काठमाडौं – पूर्वमन्त्री तथा प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता सुदन किराँतीले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी नदिने घोषणा गरेका छन् । सामाजिक सञ्जालमार्फत सार्वजनिक अपिल जारी गर्दै उनले व्यक्तिगत तथा राजनीतिक कारण देखाउँदै निर्वाचनमा नउत्रिने निर्णय लिएको स्पष्ट पारेका हुन् ।
किराँतीले आफूलाई उम्मेदवारका रूपमा सिफारिस गरेको प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)का सुनसरी र भोजपुर जिल्ला कार्यसमितिप्रति आभार व्यक्त गर्दै यसपटक नयाँ पुस्ताको नेतृत्वलाई अवसर दिन उम्मेदवार नबन्ने निर्णय गरेको बताएका छन् ।
उनका अनुसार, सुनसरी–१ बाट उम्मेदवार बनेमा नयाँ राजनीतिक शक्तिबीच हुने प्रतिस्पर्धाले दुवै पक्षलाई क्षति पुग्ने र त्यसको फाइदा पुराना दललाई जाने भन्दै स्वदेश तथा विदेशका शुभेच्छुकले दिएको सुझावलाई आत्मसात् गरिएको छ । साथै, भर्खरै स्थापना भएको प्रलोपालाई दीर्घकालीन राजनीतिक यात्रामा अघि बढाउन अहिले आफ्नो मुख्य प्राथमिकता पार्टी निर्माणमै केन्द्रित रहने उनको भनाइ छ ।
किराँतीले राजनीतिक संवाद, शुभेच्छुकहरूको सुझाव र ‘जेन–जी विद्रोह’को मूल मर्मलाई सम्मान गर्दै श्रम संस्कृति पार्टीका उम्मेदवारहरूलाई समर्थन गर्ने घोषणा पनि गरेका छन् । उनले सुनसरी क्षेत्र नम्बर–१ का हर्कराज राई तथा भोजपुरका ध्रुव राईलाई प्रलोपा तर्फबाट सहयोग गर्ने जनाएका छन् ।
यससँगै, उनले समानुपातिकतर्फ प्रगतिशील लोकतान्त्रिक पार्टीको ‘आँखा’ चुनाव चिह्नमा मतदान गर्न आम मतदातासमक्ष अपिल गरेका छन् । देशव्यापी निर्वाचन अभियानमा सक्रिय रूपमा खटिने प्रतिबद्धता समेत उनले व्यक्त गरेका छन् ।













प्रतिक्रिया