काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई हटाउन खोजेको विषय राष्ट्रिय स्वतन्त्र पार्टीको नेतृत्व तहसम्मे पुगेको छ । यसले रास्वपाभित्र विस्तारै नयाँ र गम्भीर विवाद सिर्जना गरेको छ।
बालेनले अर्थमन्त्री वाग्लेलाई हटाउने अन्तिम कसरत गरेपछि शनिबारदेखि सभापति रवि लामिछाने र उपसभापति समेत रहेका अर्थमन्त्री काभ्रेको धुलिखेलस्थित दुसित थानी रिसोर्टमा छलफलमा जुटे । शनिबार अबेर मात्रै उनीहरू लामो छलफलपछि रिसोर्टबाट काठमाडौं फर्किएका छन् ।
यद्यपि, उनीहरूबीचमा के छलफल भयो भन्ने विषय भने अहिलेसम्म दुवै पक्षले बताइसकेका छैनन् । तर, प्रधानमन्त्री र अर्थमन्त्रीबीचको सम्बन्ध चिसिँदै गएको विषयसँग उनीहरूबीच गोप्य छलफल भएको हो ।
बालेनले स्वर्णिमलाई राख्न चाहेका थिएनन्
मूलतः प्रधानमन्त्री बालेनले सरकारको पूरै टिम आफूअनुकुलको बनाउन चाहेका थिए । बालेनको टिममा प्युठानका डा. शुसान्त वैदिक र रामेछापका डा. कृष्णहरि बुढाथोकीमध्ये एकलाई अर्थमन्त्री बनाउने विषयमा छलफल चलेको थियो ।
जसमध्ये अहिले डा. बुढाथोकीले प्रतिनिधिसभा अन्तर्गत अर्थ समितिको सभापतिको जिम्मेवारीमा छन् । डा. वैदिकले प्रधानमन्त्रीको छाया अर्थमन्त्रीको भूमिका बालुवाटारबाट निर्वाह गरिरहेको चर्चा हुने गरेको छ ।
फागुन २१ गतेको चुनावी अभियानकै क्रममा सभापति लामिछानेले नयाँ सरकारको अर्थमन्त्रीका रूपमा डा. वाग्लेलाई बचन दिइसकेकाले प्रधानमन्त्रीले उनलाई अटाउनै पर्ने अवस्था सिर्जना भएको निकटस्थहरू बताउँछन् ।
अर्थमन्त्री बनिसकेपछि पनि सरकारको नीति तथा कार्यक्रम तयार गर्नेदेखि बजेट निर्माणसम्म पनि प्रधानमन्त्री बालेन र अर्थमन्त्री डा. वाग्लेबीचमा घनिभूत छलफल भएन ।
त्यतिमात्रै नभएर चालु आर्थिक वर्षको बजेट पनि प्रधानमन्त्री कार्यालयबाट आउँछ वा अर्थ मन्त्रालयबाट आउँछ भन्ने विषयसमेत निकै लामो समय चर्चा भयो ।
त्यसभन्दा अगाडि सरकार बनेलगत्तै प्रधानमन्त्री शाहले सबै प्रदेशका सांसदसँग भिन्नभिन्नै छलफल गरे । तर, उक्त छलफलमा अर्थमन्त्री डा वाग्लेलाई भने सहभागी बनाएनन् ।
त्यस्तै, बजेट लेखन प्रक्रिया सुरू भएपछि प्रधानमन्त्री कार्यालयले भिन्नै वेबपोर्टल निर्माण गरेर आममानिसले दिन मिल्नेगरी बजेटमा सुझाव माग्यो । जुन प्रकारको अभ्यास यसअघि हुने गरेको थिएन । जसले पनि प्रधानमन्त्री र अर्थमन्त्रीबीचमा नीति तथा कार्यक्रमदेखि नै बजेटमा सामञ्जस्यता नभएको देखायो ।
बजेट गत जेठ १५ मा आयो तर, बजेटमा प्रधानमन्त्री शाहले काठमाडौंको मेयर हुँदादेखि चुनावी भाषणमा गरेका शिक्षा, स्वास्थ्य, कृषि लगायतको क्षेत्रलाई सम्बोधन गर्नेगरी कार्यक्रममा समेटिएनन् ।
बरू बजेटले मध्यमवर्गलाई सम्बोधन गर्ने भन्दै कर्मचारीको अत्यधिक तलब वृद्धि गर्ने र करको दायरा बढाउने काम गर्यो । जसको आलोचना अहिले चौतर्फी रुपमा भइरहेको छ । शिक्षा, स्वास्थ्यदेखि राइडिङमासमेत कर थोपरेपछि आलोचना बढ्दैछ।
आर्थिक विधेयकमार्फत गरिएको करका दर हेरफेर र बीवाईडी गाडी आयातको विषयलाई लिएर जेठ १५ देखि नै चौतर्फी विवाद हुन थाल्यो । विशेषगरी बीवाईडीको विषयमा प्रधानमन्त्रीले अर्थमन्त्रीलाई समेत बाइपास गरे ।
उनले अर्थ मन्त्रालय, भन्सार विभाग, नेपाल प्रहरी, र ससस्त्र प्रहरीका प्रतिनिधि सम्मिलित संयुक्त छानबिन समिति गठन गरेका थिए । यद्यपि, छानबिन समितिको प्रतिवेदन सार्वजनिक नगरी सात सय बढी बीवाईडी गाडी भन्सारबाट छुटाइयो।
फेरि चुलिँदै विवाद
चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट पारित भएपछि प्रधानमन्त्री शाह र अर्थमन्त्री डा. वाग्लेबीचको सम्बन्ध फेरि चिसिँदै गएको स्पष्ट देखिएको छ ।
शाहको नेतृत्वमा सरकार बनेलगत्तै सरकारले सुशासन स्थापित गर्ने विषय प्राथमिकतामा रहेको भन्दै निकै ठूलो स्वरमा भन्दै आयो । यसबीचमा राजनीतिक दलका नेतादेखि केही ठूला व्यवसायीमाथि अनुसन्धान र मुद्दा चलिरहेको छ ।
तर, देशमा आन्तरिक लगानीको वातावरण, विदेशी लगानी, पुँजीबजार लगायतको क्षेत्रमा भने कुनै सुधार हुन सकेन ।
त्यही बीचमा असार २८ गते पार्टी सभापति लामिछाने र प्रधानमन्त्री शाहबीचमा सभापति लामिछानेकै निवासमा करिब ५ घण्टा छलफल भएको थियो । जुन छलफलमा पार्टीको महाधिवेशन पछिको पदपूर्ति, सुकुम्बासीको व्यवस्थापन, अर्थमन्त्री लगायत मन्त्रिपरिषद् र समसामयिक विषयमा छलफल भएको निकटस्थ स्रोतले बताएका छन् ।
यही बीचमा केही दिनयता आर्थिक तथा व्यावसायिक क्षेत्रका व्यक्ति तथा संस्थाहरूसँग प्रधानमन्त्री एक्लैले श्रृंखलाबद्ध भेटघाट गरेका छन् । जुन भेटमा सम्बन्धित विषयको तालुकदार मन्त्रालयको नेतृत्व वा अर्थमन्त्रीलाई सहभागी गराएनन् । बरू बालेनले व्यापारीसमेत रहेकी सांसद विदुषी राणालाई प्राथमिकता दिए । विदुषीकै पहलमा व्यापारी भेटेका बालेनले अर्थमन्त्री वाग्लेलाई सहभागी गराएनन्।
त्यतिमात्रै नभएर गभर्नर प्रा.डा. विश्व पौडेलसँग समेत अर्थमन्त्री वाग्लेलाई जानकारी नदिई प्रधानमन्त्री बालेनले भेटघाट गरे । जसले अर्थमन्त्री वाग्लेको भूमिकामाथि नै सार्वजनिक प्रश्न उठ्ने स्थिति बनेको छ।
त्यसपछि शनिबारदेखि आइतबारसम्म पार्टी सभापति लामिछानेसँग अर्थमन्त्री डा. वाग्लेले आफ्नै लगानीको दुसित थानी रिसोर्टमा घनिभूत छलफल गरेका छन् । जुन छलफलले डा. वाग्लेलाई अर्थमन्त्रीको भूमिकामा कायम राख्न सक्छ वा सक्दैन, चासोको विषय बनेको छ।












प्रतिक्रिया