नेताहरुमा पदका लागि पदबाटै गियर चेन्ज गर्ने होड « Khabarhub

नेताहरुमा पदका लागि पदबाटै गियर चेन्ज गर्ने होड



काठमाडौं- चुनाव आउन ४५ दिन बाँकी रहँदा जनप्रतिनिधि, मन्त्री तथा सांसद्हरुले भटाभट राजीनामा दिएका छन् । जनप्रतिनिधिको समयावधि पाँच वर्षको हुन्छ । तर, कार्यकाल पूरा नगरी तीन वर्षमै राजीनामा दिएर चुनावमा भिड्ने तयारीमा लागेका छन् । त्यसैगरी, भदौ २३/२४ को जेन–जी आन्दोलनपश्चात् बनेको अन्तरिम सरकारका मन्त्रीहरुले पनि चुनाव लड्ने भन्दै राजीनामा दिएका छन् ।

चुनाव गराउनकै लागि बनेको सरकारका मन्त्रीहरुले राजीनामा दिएपछि चुनाव कसले गराउने ? भनेर एकथरीले प्रश्न गर्न थालेका छन् । त्यसैगरी राष्ट्रियसभाका सांसद्हरुले उम्मेदवारी दिने भन्दै राजीनामा दिएका छन् । विशेष उद्देश्यको लागि राजीनामा दिएको भनिएपनि ‘पदलोलुप’ भन्दै केहीले उनीहरुको राजीनामाप्रति आपत्ति जनाएका छन् ।

जनप्रतिनिधिले वाचा गरेका प्रतिवद्धता बिर्सिएर समय नसकिँदै अर्को पदको लागि हिँड्दा राज्यको समय र सम्पत्तिको दुरुपयोग गरेको आरोप छ । साथै, मन्त्री तथा सांसद्हरुले आफ्नो जिम्मेवारी बिर्सिएर व्यक्तिवाद हावी भएको टिप्पणी गरेका छन् । देशमा सबैभन्दा बढी फस्टाएको खेती राजनीति भएको नागरिक तहले विश्लेषण गरेको छ ।

चुनाव लड्नका लागि राजीनामा आउने क्रम जारी छ । हामीले राजीनामा दिएका केही जनप्रतिनिधि, मन्त्री तथा सांसद्हरु चर्चा गरेका छौ ।

बालेन शाह

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रधानमन्त्रीका रुपमा अगाडी बढाएको काठमाडौं महागनरपालिकाका मेयर बालेन्द्र शाहले पदबाट राजीनामा दिएका छन् । आगामी प्रतिनिधि सभाको निर्वाचनमा उम्मेदवार बन्ने भएपछि माघ ४ गते शाहले उपप्रमुख सुनिता डंगोलसमक्ष राजीनामा बुझाएका हुन् । मेयरको रुपमा आफूले नगर र नगरवासीको हितमा काम गरेको उल्लेख गर्दै आगामी दिनमा सफल नेतृत्वका लागि उपमेयर डंगोललाई शुभकामना पनि दिएका छन् ।

काठमाडौंवासीलाई पाँच वर्ष काम गरेर देखाउने वाचा गरेका उनले अन्ततः प्रधानमन्त्री बन्ने लोभमा तीन वर्षमै मेयरबाट विदा भएका छन् । अबको दिनमा महानगरपालिकाको नेतृत्व, सेवा प्रवाह र विकास यात्रा थप प्रभावकारी, पारदर्शी र परिणाममुखी बनोस् भन्ने कामना गर्दै डंगोल र नगर कार्यपालिकालाई सफलताको शुभेच्छा व्यक्त गरेका छन् ।

स्थानीय तहका प्रमुखले उपप्रमुख र उपप्रमुखले प्रमुखलाई राजीनामा दिनुपर्ने कानुनी व्यवस्था छ। त्यसैगरी काठमाडौं महानगरपालिका प्रहरी प्रमुख राजुनाथ पाण्डेले पनि राजीनामा दिएका छन् । महानगरमा बालेन नहुनेबित्तिकै मिनेटभर आफू पनि नरहने बताएका पाण्डेले पनि राजीनामा दिएका हुन् । उनले प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई राजीनामा बुझाएका हुन् ।

महानगरको फुटपाथ बनाउन र मिचिएको सार्वजनिक जमिनको फिर्तिमा उनले कानुनभन्दा पनि कडा रुपमा प्रस्तुत भएर निवर्तमान मेयर बालेनको योजना सफल बनाउनमा निकै निर्मम बनेर काम गरे । उनी आगामी चुनावमा काठमाडौं– ४ बाट चुनाव लड्ने चर्चा छ । यहाँबाट कांग्रेस नेता गगन थापा विजयी हुँदै आएका छन् । यद्यपि पाण्डेले भने कुन क्षेत्रबाट लड्ने निश्चित भइनसकेको बताउँदै आएका छन् ।

हर्क साम्पाङ

धरानका मेयर हर्कराज राई (हर्क साम्पाङ)ले पनि राजीनामा दिएका छन् । आसन्न निर्वाचनमा प्रतिनिधिसभा निर्वाचन लड्नका लागि उनले माघ ४ गते (आइतबार) राजीनामा दिएका हुन् । उनले उपप्रमुख अइन्द्रविक्रम बेघालाई राजीनामा बुझाएका हुन् । श्रम संस्कृति पार्टीका अध्यक्ष रहेका साम्पाङले सुनसरी क्षेत्र नम्बर– १ बाट चुनाव लड्ने तयारी गरेका छन् ।

श्रमदानमार्फत देश बनाउने खाका तयार गरेका साम्पाङ अबको प्रधानमन्त्री आफै हुने स्वघोषणा गरेर हिडेका छन् । आफूबाहेक कसैले देश बनाउन नसक्ने भन्दै उनले पनि मेयरको कार्यकाल थाती राखेर चुनावमा भिड्ने भएका हुन् । त्यसैगरी धरान उपमहानगरपालिका–१७ का वडाध्यक्ष सूर्यबहादुर भट्टराई (मनोज) ले पनि पदबाट राजीनामा दिएका छन् । उनको राजीनामा कार्यवाहक नगरप्रमुख अईन्द्र विक्रम बेघाले स्वीकृत गरेका छन् ।

राजीनामा दिएपछि वडाध्यक्ष भट्टराईले निवर्तमान नगरप्रमुख हर्क साम्पाङलाई चुनावी मैदानमा भेट हुँदा मित्रवत व्यवहार गर्न आग्रह गर्दै विगतमा जनताको काम गर्ने क्रममा देखिएका मनमुटाव र असमझदारीलाई बिर्सेर सहकार्यका साथ अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन् । उनी धरान–१७ का दुई कार्यकाल वडाध्यक्षको जिम्मेवारी सम्हालिसकेका नेता हुन् ।

कुलमान घिसिङ

ऊर्जा, भौतिक पूर्वाधार र सहरी विकास गरी तीन मन्त्रालय सम्हाल्दै आएका कुलमान घिसिङले पुष २३ गते मन्त्री पदबाट राजीनामा दिएका छन् । उनले प्रधानमन्त्री सुशीला कार्कीसमक्ष आफ्नो राजीनामा बुझाएका हुन् । केही समयता आफ्नै संरक्षकत्वमा उज्यालो नेपाल पार्टी अघि बढाएका घिसिङले यही पुस १४ गते राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता गरेका थिए ।

एकतापछि उनी रास्वपामा पहिलो वरीयताको उपसभापति भए । उनको पार्टीबाट रास्वपाले १४ जनाको नाम समानुपातिक सूचीमा समेटेको थियो । घिसिङ रास्वपाको उपभापति भएपछि सरकार छाड्न दबाब बढेको थियो। गैरदलीय सरकारमा घिसिङको उपस्थितिले सरकार एउटा दलको भएको सन्देश गएको उल्लेख गर्दै प्रधानमन्त्री सुशीला कार्कीले पनि सरकार छाडिदिन आग्रह गरेकी थिइन् ।

तर, घिसिङले १२ दिनमै आफू कुनै पनि पार्टीको सदस्य नभएको बताएसँगै रास्वपासँगको सहकार्य टुङ्गिएको थियो । आगामी निर्वाचनमा उनी काठमाडौं क्षेत्र नम्बर–३ बाट उम्मेदवार बन्ने तयारीमा छन् । उनी भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलनपछि बनेको पूर्वप्रधानन्यायाधीश सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारमा भदौ ३० गते मन्त्री नियुक्त भएका थिए ।

बब्लु गुप्ता

युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताले पनि राजीनामा दिएका छन् । उनले माघ ५ गते सोमबार राजीनामा दिएका हुन् । आगामी प्रतिनिधि सभा निर्वाचनमा भाग लिन उनले राजीनामा दिएको पाइएको छ । गुप्ता रास्वपाबाट उम्मेदवार बन्ने तयारीमा छन् ।

छोटो समयको लागि मन्त्री बनेका गुप्ताको अमेरिका भ्रमणको विषयमा निकै विवाद चलेको थियो । उनले प्रधानमन्त्री समक्ष राजीनामा दिनुअघि एकपटक अमेरिका घुमेर आउँछु भनेर विन्ति बिसाएको समेत चर्चामा आएको थियो । साथै, अमेरिका एनआरएनएले प्रेस विज्ञप्ती निकालेर खेलकुदमन्त्रीलाई कुनै कार्यक्रममा नबोलाइएको स्पष्ट पारेको थियो ।

अहिले उनी रास्वपाका वरिष्ठ नेता बालेन शाहसँग चुनावी अभियानमा हिँडिरहेका छन् । जेनजी आन्दोलनपछि बनेको सरकारमा गुप्ता बालेनकै कोटाबाट मन्त्री बनेका थिए ।

राष्ट्रियसभाका तीन जनाको राजीनामा

राष्ट्रियसभाका सांसदहरू नारायणकाजी श्रेष्ठ, वामदेव गौतम र भगवती न्यौपानेले राजीनामा दिएका छन् । सभाका अध्यक्ष नारायण प्रसाद दाहालसमक्ष उनीहरुले राजीनामा बुझाएका हुन् । उनीहरुले फागुन २१ मा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा प्रतिस्पर्धा गर्न पदबाट राजीनामा दिएका हुन् ।

श्रेष्ठ, गौतम र न्यौपाने नेपाली राजनीतिका ती भाग्यमानी पात्र हुन, जो प्रत्यक्ष चुनाव हारेपछि राष्ट्रिय सभामा प्रतिनिधि हुने अपूर्व मौका पाएका थिए । मेयरमा पराजित न्यौपानेलाई एमाले अध्यक्ष ओलीले सांसद हुँदै मन्त्री समेत बनाएका थिए ।

प्रकाशित मिति : ५ माघ २०८२, सोमबार  ४ : ३० बजे

फिल्म ‘श्री बुकुरो : द होम कलिङ’ फागुन १ मा आउने

काठमाडौं – सुदीप भुपाल सिंहको निर्देशनमा बनेको फिल्म ‘श्री बुकुरो

माटोको ढिस्कोले पुरिँदा एक मजदूरको मृत्यु, एक घाइते

दाङ – लमही नगरपालिका–७ मा रहेको सम्राट सिमेन्ट उद्योगमा काम

उज्यालो पार्टीका अध्यक्ष कुलमान घिसिङ काठमाडौं–३ बाट उम्मेदवार बन्ने

काठमाडौं – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ काठमाडौं निर्वाचन

फ्ल्यागशिपस्तरको रेड्मी टाइटन मजबुतीसहित रेड्मी नोट १५ सिरिज नेपालमा सार्वजनिक

काठमाडौं- विश्वव्यापी प्रविधि कम्पनी शाओमीले नेपालमा आफ्नो रेड्मी नोट १५

एमालेबाट काठमाडौं क्षेत्र नं ५ मा ईश्वर पोखरेल उम्मेदवार

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले काठमाडौँ क्षेत्र नं ५