काठमाडौं- आफूसँग प्रतिस्पर्धा गर्न आउने भएपछि पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीप्रति कठोर बनेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली एकाएक नरम बन्न पुगेका छन्।
२०८२ भदौ २३ र २४ गतेको जेन-जी आन्दोलन र फागुन २१ गतेको प्रतिनिधि सभा सदस्य निर्वाचनको परिणामले राजनीतिको मूलधारबाट करिब करिब किनाराकृत भएका ओली त्यतिकै भण्डारीप्रति नरम भएका होइनन् ।
पार्टीको एघारौँ महाधिवेशनमा प्रतिनिधि बन्नै नदिने गरी २०८२ साउन ५-७ गते बसेको केन्द्रीय कमिटीको बैठकबाट भण्डारीको सदस्यता नवीकरण नगरेर नाकाबन्दी लगाएका ओली सोमबार भक्तपुरको गुन्डुमा एकाएक पग्लिन पुगे ।
त्यसबेला च्यासलमा भएको केन्द्रीय कमिटी बैठकका शक्तिशाली अध्यक्ष एवम् प्रधानमन्त्रीसमेत रहेका ओलीले सारा शक्ति लगाएर भण्डारीलाई बूढानीलकण्ठको चपलीस्थित निजी निवासमा सीमित गरिदिएका थिए ।
साउन पहिलो साताको उक्त निर्णययता भदौको जेन-जी आन्दोलनले हठात् सत्ताबाट बाहिरिएका ओली १४ दिन सेनाको ब्यारेक हुँदै १३ दिन प्रहरी हिरासतमा समेत पुगिसके ।
भदौमा नेपाली कांग्रेसको समेत समर्थन पाएको शक्तिशाली सरकार गुमाएका ओली मंसिर २७ देखि काठमाडौं र भक्तपुरमा भएको ११ औँ महाधिवेशनबाट बलपूर्वक एमालेको अध्यक्षमा तेहेरिए । भण्डारीलाई छेके पनि उनकोतर्फबाट तत्कालीन वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले प्यानल नै बनाएर उनलाई चुनौती दिए ।
तर ओलीले पार्टीको सत्तामा टिकिरहन साम दाम दण्डभेद सबै प्रयोग गरे। लाइनमा लागिसकेका महाधिवेशन प्रतिनिधिलाई घरतिर पठाइदिए । १०६ जना मनोनीत महाधिवेशन प्रतिनिधिमा एकलौटी निर्णय गरे। मधेशका महाधिवेशन प्रतिनिधिको एकछापे भोट खसाल्न लगाए । त्यतिमात्रै नभएर आफूलाई चुनौती दिनेहरूलाई अझै ठेगान लगाउने पनि चेतावनीसमेत दिए । पार्टी विधान नै बलपूर्वक फेरेर तेस्रो पटक अनुमोदित भएका ओली जनताबाट भने अस्वीकृत हुन पुगे ।
महाधिवेशनबाट पोखरेल प्यानललाई माथिदेखि तलैसम्म बढारेका ओली फागुन २१ को निर्वाचनमा आफैं नराम्रोसँग पराजित भए । अर्थात् झापा क्षेत्र नम्बर ५ मा केबल २ हजार मतले उनको जमानत जोगियो । उनले १८ हजार मत ल्याएर जमानत बचाए। यदि १६ हजार मात्रै मत आएको भए उनी आफ्नो गृहजिल्लामा काठमाडौंबाट गएका पाहुना बालेन शाहसँग झनै लज्जास्पद हार भोग्न बाध्य हुने थिए । उनको लज्जास्पद हारसँगै एमाले पनि देशभर ९ सीटमा समेटियो ।
अर्थात्, एमाले नेताहरूकै भाषामा पार्टी इतिहासमै सर्मनाक हार भोग्न बाध्य भयो । ठाडो शब्दमा भन्दा एमाले एक हिासबले खरानी नै भयो । त्यही चुनावमा देशभर राष्ट्रिय स्वतन्त्र पार्टीको आँधीबेहेरीले पुराना सबै दललाई बढार्यो । रास्वपा १८१ सीटसहित संघीय संसद्मा वर्चश्व बनाउन सफल हुँदा पुराना दलको अवस्था ठाडो शीर बनाउन लायक पनि रहेन ।
तर, पनि ओलीले एमालेबृत्तमा आफ्ना कारण पार्टीले नहारेको ब्याख्या गरिररहे । केही समयअघि गुन्डू पुगेका सुदूरपश्चिमका एमाले नेताहरूसँग उनले चुनाव आफूले नभएर फेसबुकको अल्गोरिदमले हराएको दाबी गरे।
चैत १३ पक्राउ परेर १३ दिन प्रहरी हिरासतमा बसेका ओली पछिल्लो समय स्वास्थ्यका कारण गल्दै गएका छन् । उनले प्रहरी हिरासतमै हुँदा त्रिवि शिक्षण अस्पतालमा पित्त थैलीको स्टोनको शल्यक्रिया गराए । तत्कालीन गृहमन्त्री सुधन गुरुङको निर्देशनमा चैत १४ गते पक्राउ परेका उनले ६ वटाभन्दा धेरै रोगको सामना गरिरहेका छन् ।
पित्त थैलीको शल्यक्रिया गरिएको घाउमा इन्फेक्सन भएपछि उनी गुन्डुमै सीमित छन् ।आइतबार भएको मदन-आश्रित स्मृति दिवस कार्यक्रममा पनि उनी आएन। बरू पूर्वराष्ट्रपति भण्डारी पहिलो पटक एमालेको औपचारिक कार्यक्रममा प्रमुख अतिथि बनेर पुगिन् ।
भण्डारीलाई प्रमुख अतिथि बनाउने गरी पृष्ठभूमि तयार गर्ने काम गत वैशाख २८ गते गुन्डुमै यी दुई नेताबीच भएको भेटले गरेको थियो । फागुन २१ को निर्वाचनमा अकल्पनीय पराजय भोगेपछि बालेन नेतृत्वको सरकारको समेत निरन्तर निशानामा परेका ओली कम्युनिस्टको एकताको पक्षमा नरम देखिएका छन्।
कम्युनिस्ट एकताको चर्चाबीच यी दुईजनाको भेटलाई वाम वृत्तमा विशेष महत्व दिइएको थियो । ओलीले नेकपा संयोजक पुष्पकमल दाहाल प्रचण्डसँग पनि नियमित कुराकानी गरिरहेका थिए । तर प्रचण्डले ओलीसँग भरोसा गर्न नसकिने अडान राखेका छन्। यस्तोमा भण्डारीलाई देखाएर वामशक्ति एक ठाउँमा ल्याउने प्रयास ओलीले गरेको तर्क उनीनिकटहरूको छ।

आफ्नै निर्णय उल्ट्याए
झापा आन्दोलनबाट कम्युनिस्ट राजनीतिमा उदाएका ओली अहिले इतिहासकै कठिन र संगिन मोडमा छन् । कुनै बेला दुईतिहाइ माथि शक्तिका कम्युनिस्ट दलहरू अहिले संसद्को एउटा कुनामा सीमित भएका छन् । प्रदेश र स्थानीय चुनाव पनि आउँदै गर्दा पुरानो शक्ति फर्काउने या सकिने एउटा विकल्प ओलीले छान्नुपर्ने अवस्था छ।
यही चुनौतीबीच स्वास्थ्यले समेत दपेट्दै लगेको अवस्थामा ओलीलाई नेतृत्व छाड्न दबाब परिरहेको छ। सम्भवत: उनी एमाले सचिवालय बैठकमा पनि अल्पमतमा छन् । उनलाई आफ्नै नजिकका महासचिव शंकर पोखरेल र उपाध्यक्ष विष्णु पौडेलले पनि साथ छाडेको अवस्था छ।
यो अवस्थामा अब ओलीसामु दोस्रो-तेस्रो पुस्तालाई नेतृत्व हस्तान्तरण गर्ने या भण्डारीलाई सम्मानपूर्वक फर्काएर बिदा हुने विकल्प छन् । यी विकल्पबीच ओलीले कम्युनिस्ट एकताको कार्ड फ्याँकेर अझै केही समय नेतृत्वमा टिकिरहने प्रयास गर्नेछन् । एमालेमा उनको बिदाइ सचिवालय या केन्द्रीय कमिटीले गर्न सक्छ। तर, त्यसका लागि बहुमत जुटाएर उभिन सक्ने शक्ति अझै इतर पक्षले जुटाउन सकेको छैन ।
इतर पक्ष संगठित त भएको छ तर ओलीलाई बिदा गरिजाने अवस्थामा छैन । अब भण्डारीको सदस्यता नवीकरण गरिदिएर ओलीले विपक्षीको पनि साथ आफूतिर लिने प्रयास गरेका छन ।
त्यही प्रयासलाई अघि बढाउने क्रममा उनले सोमबार गुन्डुमा सचिवालय सदस्यहरूमाझ भने, ‘अब पूर्वराष्ट्रपति विद्या भण्डारीको सदस्यता नवीकरण गरिदिऊँ।’
एकजना पदाधिकारीका अनुसार बैठकमा ओली आफैंले उक्त प्रस्ताव राखेका थिए । त्यो प्रस्ताव राख्नुअघि उनले भण्डारीसँग चरण चरणमा छलफल पनि गरेका थिए।
त्यस छलफलका क्रममा ओलीले भण्डारीसँग एउटा लिखित निवेदन दिएर सदस्यताको ढोका खोल्न सुझाए । उनै ओलीले विगतमा पनि भण्डारीले निवेदन दिन आए सदस्यताबारे सोच्न सकिने भन्दै आएका थिए ।
पटक पटकको छलफलबाट भण्डारी पनि ओलीकहाँ निवेदन लिएर पुगिन् । ‘अध्यक्ष कमरेडले पूर्वराष्ट्रपति भण्डारीले सदस्यता नवीकरणका लागि निवेदन दिएको बताउँदै यसलाई अघि बढाउने कुरा आफैं राख्नु भयो’, एकजना पदाधिकारीले खबरहबलाई भने, ‘निवेदन पनि देखाउँदै उहाँकै मुखबाट यो कुरा आएपछि सदस्यता नवीकरणको निर्णय भयो । पूर्वराष्ट्रपति भण्डारीले निवेदन पनि दिनु भएको जानकारी अध्यक्षले दिनु भयो।’
ती पदाधिकारीले ओलीको यो प्रस्तावलाई सचिवालयका सबै सदस्यले सकारात्मक रुपमा लिएर स्वागत गरेको बताए । ओलीले भण्डारी दुई कार्यकाल राष्ट्रपति हुँदाको समयलाई शून्य मानेर एमालेको सदस्यता नवीकरण नगर्ने आफ्नै पुरानो निर्णय अहिले उल्ट्याएका हुन् ।
‘ढिला त भइसकेको छ । तर पनि अध्यक्षको उक्त प्रस्तावलाई सचिवालयका सबै सदस्यले सकारात्मक मानेका छौँ’, उनले भने, ‘अहिले पार्टीमा दबाब बढिरहेका बेला उहाँको प्रस्ताव आएको छ। अध्यक्षले नेतृत्व छाड्नुपर्ने कुरा हाम्रो एजेन्डाबाट हटेको छैन। हामी आगामी ८ गते उहाँको बहिर्गमनको मुद्दा उठाउँछौँ।’














प्रतिक्रिया