काठमाडौं – काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले महानगरपालिकाका असल अभ्यासलाई निरन्तरता दिँदै जनताका अपेक्षालाई प्राथमिकता दिँदै काम गर्न विभागीय प्रमुखहरूलाई निर्देशन दिएकी छन् ।
मंगलबार आयोजित पहिलो विभागीय बैठकमा डंगोलले भनिन्, ‘सुशासन, नागरिक अपेक्षा र असल तथा सफल अभ्यासको निरन्तरता सुनिश्चित गर्न हाम्रो दृष्टि एकै ठाउँमा हुनुपर्छ। आन्तरिक तथा बाह्य सम्बन्ध सुदृढ पार्दै पारदर्शिता, इमान्दारिता र जनभावनाप्रति उत्तरदायी भएर काम गर्नुहोस्।’
उनले विभागीय प्रमुखहरूलाई नागरिकले महसुस गर्ने सुविधा र सहजतामा ध्यान दिन सुझाव दिइन्। साथै, समन्वय, सहकार्य र साझेदारीलाई सुदृढ बनाउँदै पुँजीगत खर्च गर्ने क्षमता बढाउनुपर्नेमा जोड दिइन्। डंगोलले योजना कार्यान्वयनमा प्रभावकारिता सुनिश्चित गर्न पनि निर्देशन दिइन् ।
कार्यवाहक प्रमुखले भोलिदेखि विभागीय र क्षेत्रगत उपलब्धिका विषयमा निरन्तर जानकारी लिने र नतिजा सुधार गर्ने एजेन्डामा छलफल गर्ने कार्यक्रम तय भएको छ। बैठकमा प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं र अन्य विभागीय प्रमुखहरूको उपस्थिति थियो ।













प्रतिक्रिया