काठमाडौं- सुकुम्वासीसँग प्रधानमन्त्री वालेन्द्र शाहको इगो नयाँ होइन । उनी काठमाडौं महानगरको मेयर हुँदै काठमाडौंका नदी किनारबाट सुकुम्वासी हटाउन खोजे । तर थापाथलीस्थित बागमती किनारबाट हटाउन सुरक्षा बलसहित जाँदा कडा प्रतिरोध सहनुपर्यो ।
त्यही प्रतिरोधको चोट बोकिरहेका उनले गत चैत १३ गते प्रधानमन्त्रीको पद सम्हालेलगत्तै १२ वैशाख २०८३ देखि थापाथलीका तिनै सुकुम्वासी बस्तीमा सेना, सशस्त्र, जनपथ सहितको ठूलो फौज उतारियो । राज्यका सबै सुरक्षा बल उतार्दै निरीह सुकुम्वासीहरूका बस्तीमा बडेमानका डोजर हानियो ।
अन्तत: सबै शक्ति लगाएर थापाथलीदेखि काठमाडौं उपत्यकाका मनोहरा, बागमती, हनुमन्तेसहित अधिकांश सुकुम्वासी बस्ती एक महिनाकोबीचमा ढुंगा-माटोमा परिणत भए । सरकारले सुकुम्वासी हटाउने अभियान चलाउँदा हुकुम्वासीलाई लखेटेर सरकारले ठिक गरेको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीका नेता-कार्यकर्ता र समर्थकले अलग्गै भाष्य सामाजिक सञ्जालमा निर्माण गरे ।
ती बस्तीमा भूमिहीन र गरिबको पनि बसोबास छ भन्ने कुराको समेत ख्याल नगरी एकै पटक डोजर हानेर सबैलाई उठिबास लगाइयो । देशका अन्य जिल्लामा घर हुने त रातारात उपत्यका छाडेर बाटो लागे । नहुनेहरूको बिचल्ली भने अझै सकिएको छैन ।
अहिले एकपछि अर्को सुकुम्वासीले मृत्युवरण गरिरहेका छन् । कोहीले उपचार नपाएर ज्यान गुमाए त कोहीले आत्महत्या गरेका छन् । २१ असारमा प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) को नेतृत्वको सरकारले सय दिन पूरा गर्दासम्म २ जना सुकुम्वासीले आत्महत्या गरिसकेका थिए । तर त्यसयता आत्महत्या र अन्य कारणले मृत्युवरण गर्ने सुकुम्वासीको संख्या ११ पुगिसकेको छ ।
वालेन्द्रले बनाएको सय दिने उपलब्धिको बुँदा नम्बर ९१ मा देशभरका भूमिहीन सुकुम्वासी तथा अव्यवस्थित बसोबासीको ‘एकीकृत डिजिटल लगत सङ्कलन तथा प्रमाणीकरण’ ६० दिनभित्र सम्पन्न गरिसक्ने वाचा गरिएको थियो । तर, सरकारको यो वाचा र प्रत्यक्ष रूपमा चालेको कदमबीच अहिले पनि मिलन देखिँदैन ।
केही ठाउँमा लालपुर्जा बाँडिएका छन् । तर उपत्यकामा सेना-प्रहरीसमेत उतारेर लखेटिएका सुकुम्वासीलाई प्रतिपरिवार २५ हजार दिएर सरकार पन्छिएको छ। सरकारले देशभरका सुकुम्वासी बस्तीहरूमा डोजर त चलायो, तर उनीहरूको उचित व्यवस्थापन र पुनःस्थापनामा पूरै असफल भएको छ ।
सरकारको सय दिनमै डोजर आतंकबीच दुई जनाले सुकुम्वासीले आत्महत्या गर्दा होल्डिङ सेन्टरमा उपचार अभावमा अर्काले ज्यान गुमाएका थिए । अहिले यो संख्याले दर्जन छुन लागेको छ । अहिले पनि काठमाडौँ उपत्यकाका विभिन्न होल्डिङ सेन्टरहरूमा राखिएका विस्थापितहरूको अवस्था दयनीय । गाँसबासको अधिकार माग्दै उनीहरू सडकमा छन् ।
बिहीबार मात्रै उनीहरूले सरकारविरुद्ध नाराबाजी गरे । वालेन्द्र नेतृत्वको सरकारले गत वैशाखमा काठमाडौंको गैरीगाउँस्थित सुकुम्वासी बस्तीमा डोजर चलाएपछि विस्थापित भएर ललितपुरको टीकाथलीमा डेरा गरी बस्दै आएका ५० वर्षीय चम्बरबहादुर नेपालीले बुधबार आत्महत्या गरे ।
नेपालीको दुखद् अन्त्यपछि बिहीबार सुकुम्वासीले सरकारविरुद्ध नाराबाजी गरे। सहभागीले ‘गरिबमारा सरकार मुर्दावाद’, ‘लोकतन्त्रको सम्मान गर्’, ‘मानवअधिकारको सम्मान गर्’, ‘सुकुम्वासीको व्यवस्थापन के गरिस् ?’ लगायत नारा लगाए ।
सरकारले डोजर चलाउँदा विस्थापित भएपछि ज्यान गुमाएकालाई भूमिअधिकार आन्दोलनको सहिद घोषणा गर्नुपर्ने उनीहरूको माग छ । सरकारको ‘डोजर आतंक’बाट ११ जना नागरिकले ज्यान गुमाएको उनीहरूले बताए ।
सरकारविरुद्ध सामाजिक सञ्जालमा आवाज उठाएकै भरमा गत असार १५ गते प्रहरी कीर्तिपुरको होल्डिङ सेन्टरमा बस्ने भोजपुरको अरुण गाउँपालिकाका ३९ वर्षीय डम्बर तामाङलाई पक्राउ गरियो । उनलाई सार्वजनिक शान्तिविरुद्धको कसुरमा अनुसन्धानको लागि सरकारले नियन्त्रणमा लियो ।
तर भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय भने केही जिल्लाका केही भूमिहीनलाई पुर्जा बाँडेको कुरालाई उपलब्धिका रुपमा सुनाइरहेको छ। १०० दिनको प्रगति विवरणमा भूमिहीन दलित, सुकुमवासी तथा अव्यवस्थित बसोबासीहरूको विवरण हेर्न मिल्ने गरी ‘डिजिटल ड्यासबोर्ड’ तयार पारिएको कुरालाई ठूलो उपलब्धि भनेर वर्णन गरियो । मन्त्रालयले ड्यासबोर्ड त बनायो, तर सरकारले सुरुमा गर्ने भनेको वास्तविक ‘डिजिटल लगत सङ्कलन’ र प्रमाणीकरण लगायत काम अलपत्र छन् ।
सरकारले अहिलेसम्म सुकुमवासीका लागि राहतभन्दा बढी आघात दिइरहेको छ। वैशाख १२ गतेदेखि काठमाडौं उपत्यकासहित देशभरका जोखिमपूर्ण सुकुम्वासी बस्ती हटाउने अभियान थालियो । ती बस्तीमा बसोबासरत परिवारलाई अहिले होल्डिङ सेल्टरमा राखिएको छ ।
कीर्तिपुरको होल्डिङ सेन्टरमा त गत २७ असारमा बाढी पसेर सुकुम्वासीको बिचल्ली भयो । सरकारले लखेटेपछि जोगाएर त्यहाँ राखिएको सबै सामान पनि बाढीमा डुबेर बर्बाद भयो । त्यसपछि त्यहाँका सुकुम्वासीलाई भक्तपुरको बोडेस्थित कृषि तालिम केन्द्रको होल्डिङ सेन्टरमा राखियो ।
काठमाडौंका नदी किनारमा वर्षौंदेखि बस्दै आएका सुकुम्बासी तथा अव्यवस्थित बसोबासीका टहरा हटाउने अभियानले उनीहरूको बसोबास मात्र खोसेन, कतिपय परिवारलाई मानसिक, आर्थिक र सामाजिक संकटमा समेत धकेलेको देखिएको छ। होल्डिङ सेन्टरमा लगेपछि खानासमेत नदिएर बलजफ्ती लखेट्ने प्रयास भयो । कीर्तिपुरदेखि भक्तपुरसम्मका सुकुम्वासीलाई भोकभोकै राखिएपछि उनीहरू आन्दोलित भए ।
सुरक्षा फौजको बलमा बस्ती हटाइएपछि विस्थापित भएका केही सुकुम्वासीले जीविका गर्नै समस्या भएपछि मृत्यु रोजेका छन् । राज्यले नै बलजफ्ती लखेटेपछि विस्थापनमा परेका उनीहरू त्यसबाट तनाव थेग्न नसकेर जीवन नै त्याग्न विवश भए । बागमती किराबाट लखेटेपछि विरक्तिएका सुकुम्वासी इन्द्रबहादुर राईले तत्कालै आत्महत्या गरेका थिए । त्यसपछि रविन तामाङ, हिरालाल हजारा र चम्बरबहादुर नेपाली हुँदै ज्यान गुमाउनेको संख्याले दर्जन नाघ्दैछ।
राज्यको गलत नीतिका कारण १८ वर्षीय रविन तामाङ, ५७ वर्षीय इन्द्रबहादुर राई, ५० वर्षीया कमला बलम्पाकी, ६८ वर्षीय कर्णबहादुर श्रेष्ठ, ३६ वर्षीय भेषराज दर्जी, ६६ वर्षीया पार्वती विक, ३९ वर्षीया सुशीला थापामगर, ७५ वर्षीया रटनदेवी मलाहानी र १८ महिनाका नाबालक उज्ज्वल तामाङको ज्यान गइसकेको छ।

उठिबासपछि मृत्यु रोजेका इन्द्रबहादुर
खोटाङ घर भई हाल बल्खुस्थित सुकुम्बासी बस्तीमा बसोबास गर्दै आएका थिए ५७ वर्षीय इन्द्रबादुर राई। बालेनले देशको कमान्ड सम्हालेपछि तारोमा परेका सुकुम्वासीका घर सुरक्षाकर्मीले बलपूर्वक भत्काएको हेर्न नसकेपछि गत वैशाख १८ गते बिहान विरक्तिएर हिँडेका थिए । त्यसको केहीबेरपछि उनको शव बागमती नदिमा तैरिरहेको अवस्थामा भेटियो ।
बल्खु क्षेत्रको नदी किनारका इन्द्रबहादुर अन्तत: राज्यको अन्याय सहन नसकेर नदी किनारमै बिलाए ।
चिन्ताले अस्ताए रविन
मनोहरा क्षेत्रको सुकुम्वासी बस्तीमा बस्दै आएका १८ वर्षीय रविन तामाङ पनि घरमा डोजर बज्रिने भएपछि हेर्न सकेनन्। घर भत्काउन डोजर आउने खबरले उनी बिरक्तिए। सरकारले बस्ती खाली गराउने अभियान थालेपछिको तनावका कारण उनले वैशाख १८ मा आत्महत्या गरे ।
भक्तपुरको थिमीस्थित सुकुम्बासी बस्तीका १९ वर्षीय युवा तामाङ आफ्नै घरको शौचालयमा झुण्डिएको अवस्थामा मृत भेटिए । सुकुम्वासी बस्ती खाली गर्न दुई दिनको म्याद दिएपछि उनी मानसिक तनावमा थिए। उनीसँग जीविकोपार्जनको उपाय थिए । बसिरहेको ठाउँबाट पनि हट्नुपर्ने भएपछि उनले आत्महत्या गरेको उनका बुवा हस्तबहादुरले बताए ।
रविनको मृत्युले नदी किनारमा बस्दै आएका परिवारमा त्रास फैलिएको थियो। वर्षौंदेखि बस्दै आएको ठाउँ एकाएक छाड्नुपर्ने अवस्था आएपछि उनीहरू कहाँ जाने भन्ने प्रश्न त्यसबेलादेखि नै थियो।
होल्डिङ सेन्टरमै हिरालालको मृत्यु
थापाथली क्षेत्रबाट विस्थापित गरिएका ५७ वर्षीय हिरालाल हजारालाई मध्यपुरथिमिको बोडेस्थित होल्डिङ सेन्टरमा स्थानान्तरण गरिएको थियो।
साउन २८ गते उनी त्यहीँ झुन्डिएको अवस्थामा मृत फेला परे। परिवारका अनुसार बस्ती हटाइएपछि उनी तनावमा थिए।
वर्षौंदेखि बस्दै आएको घर गुमाएर अस्थायी होल्डिङ सेन्टरमा बस्नुपर्ने अवस्था र त्यसबाट उत्पन्न तनावलाई परिवारले उनको अवस्थासँग जोडेको छ। तर आत्महत्याको कारणका रूपमा विस्थापनलाई औपचारिक रूपमा पुष्टि गर्न थप अनुसन्धान आवश्यक हुन्छ।

उपचार अभावमा बिते भेषबहादुर
सुकुमबासी बस्तीबाट विस्थापित भेषबहादुर दर्जीले समयमै औषधि र उपचार नपाउँदा गत जेठ २१ गते वीर अस्पतालमा ज्यान गुमाए । कीर्तिपुरको होल्डिङ सेन्टरमा बसिरहेका उनको वीर अस्पतालको आईसीयूमा उपचारका क्रममा मृत्यु भयो
दर्जीको स्वास्थ्यमा समस्या देखिए पनि उपचार पाएका थिएनन् । परिवारले नै उनलाई उपचारका लागि वीर अस्पताल लगेको थियो । अस्पताल पुग्दा दर्जीको फोक्सोमा पानी जमेको चिकित्सकले बताएका थिए । उनी लामो समयदेखि फोक्सोसम्बन्धी रोगका बिरामी रहेको परिवारले जनाएको छ । तर उनलाई समयमा राज्यले उपचार गर्न चासो नदिँदा ज्यान गुमाए ।
चम्बरबहादुर पनि गए
काठमाडौंको गैरीगाउँ क्षेत्रबाट विस्थापित भएका करिब ५० वर्षीय चम्बरबहादुर नेपालीले बुधबार आत्महत्या गरेका छन्। सातजनाको परिवार पाल्ने जिम्मा उनकै काँधमा थियो। तर सरकारले बलजफ्ती घर भत्काएपछि राहतस्वरूप दिएको २५ हजार रकमबाट ललितपुरको टीकाथलीमा डेरा लिएका थिए ।
सरकारको व्यवहारका कारण विस्थापनपछि नयाँ ठाउँमा जीवन सुरू गर्ने प्रयास गरेका उनले अन्ततः बुधबार आत्महत्या गरेको समाचार आयो । एकातिर घर र पुरानो बस्ती गुमाउनु, अर्कोतिर नयाँ ठाउँमा बसोबासको अनिश्चितता र आर्थिक कठिनाइको दबाब उनले थेग्न सकेनन्। चम्बरबहादुरको घटनाले विस्थापनपछि सुकुम्वासीले भोगेका कष्ट र सरकारको अकर्मण्यता छताछुल्ल पारिदिएको छ।
होल्डिङ सेन्टरमै बिते हिरालाल
गत २८ साउनमा भक्तपुरको मध्यपुरथिमि नगरपालिका-९, बोडेस्थित कृषि तालिम केन्द्रको होल्डिङ सेन्टरमा राखिएका ५७ वर्षीय सुकुम्बासी हिरालाल हजाराले पनि मृत्यु रोजे।
कीर्तिपुरको राधा स्वामी होल्डिङ सेन्टर डुबानमा परेपछि स्थानान्तरण गरी कृषि तालिम केन्द्रमा ल्याइएका बारा सुवर्ण गाउँपालिका–२ निवासी ५७ वर्षीय हिरालाल हजारा झुन्डिएको अवस्थामा भेटिए।
हजारा कृषि तालिम केन्द्रको तीनतले पक्की भवनको दोस्रो तलास्थित कोठा नम्बर २०७ मा भित्र मृत भेटिए। उनी उक्त कोठामा चुकुल लगाएको अवस्थामा मृत भेटिएका प्रहरीले जनाएको थियो ।
प्रहरीका अनुसार उनी कोठाभित्र फ्यान राख्न प्रयोग गरिएको फलामको हुकमा सलको पासो लगाएको अवस्थामा मृत भेटिए। उनी बिते तर सरकारका कानमा कुनै बतास चलेन ।
नदी किनारका बस्ती हटाएपछि मृत्यु भएका सुकुम्वासी ११ पुगेका छन् । यसलाई लिएर संसद्देखि सडकसम्म विरोध पनि भएको छ। तर सरकारको कानमा बतास चलेको छैन । गत असार ३१ गतेको प्रतिनिधिसभामा नेपाली कांग्रेसकी सांसद गीता गुरुङले डोजर अभियानपछि मृत्यु भएका सुकुम्वासीको नाम नै सुनाइन्।
उनले नाम सुनाएको सूचीमा रविन तामाङ, इन्द्रबहादुर राई, कमला बलम्पाकी, कर्णबहादुर श्रेष्ठ, भेषराज दर्जी, पार्वती विक, सुशीला थापा मगर, रतनदेवी मलाहानी र उज्ज्वल तामाङको नाम थियो । अब हिरालाल हजारा र चम्मरबहादुर नेपाली पनि थपिएका छन् ।

घर मात्रै भत्किएन
नदी किनारका बस्ती हटाएर सरकार अहिले त्यहाँ धनीहरूका लागि पार्क बनाउँदैछ । तर लखेटिएका सुकुम्वासीका लागि निवास बनाउनेतिर सरकारको ध्यान गएको छैन । टहरा भत्किएपछि त्यहाँका गरिब र सुकुम्वासीको हालत के हुन्छ भन्ने सरकारले अझैसम्म हिसाब गरेको छैन ।
वर्षौंदेखि कोही मानिस एउटै ठाउँमा रहरले बस्दैन । सहर सबैका लागि हो । धनी र गरिब सबैका लागि हो । नदी किनारमा बस्दै आएका परिवारका लागि घर केबल टहरामात्र थिएन । त्यहीँ उनीहरूको रोजगारी, सामाजिक सम्बन्ध, विद्यालय, छिमेक र दैनिक जीवन जोडिएको कुरालाई सरकारले भुलेको छ ।
वालेन्द्र सरकारले डोजर हानेर केही घण्टामै बस्ती त उजाड बनायो तर विस्थापनपछि उत्पन्न मानसिक तनाव, आर्थिक संकट र सामाजिक असुरक्षातर्फ उसले कुनै ध्यान दिएन । सरकारले बलजफ्ती हटाएपछि जीवन गुमाएका व्यक्तिको घटनालाई छुट्टाछुट्टै अनुसन्धान गर्नुपर्ने थियो । आत्महत्याको कारण नखोजी घटनालाई सामसुम पारिएको छ ।
विस्थापनपछि भएका मृत्युका घटनालाई बेवास्ता गर्नु सरकारका लागि गम्भीर भूल हुने सम्भावना छ । नदी किनारबाट बस्ती हटाएसँगै विस्थापित परिवारको पुनःस्थापना, आवास, रोजगारी र मानसिक तथा सामाजिक सुरक्षामा पनि गम्भीर लापरबाही भएको छ ।
जसले गरे आत्महत्या
| नाम | उमेर | बस्ती/स्थान | घटना |
| रविन तामाङ | १८/१९ वर्ष | मनोहरा | बस्ती खाली गराउने सूचना आएपछि मानसिक तनावमा परेका थिए । |
| इन्द्रबहादुर राई | ५७/६१ वर्ष | बल्खु | बस्ती भत्काइएको दिन घर भत्केको हेर्न नसक्ने भन्दै निस्किएका थिए। पछि बागमतीमा मृत फेला परे। |
| हिरालाल हजारा | ५७ वर्ष | थापाथलीबाट विस्थापित, बोडे होल्डिङ सेन्टर | साउन २८ मा होल्डिङ सेन्टरमा झुन्डिएको अवस्थामा मृत फेला परे। परिवारले घर भत्किएपछि तनावमा रहेको बताएको छ। |
| चम्बरबहादुर नेपाली | करिब ५० वर्ष | शान्तिनगर/गैरीगाउँबाट विस्थापित | घर भत्काइएपछि २५ हजार राहत लिएर टीकाथलीमा डेरामा बस्दै आएका थिए। |
यी ११ सुकुम्वासी, जसले गुमाए ज्यान
- रविन तामाङ, १८ वर्ष (आत्महत्या)
- इन्द्रबहादुर राई, ५७ वर्ष (आत्महत्या)
- कमला बलम्पाकी, ५० वर्ष
- कर्णबहादुर श्रेष्ठ, ६८ वर्ष
- भेषराज दर्जी, ३६ वर्ष (उपचार अभाव)
- पार्वती विक, ६६ वर्ष
- सुशीला थापा मगर, ३९ वर्ष
- रतनदेवी मलाहानी, ७५ वर्ष
- उज्ज्वल तामाङ, १८ महिना
- हिरालाल हजारा, ५७ वर्ष (आत्महत्या)
- चम्मरबहादुर नेपाली, ५० वर्ष (आत्महत्या)












प्रतिक्रिया