काठमाडौं – भारतीय अभिनेता प्रकाश राजले भारतमा सरकार परिवर्तनका लागि संविधान, मतदान र शान्तिपूर्ण विरोध प्रदर्शनलाई नै मुख्य आधार बनाउनुपर्ने बताएका छन्।
भारतीय सञ्चारमाध्यमसँगको कुराकानीमा उनले बंगलादेश र नेपालको राजनीतिक घटनाक्रमको सन्दर्भ उल्लेख गर्दै भारतमा लोकतान्त्रिक प्रक्रियाबाटै परिवर्तन सम्भव रहेको धारणा राखेका हुन्।
प्रकाश राजले भारतसँग संविधान, मतदानको अधिकार र शान्तिपूर्ण रूपमा विरोध गर्ने शक्ति रहेको उल्लेख गर्दै नागरिकले निर्वाचनमार्फत सरकार परिवर्तन गर्न सक्ने बताएका छन्। उनले सन् २०२९ मा हुने लोकसभा निर्वाचनसम्म लोकतान्त्रिक माध्यमबाट आफ्नो संघर्ष जारी राख्नुपर्नेमा जोड दिएका छन्।
डा. भीमराव अम्बेडकर, महात्मा गान्धी र भगत सिंहको विरासत स्मरण गर्दै उनले नागरिक अधिकारको प्रयोग र संवैधानिक प्रक्रियाबाट सरकारलाई जवाफदेही बनाउन सकिने धारणा व्यक्त गरेका छन्।
सरकारका आलोचकका रूपमा चिनिँदै आएका प्रकाश राजले जनताको असन्तुष्टि व्यक्त गर्ने अधिकार र लोकतान्त्रिक मूल्यको महत्त्वसमेत औँल्याएका छन्। उनका अनुसार सरकार परिवर्तन चाहनेहरूले मतदान, संविधान र शान्तिपूर्ण आन्दोलनको बाटो रोज्नुपर्छ।
यसैबीच, दिल्लीमा प्रस्तावित ‘तिरंगा मार्च’ अघि प्रदर्शनकारीलाई नियन्त्रणमा लिइएको घटनामाथि पनि उनले प्रश्न उठाएका छन्। मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारविरुद्ध लक्षित उक्त मार्च निर्वाचन प्रक्रियासम्बन्धी विवाद र मतदाता सूचीको विशेष गहन पुनरावलोकन (एसआईआर) मा कथित अनियमितताको विरोधमा आयोजना गर्ने तयारी गरिएको थियो।
प्रदर्शनकारीहरूले निर्वाचन प्रक्रियामा जवाफदेहिता सुनिश्चित गर्न माग गर्दै मुख्य निर्वाचन आयुक्तको राजीनामासमेत माग गरेका थिए। मतदाता सूची पुनरावलोकनमा अनियमितता भएको आरोप र प्रदर्शनकारीमाथि गरिएको कारबाहीले भारतमा निर्वाचनको निष्पक्षता तथा नागरिकको विरोध गर्ने अधिकारबारे बहस चर्काएको छ।
फिल्म अभिनयसँगै सामाजिक तथा राजनीतिक विषयमा आफ्ना धारणा राख्दै आएका प्रकाश राजको पछिल्लो अभिव्यक्तिले राजनीतिक परिवर्तनका लागि संवैधानिक र लोकतान्त्रिक प्रक्रियालाई प्राथमिकता दिनुपर्ने सन्देश दिएको छ।














प्रतिक्रिया