युक्रेनी आक्रमणपछि रूसमा इन्धन अभाव चर्कियो « Khabarhub

युक्रेनी आक्रमणपछि रूसमा इन्धन अभाव चर्कियो


२ श्रावण २०८३, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

मस्को- युक्रेनले रूसी ऊर्जा पूर्वाधारलाई लक्षित गर्दै आक्रमण तीव्र बनाएपछि रूसका अधिकांश क्षेत्रमा इन्धन अभाव चर्किएको छ। सन् २०२२ मा युद्ध सुरु भएयताकै सबैभन्दा गम्भीर इन्धन संकट देखिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

मस्कोबाट करिब ४८० किलोमिटर उत्तरमा रहेको भोलोग्डाबाट फर्किरहेका रुसी दम्पती येलेना र दिमित्रीले चारवटा पेट्रोल पम्प पार गरेपछि मात्र इन्धन उपलब्ध भएको पम्प फेला पारेका थिए। भोलोग्डासहित विभिन्न क्षेत्रमा केही पेट्रोल पम्प बन्द भएका छन् भने सञ्चालनमा रहेका पम्पहरूमा इन्धन भर्न लामो लाइन लागेको बताइएको छ।

विश्वका प्रमुख तेल उत्पादक राष्ट्रमध्ये एक रूसमा इन्धन सहज रूपमा उपलब्ध हुने र युरोपको तुलनामा निकै सस्तो हुने गरे पनि पछिल्लो समय युद्धका कारण आपूर्ति प्रणाली प्रभावित भएको छ। विशेषगरी युक्रेनी ड्रोन आक्रमणले तेल डिपो तथा ऊर्जा पूर्वाधारलाई निशाना बनाएपछि इन्धन वितरणमा व्यापक असर परेको हो।

मिडिया रिपोर्ट उद्धृत गर्दै एएफपीले जुन महिनायता रूसका ९० प्रतिशतभन्दा बढी क्षेत्रले कुनै न कुनै रूपमा इन्धन अभावको सामना गरेको जनाएको छ। विशाल भूभाग भएको रूसमा अधिकांश यातायात स्थलगत भएकाले इन्धन संकटले दैनिक जनजीवन र ढुवानी प्रणालीमा प्रत्यक्ष प्रभाव पारेको छ।

आपूर्ति सहज बनाउन मस्कोले यसअघि केही ग्रेडका पेट्रोल र उड्डयन इन्धनको निर्यातमा प्रतिबन्ध लगाएको थियो। गत साता उक्त प्रतिबन्ध डिजेल निर्यातमा समेत विस्तार गरिएको छ। यी कदमपछि मस्कोसहित केही क्षेत्रमा इन्धन आपूर्ति क्रमशः सुधार हुन थालेको एएफपीले जनाएको छ।

यसबीच, अमेरिकास्थित ऊर्जा अनुसन्धान संस्था एनर्जी इन्टेलिजेन्सले जुलाईको प्रारम्भमा सार्वजनिक गरेको प्रतिवेदनअनुसार युक्रेनी आक्रमणका कारण रूसको दैनिक ६६ लाख ब्यारेल तेल प्रशोधन क्षमतामध्ये करिब आधा हिस्सा फेब्रुअरीको अन्त्यदेखि प्रभावित भएको छ। प्रतिवेदनले युक्रेनले रूसी ऊर्जा पूर्वाधारमाथिको आक्रमण निरन्तर जारी राखेको उल्लेख गरेको छ।

युक्रेनले आफ्ना सहरहरूमा भइरहेको रूसी बमबारीको प्रतिकारस्वरूप ऊर्जा पूर्वाधारलाई लक्षित गर्दै आक्रमण गरिरहेको जनाएको छ। उता रूसले भने आफ्नो ऊर्जा सञ्जालको सुरक्षा प्रणाली बलियो रहेकाले युक्रेनको रणनीतिले अपेक्षित सफलता हासिल गर्न नसक्ने दाबी गरेको छ।

युद्धको प्रभावबाट लामो समय अपेक्षाकृत टाढा रहेको भोलोग्डा क्षेत्रले समेत अहिले इन्धन संकटको प्रत्यक्ष असर महसुस गर्न थालेको बताइएको छ।

प्रकाशित मिति : २ श्रावण २०८३, शनिबार  ६ : ०० बजे

विपत्‌मा नक्कली ‘क्यूआर कोड’ को जोखिम, आधिकारिक खाता जाँच्न आग्रह

काठमाडौँ – मुलुकमा आइपरेको प्राकृतिक विपत्‌को घडीमा सङ्कलन भइरहेको राहत

भोटेकोशी बाढी : मधेसका ५८ जना सम्पर्कविहीन, विवरण संकलन गर्दै प्रहरी

जनकपुरधाम– प्रदेश प्रहरीले भोटेकोशी  बाढीपछि सम्पर्कविहीन भएकाहरूको विवरण संकलन थालेको

जनै पूर्णिमामा नेवार समुदायले मनाउँछन् ‘गुन्हुँ पुन्ही’

श्रावण शुक्ल पूर्णिमाका दिन नेवार समुदायले विशेष रूपमा मनाउने पर्व

पहिचान र परीक्षणका लागि १०२ शव पोखरा ल्याइयो

कास्की– त्रिशूली तथा नारायणी नदी किनारमा भेटिएका १०२ शव पहिचान