भ्रष्टाचार मुद्दामा यर्माक रिहा हुने « Khabarhub

भ्रष्टाचार मुद्दामा यर्माक रिहा हुने


४ जेठ २०८३, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

किएभ- युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीका पूर्वशक्तिशाली सहयोगी एन्ड्री यर्माकले बहुचर्चित भ्रष्टाचार अनुसन्धानमा तोकिएको करिब ३२ लाख अमेरिकी डलर बराबरको जमानत रकम बुझाएपछि रिहा हुने भएका छन् । युद्धकालीन युक्रेनमा उच्च तहसम्म पुगेको भ्रष्टाचार प्रकरणका रूपमा हेरिएको यो मुद्दाले देशको राजनीतिक वृत्तमा व्यापक तरङ्ग उत्पन्न गरेको छ ।

किएभस्थित भ्रष्टाचारविरोधी अदालतले गत साता यर्माकलाई प्रारम्भिक अनुसन्धान अवधिका लागि ६० दिन हिरासतमा राख्ने आदेश दिएको थियो । अदालतले उनको जमानत रकम १४ करोड रिभ्निया निर्धारण गरेको थियो । यो करिब ३२ लाख अमेरिकी डलर बराबर हुन्छ । अदालतको प्रेस सेवाले सोमबार एएफपीसँग कुरा गर्दै यर्माकको जमानत रकम पूर्ण रूपमा बुझाइसकिएको पुष्टि गरेको छ ।

अदालतका अनुसार आवश्यक प्रक्रिया पूरा भएपछि उनी दिनको अन्त्यसम्ममा रिहा हुनेछन् । यर्माकले गत साता आफूले व्यक्तिगत रूपमा यति ठूलो रकम जुटाउन नसक्ने बताएका थिए । उनले ‘मसँग त्यति धेरै पैसा छैन’ भन्दै आफ्ना साथीभाइ र चिनेजानेका व्यक्तिहरूले सहयोग गर्ने आशा व्यक्त गरेका थिए । अभियोजनकर्ताहरूले यर्माकमाथि किएभबाहिर निर्माण गरिएको एक उच्चस्तरीय आवासीय परियोजनामार्फत ठूलो परिमाणमा अवैध मनी लन्ड्रिङ गरेको आरोप लगाएका छन् ।

अनुसन्धान अधिकारीहरूका अनुसार उक्त परियोजनासँग करोडौँ डलर बराबरको आर्थिक अनियमितता जोडिएको छ । एन्ड्री यर्माकले नोभेम्बरसम्म राष्ट्रपति जेलेन्स्कीका निकट सहयोगीका रूपमा काम गरेका थिए । रूसले युक्रेनमाथि आक्रमण सुरु गरेपछि उनलाई राष्ट्रपति कार्यालयभित्र अत्यन्त प्रभावशाली व्यक्तिका रूपमा हेरिन्थ्यो ।

धेरैले उनलाई युक्रेनको ‘दोस्रो सबैभन्दा शक्तिशाली व्यक्ति’ का रूपमा समेत व्याख्या गर्ने गरेका थिए । युद्धको कठिन समयमा यर्माक राष्ट्रपति जेलेन्स्कीसँगै अन्तर्राष्ट्रिय कूटनीतिक भेटघाट तथा उच्च जोखिमयुक्त विदेश भ्रमणहरूमा सहभागी हुने प्रमुख व्यक्तिमध्ये पर्दथे । विशेषगरी अमेरिका र युरोपेली मुलुकहरूको भ्रमणका क्रममा उनी राष्ट्रपति टोलीको अग्रपङ्क्तिमा देखिनन्थ्ये ।

तर पछिल्लो भ्रष्टाचार प्रकरण सार्वजनिक भएपछि उहाँले नोभेम्बरमा पदबाट राजीनामा दिएका थिए । त्यसयता युक्रेनभित्र युद्धकालीन भ्रष्टाचार, सरकारी पारदर्शिता र राजनीतिक उत्तरदायित्वबारे बहस तीव्र बनेको छ । रूससँगको युद्ध चलिरहेकै अवस्थामा युक्रेनमा पछिल्ला वर्षहरूमा उच्च तहका धेरै भ्रष्टाचार काण्ड सार्वजनिक भएका छन् ।

ती घटनाले सरकारमाथि अन्तर्राष्ट्रिय दबाब पनि बढाएको छ । विशेषगरी युरोपेली सङ्घ (इयु) मा सदस्यता प्राप्त गर्ने प्रयास गरिरहेको युक्रेनमाथि भ्रष्टाचार नियन्त्रण, न्यायिक सुधार र प्रशासनिक पारदर्शिता सुदृढ गर्नुपर्ने दबाब निरन्तर रहँदै आएको छ ।

युरोपेली साझेदारहरूले आर्थिक तथा सैन्य सहयोगलाई सुशासन र सुधारसँग जोडेर हेर्दै आएका छन् । यर्माकमाथिको अनुसन्धानलाई पनि युक्रेनको भ्रष्टाचारविरोधी संयन्त्रको परीक्षा तथा युद्धकालीन शासन प्रणालीको विश्वसनीयतासँग जोडेर हेरिएको छ ।

प्रकाशित मिति : ४ जेठ २०८३, सोमबार  ४ : ५७ बजे

सम्पत्ति विवरण बुझाउने म्याद असार मसान्तसम्म थप

काठमाडौं– सम्पत्ति छानबिन आयोगले सम्पत्ति विवरण बुझाउने म्याद असार मसान्तसम्म

नेतृत्व पाएसँगै नवप्रवर्तन मन्त्रालयले थाल्यो काम

काठमाडौं– नेतृत्व पाएसँगै नवगठित विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयले संस्थागत

भूमिहीन नागरिकको जग्गा व्यवस्थापनका लागि नाप नक्सा

महेन्द्रनगर– यहाँका स्थानीय तहले अव्यवस्थित बसोबासी र भूमिहीन नागरिकको जग्गा व्यवस्थापनका

‘एक घर-एक मिनीटिलर’ अभियानले पौवादुङमाका किसान उत्साहित

भोजपुर– यहाँको पौवादुङमा गाउँपालिकाले अनुदानमा हातेट्याक्टर वितरण गरेपछि किसान उत्साहित

हावाहुरीले विनय त्रिवेणीमा २० भन्दा बढी घरमा क्षति

काठमाडौं– मंगलबार साँझ आएको हावाहुरी सहितको वर्षाले पूर्वी नवलपरासीको विनय