मधेस विश्वविद्यालयमा तीन नयाँ शैक्षिक कार्यक्रम विस्तार हुँदै « Khabarhub

मधेस विश्वविद्यालयमा तीन नयाँ शैक्षिक कार्यक्रम विस्तार हुँदै


२ श्रावण २०८३, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम- मधेस विश्वविद्यालयले चालु शैक्षिक सत्र २०८३ देखि थप तीन वटा शैक्षिक कार्यक्रम सञ्चालन गर्ने भएको छ । पर्साको वीरगञ्जस्थित विश्वविद्यालयले स्नातकोत्तर तहमा मास्टर्स अफ बिजनेस एडमिनिस्ट्रेसन (एमबिए) तथा स्नातक तहमा ब्याचलर अफ ल (एलएलबी) र ब्याचलर अफ बिजनेस एडमिनिस्ट्रेसन (बिबिए) कार्यक्रम सुरु गर्न लागेको हो ।

विश्वविद्यालयका रजिष्ट्रार विजयकुमार यादवका अनुसार नयाँ कार्यक्रमका लागि आवश्यक पाठ्यक्रम तयार भइसकेको छ । चालु शैक्षिक सत्रदेखि नै तीनवटै कार्यक्रमको पठनपाठन सञ्चालन गर्ने तयारी भइरहेको उनले जानकारी दिए ।

‘तीन वटै सङ्कायको पाठ्यक्रम तयार भइसकेको छ । यही शैक्षिक सत्रदेखि कक्षा सञ्चालन गर्ने गरी तयारी गरेका छौँ । यससम्बन्धी सूचना छिट्टै प्रकाशन गरिनेछ,’ रजिष्ट्रार यादवले भने।

विश्वविद्यालयमा सञ्चालन भइरहेका शैक्षिक कार्यक्रममा विद्यार्थीको आकर्षण बढ्दै गएपछि थप कार्यक्रम विस्तार गर्न लागिएको उनको भनाइ छ । हाल विश्वविद्यालयले स्नातकोत्तर तहमा जनप्रशासन (एमपिए), कानुन सङ्कायतर्फ स्नातक (बीए एलएलबी) र जनप्रशासन सङ्कायतर्फ स्नातक तहमा जनव्यवस्थापन (बिपिएम) कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

मधेस प्रदेशसभाबाट २०७९ वैशाख १४ गते मधेस विश्वविद्यालय ऐन, २०७९ जारी भएपछि २०७९ भदौ २२ गते स्थापना भएको विश्वविद्यालयले पहिलो वर्षदेखि नै दुई वटा सङ्कायमा पठनपाठन सुरु गरेको थियो । हाल विश्वविद्यालयले वीरगञ्जस्थित नेसनल ट्रेडिङको भवन भाडामा लिएर कार्यालय सञ्चालन गर्दै आएको छ ।

विश्वविद्यालयलाई अनुसन्धान र प्रशिक्षणमा आधारित गुणस्तरीय शिक्षाको केन्द्रका रूपमा विकास गर्ने लक्ष्य रहेको उपकुलपति प्रा. डा. दीपकबहादुर शाक्यले बताए । उनका अनुसार प्रदेशमा पहिलो मधेस अनुसन्धान तथा प्रशिक्षण केन्द्र स्थापना गर्ने योजना पनि अघि बढाइएको छ ।

‘हामीले सञ्चालन गरेका कक्षामा विद्यार्थीको आकर्षण देखेर उत्साहित भएका छौँ,’ उपकुलपति शाक्यले भने, ‘आगामी दिनमा मेडिकल, ल्याब टेक्निसियन, फिजियोथेरापीलगायत चिकित्सा तथा स्वास्थ्यसम्बन्धी कार्यक्रम सञ्चालन गर्ने लक्ष्य राखेका छौँ ।’

उनका अनुसार वीरगञ्जको नारायणी अस्पताल र पोखरियास्थित पोखरिया अस्पताललाई आधार बनाएर चिकित्साशास्त्रमा एमबिबिएस कार्यक्रम सञ्चालन गर्ने सम्भावनाबारे प्राविधिक अध्ययन गर्ने तयारी भइरहेको छ ।

मधेस विश्वविद्यालयले उच्च शिक्षालाई अनुसन्धानमुखी बनाउने उद्देश्यले एमफिल तथा पिएचडी कार्यक्रमसँगै फार्मेसी, विज्ञान र सूचना प्रविधिसम्बन्धी प्राविधिक कार्यक्रमसमेत सञ्चालन गर्ने लक्ष्य लिएको छ ।

यस्तै, मधेस प्रदेशका ग्रामीण क्षेत्रका नागरिकलाई उच्च शिक्षामा सहज पहुँच विस्तार गर्ने उद्देश्यले प्रदेशमा पहिलो ‘मधेस सीप स्कुल’ स्थापना गर्ने योजना पनि विश्वविद्यालयले अघि सारेको छ । सीप, श्रम र समृद्धिलाई जोड्ने गरी दक्ष जनशक्ति उत्पादन गर्ने लक्ष्यसहित उक्त योजना अघि बढाइएको उपकुलपति शाक्यले बताए।

प्रकाशित मिति : २ श्रावण २०८३, शनिबार  २ : ०९ बजे

प्रत्यक्ष कार्यकारी राष्ट्रपतिको माग गर्दै युवाहरू सडकमा

काठमाडौं – नेपालमा प्रत्यक्ष कार्यकारी राष्ट्रपतिको व्यवस्था गर्नुपर्ने मुख्य मागसहित

श्रम शोषणविरुद्ध माइतीघरमा चिकित्सकको प्रदर्शन

काठमाडौं – विभिन्न अस्पतालमा इन्टर्नसिप गरिरहेका चिकित्सक, मेडिकल अधिकृत तथा आवासीय

तेल तथा ऊर्जा क्षेत्रको विकासका लागि इराकले अमेरिकासँग गर्यो ४८ सम्झौता

बग्दाद- इराकले तेल तथा ऊर्जा क्षेत्रको विकास र आर्थिक सहकार्य विस्तारका

सुदूरपश्चिम रोयल्सको व्यवस्थापन टोली सार्वजनिक, सुनिल थापा लगातार दोस्रो सिजन टिम म्यानेजर

काठमाडौं- नेपाल प्रिमियर लिग (एनपीएल) फ्रेन्चाइज टोली सुदूरपश्चिम रोयल्सले शुक्रबार आगामी

नागढुङ्गा सुरुङमार्गमा ‘टनेल रन एण्ड वाक’ आयोजना

काठमाडौं- नागढुङ्गा सुरुङमार्गको प्रवर्द्धन तथा सर्वसाधारणमा जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले आज