रास्वपा महाधिवेशन : थप शक्तिशाली बन्दै रवि « Khabarhub

रास्वपा महाधिवेशन : थप शक्तिशाली बन्दै रवि

आधा पदाधिकारी सभापतिले चुन्न पाउने प्रस्ताव



काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशन यही ७ गते चितवनमा हुँदै छ। पार्टीको पहिलो महाधिवेशनका लागि चौथो पटक विधान संशोधन गरेर बिहीबार बसेको सचिवालय बैठकमा विधान मस्यौदाबारे छलफल भएको छ।

सुरुमा विधान मस्यौदामा काम गरिरहेका संयोजक विपिन आचार्य, सदस्य गणेश पराजुली, प्रदीपचन्द्र परियार, डा. चन्दा कार्की लगायतले १३६ केन्द्रीय सदस्य बनाउने प्रस्ताव गरेका थिए। तर सचिवालयले बढाएर १५८ केन्द्रीय सदस्य बनाउने प्रस्ताव अगाडि बढाएको छ। यो प्रस्ताव लगभग पारित हुने अवस्थामा छ। यस्तै सचिवालय सदस्य पनि केन्द्रीय सदस्य थपिएपछि थपिने र पदाधिकारीको सङ्ख्या पनि बढाइने भएको हो।

प्रस्तावित विधान मस्यौदामा पार्टी सभापतिले धेरै जना सचिवालय सदस्य तथा पदाधिकारी मनोनीत गर्न पाउने छुट दिन लागेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालयमा अहिले हेर्दा एक सभापति, एक वरिष्ठ नेता, तीन उपसभापति, दुई महामन्त्री, पाँच जना सहमन्त्री, एक कोषाध्यक्ष, दुई सहकोषाध्यक्ष, एक प्रवक्ता, दुई सहप्रवक्ता रहने बताइएको छ। १८ जना पदाधिकारी रहने व्यवस्था गर्न लागेको देखिन्छ। सचिवालयको टिम भने सचिवालय सदस्यसहित २८ या ३० जनाको बनाउन लागिएको प्रस्तावित विधानमा उल्लेख छ। पदाधिकारी चयनपछि पार्टी सचिवालय सदस्य मनोनीत गरिनेछ।

वरिष्ठ नेता, एक महामन्त्री, एक उपसभापति, दुई सहमहामन्त्री, एक प्रवक्ता, दुई सहप्रवक्ता, दुई सहकोषाध्यक्ष सभापतिले चुन्न पाउने विधानमै प्रस्ताव

“१५१ केन्द्रीय कमिटी बनाएर ७ जना प्रदेशगत सभापति जोड्दा १५८ केन्द्रीय कमिटीको आकार बन्नेछ। प्रदेशका सभापतिहरू सात जना भने पदेन हुनेछन्,” पार्टीका एक नेताले भने, “१८२ जना सांसदलाई स्वतः केन्द्रीय सदस्य बनाऔँ भन्ने आवाज पनि छ। तर सांसदहरूको कामलाई बाधा नपुगोस् भनेर १५८ केन्द्रीय सदस्य र १८ पदाधिकारीसहित सचिवालयको टिम २८ देखि ३० जना बनाउने तयारी छ। विभिन्न कुराहरू आइरहेका छन्, लगभग यो माथिको कुरामा सहमति होला।”

सुरुमा विधान मस्यौदामा काम गरिरहेको टोलीले चार सहमन्त्री राख्ने प्रस्ताव अगाडि लगेको थियो, तर सचिवालय बैठकले पाँच जना पुर्‍याउनुपर्ने माग राख्यो। दुई सहकोषाध्यक्षमा पनि महिला एक अनिवार्य गरिएको छ। महामन्त्रीमा महिला अनिवार्य नगरेको रास्वपाले पाँच सहमन्त्रीमध्ये एक महिला अनिवार्य गरेको छ। प्रवक्ता महिला वा पुरुष जोकोही चुन्ने अधिकार सभापतिलाई दिएको छ भने दुई सहप्रवक्तामध्ये एक महिला अनिवार्य गरिएको छ।

सभापतिले मनोनीत गर्ने पदाधिकारी धेरै
प्रस्तावित विधानमा तीन उपसभापतिमध्ये एक खुला उपसभापति सभापतिले नै मनोनीत गर्ने प्रावधान राख्न लागिएको छ। यस्तै वरिष्ठ नेता पनि पार्टी सभापतिले नै चुन्ने विधानमा व्यवस्था गर्न लागिएको हो। यस्तै दुई महामन्त्रीमध्ये एक महामन्त्री पनि पार्टी सभापतिले मनोनीत गर्नेछन्। एक महामन्त्रीका लागि मात्र निर्वाचन हुनेछ। यस्तै दुई जना सहमन्त्री पनि सभापतिले चुन्न पाउने प्रस्तावित विधानमा उल्लेख छ। २ सहकोषाध्यक्ष पनि सभापतिले नै चुन्न पाउने प्रावधान आउन लागेको बताइन्छ। पार्टी प्रवक्ता र सहप्रवक्ता पनि तीन जना सभापतिले नै चुन्न पाउने विधान आउन लाग्दा राष्ट्रिय स्वतन्त्र पार्टीका केही नेताहरू भने यो विधानमा असहमति जनाइरहेका छन्। तर उनीहरू बोल्ने पक्षमा देखिँदैनन्। पदाधिकारीसहित सचिवालयका धेरै सदस्य सभापतिले नै चुन्न पाउने व्यवस्था आउन लागेपछि केन्द्रीय कमिटीको बैठकले यसलाई सच्याउनुपर्ने मत राष्ट्रिय स्वतन्त्र पार्टीमा देखिन्छ।

अहिले राष्ट्रिय स्वतन्त्र पार्टीको विधान यही अनुसार कार्यान्वयनमा गएको खण्डमा एक सभापति, दुई उपसभापति, १ महामन्त्री, तीन सहमहामन्त्री र एक कोषाध्यक्षको मात्र निर्वाचन हुने अवस्था छ। यी पदहरूमा पनि सर्वसम्मतिको प्रयास गर्न लागेको बताइन्छ। “अचम्मको विधान आउन लागेपछि हामी पनि छक्क छौँ। एक सभापतिको निर्वाचन नै हुँदैन उहाँ निर्विकल्प हो। एक महामन्त्री, दुई उपसभापति र तीन सहमन्त्रीका लागि पनि के निर्वाचन गर्ने र ?” पार्टी सचिवालयका एक नेताले भने, “विभिन्न समूहहरूलाई मिलाउँदाखेरि पहिलो महाधिवेशनमा एकताको सन्देश जाने हिसाबले काम गरौँ भनेर पनि यसो गर्न लागिएको हो। सुरुमा हामी पनि अचम्ममा परेका थियौँ तर बुझ्दै जाँदा एकताको महाधिवेशनका लागि यो ठिक पनि हो। पर्सि बिहान केन्द्रीय कमिटी बैठक बस्दै छ, त्यसपछि पारित हुन्छ।”

माथि उल्लिखित पदाधिकारीमा मनोनीत हुन र निर्वाचन लड्नका लागि सुरुमा सबै नेताहरूले केन्द्रीय कमिटीको निर्वाचन फेस गर्नुपर्नेछ। केन्द्रीय कमिटीको निर्वाचन पार गरेका नेताहरूलाई मात्रै सचिवालयमा सहभागी हुन पाउने अवसर दिने बताइएको छ।

केन्द्रीय कमिटी निर्वाचनमा भने स्वतः विधानले तोकेका व्यक्तिलाई लड्न दिने र सचिवालय भने सर्वसहमति गर्ने तयारी राष्ट्रिय स्वतन्त्र पार्टीले गर्न लागेको देखिन्छ।

सचिवालयमा रविले भने, “सकेसम्म सहमतिको प्रयास गरौँ”
आज बसेको सचिवालय बैठकमा रविले विधान लगायतका विषयमा सकेसम्म सहमतिमार्फत टुङ्ग्याउने बताए। उनले एकताको सन्देश दिन र सबै समूहलाई समावेश गर्दै अगाडि बढ्नका लागि मिलेर जानुको विकल्प नभएको जानकारी गराएका थिए। पार्टी महाधिवेशनमा पनि केन्द्रीय सदस्यलाई स्वतः निर्वाचन लड्न दिने र सचिवालय मनोनीत गर्दा सबैलाई मिलाएर जाने किसिमको टिम बनाउने प्रस्ताव रविले राखेका छन्। सभापति रविले पहिलो महाधिवेशन भएकाले एकता र ऐतिहासिकता झल्किने समेत पार्टी बैठकमा उल्लेख गरे।

बिहीबार प्रस्तुत भएको प्रस्तावित विधान शनिबार बिहान बस्ने केन्द्रीय कमिटी बैठकले पारित गर्ने तयारी गरेको छ। विधानमा सभापतिले चुन्ने नेताको सङ्ख्या बढी भएकाले यसलाई घटाउनुपर्ने आवाज पनि पार्टीमा उठेको छ। सचिवालयको आकार २८ भन्दा कम गर्न सके अझ राम्रो हुने सुझाव पनि नेताले दिएका छन्। वैज्ञानिक र प्रयोगात्मक दृष्टिले पार्टी सचिवालय र केन्द्रीय कमिटीको आकार बनाउने विषयमा पार्टीले छलफल गरिरहेको सचिवालय नेताको जानकारी छ।

प्रकाशित मिति : ५ असार २०८३, शुक्रबार  ७ : १७ बजे

जनस्वास्थ्य संकट बन्दै विषालु च्याउः हरेक वर्ष कतिले गुमाउँछन् ज्यान ?

वर्षायाम सुरु भएसँगै आकाशबाट पानी पर्दा खेती किसानी गर्ने वर्गलाई

चितवनमा यसरी हुँदैछ रास्वपा महाधिवेशनको तयारी (तस्बिरहरू) 

काठमाडौं- चितवन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो राष्ट्रिय महाधिवेशनको

लोप हुँदै थारु समुदायको ‘ढकिया’

तुलसीपुर– थारु समुदायको पहिचानका रूपमा रहेको ढकिया लोप हुने अवस्थामा

सत्तरी हजार गाईभैँसीलाई खोरेतविरुद्धको खोप

चितवन– यहाँका किसानले पालेका ७० हजार पशुचौपायालाई खोरेतविरुद्धको खोप लगाइएको

रास्वपाको प्रथम महाधिवेशनमा प्रधानमन्त्री शाह सहभागी हुने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को आगामी असार ७ गतेदेखि