समयसीमा १५ दिन बाँकी रहँदा यातायात विभागबाट २५ हजार मात्रै लाइसेन्स वितरण « Khabarhub

समयसीमा १५ दिन बाँकी रहँदा यातायात विभागबाट २५ हजार मात्रै लाइसेन्स वितरण


६ चैत्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनको क्रममा बानेश्वरस्थित यातायात व्यवस्था विभाग जलेर क्षतिग्रस्त बन्यो । विभागको सवारीचालक अनुपतिपत्र (लाइसेन्स) छाप्ने ५ वटा ‘मास प्रिन्टर’ सहित डाटा प्रणाली र समग्र पूर्वाधारमा क्षति पुग्यो ।

यसकारण तत्काल सेवा प्रवाह गर्न नसक्ने निर्णयमा विभाग पुग्यो । सेवाग्राहीको अत्याधिक चाप हुने देशैभरका यातायात कार्यालय करिब २ महिनासम्म ठप्प भए । अस्थायी प्रणाली स्थापना गरेर सवारी दर्ता, नवीकरण, चालक अनुमतिपत्र परिक्षा लगायतको सेवा सुरु गरेपनि विभागले लाइसेन्स छपाईको काम भने गर्न सकेन ।

त्यसपछि विभागले लाइसेन्स छपाईको जिम्मा सुरक्षण मुद्रण केन्द्रलाई दियो । विभागले १२ लाख थान लाइसेन्स ६ महिनाभित्र छपाई सम्पन्न गर्नेगरी कार्तिक १२ गते केन्द्रसँग सम्झौता गरेको थियो । निवर्तमान सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले गत कार्तिक २१ गते केन्द्रमा रहेको प्रिन्टिङ प्रेसको बटन थिचेर लाइसेन्स छपाइको शुभारम्भ गरेका थिए ।

नयाँ ट्रायल पास भएका र नवीकरणका लागि आवेदन दिएका गरी सो अवधीमा विभागसँग करिब २५ लाखको हाराहारीमा स्मार्ट लाइसेन्स प्रिन्ट हुन बाँकी थियो । तर बजेट अपुग हँदा पहिलो चरणमा २७ करोड ६० लाख रुपैँया बजेटमा १२ लाख थान मात्र छपाई गर्नेगरी विभागले सम्झौता गरेको जनाएको थियो ।

अत्यावश्यक लाइसेन्समात्र छपाई

विभागले आन्दोलन अघिदेखी अत्यावश्यक लाइसेन्स आवश्यकता पर्नेहरुका लागि २४ घण्टाभित्र उपलब्ध गराउँदै आएको थियो । केन्द्रसँग १२ लाख थान छपाइ गर्ने सम्झौता भएपनि हालसम्म अत्यावश्यकतर्फका २५ हजार थान मात्रै छपाई भएको यातायात व्यवस्था विभागका सूचना तथा प्रविधि निर्देशक केशव खतिवडाले बताए ।

‘सम्झौता अनुरुप केन्द्रले इमर्जेन्सीतर्फका २५ हजार थान मात्रै छपाई गरेर पठाएकोमा विभागले वितरण गरेको छ,’ उनले भने ।
उनका अनुसार बाँकी ११ लाख ७५ हजार थानमध्ये यो हप्तामात्रै छपाइका लागि सेवाग्राहीको विवरण पठाइएको छ ।

‘केन्द्रसँग आवश्यक सामाग्री नहुँदा सम्झौता अनुरुप ब्लकका लाइसेन्स छपाई यो हप्ता मात्रै सुरु भएको छ । हामीले १ लाख ७० हजारको डेटा पठाएका छौँ,’ उनले भने ।

सोबारे केन्द्रका निर्देशक कार्यकारी निर्देशक देवराज ढुङ्गानासँग जानकारी माग्दा उनले दिनको दश हजारका दरले छपाई भइरहेकाले समयमै सम्पन्न हुने दाबी गरे ।

‘लाइसेन्सका लागि आवश्यक सामाग्री जुटाउन समय लाग्यो अब सबै सामान जुटिसकेको छ । दिनहुँ १० हजारका दरले यो हप्तादेखि छाप्न थालेका छौँ । हाम्रो अब हरेक दिन सोही दरमा छपाइ हुने हुँदा समयमै सकिन्छ,’ उनले भने ।

२ महिना अघिको कुराकानीमा पनि ढुङ्गानाले सोही कुरा बताएका थिए । ‘हाम्रो पनि पहिलो काम भएकाले प्राविधिक जटिलता आयो । अहिले सहज भएको छ । छपाइमा ढिलासुस्ती हुँदैन,’ उनले दाबी गरे ।

केन्द्रले पाएको समयसीमा पूरा हुन अब १५ दिन मात्रै बाँकी छ । ढुङ्गानाले भनेअनुसार प्रतिदिन १० हजार प्रतिका दरले छपाइ हुँदा पनि १ लाख ५० हजार थान मात्रै लाइसेन्स छापिनेछ ।

६ महिने समयावधीभित्र सरदर बढीमा ४ लाख मात्रै लाइसेन्स छपाइ हुने आँकलन गर्न सकिन्छ । यस्तै, यातायात व्यवस्था विभागका सूचना तथा प्रविधि निर्देशक खतिवडाका अनुसार लाइसेन्स नवीकरण र नयाँ लिने गरि विभागमा देशभरबाट दैनिक अत्यावश्यक बाहेक ३ हजार सेवाग्राहीले आवेदन दिने गर्छन् ।

कार्तिक २४ गतेबाट सो सेवा सुचारु गरेको विभागमा कार्तिक २४ गतेदेखि चैत ६ गतेसम्म ४ महिना १२ दिनमा ३ लाख ९६ हजार नयाँ लाइसेन्स थप भएको छ । विभागको डाटा सेन्टर स्थापनाका लागि अर्थ मन्त्रालयमा फाइल पठाइएपनि त्यो अघि नबढेको उनले बताए ।

‘विभागको सबै सेवा सुविधा अस्थाई डाटा सेन्टरबाटै चलिरहेको छ । खरिद प्रक्रियामा जानका लागि अर्थ मन्त्रालयमा फाइल पठाएका थियौँ । तर निर्णय आएको छैन,’ उनले भने ।

केन्द्रबाट छपाई भएका कार्डमा चिप्सको सट्टा क्यूआर कोड प्रयोग गरिएको छ । उक्त कार्ड ल्याबमा परीक्षण गरेसँगै वितरण सुरु गरिएको थियो । केन्द्रका अनुसार यसमा उच्चस्तरको सुरक्षा प्रणाली रहेका छन् । नयाँ कार्डमा छ तहसम्म सुरक्षा प्रविधि प्रयोग भएको छ । कार्डमा दृश्य र अदृश्य गरी ३४ प्रकारका सुरक्षा विशेषता रहेका छन् ।

प्रकाशित मिति : ६ चैत्र २०८२, शुक्रबार  ७ : ५६ बजे

देशकै पहिलो ‘योग नगर’ घोषणा हुँदै चाँगुनारायण

भक्तपुर– भक्तपुरको चाँगुनारायण नगरपालिकाले आफ्नो नगरलाई ‘योग नगर’ घोषणा गर्ने

मन्त्रिपरिषद् बैठक आज ४ बजे बस्दै

काठमाडौँ – मङ्गलबार मन्त्रिपरिषद् बैठक बस्ने भएको छ । सरकारका

पेट्रोलियम उत्खनन परियोजना छिटो अगाडि बढाउन आग्रह

भक्तपुर– नेपाली कांग्रेसकी प्रमुख सचेतक वासना थापाले दैलेखमा भइरहेको पेट्रोलियम

मानव वन्यजन्तु द्वन्द्व अन्त्य गर्न प्राविधिक समितिको कार्यदल गठन

काठमाडौँ– कृषि, वन तथा पर्यावरण मन्त्रालयले मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापनका

संसदीय समितिमा प्रस्तावित प्रधानन्यायाधीश डा. शर्माले पेस गरे १८ बुँदे कार्ययोजना

काठमाडौँ – प्रस्तावित प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले सर्वोच्च अदालतमा वर्षौँदेखि