गगनजीहरू हामी कसैको सम्पर्कमा हुनुहुन्न : रमेश लेखक (अन्तर्वार्ता) « Khabarhub

गगनजीहरू हामी कसैको सम्पर्कमा हुनुहुन्न : रमेश लेखक (अन्तर्वार्ता)



काठमाडौं- शेरबहादुर देउवा स्वदेश फर्केपछि पछिल्लो समय नेपाली कांग्रेसको विवाद उत्कर्षमा पुगेको छ । देउवा फर्केयता सभापति गगन थापाबीच संवाद हुन नसकेको नेताहरु बताउँछन् । देउवा पक्षका नेता रमेश लेखक गगन थापाहरूसँग पछिल्लो समय आफूहरुको संवाद टुटेको बताउँछन् ।

गगन थापा पक्ष १५औं महाधिवेशन गर्न अघि बढेपछि संस्थापन इतर समूह महाधिवेशनका गतिविधि रोक्न माग गर्दै अदालत जाने तयारीमा छ । सभापति गगनले नै संस्थापन इतरसमूहका नेताहरूसँग संवाद नगरेको लेखकको भनाइ छ । पाँच महिने विदेश बसाइँपछि २८ गते नेपाल आएका शेरबहादुर देउवा र गगन थापाबीच अहिलेसम्म भेटवार्ता र सम्पर्क नै नभएको लेखकको भनाइ छ ।

कांग्रेसको पछिल्लो अवस्था र मिलनविन्दुबारे नेपाली कांग्रेसका नेता रमेश लेखकसँग खबरहबरले कुराकानी गरेको छ । प्रस्तुत छ कुराकानीको सम्पादित अंश-

तपाईँहरू त महाधिवेशन रोक्नका लागि अदालत जाने हुनुभएछ है ?

अदालत त जानै पर्‍यो नि, होइन ? यत्रो दुःख गरेर बनाएको पार्टी हो, सबैलाई एक बनाएर जानुपर्ने भएकाले केही समय पर्खिदिनुस् त भन्नु पर्‍यो होला नि ! अदालत जानुपर्ने वातावरण बन्यो । गगनजीहरू आफ्नै तरिकाले अगाडि बढेपछि पार्टी मिलाउनका लागि पनि अदालत जाने बाध्यकारी अवस्था बनेको साथीहरुले विश्लेषण गर्नुभएछ ।

भोलि नै अदालत जानुहुन्छ होला है ?

सम्भवतः हुन्छ साथीहरुले तयारी गरिरहनुभएको होला।

अदालत जाने विषयमा संस्थापन इतर तपाईंहरु सबै एकजुट हो ?

साथीहरुले गरिराख्नुभएको छ । मैले यसमा बसेर धेरै काम गरेको छैन । सबै आउनुहुन्छ कि आउनुहुन्न, त्यसपछि मात्रै थाहा हुन्छ । अहिले मैले सबै भन्न सक्ने विषय भएन ।

शेरबहादुर देउवा नेपाल नआएसम्म गगन थापाहरू यहाँहरुको सम्पर्कमै हुनुहुन्थ्यो क्यारे, अहिले हुनुहुन्न ?

मसँग छैन । मेरो जानकारी अनुसार अरु साथीहरूसँग पनि कुरा भएको छैन । देउवा नेपाल आइसकेपछि पनि गगनजीहरूले उहाँसँग संवाद छलफल र भेटघाट गरेको मेरो जानकारीमा छैन । सायद हामी सबैसँग सम्पर्कमा हुनुहुन्न होला । मसँग पहिला कुराकानी संवाद भएको हो । पछिल्लो समय चाहिँ छैन ।

तपाईँहरू बिना नै उहाँहरु अगाडि बढ्न चाहनुभएको रहेछ ?

थाहा भएन । उहाँहरू संवादमै हुनुहुन्न । संवाद गरेर मिलाएर अगाडि बढ्नै चाहनुहुन्न भने यसमा हामीले कसरी जानकारी पाउने र ? हामीले त सकभर मिलाउन लामो प्रयत्न गरेको हो । तर उहाँहरु सम्पर्कमा नआएपछि अहिलेसम्म यसबारे जानकारी छैन ।

पूर्णबहादुर खड्का चाहिँ किन रिसाउनुभएको तपाईहरुसँग ?

कसरी रिसाउनु भयो र ? मलाई त जानकारी भएन । उहाँ अरू नेताहरूसँगै हुनुहुन्छ ।

अस्ति राष्ट्रिय भेला समापनमा पनि आउनुभएन ? गगन थापाहरूसँग संवादमा हुनुहुन्छ ?

त्यस्तो केही जानकारी छैन। उहाँहरूको कुरा के हो ।

तपाईँहरू मिल्नुहोला त ?

गगनजीहरू अहिले सम्पर्कमा हुनुहुन्न । उहाँहरु आफ्नै तयारीमा लागेपछि अब अरु साथीहरुले के गर्नुहुन्छ अदालतको आदेशपछि थाहा होला । लामो समय मिलाउन प्रयत्न गरिरहेँ, मलाई पनि नसकिने रहेछ भन्ने लागिसक्यो ।

हामी त बाहिर कांग्रेस फुटेको, नमिलेको मात्रै देखिरहन्छौं । खास एकताका लागि के के हुनुपर्छ तपाईंको विचारमा ?

एकताका लागि यो यो पक्ष यसरी लचिलो हुनुपर्छ भन्ने सुझाव गगनजीहरूलाई हामीले निकै अगाडि दिइसकेको हो । तर उहाँहरु आफ्नो अडानमा कायम हुनुभयो । एकताका लागि गगनजीले नै पहिला गम्भीर पहल गर्नुपर्‍यो । उहाँले गम्भीर पहल गरेको देखिएको छैन । मैले त प्रारम्भदेखि नै भनिराखेकै कुरा हो । पछिल्लो समय कोसँग के कुरा भइरहेको छ मलाई पनि त्यति जानकारी छैन । अरुसँग भएजस्तो पनि मलाई लाग्दैन ।

उहाँहरु एक्लै अगाडि बढ्न खोज्नुभएको हो ?

अब त्यो त्यस्तो देखिन्छ हेर्दा चाहिँ तर उहाँहरूको भित्री के छ भन्ने त बुझ्ने कुरा भएन । यता कुनै पनि नेतासँग संवाद छलफल र वार्ता नभएपछि आफू मात्रै अगाडि बढ्न खोज्या हो भन्ने चाहिँ विश्लेषण गर्न कठिन छैन । उहाँहरू आफै नै अगाडि बढ्न खोजेको हो कि भन्ने त अब यसै पनि देखियो नि किनभने पूर्व सभापति जस्तो व्यक्ति नेपाल आउनुभएको छ कुनै पनि हिसाबले भेटघाट छलफल र अरु नेतासँग पनि सम्पर्कमा नभएपछि कसरी विश्लेषण गर्ने र ?

तपाईहरुले गगन थापालाई सभापति नमानेका कारण रिसाउनु भएको छ रे नि ?

उहाँले शीर्ष नेतासहित हाम्रा पनि कुरा सुन्नुपर्ला । हामीले नेतृत्व नस्वीकारेको होइन, सबैलाई मिलाएर जानुहोस्, तपाईको नेतृत्व मानेर अगाडि बढ्न तयार छौँ भनेर स्पष्ट कुरा राखिसकेका छौँ । तर हाम्रो कुरामा उहाँहरु गम्भीर नहुने र आफ्नै कुराहरु मात्रै माथि पार्ने प्रवृत्तिका कारण पार्टी यो तहसम्म पुग्यो । सबै कुरा उहाँलाई भनिसकेको छ ।

उसो भए कांग्रेस फुट्छ?

कांग्रेस फुटाउने कि जुटाउने जिम्मा गगनजीहरुसँग छ । उहाँले आफूले पाएको जिम्मेवारीलाई नेतृत्वदायी भूमिकामा रहेर सबैसँग संवाद अगाडि बढाउनुभयो भने पार्टी एक हुन्छ । उहाँहरू यसरी नै आफ्नो दिशामा पुग्नुभयो भने त अदालतको फैसलापछि अर्को पक्षले पनि केही न केही त गर्ला नि ! यसबारे अहिले धेरै कुरा नबोलौं ।

प्रकाशित मिति : ४ भाद्र २०८३, बिहीबार  ७ : ३७ बजे

कर्णालीको विकासमा केन्द्रित हुन प्रदेश प्रमुख जोशीको आग्रह

कर्णाली– कर्णाली प्रदेश प्रमुख यज्ञराज जोशीले कर्णालीको विकासमा केन्द्रित हुन

‘संविधानको प्रभावकारी कार्यान्वयनबाट लोकतान्त्रिक गणतन्त्र बलियो हुन्छ’

विराटनगर– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले संविधानको प्रभावकारी कार्यान्वयनबाट लोकतान्त्रिक

रूपन्देहीबाट ८३ फरार प्रतिवादी पक्राउ, फैसला कार्यान्वयनमा जोड

रूपन्देही– जिल्ला प्रहरी कार्यालय रूपन्देहीले अदालतको फैसला कार्यान्वयनका क्रममा गत

यमनमा साउदी हवाई आक्रमण तीव्र

यमन- यमनमा हुथी विद्रोही र साउदी नेतृत्वको गठबन्धनबीचको तनाव चर्किँदै गएको

संविधानको संरक्षणसँगै राष्ट्रिय एकतामा जोडिन आवश्यक : मन्त्रिपरिषद्का पूर्वअध्यक्ष रेग्मी

काठमाडौं – मन्त्रिपरिषद्का पूर्वअध्यक्ष तथा पूर्वप्रधानन्यायाधीश खिलराज रेग्मीले संविधानको संरक्षण गर्दै राष्ट्रिय एकता