काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डसहितका नेतालाई बालुवाटारमा बोलाएर संवाद गरेकी छन् ।
उनलले फागुन २१ गतेको निर्वाचन सफल पार्न भूमिका खेलेको भन्दै नेताहरूलाई धन्यवाद दिएकी छन् । प्रधानमन्त्री कार्कीले निर्वाचनमा भाग लिइदिएकोमा पनि आभार व्यक्त गरेकी छन् ।
‘तपाईंहरूले निर्वाचनमा भाग लिइदिनुभयो’, उनले भनिन्, ‘यो निर्वाचनको पक्षमा वातावरण बनाएर मुलुकलाई शान्तिपूर्ण तथा लोकतान्त्रिक विधिबाट निकास दिन सहयोगी भूमिका खेल्नुभयो । यसका लागि धन्यवाद ।’
उनले निर्वाचनमा विजयी नेताहरूलाई बधाई समेत दिइन् । अन्य नेताहरूलाई अर्को पटकका लागि शुभकामना दिएकी छन् ।
नेकपाका नेताहरूले प्रधानमन्त्री कार्कीको नेतृत्वमा निर्वाचन सम्पन्न भई देशले निकास पाएको भन्दै बधाई दिएका छन् ।
संयोजक प्रचण्डले भेटमा निर्वाचन नभएको भए मुलुक अर्को दुर्घटनामा जाने बताए । ‘यो निर्वाचन नभएको भए मुलुक अर्को ठुलो दुर्घटनामा जान्थ्यो। यसमा जुन साहस र मेहनतका साथ तपाईंले काम गर्नुभयो, यो निकै महत्त्वपूर्ण र प्रशंसा लायक छ’, उनले भने।
सुरुकै दिनदेखि आफू र आफ्नो पार्टी निर्वाचनको पक्षमा उभिएको पनि उनले स्मरण गरे । ‘हामीले सुरूबाटै निर्वाचनको विकल्प छैन भनेर उभिएका हौँ, इफ बट केही नभनी निर्वाचन हुनुपर्छ भन्ने त्यतिबेला हामी मात्रै थियौँ,’ उनले भने ।
अस्तव्यस्त अवस्था सम्हालेर ६ महिनाभित्रै चुनाव गराउने कार्य निकै चुनौतीपूर्ण भए पनि प्रधानमन्त्री कार्कीको छवि, इमान र दृढताका कारण सम्पन्न भएको दाहालसहितले बताए ।
पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले प्रधानमन्त्रीमा कार्की आएको सुनेकै दिन आफूलाई आनन्द लागेको बताए । ‘प्रधानमन्त्रीमा सुशीला कार्की आउने भन्ने सुनेको दिन निकै राहतको महसुस भएको थियो। तर पछि तपाईंले नआउने भन्नुभयो भन्ने समाचार पनि आयो’, उनले भने, ‘त्यस कुराले हामी सबै आत्तिएका थियौँ। तपाईं आइदिएपछि संविधान बाँच्छ, व्यवस्था जोगिन्छ र अवस्था सम्हालिन्छ भन्ने विश्वास थियो।’
पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्ड पूर्वप्रधानमन्त्री, पूर्वप्रधानमन्त्री नेपाल, नारायणकाजी श्रेष्ठ, वर्षमान पुनलगायत नेताहरू प्रधानमन्त्रीको निमन्त्रणामा बालुवाटार पुगेका थिए । उनीहरूबीच फागुन २१ मा सम्पन्न प्रतिनिधि सभाको निर्वाचन र समसामयिक राजनीतिबारे छलफल भएको थियो ।













प्रतिक्रिया