काठमाडौँ – बलिउड अभिनेता आमिर खानका भान्जा तथा अभिनेता इमरान खान भारत छाड्न दिइएको सरकारी आदेशविरुद्ध अदालत पुगेका छन्।
शान्तिपूर्ण प्रदर्शनमा सहभागी भएको विषयलाई लिएर भारत छाड्न निर्देशन दिइएपछि उनले त्यसविरुद्ध बम्बे हाईकोर्टमा रिट निवेदन दायर गरेका हुन्। यसैबीच, उनको ओभरसिज सिटिजन अफ इन्डिया (ओसीआई) कार्डसमेत रद्द हुन सक्ने भन्दै अर्को नोटिस जारी भएपछि विवाद थप चर्किएको छ।
इमरानले आफूलाई भारत छाड्न दिइएको निर्देशन मनोमानी, गैरकानुनी र असंवैधानिक भएको दाबी गर्दै शनिबार बम्बे हाईकोर्टमा निवेदन दायर गरेका हुन्।
मुम्बईस्थित विदेशी क्षेत्रीय दर्ता कार्यालय (एफआरआरओ) ले यसअघि उनलाई अक्टोबर २८ भित्र भारत छाड्न निर्देशन दिएको थियो। त्यसपछि कार्यालयले उनको ओसीआई कार्ड किन रद्द नगर्ने भन्दै अर्को नोटिस जारी गरेको हो। उक्त नोटिसको जवाफ दिन उनलाई १५ दिनको समय दिइएको छ।
अदालतमा दायर निवेदनमा इमरानले ओसीआई कार्डधारकलाई शान्तिपूर्ण प्रदर्शनमा सहभागी हुन रोक लगाउने कुनै कानुनी व्यवस्था नरहेको जिकिर गरेका छन्। पर्याप्त कारण र प्रमाणबिना आफूलाई नोटिस जारी गरिएको दाबी गर्दै उनले सरकारी कदमले भारतीय संविधानले प्रत्याभूत गरेको समानताको हक तथा जीवन र व्यक्तिगत स्वतन्त्रताको अधिकार उल्लङ्घन गरेको बताएका छन्।
प्रदर्शनमा सहभागी भएकै कारण विवाद
गत अक्टोबर १० मा मुम्बईमा मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामा माग गर्दै प्रदर्शन भएको थियो। उक्त प्रदर्शनका क्रममा प्रहरीले इमरानलाई हिरासतमा लिएको थियो।
यद्यपि, इमरानका वकिलहरूले उनी प्रदर्शनमा सहभागी हुन त्यहाँ नगएको दाबी गरेका छन्। उनीहरूका अनुसार सडक बन्द भएका कारण इमरान त्यहाँ रोकिएका थिए र उनले सञ्चारमाध्यमलाई प्रतिक्रिया दिएका मात्र थिए।
यही घटनालाई आधार बनाएर उनीमाथि गरिएको सरकारी कारबाहीको वैधानिकता अहिले विवादको विषय बनेको छ। इमरानले आफूलाई भारत छाड्न दिइएको निर्देशनलाई अदालतमा चुनौती दिँदै त्यसलाई बदर गर्न माग गरेका छन्।
इमरानको विवादकै बीच आमिरको राज ठाकरेसँग भेट
इमरानलाई भारत छाड्न निर्देशन दिइएको विषय चर्चामा रहेका बेला उनका मामा तथा अभिनेता आमिर खानले आइतबार महाराष्ट्र नवनिर्माण सेनाका अध्यक्ष राज ठाकरेसँग मुम्बईमा भेट गरेका छन्।
यद्यपि, आमिर र ठाकरेबीचको भेट इमरानको विवादसँग सम्बन्धित थियो वा अन्य कुनै विषयमा केन्द्रित थियो भन्ने खुलेको छैन। त्यसैले दुवै घटनाबीच प्रत्यक्ष सम्बन्ध रहेको निष्कर्ष निकाल्न सकिने अवस्था छैन।














प्रतिक्रिया