ला लिगा: फराकिलो जितमा बार्सिलोनाका लागि लामिनसहित पाँच खेलाडीले गरे गोल « Khabarhub

ला लिगा: फराकिलो जितमा बार्सिलोनाका लागि लामिनसहित पाँच खेलाडीले गरे गोल


१ कार्तिक २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडाैँ – स्पेनिस ला लिगाअन्तर्गत शनिबार राति भएको रोमाञ्चक खेलमा शीर्ष स्थानको बार्सिलोनाले रियल बेटिसलाई ५–२ को फराकिलो अन्तरले पराजित गरेको छ।

सात गोल भएको उक्त सनसनीपूर्ण प्रतिस्पर्धामा ५३औँ मिनेटपछि १० खेलाडीमा सीमित भएको बेटिसलाई हराउँदै बार्सिलोनाले अंकतालिकाको शीर्ष स्थानमा ५ अंकको अग्रता कायम राखेको छ।

बार्सिलोनाको जितमा लामिन यामाल, रोड्रि, ग्याब्रिएल जेसुस, एरिक गार्सिया र डानी ओल्मोले १–१ गोल गरे। बेटिसका लागि भ्यालेन्टिन गोमेज र अब्दे एजालजुलीले १–१ गोल फर्काएका थिए।

खेलको १०औँ मिनेटमा १८ वर्षीय युवा स्टार लामिन यामालले पेनाल्टी बक्स बाहिरबाट उत्कृष्ट गोल गर्दै बार्सिलोनालाई सुरुआती अग्रता दिलाएका थिए। २७औँ मिनेटमा पाब्लो फोर्नाल्सको पासमा भ्यालेन्टिन गोमेजले हेडरमार्फत गोल गर्दै बेटिसलाई १–१ को बराबरीमा ल्याए।

४१औँ मिनेटमा म्यानचेस्टर सिटीबाट यसै सिजन बार्सिलोना आएका रोड्रिले फर्मीन लोपेजको कर्नर पासमा हेडर गोल गर्दै टोलीलाई २–१ को अग्रता दिलाए। ५१औँ मिनेटमा यामालको पासमा ग्याब्रिएल जेसुसले गोल गर्दै अग्रता ३–१ बनाए। तर, त्यसको दुई मिनेटलगत्तै ५३औँ मिनेटमा बेटिसका अब्दे एजालजुलीले काउन्टर अट्याकमा गोल गर्दै खेल ३–२ को स्थितिमा ल्याएका थिए।

गोलपछि दुवै टोलीका खेलाडीबीच मैदानमा हातहालाहालको स्थिति सिर्जना भएको थियो। यामालसँगको विवाद र गैरखेलकुद व्यवहारका कारण बेटिसका फ्याकुन्डो बर्नालले ५४औँ मिनेटमा रातो कार्ड (रेड कार्ड) पाएपछि बेटिस १० खेलाडीमा समेटियो।

१० खेलाडीमा सीमित बेटिसविरुद्ध आक्रामक बनेको बार्सिलोनाका लागि ६२औँ मिनेटमा पाउ कुबार्सीको पासमा एरिक गार्सियाले चौथो गोल गरे। खेलको ८१औँ मिनेटमा वैकल्पिक खेलाडीका रूपमा मैदान प्रवेश गरेका डानी ओल्मोले डी-बक्स बाहिरबाट उत्कृष्ट गोल गर्दै बार्सिलोनाको ५–२ को जित पक्का गरे।

यो जितसँगै हान्सी फ्लिकको प्रशिक्षणमा रहेको बार्सिलोनाले यस सिजन सबै प्रतियोगितामा लगातार ११औँ जित दर्ता गरेको छ। ११ खेलबाट अंक तालिकाको शीर्ष स्थानमा रहेको बार्सिलोना दोस्रो स्थानको एथलेटिको म्याड्रिडभन्दा ५ अंक र एक खेल कम खेलेको रियल म्याड्रिडभन्दा ९ अंकले अगाडि छ।

प्रकाशित मिति : १ कार्तिक २०८३, आइतबार  ७ : २३ बजे

दसैँको मुखमा नुवाकोटवासीलाई राहत, ढुङ्गे र त्रिशूली बजार जोड्ने झोलुङ्गे पुल सञ्चालन

नुवाकोट – गत भदौ १० गते भोटेकोशीको बाढीले नुवाकोटको विदुर

१२ शय्याबाट सुरु भएको यात्रा: करोडौँको दृष्टि परीक्षण र लाखौँ शल्यक्रिया

काठमाडौँ – कुनै समय पूर्वी नेपालका नागरिकलाई आँखामा सामान्य समस्या

चितवन: दसैँमा ३० करोडभन्दा बढीको खसी-बोकाको व्यापार हुने अनुमान

चितवन – बडादसैँका अवसरमा चितवनमा यस वर्ष ३० करोड रुपैयाँभन्दा

चाडपर्वमा चोरी, ठगी र दुर्घटनाबाट जोगिन गण्डकी प्रदेश प्रहरीको अपिल

कास्की – गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले बडादसैँ लगायतका चाडपर्वका

दीपक-दीपाले आज छान्ने छन् करदाता उपहारका भाग्यशाली विजेता, १७ जनाले नगद पुरस्कार पाउने

काठमाडाैँ – आन्तरिक राजस्व विभागले सञ्चालन गरिरहेको ‘करदाता प्रोत्साहन उपहार