कांग्रेस, एमालेदेखि रास्वपासम्म विद्रोह : कहाँ कहाँ पर्‍यो बागी उम्मेदवारी ? « Khabarhub

कांग्रेस, एमालेदेखि रास्वपासम्म विद्रोह : कहाँ कहाँ पर्‍यो बागी उम्मेदवारी ?


६ माघ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 4 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधि सभाको निर्वाचनमा मंगलबार उम्मदेवारी दर्ता हुँदा ठाउँ ठाउँमा असन्तुष्टि र विद्रोह भएको छ।

ठूला दलहरू नेकपा एमाले, नेपाली कांग्रेस र नेपाली कम्युनिस्ट पार्टीमा पनि विद्रोह भएर बागी उठेका छन् ।

काठमाडौं १ मै विद्रोह

नेपाली कांग्रेसको काठमाडौं क्षेत्र नम्बर १ मै विद्रोह भएको छ । सभापति गगनकुमार थापाले लगातार चार पटक जितेका प्रकाशमान सिंहलाई टिकट नदिएपछि यहाँ नयाँले अवसर पाएका थिए ।

यहाँ सभापति थापाले जिल्ला कार्यसमितिबाट सिफारिस नै नभएका प्रवल थापालाई टिकट दिइएपछि बाबुराम आचार्यल‍े बागी उम्मेदवारटी दिएका छन् ।

उनी काठमाडौं १ का लागि जिल्लाबाट उम्मेदवार सिफारिस भएका थिए । तर टिकट नपाएपछि उनी बागी उम्मेदवार बनेका हुन् ।

यहाँ प्रकाशमान सिंह र आचार्यसहित सिफारिस भएका थिए । सिफारिसमा नै नपरेका थापालाई उम्मेदवार बनाइएपछि आचार्यले विद्रोह गरे ।

कपिलवस्तुमा पनि बागी

यता कांग्रेसका युवा नेता आशीष शर्माले कपिलवस्तु क्षेत्र नम्बर १ मा स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

जिल्ला कार्यसमितिले सिफारिस गरे पनि पार्टी केन्द्रबाट अतहर कमाललाई टिकट दिएपछि उनले विद्रोह गरेका हुन् ।

नेकपामा पनि विद्रोह

उता सिन्धुली क्षेत्र नं. २ मा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता महेश्वर दाहालले विद्रोह गरेका छन् ।

नेकपाले टिकट दिएका उम्मेदवार लेखनाथ दाहाल राजनविरुद्ध जिल्ला कार्यसमितिमा विद्रोह भएको हो । जिल्ला पार्टीको निर्णयअनुसार वरिष्ठ पत्रकारसमेत रहेका महेश्वर दाहालले बागी उम्मेदवारी दिएका छन् ।

नेकपाका जिल्ला नेताहरूको उपस्थितिमा महेश्वरको उम्मेदवारी परेको हो । महेश्वरलाई नेताहरू हरिबोल गजुरेल, वसन्त माझी, पनीराज बम्जन र विनोद विकको साथ मिलेको छ।

जिल्ला उमेदवार सिफारिस कार्यदललाई नाघेर नेकपाले लेखनाथलाई टिकट दोहोर्‍याएपछि महेश्वरलाई अघि सारिएको हो । दाहाल जनयुद्धकालीन क्रान्तिकारी पत्रकार संघका संस्थापक अध्यक्ष पनि हुन् ।

मेटमणिविरुद्ध बागी

अर्कातिर नेपाली कम्युनिस्ट पार्टी(नेकपा)का नेता कुलप्रसाद केसीले दाङ-१ बाट मेटमणि चौधरीविरुद्ध स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

संयोजक पुष्पकमल दाहाल प्रचण्डले मेटमणिलाई टिकट दिएपछि असन्तुष्ट लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री केसीले स्वतन्त्र उम्मेदवारी दिएका हुन् ।

केसीको उम्मेदवारीबाट दाङ-१ मा नेकपाको बागी उम्मेदवारी दर्ता भएको छ । नेकपाबाटै बागी पर्दा मेटमणिलाई चुनाव जित्न गाह्रो हुने देखिएको छ।

महेन्द्रविरुद्ध जीवन बुढा

कर्णालीको कालिकोटमा पनि त्यहाँका पूर्वमुख्यमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता महेन्द्रबहादुर शाहीविरुद्ध पनि बागी परेको छ।

महेन्द्रबहादुर शाहीविरुद्ध नेकपाकै नेता जीवन बुढाले बागी उम्मेदवारी दिएका छन् ।

बुढाले पार्टीलाई चुनौती दिँदै स्वतन्त्र उम्मेदवारी दर्ता गराए। महेन्द्रले पटकपटक अवसर पाइसकेको पनि अझै त्याग गर्न नसकेको बुढाले बताए । अझै नयाँ पुस्ता र अरु नेतालाई शाहीले अवसर दिन तयार नभएकाले उम्मेदवारी दिनुपरेको उनले बताए।

जीवन बुढा राष्ट्रिय सभा सदस्य भइसकेका छन् । उनले शाहीलाई उम्मेदवार नबन्न भनेका थिए । उता शाही नेकपाका बलिया नेता हुन् । उनले २०७० र ०७९ को प्रतिनिधि सभा निर्वाचन जितेका छन् । ०७४ को प्रदेश सभा निर्वाचन जितेर उनी मुख्यमन्त्री पनि बने ।

अस्मिताविरुद्ध अम्बिर

उता ओखलढुंगामा नेकपा एमालेका प्रभावशाली नेता अम्बिरबाबु गुरुङ विद्रोह गर्दै नेकपामा प्रवेश गरेका छन् । यसअघि टिकट लिएका रामकुमार कार्कीलाई ब्याक गराएर नेकपाले अम्बरिलाई उठाएको हो । उनी हेलिकप्टरबाट मनोयनका लागि ओखल्ढुङ्गा पुगेका छन् ।

अध्यक्ष केपी शर्मा ओलीले जिल्ला कमिटीको सिफारिस सूचीमै नरहेकी अस्मिता थापालाई उम्मेदवार बनाएपछि ओखलढुंगा एमालेमा ठूलो विवाद भएको छ।

लिखु गाउँपालिकाकी उपाध्यक्षसमेत रहेकी अस्मितालाई ओलीले च्यापेपछि जिल्ला अध्यक्ष ज्ञानबहादुर खड्काले चुनावी अभियानमा जान नसकिने घोषणा नै गरे । उता भ्रातृसंगठनहरूले एमाले कार्यालयमा ताला पनि लगाए ।

यो विवादबीच गुरुङले पार्टी छाडेपछि ओखलढुंगा एमालेमा संकट आएको छ। गुरुङ एमाले सचिव शेरधन राईका भरोसायोग्य सहयोगी र विश्वापात्र पनि थिए । गुरूङ यसअघि कोशी प्रदेशमा भौतिक पूर्वाधार राज्यमन्त्री बनेका थिए ।

ओलीले जिल्ला कमिटीको निर्णय लत्याउँदै सिफारिसमै नपरेकी थापालाई ‘खल्तीबाट टिकट दिएको’ जिल्ला र प्रदेशका नेताले गुनासो गरेका छन् ।

गत पुस २३ गतेको जिल्ला कमिटीको सातौँ विस्तारित बैठकले नेता ईश्वर पोखरेलसहित पाँच जनाको नाम सिफारिस गरेको थियो।

सिफारिस हुनेमा गुरुङ, यज्ञराज सुनुवार, नानीबाबु बुढाथोकी र ज्ञानबहादुर खड्का थिए। तर ओलीले अस्मितालाई च्यापेर अरू नेताको आत्सम्मानमा चोट पुर्‍याएको गुरूङको तर्क छ।

सचिवालय बैठकमा यज्ञराज वा अम्बिरबाबुमध्ये एकलाई नै टिकट दिनुपर्ने बहुमत नेताहरूको माग थियो ।

तर ओलीले अस्तिमालाई आफ्नै जोडबलमा उम्मेदवार बनाए । यसले ओखलढुंगा एमालेमा भाँडभैलो भएको छ। एमालेको भाँडभैलोको फाइदा कांग्रेस, नेकपा र रास्वपालाई पुग्ने देखिएको छ।

रास्वपामा पनि झमेला

उता ओखलढुंगामै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विश्वराज पोखरेलविरूद्ध पनि बागी परेको छ। युवा नेता बिक्रम दहालले ओखलढुंगाबाट स्वतन्त्र रूपमा मनोनयन दर्ता गराएका छन्।

रास्वपाले भेदभाव गरेको गुनासोसहित उनले स्वतन्त्र उम्मेदवारी दिएपछि विश्वराजलाई दबाब पर्ने देखिएको छ।

कांग्रेसमा अर्को विद्रोह

नेपाली कांग्रेसबाट कैलाली क्षेत्र नम्बर २ मा उठेका विजय स्वारविरुद्ध पनि बागी उम्मेदवारी परेको छ।

त्यहाँ मोहनसिंह राठौरले उम्मेदवारी दिएका छन्। कैलाली क्षेत्र नं २ मा २०७४ को चुनावमा आफ्नै स्वकीय सचिव झपट रावलसँग राठौर २०७४ सालमा पराजित भएकाभ थिए ।

त्यसपछि पूर्वशिक्षा राज्यमन्त्री मोहन राठौर नेपाली कांग्रेसमा प्रवेश गरेका थिए । कैलाली क्षेत्र नम्बर २ को क्षेत्रीय समितिले प्रतिनिधिसभाको प्रत्यक्षतर्फ १० जनाको नाम सिफारिस गरेको थियो ।

जसमा कृष्णराज पाण्डे, घनश्याम जोशी, विजयबहादुर स्वाँर, हिमबहादुर रावल, गोपालबहादुर बम, वीरबहादुर थारू, नमराज उपाध्याय, जितेन्द्र उपाध्याय र मोहनसिंह राठौर थिए । सिफारिसमध्येकै स्वाँरले टिकट पाएसँगै राठौरले विद्रोह गर्दै स्वतन्त्र उम्मेदवारी दिएका हुन् ।

प्रकाशित मिति : ६ माघ २०८२, मंगलबार  ६ : ३९ बजे

देशभर ३४ सय ८४ उमेदवारको मनोनयन दर्ता, ११८७ स्वतन्त्र

काठमाडौं- प्रतिनिधिसभा सदस्य निर्वाचनका निम्ति मंगलबार देशभर मनोनयन दर्ता गरियो

एमालेले उठायो १६५ क्षेत्रमै उम्मेदवार (सूचीसहित)

काठमाडौँ– नेकपा एमालेले यसपटकको निर्वाचनका लागि १६५ वटै निर्वाचन क्षेत्रमा

दमकमा रास्वपा कार्यकर्ताद्वारा आक्रमण गरिएको भन्दै एमालेद्वारा भर्त्सना

दमक (झापा)- नेकपा (एमाले)ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यकर्ताले आफ्ना

निर्वाचन शान्तिपूर्ण र निष्पक्ष रूपमा सम्पन्न गर्न सरकार प्रतिबद्ध : प्रधानमन्त्री

काठमाडौं- सम्माननीय प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते हुने

तोडियो चुनावअघि गठबन्धन गर्ने दलहरूको परम्परा

काठमाडौं – दलहरुबीच चुनावअघि नै गठबन्धन गर्ने परम्परा यसपटक उल्टिएको