नेताहरुमा पदका लागि पदबाटै गियर चेन्ज गर्ने होड « Khabarhub

नेताहरुमा पदका लागि पदबाटै गियर चेन्ज गर्ने होड



काठमाडौं- चुनाव आउन ४५ दिन बाँकी रहँदा जनप्रतिनिधि, मन्त्री तथा सांसद्हरुले भटाभट राजीनामा दिएका छन् । जनप्रतिनिधिको समयावधि पाँच वर्षको हुन्छ । तर, कार्यकाल पूरा नगरी तीन वर्षमै राजीनामा दिएर चुनावमा भिड्ने तयारीमा लागेका छन् । त्यसैगरी, भदौ २३/२४ को जेन–जी आन्दोलनपश्चात् बनेको अन्तरिम सरकारका मन्त्रीहरुले पनि चुनाव लड्ने भन्दै राजीनामा दिएका छन् ।

चुनाव गराउनकै लागि बनेको सरकारका मन्त्रीहरुले राजीनामा दिएपछि चुनाव कसले गराउने ? भनेर एकथरीले प्रश्न गर्न थालेका छन् । त्यसैगरी राष्ट्रियसभाका सांसद्हरुले उम्मेदवारी दिने भन्दै राजीनामा दिएका छन् । विशेष उद्देश्यको लागि राजीनामा दिएको भनिएपनि ‘पदलोलुप’ भन्दै केहीले उनीहरुको राजीनामाप्रति आपत्ति जनाएका छन् ।

जनप्रतिनिधिले वाचा गरेका प्रतिवद्धता बिर्सिएर समय नसकिँदै अर्को पदको लागि हिँड्दा राज्यको समय र सम्पत्तिको दुरुपयोग गरेको आरोप छ । साथै, मन्त्री तथा सांसद्हरुले आफ्नो जिम्मेवारी बिर्सिएर व्यक्तिवाद हावी भएको टिप्पणी गरेका छन् । देशमा सबैभन्दा बढी फस्टाएको खेती राजनीति भएको नागरिक तहले विश्लेषण गरेको छ ।

चुनाव लड्नका लागि राजीनामा आउने क्रम जारी छ । हामीले राजीनामा दिएका केही जनप्रतिनिधि, मन्त्री तथा सांसद्हरु चर्चा गरेका छौ ।

बालेन शाह

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रधानमन्त्रीका रुपमा अगाडी बढाएको काठमाडौं महागनरपालिकाका मेयर बालेन्द्र शाहले पदबाट राजीनामा दिएका छन् । आगामी प्रतिनिधि सभाको निर्वाचनमा उम्मेदवार बन्ने भएपछि माघ ४ गते शाहले उपप्रमुख सुनिता डंगोलसमक्ष राजीनामा बुझाएका हुन् । मेयरको रुपमा आफूले नगर र नगरवासीको हितमा काम गरेको उल्लेख गर्दै आगामी दिनमा सफल नेतृत्वका लागि उपमेयर डंगोललाई शुभकामना पनि दिएका छन् ।

काठमाडौंवासीलाई पाँच वर्ष काम गरेर देखाउने वाचा गरेका उनले अन्ततः प्रधानमन्त्री बन्ने लोभमा तीन वर्षमै मेयरबाट विदा भएका छन् । अबको दिनमा महानगरपालिकाको नेतृत्व, सेवा प्रवाह र विकास यात्रा थप प्रभावकारी, पारदर्शी र परिणाममुखी बनोस् भन्ने कामना गर्दै डंगोल र नगर कार्यपालिकालाई सफलताको शुभेच्छा व्यक्त गरेका छन् ।

स्थानीय तहका प्रमुखले उपप्रमुख र उपप्रमुखले प्रमुखलाई राजीनामा दिनुपर्ने कानुनी व्यवस्था छ। त्यसैगरी काठमाडौं महानगरपालिका प्रहरी प्रमुख राजुनाथ पाण्डेले पनि राजीनामा दिएका छन् । महानगरमा बालेन नहुनेबित्तिकै मिनेटभर आफू पनि नरहने बताएका पाण्डेले पनि राजीनामा दिएका हुन् । उनले प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई राजीनामा बुझाएका हुन् ।

महानगरको फुटपाथ बनाउन र मिचिएको सार्वजनिक जमिनको फिर्तिमा उनले कानुनभन्दा पनि कडा रुपमा प्रस्तुत भएर निवर्तमान मेयर बालेनको योजना सफल बनाउनमा निकै निर्मम बनेर काम गरे । उनी आगामी चुनावमा काठमाडौं– ४ बाट चुनाव लड्ने चर्चा छ । यहाँबाट कांग्रेस नेता गगन थापा विजयी हुँदै आएका छन् । यद्यपि पाण्डेले भने कुन क्षेत्रबाट लड्ने निश्चित भइनसकेको बताउँदै आएका छन् ।

हर्क साम्पाङ

धरानका मेयर हर्कराज राई (हर्क साम्पाङ)ले पनि राजीनामा दिएका छन् । आसन्न निर्वाचनमा प्रतिनिधिसभा निर्वाचन लड्नका लागि उनले माघ ४ गते (आइतबार) राजीनामा दिएका हुन् । उनले उपप्रमुख अइन्द्रविक्रम बेघालाई राजीनामा बुझाएका हुन् । श्रम संस्कृति पार्टीका अध्यक्ष रहेका साम्पाङले सुनसरी क्षेत्र नम्बर– १ बाट चुनाव लड्ने तयारी गरेका छन् ।

श्रमदानमार्फत देश बनाउने खाका तयार गरेका साम्पाङ अबको प्रधानमन्त्री आफै हुने स्वघोषणा गरेर हिडेका छन् । आफूबाहेक कसैले देश बनाउन नसक्ने भन्दै उनले पनि मेयरको कार्यकाल थाती राखेर चुनावमा भिड्ने भएका हुन् । त्यसैगरी धरान उपमहानगरपालिका–१७ का वडाध्यक्ष सूर्यबहादुर भट्टराई (मनोज) ले पनि पदबाट राजीनामा दिएका छन् । उनको राजीनामा कार्यवाहक नगरप्रमुख अईन्द्र विक्रम बेघाले स्वीकृत गरेका छन् ।

राजीनामा दिएपछि वडाध्यक्ष भट्टराईले निवर्तमान नगरप्रमुख हर्क साम्पाङलाई चुनावी मैदानमा भेट हुँदा मित्रवत व्यवहार गर्न आग्रह गर्दै विगतमा जनताको काम गर्ने क्रममा देखिएका मनमुटाव र असमझदारीलाई बिर्सेर सहकार्यका साथ अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन् । उनी धरान–१७ का दुई कार्यकाल वडाध्यक्षको जिम्मेवारी सम्हालिसकेका नेता हुन् ।

कुलमान घिसिङ

ऊर्जा, भौतिक पूर्वाधार र सहरी विकास गरी तीन मन्त्रालय सम्हाल्दै आएका कुलमान घिसिङले पुष २३ गते मन्त्री पदबाट राजीनामा दिएका छन् । उनले प्रधानमन्त्री सुशीला कार्कीसमक्ष आफ्नो राजीनामा बुझाएका हुन् । केही समयता आफ्नै संरक्षकत्वमा उज्यालो नेपाल पार्टी अघि बढाएका घिसिङले यही पुस १४ गते राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता गरेका थिए ।

एकतापछि उनी रास्वपामा पहिलो वरीयताको उपसभापति भए । उनको पार्टीबाट रास्वपाले १४ जनाको नाम समानुपातिक सूचीमा समेटेको थियो । घिसिङ रास्वपाको उपभापति भएपछि सरकार छाड्न दबाब बढेको थियो। गैरदलीय सरकारमा घिसिङको उपस्थितिले सरकार एउटा दलको भएको सन्देश गएको उल्लेख गर्दै प्रधानमन्त्री सुशीला कार्कीले पनि सरकार छाडिदिन आग्रह गरेकी थिइन् ।

तर, घिसिङले १२ दिनमै आफू कुनै पनि पार्टीको सदस्य नभएको बताएसँगै रास्वपासँगको सहकार्य टुङ्गिएको थियो । आगामी निर्वाचनमा उनी काठमाडौं क्षेत्र नम्बर–३ बाट उम्मेदवार बन्ने तयारीमा छन् । उनी भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलनपछि बनेको पूर्वप्रधानन्यायाधीश सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारमा भदौ ३० गते मन्त्री नियुक्त भएका थिए ।

बब्लु गुप्ता

युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताले पनि राजीनामा दिएका छन् । उनले माघ ५ गते सोमबार राजीनामा दिएका हुन् । आगामी प्रतिनिधि सभा निर्वाचनमा भाग लिन उनले राजीनामा दिएको पाइएको छ । गुप्ता रास्वपाबाट उम्मेदवार बन्ने तयारीमा छन् ।

छोटो समयको लागि मन्त्री बनेका गुप्ताको अमेरिका भ्रमणको विषयमा निकै विवाद चलेको थियो । उनले प्रधानमन्त्री समक्ष राजीनामा दिनुअघि एकपटक अमेरिका घुमेर आउँछु भनेर विन्ति बिसाएको समेत चर्चामा आएको थियो । साथै, अमेरिका एनआरएनएले प्रेस विज्ञप्ती निकालेर खेलकुदमन्त्रीलाई कुनै कार्यक्रममा नबोलाइएको स्पष्ट पारेको थियो ।

अहिले उनी रास्वपाका वरिष्ठ नेता बालेन शाहसँग चुनावी अभियानमा हिँडिरहेका छन् । जेनजी आन्दोलनपछि बनेको सरकारमा गुप्ता बालेनकै कोटाबाट मन्त्री बनेका थिए ।

राष्ट्रियसभाका तीन जनाको राजीनामा

राष्ट्रियसभाका सांसदहरू नारायणकाजी श्रेष्ठ, वामदेव गौतम र भगवती न्यौपानेले राजीनामा दिएका छन् । सभाका अध्यक्ष नारायण प्रसाद दाहालसमक्ष उनीहरुले राजीनामा बुझाएका हुन् । उनीहरुले फागुन २१ मा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा प्रतिस्पर्धा गर्न पदबाट राजीनामा दिएका हुन् ।

श्रेष्ठ, गौतम र न्यौपाने नेपाली राजनीतिका ती भाग्यमानी पात्र हुन, जो प्रत्यक्ष चुनाव हारेपछि राष्ट्रिय सभामा प्रतिनिधि हुने अपूर्व मौका पाएका थिए । मेयरमा पराजित न्यौपानेलाई एमाले अध्यक्ष ओलीले सांसद हुँदै मन्त्री समेत बनाएका थिए ।

प्रकाशित मिति : ५ माघ २०८२, सोमबार  ४ : ३० बजे

समानुपातिक तर्फको मतगणना सम्पन्न : निर्वाचन आयोग

काठमाडौं– फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचन अन्तर्गत समानुपातिक तर्फको

गगन थापा हराएको सूचना !

स्वर्गको गेटमा ठूलो भीड थियो । धर्मराज हातमा रजिस्टर लिएर

गायत्री मन्दिर संरक्षणका लागि नदी नियन्त्रण योजना निर्माण

म्याग्दी– रघुगङ्गा गाउँपालिका-३ स्थित कालीगण्डकी र राहुघाट नदीको दोभानमा रहेको

‘डेरीमार्ट’ थप्दै दुग्ध उत्पादक सहकारी सङ्घ

चितवन– चितवन जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घले आफ्नो उत्पादनको बिक्री

स्व. सुरेश मानन्धरलाई राष्ट्रिय झण्डासहित श्रद्धाञ्जली अर्पण गरियो

काठमाडौं– हृदयघातका कारण निधन भएका भाषा आयोगका सदस्य, साहित्यकार एवं