चार दलका घोषणापत्र : अझै सपनाको उडान झेल्दै स्वास्थ्य सेवा « Khabarhub

चार दलका घोषणापत्र : अझै सपनाको उडान झेल्दै स्वास्थ्य सेवा

घोषणापत्रमा स्वास्थ्य एजेन्डा के के छन् ?


६ फाल्गुन २०८२, बुधबार  

पढ्न लाग्ने समय : 4 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

आगामी फागुन २१ हुने प्रतिनिधि सभा निर्वाचनका लागि विभिन्न दलले घोषणापत्र सार्वजनिक गर्ने क्रम जारी रहेको छ । नेपाली कांग्रेस, नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाहेक केही दलले विभिन्न एजेण्डा समेटिएका घोषणा पत्र सार्वजनिक गरेका छन् ।

हालसम्म नेपाली कम्युनिष्ट पार्टी (नेकपा), जनता समाजवादी पार्टी (जसपा), प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) र उज्यालो नेपाल पार्टीले चुनावी घोषणापत्र सार्वजनिक गरेका छन् ।

घोषणा पत्रमा चारवटै दलले स्वास्थ्यका एजेण्डालाई पनि प्राथमिकतामा राखेका छन् । पछिल्लो समय संकटतर्फ धकेलिँदै गएको स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी ढंगले अगाडि बढाउने योजना सबै दलको घोषणापत्रमा समेटिएको पाइएको छ।

विगतका निर्वाचनमा पनि दलहरुले आफ्ना घोषणापत्रमा स्वास्थ्यका महत्वपूर्ण विषयहरु समेट्ने तर तिनै दलहरु सरकारमा गइसकेपछि ती प्र्रतिबद्धता भुलेर जाने प्रवृत्ति मुख्य चुनौती रहेको विज्ञ बताउँछन् ।

कुन दलको घोषणापत्रमा के छ ?

स्वास्थ्य बीमाको आबद्धता अनिवार्य : नेकपा

सबैभन्दा पहिले घोषणापत्र सार्वजनिक गरेको पुष्पकल दाहाल ‘प्रचण्ड’ संयोजक रहेको नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले स्वास्थ्य बीमा अनिवार्य तथा प्रगतिशील स्वास्थ्य बीमालाई स्वास्थ्य सुरक्षा प्रणालीको मुख्य आधार बनाएर स्वास्थ्य बीमाको आबद्धता सबैका लागि अनिवार्य गर्ने लक्ष्य लिइएको छ । हाल करिब ३० प्रतिशतमा सीमित रहेको स्वास्थ्य बीमालाई आगामी २०८८ सम्म शतप्रतिशत पुर्‍याइने लक्ष्य राखिएको छ ।

गरिबीको रेखामुनि रहेका नागरिकमध्ये हाल करिब १० प्रतिशत मात्रै बीमामा समेटिएको अवस्थालाई २०८८ सम्म शतप्रतिशत पुर्‍याइनेछ । गरिब, अशक्त, दीर्घरोगी र ज्येष्ठ नागरिकको बीमा प्रिमियम राज्यले बेहोर्ने व्यवस्थालाई परिणाममुखी, तथ्याङ्किक र पारदर्शी बनाइने नेकपाको घोषणापत्रमा भनिएको छ ।

प्रतिबद्धता पत्रअनुसार स्वास्थ्य क्षेत्रलाई गुणस्तरीय, जनमुखी, समावेशी तथा दीगो बनाई स्वस्थ तथा समुन्नत नेपाल निर्माण गरिनेछ ।

हरेक स्थानीय तहमा सुविधासम्पन्न अस्पताल : जसपा

उपेन्द्र यादव अध्यक्ष रहेको जनता समाजवादी पार्टी (जसपा) स्वास्थ्यलाई उच्च प्राथमिकताको सार्वजनिक सेवा मानी दीर्घकालीन योजनाबाट प्रेरित भएर समयसीमासहितको स्वास्थ्य नीतिमा व्यवहारिक सुधार लागू गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

आफ्नो चुनावी घोषणा पत्र सार्वजनिक गर्दै स्वास्थ्य क्षेत्र लामो समयदेखि संरचनागत तथा व्यवस्थापकीय कमजोरी, निजीकरण, झन्झटिलो बीमा प्रणाली र गहिरिँदो असमान पहुँचको समस्याबाट ग्रसित छ । स्वास्थ्य सेवा बढी खर्चिलो र आम नागरिकको पहुँचबाहिर छ । जसले स्वास्थ्य सेवालाई पूर्णरूपमा नागरिक केन्द्रित, निःशुल्क र गुणस्तरीय सेवा बनाउनेछ भनेको छ ।

घोणापत्रमा प्रमुख दलका कार्यक्रम

सबै नागरिकलाई निःशुल्क स्वास्थ्य सेवा प्रदान गरिनेछ । हरेक प्रदेशमा कम्तिमा एउटा अत्याधुनिक वहुविशिष्टिकृत सेवाप्रदायक अस्पताल र एउटा स्वास्थ्य विज्ञान प्रतिष्ठानका साथै हरेक स्थानीय तहमा एउटा सुविधासम्पन्न अस्पताल स्थापना गरिनेछ ।

स्वास्थ्य बीमा कार्यक्रमलाई सहज र आम नागरिकको पहुँचमा ल्याइनेछ । सबैका लागि उत्कृष्ट र सुविधाजनक अस्पताल सेवा सुनिश्चित गर्न एकरूपताको गुणस्तर मापदण्ड लागू गरिनेछ ।

आधारभूत स्वास्थ्य सेवा निःशुल्क व्यवस्था : प्रलोपा

दुर्गा सोब अध्यक्ष रहेको प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) ले घोषणापत्रमा स्वास्थ्यका विषयमा तीन बुँदे प्रतिबद्धता व्यक्त गरेको छ ।

आइतबार जारी गरिएको घोषणापत्रमा पहिलो प्रतिबद्धतामा सबै नागरिकका लागि आधारभूत स्वास्थ्य सेवा निःशुल्क व्यवस्था गर्ने उल्लेख छ । यसैगरी, प्रलोपाले दोस्रो प्रतिबद्धतामा स्वास्थ्य बीमा प्रभावकारी बनाउने र ग्रामीण स्वास्थ्य संरचना विस्तार गर्नेछ ।

तेस्रो प्रतिबद्धतामा भने मातृ, शिशु, ज्येष्ठ नागरिक, अपाङ्गता र यौनिक तथा लैगिंक अल्पसंख्यक नागरिकलाई प्राथमिकता दिने उल्लेख छ ।

स्थानीय तहमा विशेषज्ञ चिकित्सकको व्यवस्था : उज्यालो नेपाल पार्टी

कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टीले निःशुल्क उपचारदेखि मानसिक स्वास्थ्य सेवा र स्थानीय तहमा विशेषज्ञ चिकित्सकको व्यवस्था गर्ने प्रतिबद्धता जनाएको छ ।

हरेक नागरिकलाई तोकिएको स्वास्थ्य संस्थामार्फत निःशुल्क उपचार सेवा उपलब्ध गराउने योजना पार्टीले सार्वजनिक गरेको घोषणापत्रमा अघि सारेको छ । यस अभियानअन्तर्गत विशेषगरी कुपोषणबाट प्रभावित महिला तथा बालबालिकालाई लक्षित कार्यक्रम सञ्चालन गरिने उल्लेख गरिएको छ ।

यसका साथै दुर्गम तथा ग्रामीण क्षेत्रका नागरिकलाई स्वास्थ्य सेवाको पहुँच विस्तार गर्न मोबाइल क्लिनिक र टेलिमेडिसिन सेवा सञ्चालन गरिने घोषणापत्रमा उल्लेख छ ।

मानसिक स्वास्थ्यलाई पनि प्राथमिकतामा राख्दै पार्टीले प्रत्येक वडामा मनोसामाजिक परामर्शदाताको सेवा उपलब्ध गराउने व्यवस्था गर्ने जनाएको छ । त्यसैगरी प्राथमिक स्वास्थ्य केन्द्र तथा स्थानीय तहका स्वास्थ्य संस्थामा विशेषज्ञ सेवा विस्तार गर्ने योजना पनि घोषणापत्रमा समावेश गरिएको छ ।

प्रत्येक स्थानीय तहमा कम्तीमा एकजना विशेषज्ञ चिकित्सक हाडजोर्र्नी, स्त्रीरोग तथा बालरोग विशेषज्ञ राख्ने व्यवस्था गरिने प्रतिबद्धता जनाइएको छ । यसले स्थानीय स्तरमै विशेषज्ञ सेवा उपलब्ध भई नागरिकले सहज र गुणस्तरीय उपचार पाउने विश्वास पार्टीले व्यक्त गरेको छ ।

जन्मदेखि मृत्युसम्म सामाजिक सुरक्षा : रास्वपा

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले घोषणापत्र सार्वजनिक गरेको छैन तर “नागरिक करार” मार्फत जन्मदेखि मृत्युसम्म आवश्यकतामा आधारित एकीकृत सामाजिक सुरक्षा प्रणाली लागू गर्ने घोषणा गरेको छ।

करारको प्रमुख बुँदामध्ये “शतप्रतिशत बीमा”लाई जोड दिइएको छ र गुणस्तरीय स्वास्थ्य सेवा सुनिश्चित गर्ने प्रतिबद्धता रहेको पार्टीले जनाएको छ।

लोकतान्त्रिक अधिकारका लागि भएका विगतका आन्दोलन र सुशासनको पक्षमा उठेको नयाँ पुस्ताको आकांक्षालाई आत्मसात गर्दै जनतासँग प्रत्यक्ष राजनीतिक जिम्मेवारीको करार गरेको दाबी गर्छन् । मतदाताबाट प्राप्त विश्वासलाई “लगानी” का रूपमा स्वीकार गर्दै पाँच वर्षभित्र ठोस प्रतिफल दिने शर्त राखिएको छ।

करारअनुसार प्रत्येक नागरिकलाई जन्मदेखि मृत्युसम्म आवश्यकताअनुसार सेवा दिने एकीकृत सामाजिक सुरक्षा प्रणाली स्थापना गरिनेछ । यस अन्तर्गतः सबै नागरिकका लागि शतप्रतिशत स्वास्थ्य बीमा, गुणस्तरीय र पहुँचयोग्य स्वास्थ्य सेवा र सार्वजनिक स्वास्थ्य संरचनाको सुदृढीकरण छन्।

प्रकाशित मिति : ६ फाल्गुन २०८२, बुधबार  १ : २२ बजे

यातायातको चाप घटेसँगै उपत्यकामा घट्यो वायु प्रदूषण 

काठमाडौं– काठमाडौँ उपत्यकामा सवारीसाधनका आवागमनमा कमी हुँदा वायु प्रदूषण घटेको

निर्वाचन अस्वीकार गर्दै पूर्वराजाले भने : पहिले राष्ट्रिय समस्याको समाधान हुनु पर्छ

काठमाडौं- पूर्वराजा ज्ञानेन्द्र शाह ले फागुन ७ गते मनाइने प्रजातन्त्र

युक्रेन–रुस वार्ता जेनेभामा दोस्रो दिन प्रवेश

एजेन्सी– मस्को र किएभका दूतहरूले बुधबार जेनेभामा अमेरिकी मध्यस्थतामा लगातार

भरूवा बन्दुकसहित दुई जना पक्राउ

दमौली– तनहुँको देवघाट गाउँपालिका-४ बाट दुईथान भरूवा बन्दुकसहित दुई जना

यस्तो देखियो जनकपुरमा कांग्रेसको प्रतिज्ञा सभा (तस्बिरहरू)

काठमाडौं- मधेश प्रदेशको राजधानी जनकपुरधाममा नेपाली कांग्रेसले प्रतिज्ञा सभा गरेको