मुलुकको नेतृत्व फेरि कम्युनिष्टको हातमा आउँछ : वर्षमान « Khabarhub

मुलुकको नेतृत्व फेरि कम्युनिष्टको हातमा आउँछ : वर्षमान


३ आश्विन २०८३, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कम्युनिष्ट पार्टी (नेकपा) नेता वर्षमान पुन अनन्तले मुलुकले कम्युनिष्ट शक्तिहरुबीच एकता र लोकतान्त्रिक शक्तिहरुबीचको सहकार्य खोजेको बताएका छन् । शनिबार पार्टीको खानीखोला गाउँपालिका सम्पर्क समिति काभ्रेको भेलालाई सम्बोधन गर्दै नेता पुनले विचार मिल्नेहरुबीच एकता गरेर जानुपर्ने पक्षमा आफूहरु रहेको बताए । नेकपा विभाजनले निम्त्याएको निराशाको पृष्ठभूमिमा गत वर्ष भदौ २३ गतेको जेनजी आन्दोलन र २४ गतेको विध्वंश भएको उनको भनाइ थियो ।

‘नेकपा हुँदा गठबन्धन गरेर बहुमत ल्यायौ, त्यसलाई टिकाउन सकेनौं । नेकपाको बहुमत नटिकेकै कम्युनिष्टले पनि सकेनन् भनेर निराशा भयो, त्यसमा विभिन्न खालका चलखेल र घुसपैठ पनि भए’, पुनले भने, ‘जुन प्वाइन्टमा गल्ती भयो, त्यही प्वाइन्टबाट अगाडि बढ्नुपर्छ ।’ पुनले फेरि कम्युनिष्ट पार्टीलाई नेतृत्वदायी भूमिकामा फर्काउनुपर्ने त्यो सम्भव रहेको दाबी पनि गरे । नेकपालाई सम्मेलन/महाधिवेशनमार्फत पुनर्गठन र सुदृढ गर्ने तथा अन्य वाम घटकसँग एकता गर्ने विषय सँगसँगै अगाडि बढाइने उनको भनाइ थियो ।

‘नेपाली कम्युनिष्ट पार्टीलाई सुदृढ गर्नैपर्छ । हामी गर्छौँ । त्यतिले मात्र पुग्दैन, अहिलेको चुनौतीलाई सामना गर्न हामीले एजेण्डा मिल्ने विभिन्न वाम घटकसँग सहकार्य गर्ने र त्यसलाई एकतासम्म रुपान्तरण गर्ने काम गर्नुपर्छ । कम्युनिष्ट पार्टीलाई नेतृत्वदायी भूमिकामा स्थापित गर्न सम्भव छ, त्यो गर्न सकिन्छ ।’

यस्तै संविधान र व्यवस्थामाथिको प्रहार रोक्न काँग्रेस तथा मधेस केन्द्रितसहित संविधान र लोकतन्त्र पक्षधर शक्तिबीचको सहकार्यलाई पनि आफूहरुले जोड दिएको पुनले बताए । पुनले गत वर्ष भदौ २३ गते सुरु भएको जेन-जी आन्दोलन २४ गतेसम्म पुग्दा ‘हाइज्याक’ भएको दाबी गरे । आन्दोलनमा भू–राजनीतिक चलखेल र घुसपैठसमेत भएको उनको भनाइ थियो । ‘गत भदौ २३ र २४ गते ठूलो दुर्घटना भयो देशमा । जेन-जीहरुले आन्दोलन गरे २३ गते । २४ गतेसम्म जाँदा त्यो आन्दोलन हाइज्याक भयो । भू–राजनीतिक चलखेल, द्वन्द्व, घुसपैठ भयो,’ पुनले भने । पाकिस्तान, श्रीलंका र बंगलादेशको राजनीतिक घटनाक्रमसँग नेपालको घटनालाई जोड्दै उनले ठूला विश्वशक्तिबीचको भू–राजनीतिक प्रतिस्पर्धाको असर नेपालमा पनि परेको बताए ।

बदलिँदो अन्तर्राष्ट्रिय शक्ति संघर्षमा नेपालको स्वाधीनता र राष्ट्रिय हित जोगाउन कूटनीतिक सन्तुलन कायम गर्नुपर्ने उनको धारणा थियो । अमेरिका, चीन र भारतबीचको बढ्दो प्रतिस्पर्धाका कारण नेपालजस्ता साना तथा मध्यम मुलुकमाथि चुनौती थपिएको उनले बताए ।

‘अमेरिका, चीन, भारत आपसमा तानातान, आफ्नो प्रभाव क्षेत्र विस्तारमा छन् । साना वा मझौला देशको अस्तित्व आज निकै चुनौतीपूर्ण अवस्थामा छ । देशै बच्छ कि बच्दैन भन्नेजस्तो छ’, पुनले भने, ‘इरानमा के भयो हेर्नुस् । भेनेजुयलाको निर्वाचित राष्ट्रपतिलाई उठाएर लग्यो । ठूला देशहरुबीचको लडाईमा युक्रेन मिचिइराखेको छ । प्यालेस्टाइनमा ठूला देशको लडाईं छ, जनता चेपुवामा परेको छ । विश्वभर जसको शक्ति उसको भक्ति जस्तो छ । विश्व राजनीति कुनै नियममा चलेको छैन ।’

पुनले संसारभर विभिन्न खालका क्षेत्रीय गठबन्धनहरु बन्ने क्रम देखिएको भन्दै आफ्नो सुरक्षाका लागि नेपालले पनि त्यसमा काम गर्नुपर्ने स्पष्ट गरे । कूटनीतिक सन्तुलन कायम गरेर र आफ्नो ‘पोजिशन’ स्पष्ट गरेर नेपालले आफ्नो देशको स्वाधीनता बचाउनैपर्ने उनको भनाइ छ । ‘देश रह्यो भने आन्तरिक राजनीतिक प्रतिस्पर्धा त गर्दै गरौँला नि’, उनले भने । तर, भूराजनीतिक प्रभावको कुरा गरेर मात्र आफ्ना कमजोरीबाट उम्किन नहुने पुनको भनाइ थियो ।

पुनले पछिल्लो पुस्तासँग स्थापित पार्टीहरुको सम्बन्ध कमजोर भएको स्वीकार गर्दै युवालाई केवल मतदाताका रूपमा हेर्ने प्रवृत्ति बदल्नुपर्ने बताए । सूचना प्रविधिको तीव्र विस्तारसँगै युवाको राजनीतिक चेतना र बुझाइ बदलिएको भन्दै उनले पार्टीले प्रविधिलाई राजनीतिक प्रशिक्षण र संगठन विस्तारको माध्यम बनाउनुपर्ने धारणा राखे ।

उनले विदेशमा रहे नेपालीलाई गाली वा हेप्नेभन्दा उनीहरूका असन्तुष्टि बुझेर प्रशिक्षित र संगठित गर्नुपर्ने उल्लेख गरे । पुनले लोकतन्त्र र गणतन्त्रपछि मुलुकमा भएका उपलब्धि जनतामाझ प्रभावकारी ढंगले पुर्‍याउन नसक्दा स्थापित दलहरुप्रति नकारात्मक धारणा बलियो बनेको पनि बताए ।

प्रकाशित मिति : ३ आश्विन २०८३, शनिबार  ३ : ५० बजे

नेपाल पुलिस स्कुललाई रनिङ फुटबल ट्रफीको उपाधि

भक्तपुर- यस वर्षको सैनिक आवासीय महाविद्यालय अन्तरविद्यालय रनिङ फुटबल ट्रफीको

प्रधानमन्त्रीलाई प्रभु साहको सुझाव : जंगी अड्डामा होइन जनतामा फर्कनुहोस

वीरगञ्ज- आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु

होर्मुजमा तेलवाहक जहाजमाथि आक्रमण गरेको इरानको दाबी

तेहरान- इरानले होर्मुज जलडमरूमध्य हुँदै अघि बढिरहेको टोगोको झन्डा बोकेको

धार्मिक विधिअनुसार ५३ वर्षीय रोनाल्डो हात्तीको अन्त्येष्टि (तस्बिरहरु)

काठमाडौं- चितवन राष्ट्रिय निकुञ्जको सौराहा–खोरसोर क्षेत्रमा चर्चित जंगली भाले हात्ती

परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने

काठमाडौं- संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको