गौस्वारामा धार्मिक पूर्वाधार थपिँदै « Khabarhub

गौस्वारामा धार्मिक पूर्वाधार थपिँदै


७ बैशाख २०८३, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

म्याग्दी- बेनी नगरपालिका–२ गौस्वारालाई धार्मिक पर्यटकीय स्थलको रूपमा विकास गर्न पूूर्वाधार निर्माण गर्न थालिएको छ ।

समुदाय, दाता र सरकारी निकायको साझेदारीमा यहाँ रु एक करोडभन्दा बढी लगानीमा आश्रयस्थल, गौशाला, सभाहल, गोवर्धन मन्दिर, पदमार्गलगायत पूर्वाधार निर्माण भइरहेका हुन् ।

यसअघि सञ्चालन गरिएको गोवर्धन महायज्ञमा सङ्कलन भएको सहयोग रकम र बेनी नगरपालिकाको सहयोगमा पूर्वाधार निर्माणकार्य अन्तिम चरण रहेको आर्थिक सङ्कलन उपसमितिका संयोजक हिराबहादुर थापाले जानकारी दिए।

“गौशालामा रहेका रैथाने जातका गाईको चरन र आहराका लागि घाँसखेती गर्न तथा पूर्वाधार बनाउन ४० रोपनी जग्गासहित रु एक करोड २७ लाख ३१ हजार ३६७ सङ्कलन भएको थियो”, उनले भने, “त्यसबाट गौशाला सुरु गरिएको छ । सभाहल र सन्तआश्रम ढलान भइसकेको छ भने मन्दिर निर्माण अन्तिम चरणमा पुगेको छ ।”

स्थानीय दीपक मल्लले सबैभन्दा बढी १७ रोपनी जग्गा उपलब्ध गराएका थिए । यहाँ श्रीकृष्णले गोवर्धन पर्वत उठाएको मूर्तिसहितको मन्दिरको संरचना तयार भएको छ भने ३८ फिट अग्लो तामाको छाना राखिएको मन्दिरमा पलास्टर, रङ्गरोगन, विद्युुत् जडान र मूर्ति राख्न बाँकी छ ।

वडाध्यक्ष यामबहादुर कार्कीका अनुसार रु ८५ लाख लागत अनुुमान गरिएको मन्दिर निर्माणका लागि हालसम्म दाताबाट प्राप्त भएको रु ७५ लाख खर्च भएको छ । बेनी नगरपालिकाले चालु आर्थिक वर्षका लागि विनियोजन गरेको रु १५ लाखबाट नौ लाखमा सभाहल र सन्तआश्रमको भूइँ ढलान सकिएको बताए। यस्तै, रु छ लाखमा भकुण्डे–गौस्वारा सडकको दोयडाडादेखि गौशाला जोड्ने एक सय ४० मिटर लामो पदमार्ग निर्माणको तयारी गरिएको छ । यहाँ एउटा आश्रयस्थल भवन निर्माण भइसकेको छ।

बागलुङको पञ्चकोटलाई धार्मिक पर्यटकीयस्थलको रूपमा विकास गर्न अगुवाइ गरेका मुक्तिनाथ पिठाधिश्वर स्वामी कमलनयनाचार्यको परिकल्पनाअनुसार यहाँ गौस्वारामा धार्मिक पूर्वाधार निर्माण गर्न थालिएको हो।

समुन्द्री सतहदेखि करिब दुई हजार मिटर उचाइमा रहेको गौस्वाराको पृष्ठभूमिमा हिमशृङ्खला छन् । यहाँबाट परापूर्वकालमा ऋषीमुनिहरूको तपोभूमि पौलत्स्य, गलेश्वर, हम्पाल देखिन्छ भने म्याग्दी, पर्वत र बागलुङको ग्रामीण बस्तीको अवलोकन गर्न सकिन्छ । यस्तै, धौलागिरि, गुर्जा, अन्नपूर्ण र माछापुच्छ्रे हिमाल अवलोकन गर्न पाउनु यहाँको आकर्षण हो ।

महायज्ञ आयोजक समितिका सदस्य दिर्घप्रसाद रिजालले गौस्वारामा आयुर्वेद औषधीय हिसाबले महत्त्वपूर्ण स्थानीय रैथाने गाई संरक्षण गर्न गौशाला सञ्चालन गरी गहुँत र गोवरको उपयोग गर्ने योजना रहेको बताए। यहाँ नजिकैको जङ्गलमा धेरै प्रकारका जडिबुटी पाइने भएकाले तिनको अनुसन्धान गरी प्रयोगमा ल्याउन अनुसन्धान केन्द्रका रूपमा काम गर्नेसमेत उद्देश्य रहेको उनले जानकारी दिए।

प्रकाशित मिति : ७ बैशाख २०८३, सोमबार  ९ : ४० बजे

विश्वकपमा नवप्रवेशी केप भेर्डेसँग बराबरीमा रोकियो स्पेन

काठमाडौं – फिफा विश्वकप–२०२६ मा उपाधि दाबेदार स्पेन नवप्रवेशी केप

स्पेन र केप भर्डेबीचकाे पहिलो हाफ गोलरहित बराबरी

काठमाडौं – फिफा विश्वकप–२०२६ अन्तर्गत स्पेन र केप भर्डेबीचको पहिलो

घटबढ भएन पेट्रोल र डिजेलको मूल्य

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल/मट्टितेलको मूल्य यथावत् कायम

बेइजिङमा चिनियाँ समकक्षीसँग मन्त्री खनालको भेटवार्ता

काठमाडौँ । नेपाल र चीनले दुई देशको पारस्परिक हितका लागि

धौलागिरि प्रादेशिक अस्पतालमा डायलाइसिस गर्न पालो कुर्नु नपर्ने

बागलुङ – धौलागिरि प्रादेशिक अस्पताल बागलुङमा मिर्गौला रोगका बिरामी बढ्दै