काठमाडौं– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनसँगै कांग्रेस–एमालेका दर्जनौँ नेताहरू राजनीतिबाट किनारा लाग्ने देखिएको छ ।
कतिपय उमेरको कारण र कतिपयले टिकट पाउन नसक्दा संसदीय राजनीतिबाट किनारा लाग्ने स्थिति देखिएको छ भने कतिपयले स्वेच्छिक रूपमा आफ्नो संसदीय यात्रालाई बिट मारेका छन् ।
गत भदौ २३ र २४ गते जेन-जी पुस्ताका युवाले गरेको आन्दोलले नेपाली राजनीतिमा उठाएको पुस्तान्तरण मागको दबाब पनि राजनीतिक दलमा पर्न पुग्दा कतिपय नेतृत्व तहमा रहेका व्यक्तिहरूलाई राजनीतिबाट किनारा लगाउन दबाबको वातावरण बन्न पुगेको थियो ।
जेनजी आन्दोलनसँगै राष्ट्रिय राजनीतिमा पैदा भएको नयाँ शक्ति सन्तुलन र त्यसको पार्टी राजनीतिमा परेको प्रभावका कारण पनि धेरै नेतृत्वहरू संसदीय राजनीतिबाट किनारा लाग्नुपर्ने स्थिति बनेको देखिन्छ ।
कांग्रेसबाट दर्जनौँ नेता लागे पाखा
फागुन २१ गते हुने निर्वाचनसँगै नेपाली कांग्रेसबाट दर्जनौँ नेता संसदीय राजनीतिबाट पाखा लागेका छन् । लामो समयदेखि पार्टी नेतृत्व र शक्तिमा प्रभाव जमाउँदै आएका शेरबहादुर देउवा दम्पत्तिका दुबै जनाले यसपटक आफ्नै पार्टीबाट टिकट पाउन सकेनन् ।
०४६ सालको राजनीतिक परिवर्तनपछि डडेलधुरा जिल्लाबाट निरन्तर निर्वाचित हुँदै आएका र विभाजित पार्टी सहित ३ पटक सभापति बनेका देउबा गगन थापा नेतृत्वको टिमले विशेष महाधिवेशनबाट पार्टी कब्जा गरेपछि शक्तिहीन बन्न पुगेका हुन् । श्रीमानसँगै रहेर राजनीतिक शक्तिको अभ्यास गर्दै आएकी देउवा पत्नि आरजु देउवाले पनि टिकट प्राप्त गर्न नसकी किनारा लाग्ने अवस्था बनेको छ ।
त्यस्तै, नेपाली कांग्रेसको केन्द्रीय शक्ति वरिपरि रहेर सत्ता अभ्यास गर्दै आएका पूर्व उपसभापतिद्वय गोपालमान श्रेष्ठ र पूर्णबहादुर खड्का दुवै जना यसपटक संसदीय निर्वाचनबाट बाहिरिए । गगन थापाको उदयपछि त्यसको प्रत्यक्ष प्रभाव काठमाडौंको टिकट वितरणमा परेको छ । यसअघिको चुनावमा उपत्यकाको टिकटमा एकलौटी जमाउँदै आएका प्रकाशमानसिंह यसपटक आफैं टिकट पाउनबाट वञ्चित बनेका छन् ।
कांग्रेसभित्र बाउबाजेका नाममा राजनीतिमा प्रभाव छोड्दै आएका नेपो बेबीको चुरीफुरीमा थान्को लागेको छ । चार कार्यकाल बीपीपुत्रको नाममा चुनाव जित्दै आएका डा. शशांक कोइराला यसपटक टिकट प्राप्तिका लागि योग्य ठहरिएनन् । उनीविरुद्ध नवलपरासीका कार्यकर्ताले टिकट नदिन खबरदारी गरेको बताइन्छ ।
मधेश प्रदेशमा आफू अनुकूलका नेता, कार्यकर्तालाई टिकट बाँड्दै आएका विमलेन्द्र निधि आफ्नो टिकट सुरक्षित गर्न भने बालबाल सफल भएका छन् । पूर्वउपसभापति धनराज गुरुङ, पूर्व सहमहामन्त्री शशांक कोइराला, जेन-जी आन्दोलनपूर्व गृहमन्त्री बनेका रमेश लेखक, मोहनबहादुर बस्नेत, रामहरि खतिवडा, हृदयराम थानी, बलबहादुर केसी, बद्री पाण्डे, जीवन परियार लगायत थुप्रै कांग्रेसका चर्चित नेता तथा पुराना अनुहारहरू यसपटक संसदीय चुनावको प्रतिस्पर्धाबाट बाहिरिएका छन् ।
त्यसैगरी, कांग्रेस नेतृ सुजाता कोइराला पनि यसपटक निराश बनिन् । बागमती प्रदेशको अर्थमन्त्री भएका कुन्दन काफ्लेको संसदमा आउने धोको पूरा भएन । टिकट पाउने विश्वासमा उनले प्रदेश सांसदबाट राजीनामा गरेका थिए । उनी कृष्णप्रसाद सिटौला निकट मानिन्छन् ।
एमालेमा पेलिए ओली इतरका नेता
जेनजी आन्दोलनको निशाना बनेका पूर्व प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओली पार्टीमा फेरि पुरानै ढंगले शक्तिमा आएर पार्टीको महाधिवेशनदेखि संसदीय चुनावको टिकट बाँड्ने बेलासम्म आफ्नो इतर पक्षलाई पेल्ने काम गरे ।
ओलीले पार्टीमा आफूलाई असहयोग गर्ने र आफूसँग प्रतिस्पर्धा गर्ने पक्षमध्ये केहीलाई टिकट दिएनन् भने केहीलाई थकाएर गलाएर मात्रै दिए । कम्युनिष्ट पार्टीमा जीवनभर राजनीति गर्दै आएका पार्टीका पूर्व उपाध्यक्षद्वय अष्टलक्ष्मी शाक्य र युवराज ज्ञवाली पार्टीको महाधिवेशनबाट नै किनारा लागेका थिए । उनीहरू संसदीय निर्वाचनको टिकटको दौडमा पनि सहभागी भएनन् ।
ओलीले आफू इतरको राजनीति गरेको भनेर पार्टीका पूर्वउपाध्यक्ष सुरेन्द्र पाण्डे, पार्टीका उपमहासचिव योगेश भट्टराई सहित गोकुल बास्कोटा, झपट रावल, कर्ण थापा लगायतका नेतालाई संसदीय निर्वाचनको टिकट दिएनन् ।
त्यस्तै, ओलीले विष्णु रिजाल, यज्ञराज सुनुवार, विशाल भट्टराई, निरज आचार्य लगायतका दर्जनौँ नेतालाई टिकट नदिएर संसदीय चुनावको राजनीतिबाट किनारा लगाउने प्रयत्न गरे ।













प्रतिक्रिया