चुनावमा ‘हेभिवेट’ भिडन्त, यी क्षेत्रमा अनुभवी र लोकप्रिय अनुहार आमने-सामने « Khabarhub

चुनावमा ‘हेभिवेट’ भिडन्त, यी क्षेत्रमा अनुभवी र लोकप्रिय अनुहार आमने-सामने



काठमाडौं- निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ताको म्याद माघ ६ गतेलाई तोकेको छ । उम्मेदवारी दर्ताको पूर्वसन्ध्यामा दलहरू टिकट बाँड्न व्यस्त छन् । एमाले र नेकपाले करिब सबै निर्वाचन क्षेत्रमा उम्मेदवार टुङ्ग्याइसकेका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सहित अन्य दलहरूको टिकट वितरण पनि अन्तिम चरणमा पुगेको छ ।

आन्तरिक द्वन्द्वका कारण दबाबमा परेको नेपाली कांग्रेसका लागि भने उम्मेदवार छनोट यसपटक चुनौतीपूर्ण देखिएको छ । यद्यपि नवनिर्वाचित सभापति गगनकुमार थापाले केही निर्वाचन क्षेत्रमा उम्मेदवार चयन गरिसकेका छन् भने बाँकी क्षेत्रमा क्षमतावान प्रतिनिधिको खोजी जारी रहेको उनीनिकट स्रोतको भनाइ छ ।

हालसम्म सार्वजनिक उम्मेदवार सूचीले झापा, जुम्ला, चितवन र भक्तपुरका केही निर्वाचन क्षेत्रहरू अत्यन्त प्रतिस्पर्धात्मक बन्ने संकेत गरेको छ ।

झापा-५ (भावी प्रधानमन्त्रीको भीडन्त)

झापा–५ मा पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह ‘बालेन’ बीच प्रतिस्पर्धा हुने देखिएको छ । यो चुनावी प्रतिस्पर्धा यस पटकको प्रतिनिधिसभा निर्वाचनको सबैभन्दा महत्वपूर्ण मानिएको छ ।

यहाँ एकातर्फ दशकौँदेखि राष्ट्रिय राजनीतिमा निर्णायक भूमिका खेल्दै आएका, सुदृढ पार्टी संगठन र अनुभवी नेतृत्व बोकेका ओली छन् भने अर्कोतर्फ काठमाडौँ महानगरपालिकाका सफल पूर्वमेयरको छविसहित वैकल्पिक राजनीतिका प्रतीक बनेका बालेन छन् ।

यो प्रतिस्पर्धा केवल दुई व्यक्तिको मात्र नभइ, परम्परागत शक्ति संरचना र नयाँ राजनीतिक चेतनाबीचको प्रत्यक्ष टकरावका रुपमा पनि लिइएको छ । बालेनले ओलीसँग प्रतिस्पर्धा गर्न आइतबार मात्रै काठमाडौँ महानगरपालिकाको प्रमुख पदबाट राजीनामा दिएका थिए ।

झापा-२ मा पूर्वसभामुख र पूर्वउपसभामुख

झापा-२ मा यसपटक प्रतिनिधिसभाका पूर्वसभामुख देवराज घिमिरे र पूर्वउपसभामुख इन्दिरा राना मगरबीच प्रतिस्पर्धा हुने निश्चित भएको छ । नेकपा एमालेले घिमिरेलाई उम्मेदवार बनाएको छ भने रास्वपाले रानालाई टिकट दिने भएको छ ।

२०७९ को निर्वाचनमा घिमिरे यही क्षेत्रबाट निर्वाचित भएका थिए । यस क्षेत्रमा राप्रपाबाट स्वागत नेपाल र नेकपाबाट हरि रानाको उम्मेदवारीले प्रतिस्पर्धा थप रोचक बन्ने देखिन्छ ।

जुम्ला (विनिता कठायत र ज्ञानेन्द्र शाही)

जुम्लामा यस पटक विनिता कठायत र ज्ञानेन्द्र शाहीबीचको चुनावी प्रतिस्पर्धा निकै कसिलो हुने देखिएको छ । एकातर्फ वैकल्पिक राजनीतिलाई प्रतिनिधित्व गर्ने राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार कठायतले युवापुस्ता, सुशासन र परिवर्तनको एजेन्डा बोकेर मैदानमा उत्रिएकी छन् । कठायत २०७९ को आम निर्वाचनमा खस–आर्य समूहबाट समानुपातिक प्रतिनिधिका रूपमा निर्वाचित भएकी थिइन् । संसद प्रवेश गर्नुअघि उनी ग्यालेक्सी फोरके टेलिभिजनमा ड्रेस डिजाइनरका रुपमा कार्यरत थिइन् ।

अर्कोतर्फ अघिल्लो निर्वाचनमा फराकिलो मतान्तरसहित विजयी भइसकेका शाहीको स्थानीय पकड बलियो मानिन्छ । परम्परागत दलप्रतिको असन्तुष्टि, शाहीको व्यक्ति केन्द्रित प्रभाव र कठायतको नयाँ राजनीतिक छवि एकआपसमा भीड्दा जुम्लाको मत विभाजन असाध्यै सन्तुलित हुनसक्ने संकेत देखिन्छ ।

यही कारण यो निर्वाचन केवल उम्मेदवार परिवर्तनको प्रश्न मात्र नभई जुम्लाको राजनीतिक दिशा कुन धारतर्फ मोडिन्छ भन्ने निर्णायक परीक्षा बन्ने सम्भावना उच्च छ। जुम्लामा नेकपा एमालेबाट शान्तिलाल महत र नेकपाबाट नरेश भण्डारी उम्मेदवार तय भइसकेका छन् ।

चितवन–३ (रेनु दाहाल र सोविता गौतम)

चितवन- ३ मा नेकपाबाट भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहाल उम्मेदवार बन्ने पक्का छ । उम्मेदवारीका लागि उनले मंगलबार पदबाट राजीनामा दिने घोषणा गरिसकेकी छन् । भरतपुरमा दुई कार्यकाल लोकप्रिय मतसहित निर्वाचित भएकी दाहालको प्रतिस्पर्धामा रास्वपाबाट सोविता गौतम उभिने भएकी छिन् ।

सञ्चारकर्मबाट राजनीतिमा आएकी गौतम उनी २०७९ को चुनावमा काठमाडौं–२ बाट विजयी भएकी थिइन् । काठमाडौं २ लाई शाहले विकल्पमा राखेका कारण उनी यसपटक चितवन–३ झर्ने भएकी हुन् । यहाँ दुई चर्चित नेतृबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ ।

भक्तपुर-२ (राजिव खत्री र महेश बस्नेत)

एमालेका सचिव महेश बस्नेत भक्तपुर २ बाट चुनाव लड्ने भएका छन् । बस्नेतविरुद्ध रास्वपाले राजीव खत्रीलाई सोही ठाउँबाट उम्मेदवारी दिएको छ । खत्रीलाई पार्टीले काठमाडौं-१० मा उठाउने तयारी गरेको भए पनि अन्तिममा भक्तपुर २ मा टुङ्गो लागेको हो । खत्री पूर्वसञ्चारकर्मी हुन् । उनीहरूबीच चुनावी भिडन्त पनि रोचक हुने भएको छ ।

भक्तपुर-२ बस्नेतको निर्वाचन क्षेत्र हो भने खत्री काठमाडौं १० बासिन्दा हुन् । गत आमनिर्वाचनमा बस्नेत कांग्रेसका जिल्ला सभापति दुर्लभ थापासित पराजित भएका थिए । खत्री भने भर्खरै राजनीतिमा होमिएर पहिलो पटक चुनाव लड्दैछन् । सो क्षेत्रमा नेकपा ले रामप्रसाद सापकोटा (दीपशिखा) लाई उम्मेदवार बनाएको छ ।

प्रकाशित मिति : ५ माघ २०८२, सोमबार  ६ : ४४ बजे

निर्वाचनमा सहज मतदान गर्ने व्यवस्थाका लागि सरकार गम्भीर : महिलामन्त्री श्रेष्ठ

काठमाडौं– महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठले निर्वाचनमा सहज

बोन्डीबीच गोलीकाण्डका आरोपी अदालतमा

एजेन्सी– अस्ट्रेलियाको सिड्नीस्थित बोन्डी बिचमा आयोजित यहूदी पर्वका क्रममा भएको

जेन-जी आन्दोलनमा लुटिएको पेस्तोल र गोली बरामद

झापा– जेन-जी आन्दोलनका क्रममा इलाका प्रहरी कार्यालय अनारमनीबाट लुटिएका एक

फेरि पनि व्यवस्था विरोधी प्रचार गरेर मत माग्दै उम्मेदवारहरू

काठमाडौं– विशेषगरी राजनीतिक दलका नेतृत्वले राज्यलाई सुशासनमुखी ढंगले सञ्चालन नगरेको

गाजाका लागि पाँच अर्ब डलर सहयोग गर्ने ट्रम्पको प्रतिबद्धता

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नव गठित शान्ति बोर्डले गाजाका