काठमाडौं- भारत र थाइल्याण्डका सैनिकबीच ‘मैत्री–पन्ध्रौं’ नामक संयुक्त सैन्य अभ्यास सुरु भएको छ । भारत र थाइल्याण्डबीचको द्विपक्षीय सैन्य सहयोगलाई अझ सुदृढ बनाउने उद्देश्यले आयोजित यस अभ्यासमा सहभागी हुन भारतीय सेनाको एक टुकडी थाइल्याण्ड प्रस्थान गरेको छ। सन् २००६ देखि नियमित रूपमा हुँदै आएको यस अभ्यासको यो १५ औं संस्करण हो ।
थाइल्याण्डको सुरत थानीस्थित विभवादी रङसिट क्याम्पमा अगस्ट १८ देखि सञ्चालित यो अभ्यास अगस्ट ३१ सम्म चल्नेछ । यस अघिको १४औं संस्करण सन् २०२५ को सेप्टेम्बरमा भारतको मेघालयस्थित उमरोईमा सम्पन्न भएको थियो। यस वर्षको अभ्यासमा दुवै देशबाट जनही ८५ जना सैनिकहरूको सहभागिता रहेको छ। भारतीय सेनाको तर्फबाट मुख्य रूपमा ९ गोर्खा राइफल्सका टुकडीले प्रतिनिधित्व गरेको छ भने थाइल्याण्डतर्फबाट ५औं डिभिजनको २५औं इन्फ्रेन्ट्री ब्रिगेडको तेस्रो बटालियनका सैनिकहरू सहभागी छन् ।
संयुक्त राष्ट्रसंघीय बडापत्रको च्याप्टर सेभेनअन्तर्गत रही जंगल तथा अर्धशहरी क्षेत्रमा आतंकवाद विरोधी संयुक्त कारबाही सञ्चालन गर्ने क्षमता अभिवृद्धि गर्नु यस अभ्यासको मुख्य ध्येय रहेको छ। दुवै देशका सैनिकहरूले जंगल र अर्धशहरी भूभागमा गरिने कारबाहीसम्बन्धी कम्पनी स्तरको संयुक्त तालिम लिनेछन्। तालिमका क्रममा सामरिक विषयमा छलफल, व्याख्यान, प्रदर्शन, फिल्ड अभ्यास तथा अन्तिम चरणमा प्रभावकारिता परीक्षण अभ्याससमेत गरिनेछ।
यस अभ्यासले दुई देशका सेनाबीचको आपसी समझदारी, सहकार्य र परिचालन क्षमता (इन्टरअपरेबिलिटी) अभिवृद्धि गर्न महत्त्वपूर्ण भूमिका खेल्नेछ। साथै, सैनिकहरूले संयुक्त कारबाहीका दौरान प्रयोग हुने आधुनिक उपकरण तथा प्रविधिहरूको प्रदर्शन गर्नुका साथै एकअर्काका अनुभवसमेत आदानप्रदान गर्नेछन्। यस किसिमका सैन्य अभ्यासले भारत र थाइल्याण्डबीचको परम्परागत द्विपक्षीय सम्बन्धलाई थप प्रगाढ बनाउन सहयोग पुर्याउने विश्वास गरिएको छ।












प्रतिक्रिया