काठमाडौं- प्रतिनिधि सभामा ३८ सिट जितेको नेपाली कांग्रेसले यतिबेला निर्वाचनको समीक्षा गरिरहेको छ । आफ्नो परम्परागत निर्वाचन क्षेत्र काठमाडौं–४ छाडेर सर्लाही–४ झरेका सभापति गगनकुमार थापाले पनि चुनाव जित्न सकेनन् । यससँगै उनले नैतिकताका आधारमा पदबाट राजीनामा दिएका छन् । सभापति थापा मात्रै होइन, पार्टीका कुनै पनि पदाधिकारीले यसपाली जित हासिल गर्न सकेनन् । शुक्रबार जारी केन्द्रिय कार्यसमिति बैठकले सभापति थापाको राजीनामादेखि प्रतिनिधि सभा निर्वाचनको समीक्षा गर्दै संसदीय दलको नेता समेत चयन गर्नेछ । सभापति थापासहित पदाधिकारी र हेभिवेट नेता सबैले हार व्यहोर्दा डोटीबाट कांग्रेसका केन्द्रीय सदस्य भरतबहादुर खड्का प्रत्यक्ष निर्वाचित भएका छन् ।
०१४ सालमा साविक खिरसैन गाविसमा जन्मिएका भरतबहादुर खड्का डोटीको पूर्वीचौकी गाउँपालिका–१ का स्थायी बासिन्दा हुन् । उनले ०३२ सालदेखि नेपाल विद्यार्थी संघमार्फत विद्यार्थी राजनीति सुरु गरेका हुन् । ०३९ सालमा स्नातक पूरा गरेलगत्तै २३ वर्षकै उमेरमा खिरसैन गाउँ पञ्चायतको प्रधानपञ्च निर्वाचित हुँदै उनी पहिलो पटक जनप्रतिनिधि बने । ०७० सालमा संविधानसभा सदस्य बनेका उनी ०७४ मा प्रदेशसभा सांसद भए ।
खड्का संसदीय दलको नेताका रुपमा चर्चा भएका पात्र पनि हुन । वैकल्पिक शक्तिको दबदबाबीच कसरी उनको विजय सम्भव भयो ? सुधारिएको कांग्रेस २.० मार्फत निर्वाचनमा गएपनि पार्टीले किन पराजय भोग्यो ? कहाँ केकस्ता कमजोरी भए ? अब सरकारमा प्रमुख प्रतिपक्षी दल कांग्रेसको भूमिका कस्तो हुन्छ ? यस्तै विषयमा खबरहबले खड्कासँग कुराकानी गरेको छ । प्रस्तुत छ कुराकानीको सम्पादित अंश-
नयाँ शक्तिको चुनौती, पार्टीभित्रको आन्तरिक मतभेद, त्यसमाथि मतदाताले युवा उम्मेदवार चाहिरहेका बेला यहाँले जित निकाल्नुभयो । मतदाताले यहाँलाई पत्याउनुको आधार के थिए ?
चार दशकदेखि मैले डोटीको सामाजिक, आर्थिक र पूर्वाधार विकासका लागि निरन्तर काम गर्दै आएको छु । पदमा हुँदा वा नहुँदा राजनीतिलाई पेशा होइन, सेवा मानेर म सधैँ जनतासँगै रहेँ । झुट र गलतविरुद्ध स्पष्ट रूपमा बोल्ने मेरो स्वभाव छ । कम बोल्छ तर बोलेको पूरा गर्छ भन्ने मतदाताको विश्वास राख्न सकेको छु जस्तो लाग्छ । ०३० सालमा विद्यार्थी राजनीतिबाट सुरु भएको मेरो यात्रा पार्टीको जिल्ला सभापति, संविधानसभा सदस्य, प्रदेशसभा सदस्य हुँदै अहिले प्रतिनिधि सभासम्म पुगेको छ । राजनीतिमा लागेको पाँच दशक बित्दासमेत जनसेवाप्रतिको मेरो ऊर्जा घटेको छैन र नैतिकतामा आधारित राजनीतिलाई निरन्तरता दिँदै आएको छु । हिजो डोटीको सदरमुकाम दिपायलबाट अन्त सार्ने विषयमा पार्टीविपरीत गएर पनि मैले जनताको पक्षमा उभिएको छु, जसले मेरो अडान र नैतिकता देखाउँछ ।
विगतको निर्वाचनमा भोगेका चुनौतीलाई कसरी सम्झनुहुन्छ ?
म जहिल्यै पनि अफ्ठ्यारो अवस्थामा जित निकाल्ने पात्र हुँ । कठिन समयमा पनि जनताको विश्वास जित्दै आएको छु । ०७४ मा कम्युनिष्टको दुई तिहाइ बहुमत हुँदा पनि गठबन्धन उम्मेदवारलाई हराएर जित्नु यसको उदाहरण हो । त्यसैले राजनीतिमा उमेरभन्दा पनि काम गर्ने क्षमता नै मुख्य आधार हुनुपर्छ भन्ने मेरो धारणा छ । अहिले जनताले नयाँलाई छाने । यो लोकतान्त्रिक प्रक्रिया हो, यसलाई सहज रुपमा लिनुपर्छ । विगतमा दलहरूले अपेक्षित काम गर्न नसक्दा सत्ता गुमाउनुपरेको यथार्थ हामीले स्वीकार्नुपर्छ, तर राजनीति भने हारिएको छैन । अबको राजनीति संविधानको रक्षा, सुशासन, भ्रष्टाचार नियन्त्रण र आर्थिक समृद्धिमा केन्द्रित हुनुपर्छ । नयाँ शक्ति र पुराना दलबीच सहकार्य गर्दै राष्ट्र निर्माणमा अघि बढ्न आवश्यक छ । यदि हामीले अब पनि जनताको अपेक्षा अनुसार काम गर्न सकेनौँ भने इतिहासले हामीलाई माफ गर्नेछैन ।
सुधारिएको कांग्रेस २.० मार्फत निर्वाचनमा गएपनि इतिहासमै नव्यहोरेको पराजय भोग्यो । कहाँ कमजोरी भयो ?
पहिलो त, पार्टी संस्थागत ढङ्गले चल्न सकिरहको थिएन । आन्तरिक रुपमा पार्टीको माथिदेखि तलसम्म एकीकृत पार्टी बनाउन सकेनौँ । विभिन्न स्वार्थमा व्यक्ति–व्यक्तिका गुट बनायौँ । कार्यकर्ता र जनचाहनाविपरीत पटक–पटक अप्राकृतिक गठबन्धनमा गयौँ । गठबन्धनमा पनि सरकारमा सहभागी हुँदा मुख्य दल कांग्रेसको अडान र भूमिका देखिएन । ७९ सिट ल्याएको कांग्रेसले ३२ सिटेलाई प्रधानमन्त्री बनाउने, अर्को गठबन्धनमा सरकार बन्दा प्रतिनिधि सभाको दोस्रो दललाई प्रधानमन्त्री बनाउने गर्दा पनि भूमिका देखिएन । त्यसैको खिलाफ नै हामीले पार्टी भित्र र बाहिर लडेका थियौँ ।
तर, तत्कालीन नेतृत्वले त्यसलाई उचित ठानेन । जसकारण सरकारले गरेका हरेक गल्ती कांग्रेसको टाउकोमा थोपरियो । हामीले त सरकारको व्यवहार हेर्दा प्रवृत्ति र क्रियाकलाप राम्रो छैन, ठिक छैन सरकारबाट हटौँ अन्यथा ठुलो दुर्घटना हुन्छ, नोक्सान हुन्छ भनेको हो, नेतृत्वले मानेन । जसका कारण मतदाताले हामीलाई पनि सुधारिने मौका दिए । मतदाताले हामीलाई तिमीले हिजो गल्ती गर्यौ, तिमी सुधारिएर, सच्चिएर आउ भनेका हुन् भन्ने अनुभव गरेको छु । त्यसैले कांग्रेस हारेको छैन । हाम्रा मतदाताले अहिले प्राविधिक रुपमा हामीलाई सत्ताबाहिर राखेपनि केही सन्देश दिएको छ । सुधार गर, समय र चेतना धेरै अगाडि बढिसक्यो अब यो पुरातन सोचले चल्दैन भनेको छ । त्यसैले अहिलेलाई यो कांग्रेसका लागि अवसर पनि हो । पराजयकै कारण हामी आत्तिनु पर्दैन । त्यसैले, हामी सदनमा एक ऐतिहासिक जिम्मेवार प्रतिपक्षका रुपमा बस्छौँ । राष्ट्र र जनताका लागि के त्याग गर्नुपर्छ गर्छौँ ।
निर्वाचनको समीक्षा समेत हुन नभ्याउँदै सभापतिको राजीनामादेखि पार्टीभित्र अनेक किचलो देखियो नि !
सबैले यथार्थ बुझेका छन् । त्यसैले राजीनामा माग्दैमा त्यसलाई शुक्रबार बस्ने कार्यसमितिले स्वीकार गर्दैन । गगनजीजस्ता नेताका कारण आज हामी घण्टीभन्दा मुनि त भएका छौँ, यद्यपि उहाँ नभएको भए पार्टीले १७ लाख मत सुरक्षित गर्ने थिएन । सो मतबाट २० र प्रत्यक्षतर्फ १८ जना गरी जम्मा ३८ जना सांसदले सदनमा प्रतिनिधित्व गर्दैछौँ । अन्यथा यति सिट पनि आउने थिएन । सबैको असहयोगको बाबजुत पनि यति सिट पाएका छौँ ।
म उहाँहरुको बारेमा धेरै टिकाटिप्पणी गर्न चाहान्न । किनभने उहाँहरुलाई राजीनामा माग्ने अधिकारै छैन । विशेष पक्षधरले नै १४ औँ महाधिवेशनमा आदरणीय शेरबहादुर देउवालाई सभापति बनाएका हौँ । तीनै प्रतिनिधिको मागअनुसार ५८ प्रतिशत सदस्यको हस्ताक्षरसहित गगनजी सभापति हुनुभएको हो । गगनजी आफैँले आफैँलाई घोषणा गरेर भएका त होइनन् नि ! पहिले विधान राम्रोसँग पढ्नुपर्यो । विधानमै टेकेर हामी अगाडि बढेका हौँ ।
जस्तो यहाँहरुकै नेता मीनबहादुर विश्वकर्माले कांग्रेसमा चौधौँ महाधिवेशनबाट निर्वाचित एक जना र आफैँले आफैँलाई घोषित गरेका एक गरी दुई जना सभापति छन् भन्नुभयो । यसको अर्थ के हो ?
मीनजीले भनेको कुरा वैधानिक रुपमा कति सत्य छ, छैन भन्ने कुरा कानुनविदले व्याख्या, विश्लेषण गरिसकेका छन् । यसै सन्दर्भमा म तपाईँलाई अर्को कुरा स्मरण गराउन चाहान्छु- त्यसो भन्ने हो भने त संसद पुनःस्थापनाको मुद्दा अदालतमा विचाराधीन छ । अब के हुन्छ ? यो भन्दैमा अब भर्खरै सकिएको चुनावी निरर्थक हुन्छ ? यो कुर्तक हो, यस्ता तर्क गर्नुहुँदैन ।
मीनजी बडा बौद्धिक राजनीतिक मान्छे हो । उहाँलाई म माया गर्छु, इज्जत दिन्छु । उहाँजत्तिको मान्छेबाट त्यो कुरा आउन हुँदैनथ्यो । स्वघोषित बन्न मिल्छ भने त सभापति आङ्काक्षी जो कोहीले पनि म सभापति भने भयो नि । विधान र संविधानभन्दा बाहिर कोही छैन, यो स्वीकार गर्नुपर्छ । हामीले त्यहीँ विधान मिचियो भनेर अगाडि बनेको हो नि । त्यसैले, कसैले मागेका भरमा गगनजीको राजीनामा स्वीकार्य हुँदैन । अब उहाँले यस पार्टीका लागि अहोरात्र खटेर ७७ वटै जिल्लामा जनतालाई भेटेर आत्मसमीक्षा गर्दै जनतालाई भरोसा दिलाएर संगठन विस्तार गर्ने हो । हामी उहाँको साथमा छौँ । अबको पाचँ वर्षमा कांग्रेस धेरै माथि उठ्छ भन्ने पनि विश्वास दिलाउन चाहान्छु ।
यहाँको अनुभव र चुनावी नतिजापछि पार्टी सुधारको बुँदाहरु के हुन् ?
पहिलो, पार्टी अब कुनै व्यक्तिको स्वार्थमा गुटबन्दीमा लाग्दैन । अब पार्टीमा एउटा मात्रै गुट रहन्छ- त्यो हो सिङ्गो कांग्रेस । हरेक कार्यकर्ताको काम र क्षमताको आधारमा व्यवस्थापन हुन्छ । कांग्रेसमा इज्जत, सुरक्षा, सम्मान र सम्भावना छ भनेर लाग्ने वातावरण बनाइने छ । पार्टी कसैको प्राइभेट कम्पनी होइन, विधानअनुरुप संस्थागत रुपमा पार्टी चल्नेछ । सरकारलाई राष्ट्रहित र जनताको मुद्दामा सहयोग गर्छौँ । हामी मुलुकको लागि लडेको हो । मुलुकको लागि लड्ने हो । कांग्रेसलाई हामीले हिजोको मानसिकताबाट बाहिर ल्याइसकेका छौँ । अब यसलाई व्यवस्थित र संस्थागत गर्दै अगाडी बढ्ने हो । घोडा चढ्ने मान्छे लड्छ, नउठ्ने छुट सभापतिलाई छैन । फेरि उठेर रेसमा जानुपर्छ । गगन सम्भावना र भिजन भएको मान्छे हो ।
सरकार गठन भइसकेपछि सदनमा कांग्रेसको भूमिका कस्तो होला ? गृहकार्य त भइरहेको होला ?
हामी अहिले कुनै किसिमको विषय उठाउँदैनौँ । हामीले राष्ट्र, राष्ट्रियता, संविधान र लोकतन्त्र यि कुरामा अर्जुनदृष्टि राख्छौँ । यसमा हाम्रो गलत सम्झौता हुँदैन । सरकार बनेको छैन । अहिले हामीले के मुद्दा उठाउने भन्ने कुरा त पहिले सरकार बनोस् अनि थाहा हुन्छ । सरकार कसरी गठन हुन्छ त्यो हेर्छौँ, त्यसपछि लोकतान्त्रिक अभ्यास अनुसार त्यसको सय दिने हनिमुन कालको गतिविधि हेर्छौँ । त्यो समयको निर्णय र उपलब्धि हेर्छौँ ।
त्यसपछि बल्ल सदनमा हामी कसरी उपस्थित हुने योजना बनाउँछौँ । हिजो उहाँहरुले उठाएका एजेण्डाहरु- जस्तो उहाँहरुले पुराना दलले सबै युवाहरुलाई विदेश पठायो रोजगारी दिएन भन्नुभएको छ । ती युवालाई फर्काउन, यहीँ रोजगारी दिन उहाँहरुले कस्ता अवसर सिर्जना गर्नुहुन्छ ? सुशासन कति दिनुहुन्छ, भ्रष्टाचार कति नियन्त्रण गर्नुहुन्छ ? त्यसमा कांग्रेसले पूर्ण साथ दिनेछ । गर्न सके त्यो स्वागतयोग्य कुरा हो । हामी सरकारलाई सहयोग गछौँ । नगरेको खण्डमा हामी पूर्वाग्राही बन्दैनौँ, गरौँ भन्छौँ अरु कुरा त जनताले मूल्याङ्कन गर्छन् ।
अहिले राष्ट्रिय स्वतन्त्र पार्टी दुई तिहाई बहुमतसहित आएको छ । उसको सहज सरकार बन्छ । उहाँहरुलाई काम गर्न कम बाधा रहनेछ । तर संविधान संसोधनको पनि विषय उठेकाले त्यसमा भने दुई तिहाई बहुमतले मात्रै हुँदैन । राष्ट्रिय सहमति खोज्नुपर्छ । राष्ट्रिय सरोकारका विषयमा राष्ट्रिय सहमतिबाटै गर्नु उच्च राजनीतीक संस्कार भएकाले यो संस्कृतिको विकास कांग्रेसले गर्न चाहन्छ ।
मुलुक यतिबेला राष्ट्रिय, अन्तर्राष्ट्रिय, आर्थिक, राजनीतीक, सामाजिक रुपमा मुलुक निकै संवेदनशील अवस्थामा छ । अब आवेग, आवेश, लहड, रहरमा सरकार चल्दैन । यो चुनौतीपूर्ण अवस्थामा सरकार गठन हुँदैछ । जिम्मेवारीपूर्वक अगााडी बढ्नुपर्छ । रचनात्मक विषयमा कांग्रेस सरकारको साथमा उभिनेछ । विशेषगरी दुई छिमेकी मुलुकलाई अत्यन्त गोपनीय, सन्तुलित र कुटनैतीक रुपमा व्यवस्थापन गर्नु पहिलो कर्तव्य हुनेछ । कांग्रेस राष्ट्र र जनताका पक्षमा सहमतिको आधारमा सहकार्य गर्न तयार छ ।













प्रतिक्रिया