काठमाडौं- शेरबहादुर देउवा स्वदेश फर्केपछि पछिल्लो समय नेपाली कांग्रेसको विवाद उत्कर्षमा पुगेको छ । देउवा फर्केयता सभापति गगन थापाबीच संवाद हुन नसकेको नेताहरु बताउँछन् । देउवा पक्षका नेता रमेश लेखक गगन थापाहरूसँग पछिल्लो समय आफूहरुको संवाद टुटेको बताउँछन् ।
गगन थापा पक्ष १५औं महाधिवेशन गर्न अघि बढेपछि संस्थापन इतर समूह महाधिवेशनका गतिविधि रोक्न माग गर्दै अदालत जाने तयारीमा छ । सभापति गगनले नै संस्थापन इतरसमूहका नेताहरूसँग संवाद नगरेको लेखकको भनाइ छ । पाँच महिने विदेश बसाइँपछि २८ गते नेपाल आएका शेरबहादुर देउवा र गगन थापाबीच अहिलेसम्म भेटवार्ता र सम्पर्क नै नभएको लेखकको भनाइ छ ।
कांग्रेसको पछिल्लो अवस्था र मिलनविन्दुबारे नेपाली कांग्रेसका नेता रमेश लेखकसँग खबरहबरले कुराकानी गरेको छ । प्रस्तुत छ कुराकानीको सम्पादित अंश-
तपाईँहरू त महाधिवेशन रोक्नका लागि अदालत जाने हुनुभएछ है ?
अदालत त जानै पर्यो नि, होइन ? यत्रो दुःख गरेर बनाएको पार्टी हो, सबैलाई एक बनाएर जानुपर्ने भएकाले केही समय पर्खिदिनुस् त भन्नु पर्यो होला नि ! अदालत जानुपर्ने वातावरण बन्यो । गगनजीहरू आफ्नै तरिकाले अगाडि बढेपछि पार्टी मिलाउनका लागि पनि अदालत जाने बाध्यकारी अवस्था बनेको साथीहरुले विश्लेषण गर्नुभएछ ।
भोलि नै अदालत जानुहुन्छ होला है ?
सम्भवतः हुन्छ साथीहरुले तयारी गरिरहनुभएको होला।
अदालत जाने विषयमा संस्थापन इतर तपाईंहरु सबै एकजुट हो ?
साथीहरुले गरिराख्नुभएको छ । मैले यसमा बसेर धेरै काम गरेको छैन । सबै आउनुहुन्छ कि आउनुहुन्न, त्यसपछि मात्रै थाहा हुन्छ । अहिले मैले सबै भन्न सक्ने विषय भएन ।
शेरबहादुर देउवा नेपाल नआएसम्म गगन थापाहरू यहाँहरुको सम्पर्कमै हुनुहुन्थ्यो क्यारे, अहिले हुनुहुन्न ?
मसँग छैन । मेरो जानकारी अनुसार अरु साथीहरूसँग पनि कुरा भएको छैन । देउवा नेपाल आइसकेपछि पनि गगनजीहरूले उहाँसँग संवाद छलफल र भेटघाट गरेको मेरो जानकारीमा छैन । सायद हामी सबैसँग सम्पर्कमा हुनुहुन्न होला । मसँग पहिला कुराकानी संवाद भएको हो । पछिल्लो समय चाहिँ छैन ।
तपाईँहरू बिना नै उहाँहरु अगाडि बढ्न चाहनुभएको रहेछ ?
थाहा भएन । उहाँहरू संवादमै हुनुहुन्न । संवाद गरेर मिलाएर अगाडि बढ्नै चाहनुहुन्न भने यसमा हामीले कसरी जानकारी पाउने र ? हामीले त सकभर मिलाउन लामो प्रयत्न गरेको हो । तर उहाँहरु सम्पर्कमा नआएपछि अहिलेसम्म यसबारे जानकारी छैन ।
पूर्णबहादुर खड्का चाहिँ किन रिसाउनुभएको तपाईहरुसँग ?
कसरी रिसाउनु भयो र ? मलाई त जानकारी भएन । उहाँ अरू नेताहरूसँगै हुनुहुन्छ ।
अस्ति राष्ट्रिय भेला समापनमा पनि आउनुभएन ? गगन थापाहरूसँग संवादमा हुनुहुन्छ ?
त्यस्तो केही जानकारी छैन। उहाँहरूको कुरा के हो ।
तपाईँहरू मिल्नुहोला त ?
गगनजीहरू अहिले सम्पर्कमा हुनुहुन्न । उहाँहरु आफ्नै तयारीमा लागेपछि अब अरु साथीहरुले के गर्नुहुन्छ अदालतको आदेशपछि थाहा होला । लामो समय मिलाउन प्रयत्न गरिरहेँ, मलाई पनि नसकिने रहेछ भन्ने लागिसक्यो ।
हामी त बाहिर कांग्रेस फुटेको, नमिलेको मात्रै देखिरहन्छौं । खास एकताका लागि के के हुनुपर्छ तपाईंको विचारमा ?
एकताका लागि यो यो पक्ष यसरी लचिलो हुनुपर्छ भन्ने सुझाव गगनजीहरूलाई हामीले निकै अगाडि दिइसकेको हो । तर उहाँहरु आफ्नो अडानमा कायम हुनुभयो । एकताका लागि गगनजीले नै पहिला गम्भीर पहल गर्नुपर्यो । उहाँले गम्भीर पहल गरेको देखिएको छैन । मैले त प्रारम्भदेखि नै भनिराखेकै कुरा हो । पछिल्लो समय कोसँग के कुरा भइरहेको छ मलाई पनि त्यति जानकारी छैन । अरुसँग भएजस्तो पनि मलाई लाग्दैन ।
उहाँहरु एक्लै अगाडि बढ्न खोज्नुभएको हो ?
अब त्यो त्यस्तो देखिन्छ हेर्दा चाहिँ तर उहाँहरूको भित्री के छ भन्ने त बुझ्ने कुरा भएन । यता कुनै पनि नेतासँग संवाद छलफल र वार्ता नभएपछि आफू मात्रै अगाडि बढ्न खोज्या हो भन्ने चाहिँ विश्लेषण गर्न कठिन छैन । उहाँहरू आफै नै अगाडि बढ्न खोजेको हो कि भन्ने त अब यसै पनि देखियो नि किनभने पूर्व सभापति जस्तो व्यक्ति नेपाल आउनुभएको छ कुनै पनि हिसाबले भेटघाट छलफल र अरु नेतासँग पनि सम्पर्कमा नभएपछि कसरी विश्लेषण गर्ने र ?
तपाईहरुले गगन थापालाई सभापति नमानेका कारण रिसाउनु भएको छ रे नि ?
उहाँले शीर्ष नेतासहित हाम्रा पनि कुरा सुन्नुपर्ला । हामीले नेतृत्व नस्वीकारेको होइन, सबैलाई मिलाएर जानुहोस्, तपाईको नेतृत्व मानेर अगाडि बढ्न तयार छौँ भनेर स्पष्ट कुरा राखिसकेका छौँ । तर हाम्रो कुरामा उहाँहरु गम्भीर नहुने र आफ्नै कुराहरु मात्रै माथि पार्ने प्रवृत्तिका कारण पार्टी यो तहसम्म पुग्यो । सबै कुरा उहाँलाई भनिसकेको छ ।
उसो भए कांग्रेस फुट्छ?
कांग्रेस फुटाउने कि जुटाउने जिम्मा गगनजीहरुसँग छ । उहाँले आफूले पाएको जिम्मेवारीलाई नेतृत्वदायी भूमिकामा रहेर सबैसँग संवाद अगाडि बढाउनुभयो भने पार्टी एक हुन्छ । उहाँहरू यसरी नै आफ्नो दिशामा पुग्नुभयो भने त अदालतको फैसलापछि अर्को पक्षले पनि केही न केही त गर्ला नि ! यसबारे अहिले धेरै कुरा नबोलौं ।












प्रतिक्रिया