ट्रम्प-सी-पुटिनको भेटमा के भयो कुराकानी ? « Khabarhub

ट्रम्प-सी-पुटिनको भेटमा के भयो कुराकानी ?


३ मंसिर २०८३, बिहिबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- विश्वका तीन प्रमुख आणविक शक्ति राष्ट्रहरू अमेरिका, चीन र रुसका शीर्ष नेताहरूबीच बिहीबार चीनको दक्षिणी सहर सेन्जेनमा अभूतपूर्व एवम् ऐतिहासिक त्रिपक्षीय बैठक सम्पन्न भएको छ । एसिया-प्रशान्त आर्थिक सहयोग (एपेक) शिखर सम्मेलनको अवसर पारेर सेन्जेनमा चलेको उक्त बैठकमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, चिनियाँ राष्ट्रपति सी चिनफिङ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिन एउटै गोलमेचमा सहभागी भएका हुन् ।

चिनियाँ राष्ट्रपति सीले अध्यक्षता गरेको यस पहिलो त्रिपक्षीय शिखर वार्तामा मुख्यगरी आणविक हतियार नियन्त्रण, युक्रेन र इरानमा जारी युद्ध अन्त्य गर्ने उपाय तथा विश्वव्यापी व्यापारिक तनावका विषयमा छलफल भएको छ। बैठकको सुरुवाती मन्तव्यका क्रममा अमेरिकी राष्ट्रपति ट्रम्पले यो भेटलाई ऐतिहासिक क्षणको संज्ञा दिँदै विश्वका सबैजसो जटिल समस्याहरूमाथि छलफल गरिने बताए।

विगतका नेताहरूले मतभेद भएका देशहरूसँग संवाद गर्न हिचकिचाउने गरेको उल्लेख गर्दै ट्रम्पले संवादको अवसरलाई अस्वीकार गरेर कहिल्यै शान्ति स्थापना हुन नसक्ने धारणा राखे। विश्वमा आणविक हतियारको सङ्ख्या घटाउन र तिनको प्रयोगको जोखिम कम गर्न अमेरिका, रुस र चीन विशेष स्थानमा रहेको उनको भनाइ थियो । यसका साथै ट्रम्पले अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसीसी) जस्ता विश्वव्यापी संस्थाहरूबाट आ-आफ्नो राष्ट्रको सार्वभौमसत्ता जोगाउने विषयलाई पनि वार्ताको एजेन्डामा थपेका थिए ।

चिनियाँ सरकारी सञ्चारमाध्यम सीसीटीभी र सिन्ह्वाका अनुसार बैठकको उद्घाटन गर्दै राष्ट्रपति सी चिनफिङले विश्व शान्ति प्रवर्द्धन गर्ने विषयमा जोड दिएका थिए । उनले आणविक हतियारलाई मानवजातिको टाउकोमा झुन्डिएको तरबारको संज्ञा दिँदै यसलाई पूर्ण रूपमा प्रतिबन्धित र नष्ट गरी आणविक हतियारमुक्त विश्व निर्माण गर्नुपर्ने बताए ।

आणविक युद्ध कसैले जित्न नसक्ने र कहिल्यै लड्न नहुने स्पष्ट पार्दै सीले ठूला शक्ति राष्ट्रहरूबीचको सुमधुर सम्बन्ध विकल्प नभई बाध्यता भएको उल्लेख गरे । इतिहासले ठूला शक्तिहरू मिलेर बस्दा विश्वमा शान्ति हुने र आपसमा टकराउँदा अराजकता फैलने देखाएको भन्दै उनले अमेरिका, चीन र रुसले मिलेर विश्वव्यापी चुनौतीहरूको सामना गर्नुपर्ने बताए ।

यता रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले दोस्रो विश्वयुद्धका विजेता राष्ट्रका रूपमा अमेरिका, चीन र रुसको साझा इतिहास स्मरण गर्दै अन्तर्राष्ट्रिय शान्ति कायम राख्ने संयुक्त जिम्मेवारी तीनै देशको काँधमा रहेको बताए । रचनात्मक साझेदारीका साथ अघि बढेमा तीन देशले विश्व सुरक्षा र स्थायित्वमा अर्थपूर्ण योगदान दिन सक्ने पुटिनको भनाइ थियो । उनले युक्रेन द्वन्द्वलगायत क्षेत्रीय द्वन्द्वहरूको समाधानमा तीनै देशको साझा स्वार्थ रहेको उल्लेख गरे, यद्यपि राष्ट्रपति सीले भने आफ्नो मन्तव्यमा युक्रेनको प्रत्यक्ष नाम लिएनन् ।

यस त्रिपक्षीय वार्ताअघि बिहीबार नै राष्ट्रपति ट्रम्पले सी र पुटिनसँग छुट्टाछुट्टै द्विपक्षीय भेटवार्ता पनि गरेका थिए । पुटिनसँगको करिब ४० मिनेट लामो भेटमा गत वर्ष अलास्कामा निष्कर्षविहीन बनेको वार्तापछि पहिलो पटक युक्रेन युद्ध अन्त्यका विषयमा कुराकानी भएको थियो । ट्रम्पले पुटिनलाई आफ्नो मित्र बताउँदै यो भेटबाट अद्भुत नतिजा निस्कने विश्वास व्यक्त गरे ।

त्यस्तै, चिनियाँ राष्ट्रपति सीसँगको यस वर्षको तेस्रो महत्त्वपूर्ण भेटमा ट्रम्पले इरान युद्धका कारण प्रभावित बनेको हर्मुज जलडमरू हुँदै हुने तेल ढुवानीको सुरक्षा र चीनले थप अमेरिकी कृषि उपज खरिद गर्नुपर्ने विषय उठाएका थिए । जवाफमा सीले ट्रम्पको कार्यकालमा अमेरिका-चीन सम्बन्ध समग्रमा स्थिर र सुधारोन्मुख रहेको बताउँदै ताइवानको संवेदनशील मुद्दा तथा आर्थिक र व्यापारिक सञ्चार सुधार गर्नुपर्नेमा जोड दिएका थिए ।

कूटनीतिक वृत्तमा निकै चर्चा भए पनि विज्ञहरूले यस बैठकबाट तत्काल कुनै ठूलो सम्झौता हुने अपेक्षा न्यून राखेका छन् । गत फेब्रुअरीमा अमेरिका र रुसबीचको अन्तिम आणविक हतियार सम्झौता ‘न्यु स्टार्ट’ को म्याद सकिएपछि ट्रम्पले चीनलाई समेत समेटेर नयाँ आधुनिक सम्झौता गर्न चाहेका छन् ।

तर, अमेरिका र रुससँग ५ हजारभन्दा बढी आणविक हतियार रहेको अवस्थामा करिब ६ सय हतियार मात्र भएको चीन आफ्नो भण्डार सीमित गर्न इच्छुक देखिएको छैन । आर्म्स कन्ट्रोल एसोसिएसनका कार्यकारी निर्देशक ड्यारिल किम्बलले एकै बैठकबाट नाटकीय सफलता ननिस्कने र यसले केवल निरन्तर वार्ताको प्रक्रिया मात्र सुरु गर्न सक्ने टिप्पणी गरेका छन् ।

यसैगरी, ट्रम्पले सी र पुटिनसँगको व्यक्तिगत सम्बन्धको जतिसुकै प्रशंसा गरे पनि चीन र रुसबीचको रणनीतिक निकटता अमेरिकाको तुलनामा निकै बलियो देखिएको छ। बुधबार एपेक सम्मेलनमा सी र पुटिनले एकअर्कालाई पुराना र प्रिय मित्रका रूपमा सम्बोधन गरेका थिए । सन् २०२२ मा युक्रेनमाथिको आक्रमणपछि पश्चिमी प्रतिबन्ध खेपिरहेको रुसलाई चीनले आर्थिक जीवनदान दिँदै आएको छ भने इरानमाथि अमेरिकाले युद्ध गरिरहँदा पनि चीन र रुस दुवैले व्यापारमार्फत इरानलाई सघाइरहेका छन्।

उता अमेरिका र चीनबीचको व्यापारिक र प्राविधिक तनाव अझै कायम छ । गत वर्ष भएको व्यापारिक युद्धविराम आगामी जनवरी १० मा सकिँदैछ भने चीनले अमेरिकी कृषि उपज किन्ने र दुर्लभ खनिजको निर्यात खुकुलो बनाउने प्रतिबद्धता पूर्ण रूपमा पालना नगरेको अमेरिकी अधिकारीहरूको गुनासो छ ।

साथै, कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिमा प्रभुत्व जमाउने होडबाजीका बीच गत हप्ता एनभिडियाका प्रमुख कार्यकारी अधिकृत जेन्सेन हुआङले राजीनामा दिएपछि चिनियाँ कम्पनीहरूलाई उन्नत कम्प्युटर चिप्समा पहुँच दिइएको विषयले दुई देशबीचको सम्बन्धमा थप संशय पैदा गरेको छ ।

बिहीबारको बैठकका क्रममा पनि चिनियाँ अधिकारीहरूले ब्लुमबर्गकी एक पत्रकारलाई त्रिपक्षीय बैठकमा प्रवेश गर्न रोक लगाएका थिए । युक्रेन, जर्मनी, फ्रान्स, बेलायत, जापान र दक्षिण कोरियाजस्ता सरोकारवाला देशहरूलाई बाहिर राखेर तीन महाशक्तिले गरेको यस वार्ताले साना तथा मध्यम राष्ट्रहरूमा भने आफ्नो हित ओझेलमा पर्ने हो कि भन्ने चिन्ता थपेको छ ।

प्रकाशित मिति : ३ मंसिर २०८३, बिहिबार  ५ : २० बजे

एनपीएलको दोस्रो क्वालिफायरमा चितवनले गुमायो तेस्रो विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत दोस्रो क्वालिफायर खेलमा अहिले

ट्रम्प-सी-पुटिनको भेटमा के भयो कुराकानी ?

काठमाडौं- विश्वका तीन प्रमुख आणविक शक्ति राष्ट्रहरू अमेरिका, चीन र

चितवनले गुमायो दोस्रो विकेट, देव खनाल आउट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत दोस्रो क्वालिफायर खेलमा अहिले

नेपालगञ्जको धम्बोजी-नन्दनी मिल सडक चार लेनमा विस्तार हुँदै

नेपालगञ्ज- बाँकेको नेपालगञ्जस्थित धम्बोजी चोकदेखि नन्दनी मिलसम्मको हुलाकी सडक चार लेनमा

बाढीपीडितलाई राहत र केरुङ नाका सञ्चालन गर्न चीन प्रतिबद्ध : अध्यक्ष वानमिङ

भक्तपुर- चिनियाँ वैदेशिक जनमैत्री सङ्घका अध्यक्ष याङ वानमिङले रसुवा र भोटेकोशी