शर्मा- चीनका लागि प्रस्तावित राजदूत
३. चिरनजंग थापा- संयुक्त राज्य अमेरिकाका लागि प्रस्तावित राजदूत
४. पूर्वप्रधानसेनापति गौरव शम्शेर जंगबहादुर राणा (अवकाशप्राप्त)- संयुक्त अधिराज्य (यूके) का लागि प्रस्तावित राजदूत
५. जिग्यान कुमार थापा- जापानका लागि प्रस्तावित राजदूत
६. सुरेशकुमार कर्ण – इजरायलका लागि प्रस्तावित राजदूत
७. प्राप्ति शेरचन – स्पेनका लागि प्रस्तावित राजदूत
८. शारू जोशी – जर्मनीका लागि प्रस्तावित राजदूत
९. डा. पद्माक्षी राणा – ओमानका लागि प्रस्तावित राजदूत
१०. चूडामणि खरेल – मलेसियाका लागि प्रस्तावित राजदूत
११. प्रा. डा. सङ्गम श्रेष्ठ – दक्षिण कोरियाका लागि प्रस्तावित राजदूत
१२. डा. मंचल झा – श्रीलंकाका लागि प्रस्तावित राजदूत
१३. गिरीबहादुर सुनार – साउदी अरेबियाका लागि प्रस्तावित राजदूत













प्रतिक्रिया