वर्षायाम सुरु भएसँगै आकाशबाट पानी पर्दा खेती किसानी गर्ने वर्गलाई एउटा छुट्टै रौनक हुन्छ । तर ग्रामीण तथा जंगल आसपासको क्षेत्रमा बस्ने गरिब र सीमान्तकृत समुदायका लागि भने यो याम एउटा अदृश्य त्रास बनेर आउँछ ।
बाढी, पहिरो र सर्पदंशजस्ता दृश्य विपद्बारे सरकारले चासो राख्छ र केही हदसम्म विपद् जोखिम तथा न्युनिकरणका काम पनि गर्छ । तर त्यही वर्षाको ओससँगै जङ्गलमा उम्रिने विषालु च्याउले बर्र्षेनी कति मानिसको मृत्यु हुन्छ त्यसको तथ्यांक न सरकारसँग छ, न त समाजसँग नै ।
विभिन्न सञ्चार माध्यममा आएका खबर अनुसार यस वर्षको प्रि–मनसुन सुरु हुन नपाउँदै जङ्गली च्याउ खाएर केही मानिसले ज्यान गुमाइसकेका छन् । विज्ञका अनुसार नेपालमा हरेक वर्ष ३० देखि ४० जनाको मृत्यु विषालु च्याउका कारण हुने गरेको अनुमान छ ।
विडम्बना राज्यको प्राथमिकतामा नपर्दा यो अझै पनि एउटा गुमनाम तर जनस्वास्थ्यको गम्भीर समस्या बनेको छ ।
’गरिबी’ नै बन्यो विष चिन्न बाधक
जङ्गली च्याउ खाएर बिरामी पर्ने वा ज्यान गुमाउनेमा अधिकांश विपन्न, दलित र सीमान्तकृत समुदायका मानिस पर्ने गरेका छन् । जङ्गल आसपास बस्ने यी समुदायका धेरै घरमा साँझ–बिहान के खाने भन्ने पिरलो हुन्छ । खाद्य असुरक्षा र चरम गरिबीकै कारण उनीहरू परिणामको प्रवाह नगरी जङ्गल चहार्छन् र थुप्रै प्रजातिका च्याउ टिपेर ल्याउँछन् । आफैँ खान्छन् र निर्दोष बालबालिकालाई पनि खुवाउँछन् ।

विज्ञ भन्छन्, “यो केवल चेतनाको कमी मात्र होइन, पेटको भोक मेट्ने बाध्यता पनि हो । राज्यले यसलाई प्राथमिकतामा नराख्नुको एउटा मुख्य कारण पीडित समाजको सबैभन्दा तल्लो तहका र पहुँचविहीन हुनु पनि हो ।’’
विभिन्न अध्ययनका अनुसार नेपालमा कुल एक हजार दुई सय ९१ प्रजातिका जङ्गली च्याउ पाइन्छन् । तीमध्ये १ सयभन्दा बढी प्रजाति अत्यन्तै विषालु छन् । कुन च्याउ खाने र कुन नखाने भन्ने वैज्ञानिक पहिचान नहुँदा रैथाने ज्ञानकै भरमा च्याउ टिप्ने गरिन्छ, जुन कहिलेकाहीँ घातक साबित हुन्छ ।
बाढी र पहिरोलाई जस्तै यसलाई प्राकृतिक विपद्कै रूपमा हेरिनुपर्ने भए पनि सरकारले यसलाई विपद्जन्य घटनामा समावेश गरेको छैन ।
राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रका अनुसार विषालु च्याउबारे जनचेतनामूलक पम्पलेट छाप्नेबाहेक सरकारले अन्य कुनै ठोस काम गर्न सकेको छैन । जसका कारण देशैभर कतिले च्याउ खाएर ज्यान गुमाए वा कति अपाङ्ग भए भन्ने एकीकृत र यकिन तथ्यांक सरकारसँग फेला पर्दैन ।
मुख्य चुनौती र समाधान
दुर्गम क्षेत्रमा च्याउ खाएर बिरामी परेकालाई समयमै अस्पताल पु¥याउन नसक्दा र अस्पतालमा पनि यसको निश्चित ‘एन्टिडोट’ नहुँदा मृत्युदर बढी रहको विज्ञ बताउँछन् ।
वरिष्ठ च्याउ विज्ञ डा. जयकान्त राउतका किराले खाएको च्याउ विषालु हुँदैन’ वा ‘चाँदीको चम्चाले चलाउँदा कालो नभए खान हुन्छ’ जस्ता गलत सामाजिक मान्यताले गर्दा पनि मानिस झुक्किने गरेका छन् ।
यो समस्याको समाधान केवल पम्पलेट बाँडेर वा “जङ्गली च्याउ नखानुस् भनेर मात्र सम्भव छैन । यसका लागि दुईवटा तहमा काम हुनु जरुरी छ’’, उनले भने
पहिलो कदमः मनसुन सुरु हुनु अगावै रेडियो, टेलिभिजन र स्थानीय भाषामा आम जनचेतना अभियान चलाउने, स्वास्थ्य चौकीमा प्राथमिक उपचारको व्यवस्था गर्ने ।
दीर्घकालीन कदमः मानिस ज्यानकै जोखिम मोलेर किन जङ्गली च्याउ खान बाध्य छन् भन्ने मूल कारण (खाद्य असुरक्षा र गरिबी) को खोजी गरी उनीहरूका लागि खाद्यान्नको वैकल्पिक व्यवस्था गर्नु ।

विषालु च्याउ कसरी चिन्ने ?
तल फेदमा कचौरा जस्तो आकार भएको च्याउ धेरै विषालु हुने वनस्पति प्रयोगशालाका अनुसन्धान अधिकृत राजेन्द्र आचार्यले बताए । हेर्दा रंगीचंगी आकर्षक देखिने, छुँदा रंग परिवर्तन हुने, डाँठमा औंठीजस्तो आकार भएका च्याउ विषालु हुने भएकाले नखान उनको सुझाव छ ।
त्यस्तै सामान्यतया किरा लाग्ने च्याउ विषालु हुँदैन भन्ने मान्यता छ । त्यसैलाई मात्रै आधार बनाएर जथाभावी च्याउ खान नहुने उनी बताउँछन् ।
विषालु च्याउ खाँदा देखिने लक्षण र स्वास्थ्य समस्या
विषालु च्याउ खाएपछि बान्ता, झाडापखाला हुने, टाउको दुख्ने, रिंगटा लाग्ने लक्षण देखिने गर्दछन् । यस्ता लक्षण देखिने बित्तिकै चिकित्सक कहाँ जान विज्ञ सुझाउँछन् ।
च्याउको विषयको सिधा असर कलेजोमा पर्ने र त्यसपछि पित्तमा पुगेर नयाँ तत्त्वको निर्माण सँगै मिर्गौलाको काम गर्ने क्षमता घटाएर कलेजो र मिर्गौला फेल भएर मृत्यु हुने चिकित्सक बताउँछन् ।
विषालु च्याउले स्वास्थ्यमा गम्भीर समस्या निम्त्याउँछ । त्यस्तै कुनैकुनै च्याउमा एकदमै कडा खालको प्राणघातक विष पनि पाइने च्याउ विज्ञ डा.राउतले बताए ।
त्यसमध्येको एउटा हो ‘अमोनिटा’ यो प्रजातिको च्याउले विशेष गरेर कलेजो मिर्गौला गम्भीर असर गर्छ । यदि समयमै उपचार गरिएन भने बिरामीको ज्यानै समेत जानसक्ने अथवा मिर्गौला र कलेजो फेर्नुपर्ने अवस्थासम्म आउनसक्छ ।
यो विषको असर खाने बित्तिकै देखिँदैन ३६ घण्टादेखि तीन हप्तापछि पनि देखिन सक्छ । त्यसबेलासम्म विषले शरीरमा धेरै असर गरिसकेको हुन्छ र ज्यानै जाने जोखिम रहन्छ । त्यस्तै ओरेलिन, सिलीकोविन लगायतका विष छन् जसको अहिलेसम्म एण्टीडोज पनि बनिनसकेको उनले बताए ।
डा. राउत भन्छन् ‘त्यस्ता ग्रामीण भेग जहाँ वर्षेनी विषालु च्याउका कारण मानिसले ज्यान गुमाइरहेका छन् । ती क्षेत्रका स्वास्थ्यचौकीमा यससम्बन्धी डाक्टर पनि तयारी अवस्थामा नभएको अवस्था छ ।’

विभिन्न प्रकारका च्याउमा फरकफरक विषाक्त पाइन्छ कुनै विषाक्तका कारण मिर्गौला, कलेजो, लगायतका अङ्गमा असर गर्छ कुनै च्याउले स्नायु प्रणालीमा असर गर्छ । त्यसैले च्याउले असर गर्ने अङ्गका आधारमा लक्षण पनि फरक फरक हुन्छन् ।
जस्तै झाडापखाला हुने, बान्ता हुने, मुटुको धड्कन कम हुने, ब्लड प्रेसर कम हुने, पसिना आउने, काप्ने, धमिलो दृष्टि हुने, आँशु आउने, असह्य तरिकाले पेट दुख्ने, तिर्खा लाग्ने, रिंगटा लाग्ने लगायतका लक्षण देखिने डा. राउतले बताए ।












प्रतिक्रिया