सिमरा- बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१ भक्तिनगरमा तीन वर्षीया नाबालिकाको जबरजस्ती करणीपछि हत्या भएको घटनामा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
जीतपुरसिमरा–१ की गरिमा चौधरी साउन ३१ गते बिहान करिब ८ः३० बजे घरबाट हराएकी थिइन्। तीन दिनदेखि बेपत्ता बालिका मंगलबार साँझ घरबाट करिब १५० मिटर दक्षिणमा रहेको विगत पाँच महिनादेखि खाली वीरबहादुर रोकाको घरभित्र मृत फेला परेकी थिइन्।
स्थानीयले खाली घरबाट दुर्गन्ध आएपछि झ्यालबाट हेर्दा बालिकाको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। प्रहरीले घटनास्थलमा पुगेर अनुसन्धान गर्दा बालिकाको शव नग्न अवस्थामा रहेको र भित्री कपडालगायतका लुगा पनि घटनास्थलमै फेला पारेको जनाएको छ।
प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानका क्रममा बालिकाको शरीरमा चोट देखिएको तथा घटनास्थलको अवस्थासमेत हेर्दा जबरजस्ती करणीपछि हत्या गरिएको आशंका गरिएको थियो। शव परीक्षणका लागि अस्पताल पठाइएको छ। घटनाको थप पुष्टि शल्यपरीक्षण रिपोर्ट आएपछि हुने प्रहरीले जनाएको छ।

घटनाको अनुसन्धानका क्रममा जीतपुरसिमरा–२ का अन्दाजी १६ वर्षीय किशोरले बालिकालाई चकलेट दिएर फकाई घटनास्थलमा लगेको खुलेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार ती बालकले जबरजस्ती करणीपछि बालिकाको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको हो।
घटनामा प्रयोग भएको ना.१ ज ७७५८ नम्बरको म्याजिकका सहचालक रहेका १६ वर्षीय किशोरलाई प्रहरीले पक्राउ गरेको छ। त्यस्तै, उक्त म्याजिकका धनी जीतपुरसिमरा–१ निवासी २४ वर्षीय प्रोग्रेस चौधरीलाई पनि अनुसन्धानका क्रममा पक्राउ गरिएको प्रहरीले जनाएको छ।
घटनाको अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय सिमरा र जिल्ला प्रहरी कार्यालय बाराबाट प्रहरी टोली परिचालन गरिएको थियो। नेपाल प्रदेश प्रहरी कार्यालय, वीरगञ्जबाट तालिमप्राप्त कुकुरसहितको अनुसन्धान टोलीसमेत घटनास्थलमा खटाइएको थियो।
बाराका प्रहरी उपरीक्षक नरेन्द्र कुँवरसहितको टोली घटनास्थल पुगेर अनुसन्धानमा जुटेको थियो। इलाका प्रहरी कार्यालय सिमराले प्रहरी निरीक्षक प्रकाश थापालाई अनुसन्धान अधिकृत तोकेर घटनाको थप अनुसन्धान अघि बढाएको जनाएको छ।
यसैबीच, बालिकाको हत्यामा संलग्नलाई कडा कारबाहीको माग गर्दै स्थानीयले बुधबार पथलैया–वीरगञ्ज सडकखण्ड अवरुद्ध गरेका छन्। स्थानीयले दोषीलाई तत्काल कानुनी दायरामा ल्याई कडा कारबाही गर्न माग गरेका छन्।












प्रतिक्रिया