काठमाडौं– स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा.रघुराज काफ्लेले पदबाट राजीनामा दिएका छन् ।
स्वास्थ्य मन्त्रालयमार्फत प्रधानमन्त्री समक्ष काफ्लेले राजीनामा दिएका हुन् । स्वास्थ्य बीमाबापतको दावी भुक्तानीको दायित्व बढ्दै गएपछि र सरकारले सोको भुक्तानीका लागि रकम नदिएसँगै अस्पतालहरूले स्वास्थ्य बीमा कार्यक्रम स्थगित गर्न थालेपछि काफ्ले नैतिक संकटमा परेका थिए ।
अस्पतालहरूको दबाब र राज्यले भुक्तानीको स्रोत जुटाउने नसक्ने अवस्थाले बोर्ड आर्थिक संकटको अवस्थामा पुगेको छ । ठूला सरकारी अस्पतालले नै सूचना निकालेर स्वास्थ्य बीमा कार्यक्रम बन्द गर्ने घोषणा गर्न थालेका छन् ।
स्वास्थ्य बीमा बोर्डले सेवा प्रदायक संस्थालाई ११ अर्ब रुपैयाँभन्दा बढी भुक्तानी दिन बाँकी छ । देशभर लागू गरिएको स्वास्थ्य बीमा कार्यक्रम गम्भीर संकटमा पर्दा यसको प्रत्यक्ष मार सेवाग्राहीले भोग्न थालेका छन् ।
बीमा बोर्डले अस्पतालहरूलाई समयमै भुक्तानी गर्न नसक्दा ठूला सरकारी अस्पतालहरूले एकपछि अर्को गर्दै बीमा सेवा बन्द गर्न थालेका छन् ।













प्रतिक्रिया